भान्छामा छोराछोरीलाई कसरी लोभ्याउने ?

उषा थपलिया

काठमाडौँ — पन्ध्र वर्ष पुग्नै लागेकी छोरीले यो वर्ष एसईई दिई । प्लेग्रुपदेखि १० कक्षासम्म करिब १२ वर्ष उसले स्कुलमा बिताइसकेकी छ । कहिलेकाहीं बाहेक हरेक दिन उसलाई घरबाटै खाजा बनाएर पठाइयो । सुरुमा बजारिया खानेकुराप्रतिको उसको लगाव अचाक्ली थियो ।

भान्छामा छोराछोरीलाई कसरी लोभ्याउने ?

तर ती खानेकुराको दुष्प्रभाव र घरेलु खानाको उपयोगिता निरन्तर बताउन झन्झट मानिएन । कक्षा चढ्दै गएपछि मानव स्वास्थ्य, पाचन प्रणाली, स्वस्थकर र अस्वस्थ खानपानको फाइदा/बेफाइदा पाठ्य–पुस्तकमै जब पढ्ने क्रम सुरु भयो, कुरा बुझाउन झन् सजिलो हुन थाल्यो । आफ्नो किताबका साथै सर, म्यामले पढाएका कुरामा बच्चाहरू बढी विश्वस्त हुन्छन् ।


त्यसकै फाइदा उठाएर पाठसंँग अन्तर–सम्बन्धित गर्दै कुरा बुझाउँदा छोटो अवधिमै राम्रो सफलता मिल्यो । स्कुलबाट घर फर्कने क्रममा उसका साथी र आमाहरू बाटाका चटपटे र पानीपुरीको स्वाद हरेक दिन लिइरहेका भेटिन्थे । तर छोरीले एकदिन पनि त्यसको चाहना गरिन । उसको समर्पणको कदरस्वरुप विदाको दिन त्यस्ता खाजा स्वस्थकर रूपमा घरमै बनाइदिन्थेँ, ऊ स्वाद मानेर खान्थी ।


हतारका कारण कुनै दिन खाजाको लागि पैसा पठाउँदा ऊ लिन्नथी । कहिलेकाहीं स्कुलकै क्यान्टिनमा खाना/खाजा खान छुट दिँदा खानामा चिल्लो, मसला धेरै हुने भएर नखाने उसको जवाफ रहन्थ्यो । पहिला घरमा बन्ने धेरैजसो तरकारी उसले खाँदैनथी । निरन्तर प्रयासपछि उसले नखाने तरकारी, सागसव्जी अहिले केही छैन । दाल, गेडागुडी, दूध, दही, फलफूल, साग, माछा, मासु, सलाद सबै खाने बानी छ ।


घरको खानामा चिल्लो, मसला या नुन बढी भएमा पहिला ऊ नै सतर्क गराउँछे । आफूलाई मनलागेका परिकार भान्छामा छिरेर आफैले बनाउन थालेपछि स्वादमा भन्दा स्वस्थतामा उसको झुकाव देखिन्छ । स्वस्थकर खानपानको वातावरण आफै निर्माण गर्नसक्ने छोरीले अब बाटो विराउँछे भन्ने लाग्दैन ।


उसलाई चस्मा लगाउने औधी रहर । समस्या नभए पनि त्यसकै लागि दुईपटक आँखा जँचाइसकी । दृष्टि राम्रो भएकाले डाक्टरले चस्मा सिफारिस गरेनन् । उसको प्रशंसनीय सिर्जनात्मक क्षमताको पृष्ठभूमिसमेत उसको सुस्वास्थ्यसँंग जोडिएकोमा शंका छैन । स्वस्थकर खानपानको आदत नबसालेको भए छोरीको सबै खाले स्वास्थ्यमा यति निश्चिन्त प्रतिफल कहाँ मिल्थ्यो र ?


पहिला बुढ्यौलीबाट सुरु हुने दीर्घरोगहरू अहिले कम उमेरमै देखिन थालेको छ । नसर्ने त्यस्ता दीर्घरोगबाट बालबालिकासमेत पीडित देखिन्छन् । यसको मुख्य कारण कृत्रिम र बजारिया तयारी खाजाको अत्यधिक प्रयोग भएको निष्कर्ष राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूले निकालिरहेका छन् । अहिले ग्याजेटप्रतिको मोहले बालबच्चाको शारीरिक श्रम पटक्कै हुँदैन, अस्वस्थ खानपान र निस्क्रियताले उनीहरूको स्वास्थ्य बिगि्रँदै जाने तथ्यप्रति कोही अनभिज्ञ नहोला । आफ्नो सन्तानको स्वास्थ्यबारे अभिभावक चनाखो नभई हुँदैन ।


सन्तानको स्वास्थ्यका लागि दुवै अभिभावकको समान दायित्वलाई नकार्न मिल्दैन । तर बाबाको तुलनामा छोराछोरी आमासँंग बढी समय रहन्छन् । छोराछोरीको खानपानमा आमा बढी जोडिने स्थिति आम रूपमै छ । त्यसैले आमाको भूमिका निःसन्देह बढी रहन्छ । सन्तानको स्वास्थ्य अरु कुनै पक्षसँंग तुलना हुन सक्दैन । घरमै स्वस्थकर खानपानका साथै सोही लयमा छोराछोरीलाई हिँडाउनसके जीवनमा मिल्ने आनन्द बेग्लै हुन्छ । हरेक अभिभावको शान भौतिक विलासिताको असीमित जोडजामभन्दा सन्तानको सुस्वास्थ्यमा हुनुपर्छ ।


सडकका चोक र गल्लीहरूमा खुल्ला बेचिने चटपटे/पानीपुरी लगायत बस स्टेसन अघिल्तिर खानेहरूको भीड कहिल्यै कम देखिंँदैन । बेच्नेहरूलाई बिहानदेखि साँझसम्म भ्याई–नभ्याई हुन्छ । स्कुलबाट फर्केका छोराछोरीसँगै आफ्नोसमेत खाजाको गर्जो तिनै अस्वस्थकर खाजाले टार्ने आमाहरू प्रशस्तै छन् ।


घरका सन्तान च्यापेर खाजाकै लागि सडक धाउने आमाहरूको पनि कमी देखिन्न । कतिपय आमा र बच्चा ती खाद्य व्यापारीका नियमित ग्राहक बनेका छन् । ‘सबैले किनेर बचेखुचेको सडेगलेका आलु, प्याज, गोलभेडा तरकारी के गर्नुहुन्छ ?’ जुनसुकै तरकारी पसलेलाई सोध्यो भने उनीहरू निसंकोच भन्ने गर्छन्, ‘राति आएर पानीपुरी र चटपटेवालाले लगिहाल्छन् नि ।’


कम मूल्यमा भेटिने गुणस्तरहीन कच्चापदार्थको प्रयोग गरी बनाइएका सस्ता र फोहर खानेकुराले हानी गर्छ भन्ने सधैं किनमेलको अभिभारा सम्हाल्ने महिलाले बुझ्नुपर्ने हो । हाम्रा सडक/गल्ली/चोकहरूको वातावरण कति सफा छ ? धुवाँ, धुलो र प्रदूषणका कुइरीमण्डल पत्रहरू कसरी फैलने गर्छन् ? तर यी सबैप्रति आँखा चिम्लिएर सन्तानलाई आमा स्वयम्ले कसरी ती खानेकुरामा उत्साहित गर्नसकेका होलान् ? मन सधैं विझाउँछ ।


कमसल तत्त्वबाट बनेका खानाले पार्ने असर त छँदैछ, व्यापारीले मिसाउने रासायनिक पदार्थले खानेकुरा अझ बढी हानिकारक बन्छ । घरायसी प्रयोजनमा एउटामात्रै आलु, गोलभेडा खराब पर्‍यो भने गन्ध तरकारीमा प्रस्टै थाहा हुन्छ । तर अधिकांश पदार्थ सडेगलेको प्रयोग गर्दा पनि सडकका खानेकुरा गन्धमुक्त हुनु तिनै रसायनको करामत हुनसक्छ । खानेकुरा आकर्षक देखाउन कृत्रिम रंग प्रयोग गरिन्छ । ती रंग खाद्य मापदण्ड पूरा हुन्–होइनन्, उपयुक्त जाँच हुँदैन ।


आक्कल–झुक्कल हुने सरकारी अनुगमनमा हानिकारक पदार्थको दबदबा रहेको निष्कर्ष आइरहेकै छ । केही अघि सुर्खेतको एकै स्टेसनमा पानीपुरी र चटपटे खाँदा ४३ जना बिरामी परेको प्रचारमा आयो । यस्तै कारणले कतिपय जिल्लामा यी खाद्यवस्तु बेच्न प्रतिबन्ध लगाइएका खबर सार्वजनिक हुने गरेका छन् ।


बालबालिकालाई बजारमा जथाभावी पाइने खानेकुराको असर थाहा नहुन सक्छ । मिठो लागेपछि त्यसैमा झुम्मिनु तिनको दोष हैन । तर स्वास्थ्यका लागि के राम्रो/नराम्रो सिकाउने अभिभारा अभिभावकको हो । विद्यालयबाट फर्कंदा बालबालिकाको पेट तीन–चार घन्टादेखि खाली हुन्छ ।


भोको पेटमा विभिन्न रसायन र प्रदूषण सहितका खाद्य पदार्थले कलिलो स्वास्थ्यमा असर नपार्नु कसरी ? बच्चाहरूलाई सम्झाएर घरमै बनेका स्वस्थकर खानेकुरा खुवाउनु अभिभावकको प्राथमिक दायित्व हो । मूल्यका हिसाबले पनि ती खानेकुरा सस्ता हुँदैनन् । खानाको गुणस्तर साथै स्वास्थ्यमा पुर्‍याउने हानिलाई विचार गर्दा त्यो निकै महंँगो सावित हुन आउँछ ।


सडकमा अस्वस्थकर खाजाको लागि जति मूल्य चुकाइन्छ, त्योभन्दा कम मूल्यमा घरमै स्वस्थकर खाजा तयार हुन्छ । बच्चाहरूको चित्ताकर्षक गर्दै पसलको बाहिरी भागमै झुन्ड्याएर बेचिने चिजबल्स, कुरकुरे, चिप्स, चाउचाउ, तितौरा लगायतका प्याकेटका खानेकुरा बाल स्वास्थ्यका लागि हानिकारक हुन्छ । अभिभावकले यतातिर ध्यान दिएको पाइँदैन । सुरुमा बच्चाहरूलाई बुझाउन गाह्रो हुन्छ ।


बच्चाको जिब्रे स्वादलाई लक्षित गरेर तयार बजारका खानेकुराको सट्टा घरेलु खानामा बानी बसाउनु सजिलो हुँदैन । तर प्रयास गरिरह्यो भने खानपानमा बच्चाहरूलाई अनुशासित बनाउन सकिन्छ । बच्चाको स्वस्थकर खानपानमा आफूले पाएको सफलता, छोरी हुर्काउँदाको अनुभव अरूलाई पनि काम लाग्ला कि ?


प्रकाशित : वैशाख २०, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?