कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपाली भाषाको भविष्य

विष्णुमाया सिग्देल

चैत अन्तिम साता, मैले पढाउने एक निजी विद्यालयमा नतिजा प्रकाशन हुँदै थियो  । एक विद्यार्थीले मेरो विषय नेपालीमा निक्कै राम्रो नतिजा ल्याएकी थिइन्  ।

नेपाली भाषाको भविष्य

चैत अन्तिम साता, मैले पढाउने एक निजी विद्यालयमा नतिजा प्रकाशन हुँदै थियो । एक विद्यार्थीले मेरो विषय नेपालीमा निक्कै राम्रो नतिजा ल्याएकी थिइन् । अभिभावकसँग खुसी बाँड्न पाउने आशा गरेकी थिएँ । छोरीको नेपाली विषयमा धेरै नम्बर देखेपछि उनी खुसी भएनन् । भने, ‘लौ नेपाली विषयमा पो राम्रो अंक आएछ । यो त सरकारी स्कुलजस्तो पो भो !’


मलाई नमिठो लाग्यो । सायद आफ्नै भाषा जान्नु पनि अभिशापजस्तो भयो, मेरो विद्यार्थीका लागि । नेपालीमा कम अंक आउनुको पछाडि अभिभावकको कम चासोमात्रै कारण होइन रहेछ । आफ्नै भाषालाई हेला पो गरिरहेका रहेछौं ।


केही अभिभावक मात्र नेपाली भाषामा छोराछोरी किन कमजोर भए भनेर चासो राख्छन् । यो प्रश्न गर्न थाल्नु नै समाधानको बाटोतर्फ लाग्नु हो । गहिराइसम्म नपुगी यसको समाधान भने सम्भव छैन । धेरैलाई यस्तो प्रश्न गर्ने फुर्सद पनि छैन । किन अंक कम आयो त नेपालीमा ? म पनि तत्काल अभिभावकलाई के भन्ने मनमनै सोच्छु । कुरो बुझाउन सजिलो छैन ।

नेपालीमा विद्यार्थीहरू परीक्षामा मात्र कमजोर भएका हैनन् । कति अभिभावक आफूहरूलाई नै नेपाली भाषा नआउने हुँदा मलाई सबैथोक सिकाउन आग्रह गर्छन् । नेपालीमा कमजोर हुनुको कारण अंग्रेजी मोह पनि हो । अधिकांश अभिभावक छोराछोरीले ‘साथी’ चलचित्रको हिरोले जस्तै अंग्रेजीमै मनका कुरा खोलेको देख्ने लालसा राख्छन् । आमाले सिकाएको भाषामा मनका कुरा खोल्न पनि नपाउने विचरा भएका छन्, हाम्रा छोराछोरीहरू ।

नेपाली बाहेक सबै विषय अंग्रेजी माध्यममा पढाइ हुनु नेपालीमा कम अंक आउनु एक प्रमुख कारण हो । सामाजिक जस्ता विषय पनि नेपालीमै पढाइ नहुनु पनि अर्को कारण हो । निजी विद्यालयमा नेपाली विषय बाहेक अन्य सबै विषय तल्लो कक्षाबाटै अंग्रेजी माध्यममा पढाउने गरिन्छ । जाने पनि नजाने पनि अंग्रेजी बोल्न बाध्य पारिन्छ । निरन्तर अभ्यासले अंग्रेजी भाषा मजबुत हुनु अनौठो भएन । हामी विद्यालय र शिक्षकहरूले नै नेपाली भाषामा बोल्न बन्देज लगाएका छौं ।


संसारकै सायद नेपालमात्रै यस्तो देश होला, जहाँ शिक्षामा आफ्नो मातृभाषा, राष्ट्रिय भाषालाई हेय दृष्टिले हेरिन्छ । नेपाली साहित्य समृद्ध बनाउन पनि भाषाप्रतिको प्रेम चाहिन्छ । सायद पढेगुनेका अष्ट्रेलिया, अमेरिका जाने, नपढेका खाडी मुलुकै जानुपर्ने बाध्यताले गर्दा हामीे आफ्नो भाषा अर्थात् आफ्नो कस्तुरी नचिनेर भौंतारिँदैछौं । अरु थुप्रै भाषाजस्तै नेपाली भाषाको जग भनेको वर्णविन्यास, वाक्य गठन प्रक्रिया, शब्दभण्डार नै हो ।

यिनै सिकेका कुराहरूलाई सिलसिला मिलाएर लेख्नसके मात्र भाषा सम्प्रेषणीय हुन्छ । पहिले सामुदायिक विद्यालयका विद्यार्थीको नेपाली भाषा राम्रो हुन्थ्यो । कारण अंग्रेजी विषय बाहेक अरु सबै नेपालीमै पढाइन्थ्यो । अहिले सामुदायिक विद्यालयको नीति पनि परिवर्तन भएर नेपाली बाहेक सबै विषय अंग्रेजीमै पढाउन थालिएको छ । केही वर्षमै निजी स्कुलमा जस्तै सामुदायिकमा पनि नेपाली भाषा सिकाइ थप कमजोर हुने पक्का छ ।


नेपाली भाषा राम्रो भए के पाइन्छ त ? नेपाली पढाउने र सरकारी जागिरमा मात्रै होला सायद नेपाली भाषामात्रै जानेर पुगिने गन्तव्य । सहरिया समाज तथा धनीवर्गका लागि नेपाली जान्नुले कुनै अर्थ राख्दैन, जति अंग्रेजीले राख्छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०६८ सालदेखि कक्षा ३, ५ र ८ का विद्यार्थीको नेपाली भाषा सिकाइलाई उनीहरूको स्कुलको किसिम, लिङ्ग, जातजाति, भाषिक पृष्ठभूमि तथा भौगोलिक अवस्था, प्रदेशस्तर, उमेरगत अवस्था आदि पक्षहरूलाई आधार बनाएर विश्लेषण गरेको छ ।

कक्षा ३ को नेपाली भाषा सिकाइ मूल्यांकनले बालबालिकाको लेखाइ र शब्दभण्डार भन्दा पढाइ र व्याकरणमा राम्रो सिकाइ उपलब्धि रहेको देखाएको छ । उमेरगत आधारमा हेर्दा ८ वर्षदेखि १० वर्ष उमेर समूहका बालबालिकाहरूको नेपाली सिकाइ उपलब्धि राम्रो रहेछ । मेरो अभिभावकले भनेजस्तो सरकारी स्कुलमा नेपाली सिकाइ राम्रो हुन्छ भन्ने मान्यता पनि ठिक रहेनछ । अध्ययनले सामुदायिक विद्यालयभन्दा निजी विद्यालयमा नेपाली सिकाइ उपलब्धि राम्रो देखाएको छ । सामुदायिकमा समग्रमै सिकाइ कमजोर भएर हो कि? कारण खुलाइएको छैन ।

केही रोचक तथ्य पनि छ, अध्ययनमा । सबैजसो क्षेत्रमा केटीहरू पछाडि भए पनि नेपाली भाषा सिकाइमा केटाहरूभन्दा केटीहरू अगाडि छन् ।

भौगोलिक आधारमा हेर्ने हो भने हिमाली क्षेत्र पहिलोमा र पहाडी क्षेत्र दोस्रोमा पर्छन्, भाषा सिकाइमा । तर यी दुई बीचको अन्तर भने न्यून छ । पुछारमा पर्छ, तराई । विकास क्षेत्रगत रूपमा हेर्दा कक्षा ३ को पश्चिमाञ्चल विकास क्षेत्रको सिकाइ उपलब्धि अन्यको भन्दा उच्च छ ।

जातजातिगत आधारमा बाहुन–क्षत्रीको नेपाली भाषा सिकाइ सबैभन्दा राम्रो छ । जनजातिको भाषा सिकाइ उपलब्धि दोस्रोमा परे पनि बाहुन–क्षत्रीभन्दा धेरै पछाडि छन् । दलितको नेपाली भाषा सिकाइ जनजातिभन्दा पनि कमजोर छ । अन्य समूह भाषा सिकाइ उपलब्धिमा पुछारमा छन् ।

मगर, तामाङ, थारु, लिम्बु भाषा मातृभाषा भएका केटाकेटीको नेपाली भाषा सिकाइ भने नेपाली नै मातृभाषा भएकाहरूको भन्दा राम्रो पाइएको छ । यस्तो रोचक तथ्य कक्षा ३ र ५ को हो ।५ कक्षाको नेपाली विषयमा पढाइ र लेखाइभन्दा व्याकरण र शब्दभण्डार सिकाइ राम्रो छ । विकास क्षेत्रगत रूपमा पश्चिमाञ्चल क्षेत्र अगाडि छ । त्यहाँका ३ र ५ दुवै कक्षाको नेपाली भाषा सिकाइ अन्य क्षेत्रको भन्दा उच्च छ । मध्यपश्चिमाञ्चल विकास क्षेत्र सबैभन्दा पुछारमा ।

कक्षा ८ को २०७४ सालमा गरिएको नेपाली भाषा सिकाइ उपलब्धि बारेको अध्ययनले भने प्रदेश नं ३ अगाडि देखाएको छ । प्रदेश नं २ सबैभन्दा कमजोर छ । गण्डकी प्रदेश र प्रदेश नं ५ क्रमशः दोस्रो र तेस्रो राम्रो नेपाली भाषा सिकाइ हुनेमा पर्छन् । रोचक यो छ कि प्रदेश नं १ अर्थात् विकासमा अगाडि रहेको प्रदेशभन्दा विकासमा पछाडि परेका कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा राम्रो नेपाली भाषा सिकाइ हुनेरहेछ । नेपाली भाषामा राम्रो सिक्नु पनि विकास नहुनुको परिचय बनिसकेको त होइन ?


प्रदेश ३ मा के कारणले नेपाली भाषा राम्रो भयो भन्ने कुरा अन्य प्रदेशले थाहा पाएमा सुधारको थालनी गर्न सक्थे कि ?


आमाबाबुको पेसाले पनि बालबालिकाको नेपाली भाषा सिकाइमा ठूलो फरक पार्ने रहेछ । सरकारी जागिरेका छोराछोरीको नेपाली सिकाइ सबैभन्दा राम्रो देखिएको छ भने खेतीकिसानी र घरायसी काम गर्नेको छोराछोरीको सिकाइ स्तर कमजोर छ । बाबुआमाको पेसाले छोराछोरीको नेपाली भाषा सिकाइ निर्धारण भइरहनु हाम्रो शिक्षाको स्तर कमजोर भएको प्रमाण हो । आमाबाबु नेपाली शिक्षक रहेको परिवारका छोराछोरीको नेपाली भाषा सिकाइ उपलब्धि राम्रो हुँदोरहेछ ।


उमेरगत किसिमबाट उनीहरूको सिकाइ उपलब्धि हेर्दा १३ वर्षसम्मका बालबालिकाले नेपाली भाषा राम्रो सिकेका छन् । १४ देखि १५ वर्ष माथिका बालबालिकाको नेपाली भाषा सिकाइ उपलब्धि घट्दो रहेको अध्ययनले देखाएको छ । तर अध्ययनले के कारणले यस्तो भइरहेको छ, खुलाएको छैन । बालबालिकाले माथिल्लो कक्षामा जाँदा बढी लेख्नुपर्ने, ह्रस्व–दीर्घ र सिलसिला मिलाएर लेख्नुपर्ने, कथा, कविता, नाटक, संवादहरू लेख्नुपर्ने हुन्छ ।

तर त्यस्तो सिकाउने अभ्यास राम्रो नहुनु तथा अभिभावकको पनि चासो कम हुनुले यस्तो भएको हुनुपर्छ । खस्कँदो नेपाली भाषा सिकाइलाई सुधार गर्न ढिला भैसकेको छ । शिक्षक वा विद्यालयले पढाएन मात्रै भन्न छाडेर अभिभावकहरूले शिक्षकसँग भेटघाट गर्ने सल्लाह गर्ने वा विश्लेषण गरेर हाम्रा नानीबाबुको भाषा सिकाइ सुधार्नु आजको आवश्यकता हो । बेलैमा हामी सबै मिलेर लागौं । माधव प्रसाद घिमिरेले रचना गरेको गीतकै लयमा भन्न चाहन्छु, नेपाली हामी रहौंला कहाँ भाषा नै नरहे ।

लेखक शिक्षिका हुन् ।

प्रकाशित : वैशाख १४, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?