श्रीलंकाको नयाँ जातीय तनाव

वेइयी काई, के के रेबेका लाल, अन्जली सिंग्वी
न्यूयोर्क टाइम्स

गत आइतबार इसाई धर्मावलम्बीहरूको पर्व इस्टरका दिन श्रीलंकाको राजधानीमा शृंखलाबद्ध बम विस्फोट भयो  । जातीय द्वन्द्वको लामो इतिहास भोगेको यो मुलुकको शान्तिलाई उक्त शृंखलाबद्ध विस्फोटले भंग गरिदिएको छ  ।

२००९ मा अन्त्य भएको दशकौं लामो गृहयुद्धको प्रमुख कारण बहुसंख्यक सिंहाली बौद्ध र अल्पसंख्यक तामिल समूह बीचको द्वन्द्व थियो । हालको विस्फोट अल्पसंख्यक इसाई धर्मावलम्बी लक्षित थियो । इस्लामिक स्टेटले यसको जिम्मा लिएको छ । श्रीलंकाको तनावपूर्ण इतिहाससँग यसको कुनै तादत्म्यता छैन ।


डेढ करोडभन्दा बढी जनसंख्या रहेको सिंहाली श्रीलंका बहुसंख्यक आदिवासी वर्ग हो । उनीहरू बौद्ध धर्म मान्छन् । उनीहरू टापु राष्ट्रको पश्चिम र दक्षिणी भेगमा बसोबास गर्छन् । तामिलहरूले भने उत्तर र पूर्वी तटीय क्षेत्रलाई ओगटेका छन् । अल्पसंख्क तामिलहरूभन्दा ठूलो संख्यामा रहेका सिंहालीहरू हात छ । शासनसत्ता पनि उनीहरूकै अधीनमा रहेपछि त्यहाँ गृहयुद्ध चर्किएको थियो । जून १९८० मा सुरु भएको थियो । सिंहाली र तामिल बीचको तनाव २००९ मा गृहयुद्ध अन्त्य भएसँगै मत्थर हुँदै गएको छ । केही वर्षयता सिंहाली बौद्ध समुदायमा रहेका कट्टर समूहले मुस्लिम विरुद्ध नयाँ हिंसा सुरु गरेका छन् । गतवर्ष सिंहालीहरूको समूहले मुस्लिमहरूको घर तथा पसलहरूमा आक्रमण गरेपछि सरकारले त्यहाँ संकटकाल नै घोषणा गरेको थियो ।


भिन्नै प्रकारको द्वन्द्व र तनावले गाँजेको श्रीलंकामा आइतबारको विस्फोट त्यहाँको द्वन्द्वको इतिहाससँग विरोधाभासपूर्ण रहेको विज्ञहरू बताउँछन् । कहीं कतै नसुनिएको कट्टरपन्थी इस्लामिक समूह, नेसनल थोहिथ जमातले अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सहयोगमा ऊक्त आत्रमण गरेको श्रीलंकाली अधिकारीहरूले बताएका छन् । ‘स्थानीय मुस्लिम समुदायको त्यहाँका इसाईहरूसँग कुनै मतभेद छैन । उनीहरूको द्वन्द्व केवल बहुसंख्यक बौद्धसँग हो,’ दक्षिण एसियाको राजनीतिक तथा सैन्य क्रियाकलापका विज्ञ तथा जर्जटाउन विश्वविद्यालयका प्राध्यापक सी. क्रिस्टिन फेयरले भनिन् । यस अघिसम्म उक्त कट्टरपन्थी मुस्लिम समूह बुद्धका मूर्तिहरू तोडफोड गर्नेहरूको जमात भनेर मात्रै चिनिन्थ्यो । ‘आइतबार मारिनेमा अधिकांश इसाई धर्म मान्नेहरू छन् । उनीहरूको श्रीलंकाको मुस्लिम समुदायसँग कुनै वैमनस्यता नै थिएन,’ फेयरले भनिन् ।


नयाँदिल्लीस्थित इन्स्टिच्युट फर कन्फ्लिक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक अजय सहानीका अनुसार मुस्लिमहरूसँग कुनै द्वन्द्व नै रहेको इसाई समुदायमाथि लक्षित यति ठूलो आक्रमणमा विश्वभर आफ्नो सञ्जाल फैलाउँदै लगेको इसाई विरोधी मुस्लिम कट्टरपन्थीहरूको हात रहेकोमा कुनै शंका छैन । आक्रमणको दुई दिनपछि विज्ञप्ति जारी गर्दै विस्फोटको जिम्मा लिएको इस्लामिक स्टेटको समाचार एजेन्सी ‘अमाक न्युज’ ले आक्रमणमा संलग्न आठजना लडाकुहरू ‘इस्लामिक स्टेटका योद्धा’हरू रहेको भिडियो पनि सार्वजनिक गरेको थियो । आक्रमणमा संलग्न सबै श्रीलंकाली नागरिकको इस्लामिक स्टेटसँग सम्बन्ध रहेको सो भिडियोमा देखाइएको छ ।

न्युयोर्क टाइम्सबाट अनुदित ।

प्रकाशित : वैशाख १४, २०७६ ०८:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामा अण्डा

अस्पतालले गुणस्तर मापन नै नगरी सस्तो दिएकै भरमा बिरामीको खानाका लागि यस्तो खाद्यान्न किनिरहेको छ
फातिमा बानु

काठमाडौं — अहिलेको बजार भाउअनुसार एक पैसामा अण्डा किन्न पाइन्छ ? चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले पत्याउनै नसकिने भाउमा खाद्यान्न खरिद गरेको भेटिएको छ  । अस्पतालले चिनी, बिस्कुट, तेललगायत खाद्य सामग्री एक रुपैयाँमा खरिद गरी बिरामीलाई खुवाइने खानाको गुणस्तरमै शंका उब्जाइदिएको छ  ।

अस्पतालले वैशाख १ गते रासन सामग्री खरिदका लागि न्यु सुयोग इन्टरप्राइजेजको टेन्डर स्वीकृत गर्‍यो । टेन्डरका लागि निवेदन दिने तीन फर्ममध्ये सबैभन्दा सस्तो मूल्यमा सामान दिने सम्झौताअनुसार अस्पतालले सुयोगको टेन्डर स्वीकृत गरेको थियो । सस्तोमा दिए पनि सुयोगको योग्यता भने अस्पतालले तोकेअनुरुप थिएन ।


सुयोगले अस्पताललाई बुझाएको रासन परिणामसहितको मूल्यसूची हेर्दा पत्याउनै नसकिने छ । अहिलेको बजारभाउ अनुसार एउटा अण्डाको मूल्य १० देखि १२ रुपैयाँ पर्छ । सुयोगले अस्पताललाई प्रतिअण्डा एक पैसा तोकेको छ ।

चना प्रतिकिलो एक रुपैयाँ त्यस्तै जिरा, अदुवा ,बेसारको मूल्य पनि एकै रुपैयाँ तोकेको छ । तोरीको तेल प्रतिलिटर एकै रुपैयाँ छ भने नुन, गहुँको आँटा, चिनीको मूल्य पनि प्रतिकिलो १ रुपैयाँ नै छ । पत्याउनै नसकिने मूल्यको खाद्यान्न खरिद सम्झौता गर्न नहुने भन्दै पटकपटक विरोध गर्दा पनि अस्पतालले सुयोगकै टेन्डर स्वीकृत गरेको इकाईका एक कर्मचारीले बताए ।

उनले भने, ‘खाद्यान्न सामग्री खरिद सम्झौता गर्नुपूर्व गुणस्तर मापन गर्नुपर्छ । अस्पतालले गुणस्तर मापन नै नगरी सस्तो दिएकै भरमा बिरामीको खानाका लागि यस्तो खाद्यान्न किनिरहेको छ ।’ कर्मचारीका अनुसार यस्ता फर्मले टेन्डर हात पार्नकै लागि सामग्रीको सस्तोभन्दा सस्तो मूल्य तोक्छन् ।

टेन्डर हात परिसकेपछि एक दुई महिना तोकेकै भाउमा सामान दिन्छन् । त्यसपछि सामग्रीको बजार अभाव भन्दै अस्पतालमा सामान पठाउँदैनन् । कर्मचारी भन्छन्, ‘सामान अभाव भएपछि अस्पतालले अन्तैबाट कोटेसन (५ लाखभन्दा कम मूल्यको सिधै खरिद प्रक्रिया) मा सामान खरिद गर्छ । कोटेसनमा खरिद गरिएका सामान फेरि बजारभाउअनुसार नै महँगो हुन्छ ।’

अस्पतालको खरिद इकाई प्रमुख भगवती थपलियाको मिलेमतोमा बारम्बार खरिद कारोबार गर्दा अनियमितता भइरहने स्रोत कर्मचारी बताउँछन् ।

वीर अस्पतालका निर्देशक डा.केदार सेञ्चुरी मूल्याकंन समितिसँग छलफल गरेरै सुयोग फर्मलाई टेन्डर दिएको बताउँछन् । उनी भन्छन्, ‘ऐनअनुसार जसले सस्तोमा दिन्छ हामीले उसकै टेन्डर स्वीकृत गर्नुपर्छ । सुयोगले पत्याउनै नसकिने सस्तो भाउमा सामान दिएको हो तर सम्झौताअनुरुप बीचमा यही मूल्यमा सामान दिएन भने हामी सुयोगको टेन्डर रद्द गरिदिन्छौं ।’

एक पैसामा त कुहिएको अण्डा पनि नपाउने बताउँदै न्याम्सका उपकुलपति डीएन शाह भन्छन्, म ‘आलुप्याजको भाउ चेक गरेर बस्दिनँ । रजिस्टार, अस्पतालका निर्देशक, लेखा शाखा र मूल्याकंन समितिबाटै सुयोगलाई टेन्डर दिने सिफारिस आएपछि मैले विश्वास गरेर टेन्डर स्वीकृतमा हस्ताक्षर गरेको हुँ ।’

यति मात्रै होइन, टेन्डर कारोबारमा न्याम्सले पटकपटक अनियमितता गर्दै आएको छ । जसले सस्तोमा दिन्छ उसकै टेन्डर स्वीकृत गर्नुपर्ने नियमविपरीत न्याम्सले चमेना गृहको टेन्डर स्वीकृत गरेको छ । तीन वर्षअघि वीर अस्पतालभित्रको चमेना गृह सञ्चालन गर्न चार फर्मले टेन्डरका लागि निवेदन हालेका थिए ।

सन्तोषी खाजाघर नामक फर्मले ७ लाख २२ हजार ४ सयमा भाडा तिर्ने प्रस्ताव राखेको थियो र तर, न्याम्सले ९ लाख ६० हजार भाडा तिर्ने सर्तमा जी एन्ड बी क्याफेको टेन्डर स्वीकृत गरेको छ । हाल जी एन्ड बी क्याफेले नै वीर अस्पताल परिसरको चमेना गृह चलाइरहेको छ ।

स्रोत कर्मचारी भन्छन्, ‘सस्तोलाई नै टेन्डर दिने भए क्यान्टिनको हकमा यो किन लागू भएन । अनि रासन खरिद गर्दा सस्तोकै नाममा योग्यता नपुगेको फर्मले टेन्टर पाउँदा पनि सबै चुप छन् । गुण्स्तर नै चेकजाँच नगरी एक पैसामा पाइएको अण्डा बिरामीलाई खुवाउने ?’

न्याम्सबाट गत आर्थिक वर्षमा पनि उपकरण गर्दा खरिदमा अनियमितता भएको थियो । हिमालयन मेडिटेक सप्लाई फर्मले १५ करोड ९५ लाखमा दिन तयार भएको न्यूरो सिटी उपकरण टेन्डर अस्वीकृत गरी न्याम्सले बायोमेड इन्टरनेसनल सप्लाई फर्मसँग २० करोड ४९ लाख मूल्यमा टेन्डर स्वीकृत गरेको थियो ।

सार्वजनिक खरिद ऐन नियम अनुसार हिमालयनले पाउनुपर्ने टेन्डर बायोमेडलाई दिएपछि विवादमा परेको यो विषय अझै सुल्झिएको छैन । उपकरण खरिदमा अनियमितता गरेको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको न्यायिक समितिले न्याम्सका तत्कालीन उपकुलपति डा.गणेश गुरुङ, ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद उपाध्याय र न्याम्सको खरिद एकाई प्रमुख भगवती थपलियालाई आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो ।

गत वर्ष साउन ३२ गते कारबाही सिफारिस गरिए पनि हालसम्म यी पदाधिकारीलाई कुनै कारबाही भएको छैन ।

प्रकाशित : वैशाख १४, २०७६ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT