कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुलामञ्च खुम्च्याउने धृष्टता

सम्पादकीय

काठमाडौँ — नामै काफी छ, खुलामञ्च । खुलै रहनुपर्छ । खुलै राखिनुपर्छ । घनाबस्ती र व्यस्त सहरहरूमा कहीँ न कतै खुलामञ्च हुन्छन्, चाहिन्छन् । तब मात्र सहरवासीले एकैछिन भए पनि खुला आकाशमुनि सुस्ताउन पाउँछन् । 

खुलामञ्च खुम्च्याउने धृष्टता

राजधानीवासीले सुस्ताउने त्यस्तो स्थान अहिले बेपर्वाह अतिक्रमण गरी टहरा र सटर बनाएर भाडा असुल्ने काम भइरहेछ । खुलामञ्च अतिक्रमण भएपछि सर्वसाधारण झनै आक्रोशित भएका छन् ।


नगरवासीको आक्रोश र विरोधपछि शनिबार प्रधानमन्त्रीको निर्देशनमा खुलामञ्चभित्रका केही टहरामा डोजर लगाइएको छ । जति गरिएको छ त्यो खुलामञ्चलाई पूर्ववत् खुला राख्न पर्याप्त छैन । अतिक्रमण गरेर बनाइएका टहरा र सटरलगायत सबै संरचना भत्काउनुपर्छ । यो हदसम्म खुलामञ्च नै बिक्री गर्नेहरू को को हुन् ? त्यो तत्काल छानबिन र सार्वजनिक गर्नुपर्छ । तिनलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । महानगरपालिकाका पदाधिकारीलगायत सम्बद्ध कोही पनि यसबाट उम्कन पाउँदैनन् ।


खुलामञ्चमा संरचना निर्माण गरी भाडा लगाउँदा महानगरका प्रमुख र उपप्रमुख के गरिरहेका थिए ? खुलामञ्चमा टहरा बनाउन दिने महानगरले उठाएको भाडाको हिसाबकिताब कति छ ? कहाँ छ ? महानगरपालिकाका प्रमुख र उपप्रमुख आपसमा किन आरोप–प्रत्यारोप गरिरहेछन् । प्रमुख भन्छन्– मैले छानबिन गर्नुस् भनी उपप्रमुखलाई जिम्मा दिएँ तर उहाँले काम गर्नुभएन, सहयोग गर्नुभएन । उपप्रमुख आफूलाई प्रमुखले कुनै जिम्मेवारी नदिएको बताइरहेकी छन् ।


आफ्नो महानगरभित्रको साँचो समात्नेले अरूलाई दोष दिएर उम्कन खोज्नुभन्दा लाचारी अरू के हुन सक्छ ? नगरवासीले उनीहरूलाई जनप्रतिनिधि चुनेका यो लाचारीका लागि होइन, महानगरका सार्वजनिक स्थल, सम्पदा र धरोहरहरूको सही रखबारी गर्नका लागि हो ।


करिब ३० हजार मानिस अट्ने खुलामञ्चमा महानगरपालिकाको आडभरोसमा टहरा बनाएर ठेकेदारले भाडा असुलिरहेका छन् । पुरानो बसपार्कमा भ्युटावर बनाउने भन्दै २०७३ वैशाखदेखि सिटी बसपार्कलाई पनि खुलामञ्चमै सारिएको छ । पुरानो बसपार्कमा भ्युटावर बनाउने प्रपञ्चसँगै भूमाफियाहरूले खुलामञ्चमा आँखा गाड्न थालेका हुन् । त्यसैको पछिल्लो मञ्चन हो– खुलामञ्चमाथि अतिक्रमण । भीडभाडको मौका छोपी माफियाहरूले खुलामञ्च खुच्याउने धृष्टता गरेका छन् ।


मिच्दा–मिच्दा खुलामञ्च साँघुरिएको छ । कुनै बेला दशरथ रंगशालादेखि रानीपोखरीसम्म फmैलिएको खुलामञ्च शक्तिशालीहरूले मिच्ने त्रम रोकिएको छैन । अहिलेको सहिदगेट बन्नु पहिले त्यस ठाउँमा एउटा सानो सडक थियो । सडकदेखि दक्षिणतिर सानो टुँडिखेल र उत्तरतिर ठूलो टुँडिखेल थियो । सहिदगेट बन्नुअघि त्यसको औपचारिक नाम नेपालद्वार थियो । अहिले सैनिक मञ्च रहेको स्थान नजिकै खरीको बोट थियो ।


जहाँनियाँ शासनकालमा पनि सिंहदरबारमा राज गर्ने शासकहरू निस्केर टुँडिखेलको फन्को मार्थे र खरीको बोटबाट महत्त्वपूर्ण घोषणा गर्थे । २०१७ फागुनमा बेलायती महारानी एलिजावेथ द्वितीय नेपाल भ्रमणमा आउँदा त्रिभुवन विमानस्थलबाट सिधै टुँडिखेलस्थित खरीको बोटमा लगेर स्वागत गरिएको थियो । त्यसपछि मात्र महारानीलाई शीतलनिवास लगिएको थियो ।


त्यो विरासत बोकेको खुलामञ्च अहिले तहसनहस र लथालिंग छ । भूमाफियाले मनलाग्दी रजाइँ गरेका छन् । महानगरको गैरजिम्मेवार हर्कतका कारण खुलामञ्चमा खुल्ने मनहरूको स्वतन्त्रता हरण भएको छ ।


गणतन्त्रको शक्ति भनेकै अभिव्यक्ति स्वतन्त्रता हो । यसका लागि उपयुक्त थलो खुलामञ्च नै हो । यो सर्वसाधारण भेला हुने, संगठन गर्ने र आवाज बुलन्द गर्ने स्थान हो । खुलामञ्चै मासेर खानेसम्मको अवस्थाले मुलुकमा दण्डहीनता कुन हदसम्म हावी हुँदै छ र त्यसलाई निस्तेज पार्ने हाम्रा राजनीतिक, प्रशासनिक र कानुनी संरचनाहरू कसरी कमजोर बन्दै गइरहेका छन् भन्ने प्रस्ट्याउँछ ।


अझै पनि चेत खुल्ने हो भने सरकारले खुलामञ्च अतिक्रमण गर्नेहरूलाई तत्काल कानुनी कठघरामा उभ्याउनुपर्छ । यसमा भएको बदमासी र अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तुरुन्तै अनुसन्धान थाल्नुपर्छ ।

छेवैको भृकुटीमण्डपको पनि हालत उस्तै छ । त्यहाँका कति संरचना वैधानिक हुन्, कति अवैधानिक भन्ने छानबिन हुनुपर्छ ।


रंगशालादेखि रानीपोखरीसम्मको क्षेत्र खुला राखेर दुई/तीनवटा चौर अनि वरिपरि हरियाली रूखहरू लगाउन र पार्क निर्माण गर्न राज्यलाई कसले रोकेको छ ? यति गर्न सके काठमाडौंको मुहार फेरिने छ । काठमाडौंको प्रदूषणमा कमी आउनेछ । राजधानीवासीका लागि थप प्राणवायु सञ्चार हुनेछ ।


सरकारले खुलामञ्च काण्डका दोषीहरूलाई कारबाही गरेर आमनागरिकलाई आश्वस्त पार्न रत्तिभर ढिलाइ गर्नु हुँदैन । ढिलाइ हुँदा खुलामञ्चको रखबारीमा आमनागरिक आफैं उत्रनुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था नआओस् । सरकारले खुलामञ्च खुलै राखोस् । मास्न खोज्नेमाथि तत्काल कारबाही होस् ।

प्रकाशित : वैशाख १५, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?