वाचा बाँड्ने कार्यक्रम

सम्पादकीय

सरकारले आउँदो वर्ष इतिहासमै 'तीव्र आर्थिक वृद्धि हुने' दाबी र अबको ४ वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहितको नीति तथा कार्यक्रम ल्याएको छ । यसमा रेलमार्ग र पानीजहाजका योजना मात्रै छैनन्, राजमार्गमा आपतकालीन हवाई अवतरणदेखि लिएर मुस्ताङमा युरेनियम उत्खनन गर्नेसम्मका सपना छन् ।

वाचा बाँड्ने कार्यक्रम

सपना र नाराहरू रहरलाग्दा भए पनि पुँजीगत खर्चमा अपेक्षित प्रगति नभइरहेको अवस्थामा स्रोत जुटाउने र जोगाड गर्ने योजनाबिनाको नीति तथा कार्यक्रम भरलाग्दो छैन ।


नीति तथा कार्यक्रममै स्विकारिएको छ- पुँजीगत खर्च वृद्धिमा अपेक्षित सफलता हासिल भएको छैन, आयोजनाहरू समयमै सम्पन्‍न गर्न सकिएको छैन, भ्रष्‍टाचार रोकिएको छैन र सुशासन प्रत्याभूत गर्न सकिएको छैन । यसो हुनमा परम्परागत कार्यसंस्कृति, कानुनी जटिलता र कमजोर जवाफदेहितालाई जिम्मेवार ठहर्‍याइएको छ । यसै हो भने पनि अबका वर्षमा यी गैरजिम्मेवारी अन्त्य गर्ने उपाय के हुन् ? ती उपाय दिने दायित्व पनि सरकारकै होइन र ? यसतर्फ भने नीति तथा कार्यक्रम मौन छ ।


वाषिर्क कार्यक्रममा ३ वर्ष, ४ वर्ष र ५ वर्षमा यस्तो गर्छौं, उस्तो गर्छौं भनिएको छ । नीति र कार्यक्रमबीच गतिलो तालमेल स्थापित भएको पाइन्न । युरेनियम उत्खननका लागि के-के मापदण्ड पूरा गर्नुपर्छ भन्ने थोरै मात्र हेक्का राखिएको भए उत्खनन गर्ने कुरा कार्यक्रममा राख्नै पर्दैनथ्यो । एक वर्षमा जम्मा ३५ हजार मात्र रोजगारी सिर्जना भएको मुलुकमा अर्को एक वर्षमा ५ लाख रोजगारी सिर्जना होला भनेर कसरी पत्याउने ? भएको एउटै अन्तर्राष्ट्रिय विमानस्थललाई राम्ररी सञ्चालन गर्न नसकेको सरकारले ठूला सडकमा आपतकालीन हवाई अवतरणको व्यवस्था मिलाउला भनेर कसरी आश्वस्त हुने ?


नीति तथा कार्यक्रममा सन् २०३० सम्म मध्यमस्तर र २०४३ सम्ममा उच्च मध्यमस्तरको आय भएको मुलुकमा रूपान्तरण गर्ने लक्ष्य छ । गरिबीको अन्त्यदेखि मुलुकलाई अन्तर्राष्ट्रिय निकायमाझ विभिन्न तहमा पुुर्‍याउनेसम्मका प्रतिबद्धता छन् । नीतिका मस्यौदा र भाषणमा समावेश कतिपय विषय राख्नका लागि राखिएका जस्ता मात्र छन् भने कति विगतकै निरन्तरता हुन् । यसो हुनु किन पनि स्वाभाविक छ भने विगतका अधिकांश वाचा अझै अधुरै छन् ।


नीति तथा कार्यक्रमले परिणाम दिने र कार्यान्वयन हुने माध्यम आगामी जेठ १५ गते प्रस्तुत हुने बजेट हो । नीति तथा कार्यक्रमलाई नै आधार मान्ने हो भने बजेट बरालिन सक्ने सम्भावना छ । राजस्व संकलन कम भइरहेका बेला सरकारले वितरणमुखी कार्यक्रमलाई प्राथमिकता दिने झल्को देखिएको छ ।


गत वर्ष बजेटमा सामाजिक सुरक्षा भत्ता नबढाइएकामा पार्टीभित्र आलोचना खेप्नुपरेकाले होला, सरकारले यसपटक भत्ता वृद्धि गर्ने घोषणा नीति तथा कार्यक्रममै पारेको छ । यो वा त्यो शीर्षकमा रकम नै यसरी वितरण गर्छु भनेर नीति तथा कार्यक्रममा समावेश गरिने यो विरलै घटना हो । वृद्धभत्ता बढाउनु हुँदैन भन्ने हैन तर सामाजिक सुुरक्षाका नाममा वितरणमुखी र ढुकुटीलाई भार पार्ने परम्पराको विकल्प खोजिनुपर्छ ।


पछिल्लो समय सार्वजनिक भएका ठूल्ठूला आर्थिक अनियमितताका विषयमा सरकारको मौनता विडम्बनापूर्ण छ । मुलुकभरका अतिक्रमित सबै जग्गा एक वर्षभित्र फिर्ता गर्ने र जग्गा प्रशासनमा अनियमितता गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता स्वागतयोग्य भए पनि जग्गा अनियमिततामा जो जसको संलग्नता देखिँदै छ, उनीहरू सबैमाथि छानबिन र कारबाही होला भन्ने पत्याइसक्नु छैन ।


५ वर्षका लागि आएको सरकारले ५ मुख्य विषयमा मात्रै आफूलाई केन्द्रित गर्न सकेको भए यथार्थपरक हुने थियो । संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउने योजना हुुनुपथ्र्यो । रोजगारी, निजी क्षेत्र र लगानी प्रवर्द्धनका कार्यक्रम आउनुपर्थ्याे । देशको पहिचान र क्षमता बढाउने कार्यक्रम ल्याउनुपर्थ्याे । बढ्दो आयात प्रतिस्थापन गर्न स्रोतसाधन प्रयोग गरी उत्पादन बढाउने कार्यक्रममा जोड दिनुपर्थ्याे ।


त्यसो त हाम्रो नीति तथा कार्यक्रम निर्माण विधि पनि कर्मकाण्डी नै छ । मन्त्रालयहरूले सूची दिने र मुख्यसचिवले त्यसमा बुँदा गाँस्ने काम गर्छन् । यसमा स्थायी सरकारले परिवर्तन गर्न सकेको भए २ सय १८ बुँदा नै चाहिँदैनथ्यो । मन्त्रालयहरूले बुँदा दिने, मुख्यसचिवले गाँस्ने र राष्ट्रपतिले 'मेरो सरकार' भनेर फुक्ने कार्यले परम्परागत ढर्रालाई थप बढावा मात्र दिएको छ ।


आफूले गर्न नसकेको काम सकेनौं भन्नु स्वागतयोग्य भए पनि पटकपटक यस्तो जवाफ दिएर पन्छिने छुट स्थायी सरकारलाई छैन । दुःखजिलो गरेर सर्वसाधारणले बुुझाएको कर उत्पादक क्षेत्रमा परिचालन गर्नुपर्छ । उत्पादनमूलक औद्याेगिक क्षेत्रको विस्तार पहिलो प्राथमिकतामा पारिनुपर्छ । उत्पादन वृद्धि र औद्याेगिक क्षेत्रमा गरिएको खर्चले नै रोजगारी सिर्जना हुने हो ।


यसबाटै आय र बचत बढ्छ । त्यो रकम शिक्षामा खर्च हुन्छ, उत्पादित सामग्रीले आयात प्रतिस्थापन गर्छ, निर्यात हुन्छ । यी सबै कार्यले मुलुकको बचत बढ्छ जसले सरकारले भनेअनुसारकै दोहोरो अंकको आर्थिक वृद्धि हुन सघाउँछ । नभए हाम्राे तत्कालीन अर्थतन्त्रको परम्परागत संरचनाका आधारमा दोहोरो अंकको आर्थिक वृद्धि र मुलुकको स्तरोन्नति सम्भव छैन । यसै वर्ष पनि मुस्किलले ६.८१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । यसलाई सरकारले सकारात्मक अर्थ्याउँदै ४ वर्षमा दोहोरो अंकको वृद्धि गर्ने घोषणा गरेको छ । यदि यो महत्त्वाकांक्षा पूरा गर्ने नै हो भने त्यसतर्फका सुरुवाती पाइला भ्रष्टाचार निवारण र सुशासन नै हुनुपर्छ ।


सपना बाँड्नमा सरकारले कुनै कसर बाँकी राखेको छैन । बाँकी छ त फगत कार्यान्वयनको ।

प्रकाशित : वैशाख २२, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?