कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

प्राणी के रहला, प्रकृति नरहे

सम्पादकीय

काठमाडौँ — मानिसको संख्या बढ्नु, जीव र वनस्पतिको संख्या घट्नु । जनसंख्या ७ अर्ब नाघ्दै गर्दा यसको सोझो दबाब प्रकृतिमा कतिसम्म परिसकेको छ भन्नेबारे संसारको आँखा खोल्ने गरी वैज्ञानिकहरूले प्रतिवेदन दिएका छन् । 

प्राणी के रहला, प्रकृति नरहे

बचाउका लागि तत्काल कदम नचाले संकटमा परेका प्रजाति र वनस्पति बचाउन नसकिने वैज्ञानिकहरूको चेतावनी छ । उनीहरूका अनुसार यसअघि ठूलो मात्रामा जैविक विविधता लोप हुने ठूल्ठूला पाँच वटा प्रलय भएका थिए । ती सबै प्राकृतिक थिए । पछिल्लो समय जुन दरमा प्रजातिहरूको लोप हुने दर छ, यसलाई छैटौं घटना भनिएको छ ।

इन्टरगभर्नमेन्टल साइन्स पोलिसी प्ल्याटफर्म अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टम सर्भिसेज (आईपीबीईएस) का लागि १०९ देशका प्रतिनिधिले तयार पारेको १ हजार ५ सय पृष्ठको प्रतिवेदनले हामीलाई आफ्नै क्रियाकलापको आत्मपरीक्षण गर्न अविलम्ब घचघच्याएको छ ।

पेरिसमा सोमबार सार्वजनिक भएको जलवायु विविधतासम्बन्धी राष्ट्रसंघीय प्रतिवेदनले प्रस्तुत गरेका तथ्य भयावह छन् । हाम्रो पारिस्थितिक प्रणाली कति खल्बलिएको छ, आङै सिरिंग पार्ने खालका छन् ।

मानिसका क्रियाकलापकै कारण १० लाखभन्दा बढी प्रजातिका जीवजन्तु तथा वनस्पति संकटमा परेका छन् । ५ लाखभन्दा बढी प्रजातिले आफ्नो जीविकाका लागि बासस्थान बनाउने जमिन पाएका छैनन् । ६,१९० घरपालुवा स्तनधारी जीवजन्तुमध्ये ५५९ प्रजाति लोप भइसकेका छन्, अरू एक हजार प्रजाति जोखिममा छन् ।

पारिस्थितिक चक्र टुटेसँगै जीवजन्तु र वनस्पतिको अवस्था खल्बलिएको छ । २५ प्रतिशत जीवजन्तु र वनस्पति जोखिममा छन् । सिमसार क्षेत्र १३ प्रतिशतमा सीमित भएको छ । समुद्रमा त झन् मानव दबाब थेगिनसक्नु छ । जलचर प्राणी मासिँदै छन् । खाना, पानी र हावाको स्रोत प्राकृतिक भण्डार तहसनहस पारिँदै छ ।

विनाशको सिलसिला बढ्दो सहरी विकाससँगै जोडिएको छ । १९७० को तुलनामा अहिले विश्व जनसंख्या दोब्बर भएको छ । त्यही गतिमा सहरीकरण भइरहेको छ । जतिजति सहरीकरण बढ्छ, उतिउति प्रकृतिजन्य सभ्यताको सञ्जाल छिन्नभिन्न हुन्छ ।

वनस्पति र जीवजन्तुको सर्वनाश गर्ने विध्वंसलाई हामीले विकास भन्ने गरेका छौं, सोच्ने गरेका छौं । तिनको बासस्थान हडप्ने, प्रकृतिलाई अतिक्रमण गर्ने होड हाम्रो हैकम भएको छ । विभिन्न रसायन र विद्युत्जन्य क्रियाकलापबाट बीउबिजनसमेत बिमाख पारिदिएका छौं ।

विश्वलाई उपभोगको मात्रै भोक जागेको देखिन्छ । स्रोत संरक्षण नगर्दा जीवजन्तु र वनस्पति मासिँदै छन् । वन फाँड्यौं, खेतीपाती उब्जनीका गरा नास्यौं । सहर बसायौं । सडक बिछ्यायौं । करेन्ट लाएर/विष हालेर माछा मार्‍यौं । जीवन चक्र कति खल्बलियो, वास्ता गरेनौं ।

विनाशको ताण्डवले हावापानी र मौसममा ठूलो फेरबदल भइरहेको छ, विश्वव्यापी तापमान बढाइरहेको छ । रैथाने हावापानी फेरिनाले स्तनधारी, पन्छी, कीराफट्यांग्रा, माछा, वनस्पति बाँच्ने वातावरण जोखिमपूर्ण बन्दैछ । कार्बन उत्सर्जनले विश्वव्यापी तापमान बढोत्तरी जारी छ । सिमसार क्षेत्र नाश गर्नाले पानी शुद्ध गर्ने प्राकृतिक क्षमता ह्रास भइरहेको छ । ध्रुवीय चिस्यानमा पाइने वनस्पतिजन्य जडीबुटीहरू विनाश हुँदैछन् ।

हाम्रो खाद्यान्न चक्र बिथोलिएको छ । मानव जीवन संकटग्रस्त र त्रासदीपूर्ण बन्दैछ । थोरै प्रकारका वनस्पति र जीवजन्तुबाट प्राप्त हुने खानामा भर परेर बाँच्नुपर्ने दिन नजिकिँदै छ । एकपटक नाश गरिएको जैविक विविधता फर्काउन सकिँदैन । विकास र जैविक विविधता (वन्यजन्तु, वनस्पति, नदीनाला, हिमाल, पहाड, सिमसार) संरक्षणमा सन्तुलन कायम गर्नेबारे होस पुर्‍याउन नसके हामी बेहोस हुनुपर्ने दिन टाढा छैन ।

जैविक विविधता विनाशको गति कम गर्न अवश्य सकिन्छ । वैज्ञानिकहरूको निष्कर्ष प्रस्ट भाषामा छ– मानवले आफ्नो अस्तित्व रक्षाका लागि पनि जैविक विविधताको संरक्षण गर्नैपर्ने छ ।

नेपालजस्तो विविधता सम्पन्न देशले भौगोलिक र प्राकृतिक अवस्थितिको लाभ लिन प्रकृति संरक्षणको अगुवाइ गर्न सक्छ । त्यसलाई राष्ट्रको पहिचान बनाउन सक्छ । त्यसैमार्फत आत्मसम्मान बढाउँदै विश्व मञ्चहरूबाट अनन्त लाभ खोजी गर्न सक्छ ।

प्रकाशित : वैशाख २५, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?