१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

स्वार्थ समूहले लुट्यो पुनर्निर्माण

रवीन्द्र पुरी

काठमाडौँ — २०७२ वैशाख १२ गते भूकम्प जाँदा म भक्तपुरको ‘नमुना घर’ मा थिएँ । मेरा चार महिनाको छोरा, छोरी, श्रीमती, ७० वर्षे आमा र भतिजी भक्तपुरकै टोनी हेगन हाउसमा थिए । पहिलो झडका लाग्नेबित्तिकै मेलै उनीहरूबाहेक अरू केही सम्झन सकिनँ । नेपाली पर्यटकलाई नमुना घर देखाइरहेको म टोनी हेगन हाउसतिर कुदें । अहिले मलाई लाग्छ, पर्यटकलाई छाडेर मैले गर्न नहुने काम गरें ।

स्वार्थ समूहले लुट्यो पुनर्निर्माण

टोनी हेगन हाउसतिर कुद्दै गर्दा मेरो पछाडि डङ्रङ्ग एउटा घर भत्कियो । म पाँच/दस सेकेन्डले बचें । कुद्न छाडिनँ । त्यो बेलाको भय अर्कै थियो तर अहिले सम्झिँदा हिन्दी फिल्ममा अक्षय कुमार निस्किएको दृश्य जस्तो लाग्छ । धूलोले झ्याप्पै छोपे पनि मलाई इँटाले छोएन । घरछेउ पुगें । परिवारका सबै सदस्य देख्दा आँखाबाट बरर आँसु आयो । सबैलाई त्यसरी देख्नु मेरो जिन्दगीको सबैभन्दा सुन्दर पल थियो ।

मेरा अरू घर पनि भूकम्प प्रतिरोधक थिए तर पनि हामी भूकम्पपछि बासुकी घरमा बस्न थाल्यौं । बासुकीमा ६०/७० वटा घर बनाउँदाको अनुभव मिसाएको हुनाले बढी ढुक्क थिएँ । विगत दुई दसकमा मैले बनाएका परम्परागत शैलीका घर र अन्य संरचनामा भूकम्पबाट कुनै क्षति भएन ।

निजी भवन चारतले, विद्यालय दुई तलाभन्दा अग्ला बनाउन मानिनँ । गाउँलेले तला थप्न खोज्दा ‘भूकम्प आउने देश हो, अग्लो भवन बनाउँदा सबै एकै चिहान भइन सक्छ’ भनेर म सम्झाउँथें । भूकम्पपछि उनीहरूले ‘ओहो सर तपाईं त कस्तो दूरदर्शी’ भन्न थाले ।

परिवारलाई बासुकी घरमा राखेर म उद्धार कार्यमा निस्किएँ । मेरा अढाई सय कामदार छन् । उनीहरूलाई फोन गर्न थालें । भाग्यवश सबैको परिवार सकुशल रहेछन् । हामी उद्धारमा खटियौं ।

म बस्ने गछें टोलमा मल्लकालीन घरहरू थिए, ती ढलिसकेका थिएनन् । त्यहाँका सबै सामान जतनसाथ निकालेर पुनर्निर्माण गर्नुपर्छ भन्ठानेको थिएँ तर सेना, प्रहरी आएर खतरा भयो भन्दै धमाधम ती घर भत्काउन थाले । म क्रोधित भइहालें । भूकम्पको पीडा सहिरहेका घरधनीलाई कस्तो भयो होला ? उनीहरू केही बोल्न सकेका थिएनन् । म कराउन थालेपछि उनीहरू पनि बोल्न थाले । ‘बाटो हिँड्नेलाई खतरा हुने भए बाटै बन्द गरौं, घर नभत्काऔं’ भन्यौं । बाटो बन्द गरियो । अब यो सहरमा सबै पुराना घरहरू भत्कने भए भनेर भूकम्प गएको साँझदेखि मलाई निद्रै लागेन ।

निद्रा नलाग्नुको अर्को कारण पनि थियो, असुरक्षित घर वरपर केही दुर्घटना भए दोष ममाथि आउने भयो । भोलिपल्ट मैले आफ्नो समूहसँग सल्लाह गरें । सबैले ‘हुन्छ’ भनेपछि हामीले तीन महिना लगाएर १० वटा घरको एउटा–एउटा इँट्टा, झ्याल, ढोका सबै बचाई निकालेर भण्डारण गर्‍यौं । मैले केही पुराना घर यसैगरी जोगाएँ । नेपालका पुराना धेरै घर जोगिन सकेनन् । पुरानै शैलीमा बनाएनन् पनि ।

यो भूकम्प हाम्रा लागि ठूलो मौका थियो । स्रोतको कमी थिएन । सुरुको तीन वर्षमै काम गरेर देखाउन सकेको भए अहिले जति स्रोत प्राप्त भएको छ, त्यसको तेब्बर आउन सक्थ्यो । ६ लाख घर बनाउनु थियो, तीमध्ये ६ हजार ६ सय वा ६० वटा मात्रै पनि परम्परागत शैलीमा बनेको भए त्यो ठाउँ पर्यटकीय गन्तव्य बन्थ्यो ।

मैले काभ्रे, धादिङ र सिन्धुपाल्चोकका तीन–चार ठाउँमा हाम्रो शैलीका घर बनाइरहेको छु । म ग्यारेन्टीसाथ भन्छु, भोलि ती ठाउँ पर्यटकिय गन्तव्य बन्नेछन् । मैले घर बनाइदिएको एउटा उदाहरण हो, सिन्धुपाल्चोकको तेम्बाथान । त्यहाँका बासिन्दा चिन्तित रहेछन् । ढुंगा, माटोको घर भत्किहाल्ने, दुर्गम भएकाले सिमेन्ट, ढलानको कल्पनै गर्न नसकिने ।

न यातायात सुविधा छ न त आयस्रोतले भ्याउने ! गर्ने के ? पयर्टन व्यवसायमा लागेको त्यहाँका एक जनाले मेराबारे सुनेका रहेछन् । उनी मकहाँ आए, मैले परम्परागत शैलीमा घर बनाएको क्षेत्र साँगा र फूलबारी लगें । त्यहाँका नमुना घरमध्ये एउटा भिरालो ठाउँमा ढुंगामाटोले बनेको थियो । त्यो घरलाई भूकम्पले केही गरेन । उनी त्यो घर देखेर छक्क परे, ढुंगामाटोकै हो र ? भन्दै कोट्याईकोट्याई हेरे ।

ती व्यक्ति गाउँ फर्केर डकर्मी, सिकर्मीसहित मेरोमा फेरि आए । हामीले चारदेखि ६ साता निःशुल्क तालिम दियौं । ढुंगा र माटोको घर उभिन्छ भन्नेमा डकर्मीहरू पनि विश्वस्त हुनुहुन्नथ्यो । उहाँहरूलाई हाम्रो प्रविधि देखायौं । उहाँहरू गाउँ फर्केर ढुंगामाटोकै घर बनाउन आतुर भइहाल्नुभयो । उहाँहरूलाई तालिम दिँदादिँदै काभ्रेमा एउटा घर बनिहाल्यो । अहिले तेम्बाथानमा उहाँहरूको ४२ जनाको समूह छ, गोलाप्रथा गर्दै गाउँमा सबैको घर बनाइरहनुभएको छ । सबै घर बनिसकेपछि त्यो ठाउँ कस्तो होला !

पुराना बस्तीमा यसैगरी ढुंगामाटोकै घर बन्नुपर्थ्यो । हाम्रो सरकारले त्यतातिर सोच्दै सोचेन । भवन विभागले सुरुमा बनाएका भूकम्प प्रतिरोधी घरको नमुना सूचीमा ढुंगामाटोको थिएन । हामीले सोधीखोजी गर्दा विभागका निर्देशकस्तरमा मान्छेहरू ‘यो सबै जाइकाले बनाएको हो, उसले ढुंगामाटोको घर राख्न मान्दैन’ भन्ने निरीह जवाफ दिए । ढुंगामाटोबिना सबै घर पुनर्निर्माण गरेर देखाउनुस् भनेर कचकच गरेपछि उहाँहरूले बल्लतल्ल ढुंगामाटोको एउटा नमुना घर पनि सूचीमा थप्नुभयो । पछि त हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठमार्फत ‘स्थानीय स्रोतसाधन प्रयोग गरेर घर बनाऊँ’ भन्ने विज्ञापन बनाए ।

तेम्बाथान जस्तो सडक नपुगेको ठाउँमा ढलान घर बनाउन सम्भव छैन । यस्ता ठाउँ कति होलान् ? म रामेछापको एउटा गाउँको उदाहरण लिन्छु । सरकारी अनुदान लिएर बनाइएका ५०/६० वटा तीन लाखे घर छन् । कुनै पनि घरमा मान्छे बसेका छैनन् । उनीहरूले तीन लाखको लोभमा घर त बनाए तर त्यो बस्नलायक भएन । धेरैजस्तो घर स्टोर रुम वा गोठका रूपमा प्रयोग भइरहेका छन् । हाम्रो उद्देश्य त्यही थियो त ? ती घर कामै लाग्दैनन् ।

डिजाइनभन्दा अलिकति तलमाथि गर्नेबित्तिकै सरकारले पैसा दिँदैन । यो कस्तो अचम्म ? यो के कानुन हो ? जसले आफूलाई बस्न घर बनाएको छ, उसले आफ्नो सुविधाअनुसार बनाउन नपाउने ? सरकारले दिएको डिजाइनअनुसार बनाउँदा अब सबै घर गोठ हुन्छन् । सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा हिरो–हिरोइन कसैले पनि बन्नुपर्ने खालका घर बनाएकै छैनन् ।

यसमा म तेम्बाथानकै उदाहरण दिन्छु । उनीहरूका लागि मैले घरहरू डिजाइन गर्दा आवश्यकता के हो, कस्ता घर चाहिन्छ भनेर बुझें । घरको प्रत्येक कोठा–कोठाबारे सोधें, उनीहरूले भने, ‘तल खुला, माथि बार्दलीजस्तो चाहियो ।’ यसमा सबैको वैज्ञानिक कारण थियो । ‘यहाँबाट हावा आउँछ, हिउँ पर्दा यहाँ बस्छौं, चुलोमाथि बस्यो भने तातो हुन्छ,’ उनीहरूले भने । मैले त्यही डिजाइनमा बनाइदिएँ ।

ब्यारेकजस्तो एकीकृत बस्ती

धुर्मुस–सुन्तलीसँग भेटघाट त भएको छैन तर उहाँहरूले पनि नेपाली शैलीमा घर बनाएको भए हुने भन्ने लाग्छ । पुनर्निर्माणका क्रममा बनेको एकीकृत बस्तीको अवधारणा नै ठीक भएन । एकातिर बस्ती, अर्कोतिर गोठ बनाएर कहाँ हुन्छ ? हाम्रो चलनअनुसार घर र गोठ जोडिएको हुनुपर्छ ।

राति सुतेका बेला बस्तु कराउँछ, हेरविचार गर्न उठेर जानुपर्‍यो, आफूले खाएको बचेको खानेकुरा बस्तुलाई खोलेका रूपमा दिनुपर्‍यो । गाउँमा यस्तै चलन हुन्छ । मैले गाउँलेको दैनिकीअनुसार नै ५०/६० वटा घर बनाइदिएको छु, त्यसमा मान्छे बसेका छन्, सन्तुष्ट छन् । मान्छेको आ–आफ्नो आवश्यकता र रुचि हुन्छ । ब्यारेकजस्तो बनाइदिएर त्यसमा बस भन्यो भने को बस्छ ?

किन ढुंगामाटो ?

हाम्रो देशको सबैभन्दा ठूलो सुविधा भनेकै पर्यटन हो । हामी भारत र चीनजस्ता ठूला देशको बीचमा छौं । हामीलाई तीबाहेक देशका पर्यटकसमेत चाहिँदैन । पर्यटकहरूले हाम्रो देशमा हेर्न चाहने भनेको पुरानै शैलीका घरहरू हुन् । उनीहरू आफ्नै देशमा सुपर–मोर्डन भवनहरू बनाइरहेका छन् । हाम्रो भूगोलमा मौलिकता झल्किने घर बनाउनुको विकल्प थिएन ।

भूकम्पले भत्काएका सबै घर नेपाली शैलीमा बनेको भए यो देश स्वर्गै हुन्थ्यो । हामी घान्द्रुक किन जान्छौं ? हाम्रो प्रकृतिमा हाम्रै शैलीको घर बन्दाको मिठास कति छ ? अहिले त घान्द्रुक पनि बिगारे । भूकम्पअघि बारपाकमा स्लेट, खर, झिँगटीको छाना देखिन्थ्यो । अहिले रातो, नीलो, हरियो जस्ताको छानाले विरुप भएको छ । गाउँ त जानै मन नलाग्ने गरी झिलिमिली भइसक्यो । मेरो त मन साह्रै दुख्छ । यो कुरा नीतिगत तहका मान्छेले बुझ्नै सकेनन् ।

हाम्रो शैलीका घरहरू भूकम्प प्रतिरोधक हुन्छन् । परम्परागत तर विगत ४०/५० वर्षयता बनेका घर मात्रै धेरै भत्किएका छन् । ती घर बनाउँदा प्रविधि हराइसकेको थियो । प्रविधि हस्तान्तरण नहुँदा सही तरिकाले घर बनेनन् । फाउन्डेसनदेखि छानासम्मको प्रविधि सही हुनुपर्थ्यो ।

पहिला डकर्मीको छोरा डकर्मी, सिकर्मीको छोरा सिकर्मी हुँदा प्रविधि हस्तान्तरण हुन्थ्यो । ढलेको घर बनाउने बेलासम्म पुग्दा त्यो चलन मासिइसकेको थियो । यो कुरा बुझेर हाम्रा नीति निर्माण तहमा बस्नेले परम्परागत तर आधुनिक प्रविधि सिकाइदिनुपर्थ्यो । ढुंगा, माटोको घर बनाउँदा ५० प्रतिशत कच्चापदार्थ पुनः प्रयोग हुन्थ्यो । सस्तोमा घर बन्थ्यो ।

पुराना घरहरू कति बलिया छन् भन्ने अनुभव छ मसँग । कहाँ–कहाँका स्ट्रक्चरल इन्जिनियरहरू हाम्रो पाँचतले मन्दिर अध्ययन गर्न आए । पाँचतले मन्दिर तीन सय वर्ष पुरानो र चारवटा महाभूकम्प झेलेको संरचना हो । त्यो कति बलियो प्रविधिमा निर्मित होला ? मकहाँ आइपुगेका विभिन्न देशका इन्जिनियरलाई ‘तिमीहरू यत्तिका वर्षको ग्यारेन्टीको संरचना बनाउन सक्छौ ?’ भनेर सोध्दा कसैले सक्छु भनेनन् । उनीहरूले हिसाब गर्ने भनेको सय वर्षको मात्रै हो । उनीहरूको पढाइ, काम, प्रविधिमा सय वर्षभन्दा माथिको गणना गर्ने चलन छैन । हाम्रो पुरानो प्रविधि वैज्ञानिक पनि छ । ढुंगामाटोको घर भत्किहाले सुइँसुइँ हातैले पन्छाउँदा पनि हुन्थ्यो ।

भूकम्पपछि तथ्यांक संकलन गरेर हेरौं न, कुन घरबाट मान्छे जिउँदै निकालियो ? भक्तपुरमा हामीले जति जिउँदो मान्छे निकाल्यौं, ती पुरानै शैलीको घरमा थिए । ढलान घरबाट एक जना पनि जिउँदो मान्छे उद्धार गरिएन । ढलान काट्ने सामानसमेत नभएर कति मरे ।

घर जत्रो बनाए पनि हुन्छ, जुन कच्चापदार्थले बनाए पनि हुन्छ तर त्यो संरचनागत रूपमा बलियो हुनुपर्‍यो ।

माटोको घर बनाउनै नहुने भन्ने मान्यता छ । हो म मान्छु, माटोको घर बलियो हुन्छ भन्ने ग्यारेन्टी हुँदैन । ढलान घर ढल्दैन भन्ने पनि छैन । हेक्का राख्नुपर्ने कुरा प्रविधि हो । घर निर्माणका कच्चापदार्थ राम्रोसँग मिसाएको छैन, खिया लागेको डन्डी प्रयोग गरेको छ वा देखिने गरी डन्डी राखिएको छ भने घर बलियो हँॅदैन । परम्परागत र आधुनिक दुवै शैलीका घर निर्माणमा यो कुरा लागू हुन्छ ।

भ्रष्ट दिमागले बिग्रियो

भुइँचालोले सबैको दिमाग हल्लायो होला भन्ठानेको थिएँ । तर साता दिनपछि नै जस्ता र पाल लुट्न थालिहाले । भ्रष्ट दिमागलाई सुधार गर्न सकिएन । सम्पदा र बस्ती पुनर्निर्माणको सन्दर्भमा सबैको दाउ केमा फाइदा छ, कसरी बढी कमाइ हुन्छ भन्नेमा गयो । सिंहदरबारकै उदाहरण लिउँ ।

कतिसम्म नकचरा भने सिंहदरबार भत्काउन खोजे । काष्ठमण्डपमा जथाभावी गर्न थाले । त्यो भत्काएर बेच्न चाहन्थे । टालटुल मात्रै गर्दा पैसा धेरै खर्च नहुने तर सिंगै नयाँ बनाउँदा ठेक्केदारले पैसा दिने भएकाले भत्काउने दाउ थियो । ठेकेदारले तपाईंलाई यति प्रतिशत कमिसन आउँछ भनिदिए सरकारमा बस्नेहरूले सही धस्काइहाल्छन् ।

धेरै पुरातात्त्विक संरचनामा पनि यस्तै भयो । म पढेको क्याम्पस ललितकला भत्काए । साह्रै माया लागेर नभत्काउन भनें तर कसले सुन्ने ? त्रिभुवन विश्वविद्यालयले ४०/४१ लाख रुपैयाँमा टेन्डर दियो । संरचना भत्काउने ठेकेदारले डेढ/दुई करोड रुपैयाँको सामान बेच्यो । १२/१५ लाख रुपैयाँको सामान त मैले नै किनें । सकेसम्म बचाउन खोज्ने हो, नसकेपछि जे–जे महत्त्वपूर्ण छ, त्यो किन्नु परेन ? अरू ठाउँबाट पनि किनें । पछि त राख्ने ठाउँ नै भएन, नत्र म कति किन्थें, किन्थें । यस्तै स्वार्थले राष्ट्र बैंकको भवन पनि भत्काए ।

प्राचीन स्मारक संरक्षण ऐनअनुसार सय वर्षभन्दा पुरानो घर भत्काउन पाइँदैन, तिनको जीर्णोद्धार गर्नुपर्छ । राष्ट्र बैंक भत्काइछाडे । बागदबार पनि भत्काउन आँटेका थिए । मिडिया र हामी मिलेर रोक्यौं । म कराउनेबाहेक अरू के नै गर्न सक्थें र ! मेरो काम वाचडगको जस्तो भयो । काष्ठमण्डप बनाउने प्राविधिक टाेलीकाे अगुवाइ मैले गरें ।

पुनर्निर्माणमा हामी फेल भयौं

समग्रमा पुनर्निर्माण प्रक्रियामा हामी असफल भयौं । प्रयोग गर्नै नमिल्ने घर बने । तिनको के काम ? पुराना घरहरू जीर्णोद्धार गर्नुपर्थ्यो । सामानहरू पुनः प्रयोग भइदिएको भए पर्यावरणीय दृष्टिले पनि उत्तम हुनेथियो । त्यत्रो भुइँचालोले केही नहुनु हाम्रो भाग्य थियो । त्यही रेक्टर स्केलको त्यत्रै घनत्वको अर्को भूकम्प आयो भने अहिले बनेका कुनै पनि घर बाँकी रहँदैनन् ।

काठमाडौंमा कहाँ घर बनाउनुपर्छ, कहाँ हुँदैन भन्नेबारे विदेशीहरूले एउटा रंगीचंगी नक्सा बनाइदिएका छन् । त्यो नक्सा नापी विभागमा मिल्काइएर घर बनाइएको छ । उनीहरूले करोडौं खर्च गरेर बनाइदिएको नक्सासमेत नहेरी घर बनाइएको छ । सहरी क्षेत्रमा घर बनाउँदा माटो परीक्षण हुनैपर्छ । फाउन्डेसनदेखि लिएर हरेक कुरा मिल्नुपर्छ । जग्गा जस्तो छ, उस्तै खाले भवन ठड्याइन्छ । घर आयातकारको हुनैपर्छ ।

बांगोटिंगो घर भुँइचालोको लयमा हिँडदैन । अग्लो घर बन्नु हुँदैन । जति होचो भयो, त्यति नै भूकम्प निरोधक हुन्छ । काठमाडौं उपत्यकामा चार तलेभन्दा अग्लो घर बनाउन नपाइने भन्ने नियम लागू गराउन यो गतिलो मौका थियो । तर महानगरपालिकाले सदुपयोग गरेन ।

सहरी क्षेत्रका सबै संरचना भत्काएर नयाँ बनाउनु हुँदैन थियो । सामानहरू जोगाएर पुनः प्रयोग गर्दा खर्च, समय बचत हुन्थ्यो । बालाजुतिर भत्केका कतिपय घरलाई सल्टाएर नयाँ बनाउनुभन्दा अन्तै बनाउँदा सस्तो पर्ने स्थिति आयो । ढलानले गर्दा त्यस्तो भयो । एस्काभेटर र टिपर ल्याएर सबै सामान फ्याँकिदिने अनि नयाँ बनाउने गर्दा पुनर्निर्माण ढिला भयो, बहुमूल्य सामान नासियो ।

उपत्यका भन्नासाथ तीनवटा दरबार स्वायर मात्र सम्झनु हुँदैन, यहाँ पुराना नेवार बस्ती पनि छन् । मैले भक्तपुरमा एउटा घर बनाउँदा जगसम्मै भत्काएर त्यसको इँटा, काठ, झ्याल, ढोका सबै पुनः प्रयोग गरें । त्यो घर ४२ लाख रुपैयाँमा बन्यो । त्यही घर नयाँ सामग्रीले बनाएको भए करोडौं रुपैयाँ पर्थ्यो ।

(सम्पदाविद् पुरीसँग कृष्ण आचार्य र सजना बरालले गरेकाे कुराकानीमा आधारित)

प्रकाशित : वैशाख १२, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?