१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

समृद्ध नेपालको खाका

झमक घिमिरे

अहिले नेपाली समाजको परिस्थिति हेर्दा लाग्छ, पुरानै सोचमा मग्न छ । किनभने मान्छेको दिमागमा परिवर्तनको छिटाहरू पर्नसकेको छैन । देशमा स्थायी सरकार भए पनि धेरै आलोचनाको घेरामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले केही राम्रा कामहरू गर्नथाले पनि जनअपेक्षा पनि चाहिनेभन्दा ह्वात्तै बढ्नुले उनले गरेका कामहरू ओझेलमा पर्न खोजेको आभास हुन्छ । किनभने विकास निर्माण भनेको कुनै जादुको छडी होइन । आजको भोलि पुरा गर्न सकियोस् । अहिलेको अवस्था परिस्थितिमा प्रधानमन्त्रीले जनअपेक्षा र जनताको आवाजलाई सुनेर मौन बनेर काम गर्नुको विकल्प छ जस्तो यस पंक्तिकारले देखेकी छैन ।


अहिले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा उत्पात विरोध गरिरहेको छ । यसका नेता, कार्यकर्ताहरूले शालिनता भद्रताको सीमा नाघेर विरोधका स्वरहरू उरालिरहेका छन् । नउरालुन् पनि यिनलाई सत्ताको मोह अहिलेसम्म छ । हुन त राजनीति गर्ने भनेको सत्तामै पुग्न हो । तर जनमतको सम्मान गर्न नेपाली राजनीतिक दलका नेताहरूले शालिन शिष्ट ढंगले खोइ कहिले जान्लान् ? अहिलेको सरकारलाई चुनौती र अवसर दुवै छ । यसलाई आत्मसात गरेर सरकारले अगाडिका कदम बढाउन सक्यो भने अहिले जति विरोधका स्वरहरू उराले पनि कालान्तरमा साम्य हुँदै जानेछन् ।

आलोचनाहरू पनि आउनुपर्छ, यसले सरकारका गलत कदमहरूलाई सुधार्न मद्दत गर्नेछन् । त्यसैले सरकार आलोचकहरूप्रति पनि सकारात्मक हुनु आवश्यक छ । किनभने सबै आलोचनाहरू सरकारका लागि नकारात्मक चिन्तनले मात्र आएका हुँदैनन् । आलोचकहरू पनि सरकारका दुश्मनमात्र पनि हुँदैनन् । सरकारसँग धेरै गुनासो पोख्छन् मान्छेहरू, किनभने नागरिकहरूले आफ्नो अभिभावकत्व खोजिरहेका छन् । उनीहरूको आशा, अपेक्षालाई सबै अंशमा नभएर पनि केही अंशमा सम्बोधन गर्नु सरकारको कर्तव्य र दायित्व दुवै हो ।


अहिले संविधानको संशोधनको माग केही दलले उठाएर फेरि देशलाई अर्को द्वन्द्वमा धकेल्न खोजिरहेका छन् । कहिले अधिकारको नाममा, कहिले जातीयता, भाषा, धर्मका नाममा द्वन्द्व निम्त्याउने काम त गरिरहेका छैनन् भन्ने आशंका पनि सचेत मान्छेका मनमा नजन्मिने होइनन् । यी सचेत नागरिकहरू अब सबै खालका द्वन्द्व अन्त्य होस् । सबैको साझा फूलबारी नेपाली भूमि होस् भन्ने चाहन्छन् । जहाँ सबै खालका नेपालीहरू अटुन् । सबै थरीका सबै जातका नेपालीहरूको नेपाल बनोस् । यसको संयोजन नेपाल सरकारले गर्नुपर्छ । केपी शर्मा ओलीको सरकारले यस विषयमा अत्यन्तै संयम, धैर्य बन्दै सबै खालका द्वन्द्वहरूको व्यवस्थापन गर्नुपर्छ ।

राजनीतिक द्वन्द्वलाई पनि सकेसम्म दमनको नीति होइन, शान्तिपूर्ण समाधानको नीति लिनुपर्छ । फेरि हतियार उठाएर रक्तपात मच्चाएर जनताको सत्ताको स्थापना हुन्छ भन्ने शक्तिले पनि सोच्नुपर्छ– ‘अब फेरि देशको भूमि कुनै निर्दोष मान्छेको रगतले रंगिनु हुँदैन । कोही नेपालीको तातो रगत यस पवित्र भूमिमा पोखिनु हुँदैन ।’ यो सबै जनताको मनको चाहना हो । यो जनचाहनालाई सम्मान गर्ने कि नगर्ने सम्बन्धित पक्षले पनि गम्भीर बनेर सोच्न आवश्यक छ ।

प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली बनाउने चाहना छ । यो चाहना कतिको धैर्य, संयम बनेर पूरा गर्छन् या गर्दैनन्, यो कुरा हेर्न बाँकी छ । यो चाहना उनले मात्र पूरा गर्न सक्दैनन् भन्ने सबैलाई थाहा छ । तर उनले कस्तो खालको कूटनीति रणनीति लिएर जनतामा जान्छन् भन्ने कुरामा निर्भर हुने स्पष्ट छ । उनको परीक्षा त्यसैमा हुनेछ । हामी नेपालीहरू पनि जे कुरा सरकार र तिनका निकायहरूकै मुखमात्र हेर्छौं । आफ्नो मुख एकचोटी ऐनामा राम्रोसँग हेरेर आफ्नो काम, कर्तव्य के हो त्यसलाई गम्भीरताका साथ लिएर अगाडि बढ्ने हो भने हाम्रो चाहना अनुसारको समृद्ध नेपालको खाका कोरिन धेरै समय लाग्ने छैन ।

प्रकाशित : वैशाख २८, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?