१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रमजान-उल मुबारक 

सम्पादकीय

नेपालको विशेषता विविधता । संस्कृति, धर्म र सम्प्रदायहरूको सामाजिक मिलन । सबैले मनाउने चाड-पर्व, रिवाज र संस्कृति राष्ट्रको पहिचान । यही इन्द्रेणीको एउटा रंग- मंगलबार सुरु भएको इस्लाम धर्मावलम्बीको पर्व रमजान । करिब १२ लाख नेपाली मुस्लिमका लागि अबको एक महिना विशेष पवित्र । इस्लामी पात्रोअनुसार 'रमजान-उल मुबारक' महिना ।

रमजान-उल मुबारक 

इस्लामी पात्रो, हिजरी संवत्अनुसार नवौं महिनामा पर्ने रमजान विश्वभरका इस्लाम धर्मावलम्बीले मनाउँछन् । महिनाभर 'रोजा' (व्रत) बस्छन् । इस्लामका पाँच आधार स्तम्भ आस्था, नमाज (प्रार्थना), हज (तीर्थाटन), जकात (दान) मध्ये एक हो- रोजा (व्रत) । धर्मग्रन्थ कुरानअनुसार बयस्क मुसलमानले अनिवार्य रोजा बस्नुपर्छ । धनी, गरिब, मजदुर, राजा सबैले । नाबालिक, भोकतिर्खा सहन नसक्ने, बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

इस्लाम दर्शनअनुसार मानवका दैनिक हुने विभिन्न इच्छालाई नियन्त्रण गर्ने कार्य रोजा हो । इस्लामले १२ मध्ये यो महिनालाई अब्बल मानेको छ । रोजा बस्नेले सूर्योदय हुनु एक डेढ घण्टाअघिदेखि सूर्यास्त नहुन्जेलसम्म खानेकुरा खाँदैनन् । अशुद्ध मानिएका कर्म गर्दैनन् । यो एक आत्मिक प्रशिक्षण हो । विश्वासअनुसार यसले मानिसलाई अनुशासित रहन सिकाउँछ । विनम्र, सत्प्रीय, संयम, सहनशील बनाउँछ । सदाचारी, त्यागी, परोपकारी, दयालु र दानशिला बन्न प्रेरित गर्छ ।

रोजाको अध्यात्मिक अर्थ छ । यसले मानवीय इच्छाहरूमाथि विजय प्राप्त गर्न सिकाउँछ । यो अधिकतम सत्कर्म र मानवीय सद्भावको संगम हो । यसले आधारभूत नैतिक प्रशिक्षण दिन्छ । मानिसलाई धैर्य र निष्ठावान् बनाइदिन्छ । यसको दौरान अर्काको कुरा काट्न, झूटो बोल्न, झगडा गर्न, फजुल कुराकानी गर्न, अनावश्यक श्रवण गर्न वर्जित छ ।

रमजानको साइनो परोपकारसँग पनि जोडिएको छ । यो विपन्नलाई सहयोग गर्ने महिना हो । इस्लामका दुई स्तम्भ जकात अर्थात् दान र रोजा जोडिएका छन् । दैनिक उपभोग्य वस्तु र आवश्यक आवास सुविधाबाहेक साढे सात तोला सुन वा साढे बाउन्न तोला चाँदी वा त्यसबराबर सम्पत्ति भएको कुनै ऋणमुक्त व्यक्तिले दान दिनुपर्ने परम्परा छ । यसरी दान दिँदा बाँकी सम्पत्ति शुद्धीकरण हुने विश्वास छ । यस्तो दान गरिब र असक्षमलाई वितरण गरिन्छ । त्यस्तो रकम अरूले प्रयोग गर्न पाउँदैनन् । यसले गर्दा विपन्न वर्ग पनि पर्वको खुसियालीमा सहभागी हुन सक्छन् । सामूहिकताको भावना हो यो ।

पछिल्लो समय नेपालमा यस पर्वको महत्त्व फैलँदो छ । अन्य धर्मका अनुयायीले पनि रमजानका विभिन्न अंशमा सहभागी भएर शुभकामना आदानप्रदान गर्न थालेका छन् । विशेष परिकारका रूपमा प्रयोग हुने 'सेवई' लगायतका खानेकुरा ख्वाएर मुस्लिमहरूले भाइचारा बढाइरहेका छन् । यसको सांस्कृतिक महत्त्वले हाम्रो विविधतालाई जोडिरहेको छ । नेपाल विभिन्न धर्म र संस्कृति भएकाहरूको साझा देश हो भन्ने सन्देश पनि दिइरहेको छ ।

३० दिन रोजा बसिसकेपछिको अर्को दिन इद उल फित्र मनाइन्छ । यो खुसी साट्ने दिन हो । एकापसमा गला मिलाएर इदको शुभकामना आदानप्रदान गरिन्छ । आफन्तजनलाई बोलाएर मिठोमसिनो खुवाइन्छ । इद उल फित्र र हजसँग जोडिएको इद उल अजहा पर्वमा दिइँदै आएको राष्ट्रिय बिदा भने कटौती हुँदा मुस्लिम समुदायको मन काटिएको छ । मुलुकको तेस्रो ठूलो धार्मिक समुदायले राष्ट्रिय पर्वको पहिचान माग गर्नु स्वाभाविक छ, जायज छ ।

प्रकाशित : वैशाख २४, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?