२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हामी किन बिर्सिन्छौं ?

रामचन्द्र अधिकारी

हरेक विद्यार्थीलाई लाग्छ, एकपटक पढेको या कण्ठ गरेको पाठ कहिल्यै नबिर्सियोस् । व्यापारीलाई पनि त्यस्तै लाग्छ, लेनदेनको हिसाब-किताब दिमागमै रहिरहोस् । शिक्षकलाई लाग्छ, विद्यार्थीलाई सिकाउने पाठ सधैं कक्षामा फरर आओस् । धर्मगुरुहरू पनि यही चाहन्छन्— पुस्तक नहेरी भक्तजन सामु प्रवचन दिन सकियोस् । 

हामी किन बिर्सिन्छौं ?

जीवनका अपि्रय घटना भने हामी कोही पनि सम्झिरहन चाहन्नौं । शोक-सुर्ता बिर्सियोस् भन्ने ठान्छौं । अर्थात्, नबिर्सियोस् भनेका कुरा सम्झिरहियोस्, अनि नसम्झियोस् भनेका कुरा बिर्सियोस् ! यथार्थमा यस्तो हुँदैन । बालापनका स्मरण र जीवनका केही घटना बुढेसकालसम्म ताजै रहन्छन् । कतिपय घटना पाँच मिनेटमै बिर्सिइन्छन् ।

सम्झिने -बिर्सिने काम स्नायु प्रणालीको हो । अरू जनावरभन्दा मानिसको स्नायु प्रणाली निकै संगठित र तेजिलो छ । शरीरका तुलनामा सबैभन्दा ठूलो टाउको र दिमाग मानिसकै हुन्छ । तीक्ष्णताको केन्द्र मानिएको दिमागको सेरेब्रम पनि अरू जनावरको भन्दा ठूलो हुन्छ । सम्झने वा सूचनाहरूको भण्डारण गर्ने क्षमता पनि मानिसको उच्च हुन्छ ।

स्मरण, अनुभव, अभिव्यक्ति र विस्मरणबारे न्युरो वैज्ञानिकहरू अझै स्पष्ट भइसकेका छैनन् । थुप्रै धारणा/तर्क भने छन् । जसरी क्यामेराले तस्बिर र श्रव्य-दृश्य खिच्छ, सेन्सरले कुनै चिजको सेन्स लिएर प्रस्तुत गर्छ, सोही प्रक्रियाबाट दिमागले पनि काम गर्छ । यी साधनमा तत्त्व र इलेक्ट्रोनको भूमिका छ, हाम्रो स्मरण कार्यमा स्नायुमा भएका तत्त्व र आयोनको । स्मरण भनेकै तत्त्वहरूको संयोजित जालो हो । जालोमा कुनै खराबी आएमा बिर्सिइन्छ ।

अर्को तथ्य छ, स्नायु सूचना तथा ज्ञान भण्डारण गर्नु भौतिक प्रक्रिया हो । यस्तो तर्क दिने वैज्ञानिक भन्छन्— हाम्रो शरीरमा जति स्नायुकोष (न्युरोन) छन्, त्यसको तीन गुणा बेसी तिनलाई सुरक्षा दिने अस्नायु कोष छन् । तिनलाई ग्लियल कोष वा न्युरोग्लिया भनिन्छ । यी कोषले स्नायुमा बाहिरी स्टे्रसबाट भएको परिवर्तनलाई थुनेर सुरक्षित राख्छन् । त्यो सुरक्षित परिवर्तन नै सूचनाको भण्डारण हो ।

कुनै कुरा पढ्दा स्नायुकोषमा दबाब वा उत्तेजना पैदा हुन्छ, कोषमा जैविक एवं रासायनिक परिवर्तन आउँछ, जसलाई न्युरोग्लियाले सुरक्षित राख्छन् । अनि पढेको कुरा कण्ठ हुन्छ । जति स्नायुकोषलाई तैनाथ राखी दबाबमा पार्न सकिन्छ, उति छिटो पढेको कुरा सम्झिइन्छ । यसलाई स्मरण गरी अभिव्यक्त गर्न पुनः उही प्रकृतिको उत्तेजना चाहिन्छ, भण्डारमा राखेको वस्तु निकाल्न मिल्दो चाबीले ताला खोलेजस्तै । यस्तो चाबी एक प्रकारको मनोवैज्ञानिक वा भौतिक पनि हुनसक्छ । जस्तै— अगाडि याद भएको कुरा अलिकति हेर्न पाइयो भने फेरि सरर आउँछ, चाबी खुल्छ । बेला-बेला चाबी खोलिएन भने भण्डारको सामग्री बिगि्रए जस्तै कण्ठ भएको कुरा पनि बिर्सिइन्छ ।

शिक्षा मनोवैज्ञानिकहरू भन्छन्— ठूलो बाहिरी दबाब दिएर कुनै कुरा सिकायो भने तत्काल जाने पनि छिट्टै बिर्सिइन्छ । जर्मन मनोवैज्ञानिकहरू एल स्वाब र ओ ओल्फले एउटा प्रयोग गरे । उनीहरूले पुरुष-महिला गरी ४८ जनालाई क्रमशः स्वतन्त्रतापूर्वक ३२ शब्द सम्झन भने । केही क्षणमा डरधम्की दिएर र उनीहरूका हात बरफमा चोपेर बस्न लगाई अरू ३२ शब्द याद गर्न लगाए । 'स्ट्रेस' दिएका बेला चाँडै सिके । केही समयपछि सोध्दा उनीहरूले 'स्ट्रेस'मा सिकेका ३० प्रतिशत शब्द भन्न बिर्से । यसको वैज्ञानिक कारण छ— स्नायुकोषमा कुनै कुरा जीव रासायनिक प्रक्रियामार्फत घुस्छ । यसमा इपिनेपि|mन हार्मोनको भूमिका हुन्छ । जति स्ट्रेस दियो,यो हार्मोन उति बढी निस्कन्छ । 'स्ट्रेस'सकिएपछि यो हार्मोनको मात्रा घट्छ, अघि घुसेको कुरा हराउँछ ।

सन् १८९४ मा न्युरो वैज्ञानिक काजलले पत्ता लगाए— न्युरोनहरू बीचको बलियो गठबन्धनले ज्ञानलाई सुरक्षित राख्छ । दिमागको सेरेब्रम भनिने सबैभन्दा ठूलो भागलाई स्मरणको केन्द्र मानिन्छ । लामो समयसम्म रहने स्मरणका लागि भने सबै स्नायुकोष सहभागी हुन्छन् भन्ने जर्मनीका वैज्ञानिक रिचर्ड लगायतको तर्क छ । यी सबै स्नायुकोषमा ताला हुन्छ, अभिव्यक्ति गर्न जुन उघारे पनि हुन्छ । साइकल चलाउने, गाडी चलाउने लगायतका हातका सीपहरू यसरी दिमागमा सुरक्षित हुन्छन् ।

अरू बेला सम्झिनु पर्दैन, आफैं हातखुट्टाले काम गरिहाल्छन् । खास गरेर दिमागको हिप्पोक्याम्पस, एमाइग्डाला, निओकर्टेक्स, पेरिरिनल कर्टेक्स, सबिकुलम आदि भागले कुनै कुरा सिक्ने वा ज्ञान/सीपलाई सुरक्षित राख्ने काम गरेका हुन्छन् । सन् १९५३ मा अमेरिकाका हेनरी मोलाइसन नामक न्युरो शल्यचिकित्सकले इपिलेप्सी भएका मानिसलाई शल्यक्रिया गरी हिप्पोक्याम्पस भाग हटाएर बचाइदिए । ती बिरामी निको भएर अरू ५५ वर्ष बाँचे तरस्मरण पूरै गुमाए, नयाँ कुरा सिक्न सकेनन् ।

हाम्रो स्नायुमा पोटासियम, सोडियम, म्याग्निज, क्याल्सियम, जिङ्क, लिथियम, एल्मुनियम लगायत दर्जनौं तत्त्व हुन्छन् । ती तत्त्वको काम संगठित गतिविधि सम्झने हो । फरक कुरा सोच्दा वा सिक्दा फरक स्नायुकोष र फरक तत्त्वहरू क्रियाशील हुन्छन् । उदाहरणका लागि, नाम र क्रियापदलाई दिमागमा रेकर्ड गर्ने स्नायुकोष फरक हुन्छन् भन्ने विश्वास वैज्ञानिकको छ । त्यस्तै तिथिमितिलाई बेग्लै ।

विस्मरणका सन्दर्भमा भनाइ छ— विद्या नौ दिनमा दोहोर्‍याएन भने नौलो र पन्ध्र दिनमा पुरानो हुन्छ, बीस दिनमा बिर्सिइन्छ र बत्तीस दिनमा विसर्जन हुन्छ । यसको वैज्ञानिक तात्पर्य हो— बेला-बेला चाबी खोल्दै गर्नुपर्छ । नयाँ सूचना, विद्या र सीपले पुरानोलाई विस्थापित गरिदिन्छ । कुनै पाठ अभ्यास गरिरहँदा सुरुका क्षणहरूमा छिट्टै बिर्सिइन्छ, पूरै अभ्यस्त भएपछि बिर्सिने दरघट्दै जान्छ । नयाँ भाषा सिक्दा सुरुमा कठिनाइ हुन्छ, शब्द बिर्सिइन्छ ।

अभ्यस्त भएपछि बिर्सिने दर कम हुन्छ । शोक-सुर्ता तथा जीवनका जटिल घटनाहरूले स्नायुकोष र सिनाप्स-कोषहरू बीचको बन्धनको भौतिक संरचनामै परिवर्तन ल्याएका हुन्छन्, त्यही भएर यस्ता घटना हत्तपत्त बिर्सिइँदैनन् । ४० वर्ष कटेपछि मानिसको सम्झने दरमै कमी आइसक्छ, स्नायुकोषहरूको अन्तर-सम्बन्ध कमजोर हुने, कोषहरूको मृत्युदर बढी हुने, हिप्पोक्याम्पस खिइँदै जाने र सिनाप्स खुकुलो बन्ने अनि दिमागको कार्यशक्ति नै घटेर जाने भएकाले ।

मस्तिष्कमा केही कुरा घुस्नु स्नायुहरूको पुनर्निर्मित गतिविधि हो भन्ने अर्को वैज्ञानिक धार छ । यसमा प्रक्रियागत क्रियाकलाप हुन्छन् । ती हुन्— सेन्सेसन (चाल पाउने), इन्कोडिङ (संकेतमा बदल्ने), स्टोरिङ -भण्डारण गर्ने), डिकोडिङ र रिट्राइभिङ (अभिव्यक्ति दिने) । स्नायुको कामगराइ मेसिनको जस्तै हुन्छ । सम्झने र अभिव्यक्त गर्ने सन्दर्भमा विद्युतीय सर्किटमा करेन्ट चलेझैं इम्पल्स -सन्देश) चलिरहन्छ । त्यसैले स्नायु प्रणालीलाई स्वस्थ एवं दुरुस्त राख्न आराम, अझ सुताइ र उपयुक्त ऊर्जाशील खान्की आवश्यक पर्छ । दिमागमा घुसेका कुरा सुतेका बेला व्यवस्थित भई बस्छन् ।

लेखक स्नातकोत्तर क्याम्पस, विराटनगरका उपप्राध्यापक हुन् ।

[email protected]

प्रकाशित : वैशाख २६, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?