१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

डोजरतन्त्र !

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — नेपाली आम बोलीमा अंग्रेजीका अनेकौं शब्दले प्रवेश पाएका छन् । यसको आफ्नै सामाजिक-राजनीतिक पृष्ठभूमि छ । पछिल्लो समय आम बोली बनेको अंग्रेजी शब्द हो, 'डोजर' । ठूला निर्माण कार्यमा प्रयोग हुने यो एउटा मेसिन हो । डोजरले तत्काल केही भत्काउन सक्छ ।

डोजरतन्त्र !

ठूलो परिणाममा केही यताउति गर्नुपर्‍यो भने सघाउँछ । नेपाली समाजमा विकसित हुँदै गएको मनोवृत्ति पनि यही डोजर प्रवृत्तिको छ । कसैलाई कुनै मर्का पर्‍यो वा न्याय चाहियो भने हामी तुरुन्त कडाभन्दा कडा सजायको माग गरिहाल्छौं ।


कतै अवैध निर्माण भयो भने तुरुन्तै डोजर गुहार्छौर्ं । अपराध संहिताले प्रत्येक अपराधको स्पष्ट दण्ड-सजायको व्यवस्था गरेको छ । कतै केही अनियमितता वा अवैध काम भएको छ भने त्यसलाई हटाउने प्रक्रियाहरू निर्धारण गरेको छ । लोकतान्त्रिक संविधानको सौन्दर्य यही हो । यस्तो सौन्दर्यको अक्षुण्ण पालना जहाँ गरिन्छ, त्यही समाज लोकतान्त्रिक मानिन्छ ।


मधेसतिर एउटा प्रचलित आहान छ, 'जैसा खाए अन्न, वैसा होए मन, जैसा पिए पानी, वैसा होए बानी' । हामीले लोकतान्त्रिक आन्दोलन गर्दा एकातिर 'वि वान्ट डेमोक्रेसी' को नारा लगाउँथ्यौं, त्यहींनेर कुनै अमूक शासकलाई फाँसी दिनुपर्ने माग पनि राख्थ्यौं । यो आफैमा विरोधाभाषपूर्ण कुरा थियो । लोकतान्त्रिक राज्यमा अधिकतम दण्डको प्रावधान भए पनि मृत्युदण्डलाई निषेध गरिएको हुन्छ । हामीले स्वीकारेको पनि त्यही हो ।


हिजो लोकतन्त्र खोजिरहँदा हामीले लोकतन्त्र विरोधी नारा जसरी चर्कायौं, आज देखिएका कतिपय विसंगतिहरूको मुहान त्यही हो । जनता तुरुन्त तृप्त हुने मनोविज्ञानबाट ग्रसित छन् । तत्काल फैसला चाहन्छन् । तत्काल परिणाम खोज्छन् । विधि र प्रक्रिया मतलब गर्दैनन् । वर्तमानका झिनामसिना उपलब्धिमा रम्न चाहन्छ । कानुनी शासनको ट्राफिक बत्तीमा अडिन चाहँदैनन् । जहांँ पुग्न खोज्दा पनि सबै ट्राफिक नियम मिचेर अगाडि बढ्न चाहन्छन् । यो मनोवृत्तिलाई 'डोजरतन्त्र' मान्न सकिन्छ, जहाँ सामुहिकतालाई निस्तेज पारिन्छ, छुद्रतालाई महत्त्व दिइन्छ, आदर्शलाई गौण बनाइन्छ र प्रक्रियाभन्दा परिणामको हतारो बढी हुन्छ ।


यस्तो डोजरतन्त्रमा सिद्धान्तप्रति सम्झौता गर्दै आफूलाई फाइदा हुने झिनामसिना कुरालाई प्रश्रय दिइन्छ र त्यसैमा रमाइन्छ । आम रूपमा कानुनी शासनप्रति वितृष्णा पैदा गरिन्छ । द्रुत परिणामको चाहनालाई यसरी फैलाइन्छ, जहाँ नागरिक प्रयत्नहरूलाई गौण तुल्याउँदै सैनिक सक्रियतालाई स्वाभाविक बनाइन्छ ।


कृत्रिम सपनाहरूको विम्ब छरिन्छ र त्यसैको चकमन्नतामा आमजनको विवेकलाई बन्धक बनाइन्छ । हालै संघीय राजधानी काठमाडौंको हृदयस्थली टुँडिखेलमा राष्ट्रिय रूपमै घोच्नेगरी सटरहरू निमर्ाण गरिएको प्रकरण उठान भयो । राष्ट्रिय लज्जाको विषय बन्यो यो । अन्ततोगत्वा प्रधानमन्त्रीकै निर्देशनमा त्यहाँ डोजर चल्यो । सामाजिक सञ्जालहरूमा हर्षबढाइँ गरियो ।


टुँडिखेल खुला हुनुपर्ने चाहनामा विमति छैन । कुरा विधि-प्रक्रियाको हो, लोकतन्त्रमा यसको पालना गरेकै हुनुपर्छ । कतिपय आलोचक लोकतन्त्रलाई ढिलो सेवा दिने पद्धति बताउंँछन् । यहाँं को दोषी हो ? सरकारकै नाकछेउ अवैध रूपमा रातारात सटर निर्माण गर्ने हिम्मत कसरी आयो ? त्यसमा क-कसको मिलिभगत छ ?


अवैध निर्माण गरिएका सटर हटाउन पूर्वसूचना दिइयो कि दिइएन ? सटरसँंगै अरु को-को ठगिए ? यी प्रश्नहरूप्रति आंँखा चिम्लँदै केवल डोजर चलेकोमै रमाउनु डोजरतन्त्रलाई स्वीकार्नु हो, लोकतन्त्रलाई किनारामा हुत्याउनु हो । अधिनायकवादी शासनमा यस्ता काम बडा सजिलोसँंग हुन्छन् । त्यहाँ हत्यारालाई तत्कालै फाँसी दिइन्छ ।


लोकतन्त्रमा भने सार्वजनिक रूपमै स्थापित आतंकवादीलाई पनि अदालती प्रक्रियाको बाटो छिराएर सजायको भागिदार बनाइन्छ । डोजरतन्त्रमा कसैलाई झुन्ड्याउनुपरे झुन्ड्याइन्छ । विकासको खोजीमा भत्काउनुपरे भत्काइन्छ । जनअपेक्षा, विधि र प्रक्रिया, स्थान विशेषहरूको महत्त्व हेरिँदैन ।


डोजरतन्त्रप्रतिको आकर्षणले कतिपय सन्दर्भमा 'लोक'को निरंकुशतालाई टेवा दिन्छ । अधिनायकवादी मनसुवा भएका निर्वाचित शासकले जनताको तुरुन्त तृप्त हुने मनोविज्ञानको हवाला दिँदै ठाडो निर्णय गर्छन् र परिणाम निकाल्छन् । यसले विस्तारै तानाशाही मनोवृत्ति जागृत गर्छ । जब निर्वाचित जनप्रतिनिधिहरू अलोकपि्रय हुन्छन्, त्यतिखेर लोकतान्त्रिक समाजमा संवैधानिक निकायका अनिर्वाचित अधिकारीहरूले राजनीतिज्ञ र जनप्रतिनिधिभन्दा बढी सम्मान पाउँछन् ।


जब लोकतन्त्रको रिक्तताको भर्‍याङ उक्लिँदै तानाशाही अभिलाषाहरू दुर्भाग्यपूर्ण ढंगले विकसित हुन्छन्, तब निर्वाचित जनप्रतिनिधि पनि त्यस्तै लहलहैमा हिँड्नुपर्ने हुन्छ । जब जनताको अभिमत, सिकायत, चाहनाहरूले लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिन थाल्छन्, तब शासकहरू जनताको नाममा डोजरतन्त्र चलाउन हौसिन्छन् । अहिले नेपाली समाजको अवस्था यही हो ।


अर्को संकट- सामाजिक सक्रियतावादीहरू पनि डोजरतन्त्रलाई लोकपि्रय बनाउने गतिविधि सञ्चालन गर्छन् । दिगोपनतिर होइन, तत्कालका झिनामसिना कुरातिर शासनलाई आकषिर्त गर्न खोज्छन् । जब कतै कानुन भंग हुन्छ, सडकमा अधिकारवादीले लगाउने नाराको विश्लेषण गरौं- त्यसले डोजरतन्त्रलाई बल पुर्‍याइरहेको छ कि लोकतन्त्रलाई ?


जनबुझाइ के हुनुपर्छ भने लोकतन्त्र महँंगो र समय खर्चिने व्यवस्था हो । तर यसले विविधतालाई जोड्छ । विवेकको कदर गर्छ । न्यायको प्रत्याभूति दिन्छ । राज्यमा सबैको समावेशी स्वामित्व सुनिश्चित गर्छ । नागरिकले रोजे-खोजेका सेवा दिन जनप्रतिनिधिहरू तम्तयार हुन्छन् । डोजरतन्त्रमा यसको ठ्याम्मै बेवास्ता गरिएको हुन्छ । कसैलाई मर्का पर्‍यो र त्यो अरुको चासो विषय बन्यो भने सुनुवाइका लागि तुरुन्त सडक बन्द, जुलुस, धर्ना गरिन्छ ।


यस्ता जुलुस वा बन्दहरूमा हिंसाका वारदात दोहोरिन्छन् । ढुंगामुढा गरिएकै हुन्छ । सडकमा गाडीले किचेर कोही मारियो भने प्रायः देखिन्छ- कडा कारबाही माग गर्दै सडक बन्द गरिन्छ र निर्दोष तथा अनभिज्ञ अन्य सवारीलाई तोडफोड गरिन्छ । सडक लोकतन्त्रलाई प्रतिस्थापन गरेर ल्याइएको डोजरतन्त्रलाई संस्थागत गर्ने अभ्यास हो यो । उता शासकले पनि शान्तिपूर्ण विरोध सुन्नै नचाहने ? कतै कसैले मुठ्ठी कसेर प्रश्न गर्‍यो भने त्यहाँं लाठी बर्साइहाल्छ । लोकतान्त्रिक सरकारका शासक पनि प्रश्नको अस्तित्वलाई भत्काउन डोजर नै चलाउन खोज्छन् ।


लोकतन्त्र र समृद्धिको विमर्श चलिराख्दा कतिपयले भनेकोे सुनिन्छ- विधि र प्रक्रियाको बढी खोजी गर्न थाल्यो भने विकास हुँदैन । नेपालभरि जसरी निजी जग्गामा ठडिएका घरहरूमा डोजर लगाउँदै सहरलाई गुल्जार बनाइँदैछ, त्यो त डोजरतन्त्रकै उपज हो । बुझ्नुपर्ने के भने लोकतन्त्रसँंगै समृद्धि आउन सक्छ वा समृद्धि आएर पनि लोकतन्त्र आउन सक्छ ।


यसलाई यसरी भनौं- डोजरतन्त्र भएको अवस्थाले छिटो विकास ल्याउँंछ । कतिपय ठाउँंमा डोजरतन्त्र भएर पनि दिगो विकास भएको छैन । केही सीमित मान्छेको चहलपहल अस्वाभाविक हुन्छ । समृद्धिको गीत गाएर खास वर्ग विशेषले लाभ पाउँंछ । राष्ट्रिय विमर्शमा 'कल्चरल ग्याप' हुन जान्छ । दलहरूको सामाजिक बनोटकै छायाले डोजरतन्त्रलाई लोकपि्रय बनाउने परिस्थिति बन्छ । सत्ताबाट अवाधित अधिकार पाउने दुराशय राख्दै दललाई नाफामुखी कम्पनीका रूपमा विकसित गरिन्छ ।


राज्यका अन्य अंगहरूबीच अस्वाभाविक सिन्डिकेट खडा गरिन्छ । पैसाको पकड बढ्दै यसले राजनीतिलाई खेलाउन थाल्छ । त्यसबाट उत्पन्न हुने ब्यापक विष्मय, हतासा र निराशालाई डोजरतन्त्रले कुल्चिन्छ । डोजरतन्त्रले नेतृत्वको स्वार्थलाई शिरोपर गरी गिरोहको रक्षा गर्छ ।


तुरुन्त तृप्त हुने शक्ति संघर्षले लोकतन्त्रको दायरालाई बहुतहको निर्वाचितकालमा समेत संकुचित गरिदिएको छ । राजनीतिक स्थिरताप्रतिको आम आकांक्षामाथि तुषारापात गरिदिएको छ । जनताले तत्काल परिणाम खोज्नु स्वाभाविक हो । बिर्सन हुन्न- डोजरतन्त्र र लोकतन्त्रबीच कतिपय सन्दर्भमा मिहिन अन्तर छ ।


लोकतन्त्रमा परिणामको चाहनासँगै पात्र, प्रक्रिया र परिस्थितिलाई पनि राखेर हेरिन्छ । परिणामको खोजीमा त्योसंँग जोडिएका बांँकी अवयवलाई पनि त्यसैको अंग मानिन्छ । प्रक्रियालाई उपेक्षा गरेर ल्याइएको परिणाम न दिगो हुन्छ, नत सर्वजन हिताय नै । लोकतन्त्रमा मूल्य र मान्यता सर्वोपरी हुन्छ ।


डोजरतन्त्रमा दुईजिब्रे र कपटीहरूको विगविगी हुन्छ । लोकतन्त्रमा नेतृत्वले जनतासंँग संवाद गर्छ । कतिपय अवस्थामा भिड मनोविज्ञानको आलोचना र खबरदारी पनि गर्छ । त्यसो गर्न नेतृत्वमा उच्च नैतिक बल, पद्धतिप्रतिको प्रतिबद्धता र साहस हुनुपर्छ ।

प्रकाशित : वैशाख १९, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?