चोर बाटो विदेश ? हुन्न

दीप्स शाह

केही दिनअघि एउटा दैनिकमा प्रकाशित वैदेशिक रोजगार सम्बन्धी एउटा समाचार पढ्दा मेरो जीउ सिरिङ्ग भयो । समाचारअनुसार, दलालको लहैलहैमा इराक हिँडेका २० देखि २९ वर्षसम्मका पाँच युवतीको चितवनबाट उद्धार भएको थियो । पासपोर्टचाहिँ उनीहरूभन्दा पहिल्यै दिल्ली पुर्‍याउने दलाल भने फरार थियो । उसो त मानव बेचबिखनसम्बन्धी यस्ता दुःखद समाचार पढ्नु हाम्रो नियति नै भइसकेको छ ।

अर्काको लहैलहैमा वैदेशिक रोजगारको यात्रामा निस्किँदाका हन्डरको साक्षी बन्ने संयोग मलाई पनि सन् २००७ मा जुरेको थियो । म पहिलो पटक वैदेशिक रोजगारका लागि त्रिभुवन विमानस्थलबाट भारत, उज्वेकिस्तान हुँदै इजरायल जाँदै थिएँ । मध्यराततिर हाम्रो सानो डफ्फा नयाँदिल्लीको इन्दिरा गान्धी विमानस्थलमा उत्रियो ।

पहिलो यात्रा, घर र देश छोड्नुको उकुसमुकुस र त्रासमा रुमल्लिँदै समय कटाउन ड्युटी फ्रीतिर रुमल्लिँदै थिएँ, एउटी महिला रुँदै यताउता गरिरहेको अवस्थामा देखिइन् । आफ्नै दिदीबहिनी जस्तो लागेर मैले फटाफट तिनीछेउ पुगी सोधें, ‘नेपाली हो ?’ मेरो बोली सुनेपछि झन् कोकोहोलो गर्दै उनले भनिन्, ‘लौन बैनी, मेरो पिलेन छुट्यो ! कुवेत जाने पिलेन छुट्यो रे ! गइसक्यो भन्छन् । म के गरुँ !’

ती दिदीको हुलिया हेर्दा वैदेशिक यात्रामै निस्केकी भन्न कठिनै थियो । पुरानो जस्तो लाग्ने एकसरो टिसर्ट, उस्तै लुंगी, खुट्टामा खिइसकेका तुने चप्पल र काखीमा सानो पोको । विश्वास नलागेर मैले सोधें, ‘तपाईंको सुटकेश पनि प्लेनमै गयो ?’ उनले भनिन्, ‘होइन, मेरो सामान यत्ति नै हो ।’ उनको बिलौना थामिने छाँट थिएन ।

कोसँग दिल्ली आइपुगिन्, कुन म्यानपावरले पठाएको, एजेन्टको नाम के हो जस्तो प्रश्नको जवाफ अधबैंसे जस्ती ती ख्याउटे दिदीसँग थिएन । बस्, ‘कुवेत जाने पिलेन छुट्यो’ भन्ने रट लगाइरहिन् । या त उनले जवाफ दिन चाहिनन् या कोहीमार्फत अवैध तरिकाले कुवेत पुर्‍याइँदै थिइन् । एक त म पनि पहिलो विदेश यात्रामा थिएँ, कति कुरा थाहै थिएन । अर्को कुरा, उज्वेकिस्तानतर्फ उडानको बेला भइसकेको थियो । हतारहतार ती दिदीलाई विमानस्थलका सुरक्षाकर्मीको जिम्मा लगाई सहयोगका लागि अनुरोध गरेर म छुट्टिएँ ।

यात्राभरि मैले ती दिदीलाई सम्झिइरहें । गाउँघरमै मेलापात निस्कँदा पनि हाम्रा दिदीबहिनीहरू कोरिबाटी गरी कति सुकिला भएर निस्किन्छन् ! वैदेशिक रोजगारीमा निस्केकी ती दिदी असाध्यै टिठलाग्दी थिइन् । ती कता गइन् होला ? गन्तव्यमा पुगिन् कि अन्यत्रै अलपत्र परिन् ? कुनै दलालको फन्दामा परी कतै बेचिइन् ?

हामी आईएदेखि ब्याचलरसम्मको पढाइ सकेर आफूलाई केही सुझबुझ भएकै ठान्नेहरू त अज्ञात भयबाट गुज्रिइरहेका थियौं भने तिनलाई कसले त्यस्तो भययुक्त यात्रामा घचेटिदियो होला ? उफ्, आत्मबलको ‘अ’ पनि नभए जस्ती तिनले गन्तव्य कसरी पहिल्याउलिन् ? मैले तिनको ठाउँमा आफ्नी सुधा अनपढ आमालाई राखेर तुलना गरिरहें र त्यसैत्यसै विचलित भइरहें, यात्रैभरि ।

निर्वाचनका बेला नेताहरूले वर्षौंदेखि ‘अब युवा विदेशिनु पर्दैन, गएकालाई स्वदेशै फर्काइन्छ’ भने पनि ईपीएस
परीक्षाको चटारोमा युवाहरू कुदिरहेकै छन् । झन्डै ९२ हजारले कोरिया जान फाराम भरे। जापान जाने अनुहारहरूको ताँती गनिनसक्नु छ । अन्य खाडी मुलुकमा जान श्रम स्वीकृति लिन हतारो गर्नेहरूको लर्को उत्तिकै छ ।

देशमै बसेर गरिखाने अवस्था छ र हुन्छ भन्नेमा युवा जमात् पटक्कै विश्वस्त नरहेको इंगित गर्छ यो परिदृश्यले । मुलुकमै परिश्रम गरेर परिवारसँगै रमाउने वातावरण नबनुन्जेल आम नेपालीका लागि वैदेशिक रोजगार बाध्यात्मक तर विकल्परहित छनोट बनिरहनेमा दुई मत छैन ।

रहरले कोही विदेशिँदैन, अपवादबाहेक । अझ अवैध तरिका र बाटो त किमार्थ अपनाउँदैनन् । वैध तरिकाले वैदेशिक रोजगारीमा जानेहरूकै दुःख बयान गरिसाध्य छैन, झन् अवैध तरिका अपनाउनेको पीडाको फेहरिस्त कस्तो होला ? चोर बाटो गरी विदेशिनेहरूलाई आफू कहाँ कसरी के प्रयोजनका लागि जाँदै छु र त्यसपछि केके समस्या आइलाग्लान् भन्ने हेक्कै हुन्न । यिनमा बढीजसो सोझासिधा, गाउँले, अर्धशिक्षित वा अशिक्षितमहिला नै हुने गर्छन् । अन्ततःसबैभन्दा बढी पीडित पनि यिनीहरू नै हुन पुग्छन् ।

शिक्षा र ज्ञानको कमी हुनु भनेको आत्मबल, आत्मविश्वासको कमी हुनु हो । आत्मबल नहुनुको अर्थ हो– सम्बन्धित देशका चालचलन र तौरतरिका बुझ्ने, अरूसँग बोल्नेह्याउ नहुनु । अनि तिनै पाइलापाइलामा समस्यामा पर्ने गर्छन् । यसर्थ जतिसुकै ठूलो बाध्यता परे पनि अवैध बाटो कोही पनि, खासगरी महिलाहरू अज्ञात यात्रामा ननिस्किएकै राम्रो । नयाँदिल्लीमा ती दिदी जसरी हजारौं मानिसका अघिल्तिर त्यसरी बिलखबन्दमा पर्नुभन्दा आफ्नैघरको खोलेफाँडो खाएर रमाउनुश्रेयस्कर हुन्छ ।

deepsanu@gmail.com

प्रकाशित : वैशाख ९, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

पानी बिरालोलाई मायाको खाँचो

कमल मादेन

पानी बिरालो (फिसिङ क्याट) बिरालो समुदायको मूलतः माछा खाने वन्यजन्तु हो । दक्षिणी र दक्षिणपूर्वी एसियाका सिमसार क्षेत्रमा पाइन्छ, यो वन्यजन्तु । हाम्रा तराईको मल्लाह समुदायले माछा मारी जीवन निर्वाह गर्छ । त्यही भएर मुख्य आहार माछा भएको पानी बिरालोलाई ‘मल्लाह बिरालो’ भन्ने गरेको पनि पाइन्छ ।

यसको वैज्ञानिक नाम भने ‘प्राइनैलुरस बिबेरिनस’ हो । नेपालमा यो वन्यजन्तु सन् १८३६ मै पाइएको भए पनि हाम्रा वन्यजन्तु अध्येयताहरू हालसालैदेखि यसको अध्ययन–अनुसन्धानमा जुटेका छन् ।

पानी बिरालोबारे मार्च २०१९ मा ‘जर्नल अफ थ्रेटेन्ड ट्याक्सा’मा ‘फस्ट फोटोग्राफिक इभिडेन्स अफ फिसिङ क्याट इन पर्सा नेसनल पार्क, नेपाल’ शीर्षक अनुसन्धानात्मक लेख प्रकाशित भएको छ । तेह्र जनाले लेखेको उक्त लेख अनुसार, २०१४ र २०१६ मा पानी बिरालोको तस्बीर पर्सा राष्ट्रिय निकुञ्जमा राखिएको स्वचालित क्यामेरा (क्यामेरा ट्र्याप) मा कैद भएको हो । त्यस अघिसम्म त्यहाँ यो वन्यजन्तु पाइने जानकारी त थियो, तर तस्बीर खिच्न सकिएको थिएन ।

पानी बिरालो टाढाबाट झलक्क हेर्दा बाघजस्तो देखिन्छ । सानो हुने भएकाले सर्वसाधारणले सानो चितुवा देखियो भन्ठान्छन् । यसको शरीर घर बिरालोभन्दा लगभग दोब्बर ठूलो र टाउकोदेखि पुच्छरतर्फ खेरौ पृष्ठभूमिमा झन्डै समानान्तर रूपमा ६ देखि ८ वटासम्म काला धब्बाका लहरहरू हुन्छन् । ७ किलोसम्मको हुने यो वन्यजन्तु १ फिट अग्लो र ८० सेन्टिमिटरसम्म लामो हुन्छ । यो रातिमाक्र आहाराका निम्ति सत्रिय हुन्छ । दिनमा भने सिमसार नजिकका खरबारी, उखुखेत, ठूलठूला घाँसे झाडीमा बस्छ ।

पीडामा प्रकाशपुर
सुनसरीको बराह नगरपालिकामा पर्ने सप्तकोशीको पूर्वी किनारमा माछापालक किसानहरू प्रशस्त छन् । उनीहरू पानी बिरालोबाट प्रताडित रहेछन् । साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका अनुसन्धानकर्ता सागर दाहाल २०१६ मा पानी बिरालोबारे अध्ययन–अनुसन्धान गर्न बराह नगरपालिकाको प्रकाशपुर पुगेका थिए ।

त्यहाँ यसलाई सकेसम्म मारिने गरिँदो रहेछ । पानी बिरालोले स्थानीय बासिन्दाका कुखुरा, हाँस पनि खाइदिँदो रहेछ । त्यहाँ उनले पानी बिरालोलाई जोगाउनुपर्ने सन्देश दिन सुरुमा निकै चुनौतीको सामना गर्नुपरेछ । कतिले उनको सातो लिएछन् । उनले कुखुरा, हाँस जोगाउन खोर बनाउन सुझाएछन् । अनेक दिनको प्रयासपछि उनी स्थानीय बासिन्दालाई मनाउन सफल भएछन् । अहिले प्रकाशपुरवासी पानी बिरालो संरक्षणमा जुट्ने गरेका छन् ।

दाहाल तेजाब पुन र स्वेच्छा श्रेष्ठसहित प्रकाशपुरमा अझै त्यही काममा छन् । गत माघ १२ मापानी बिरालो संरक्षणबारे बराह नगरपालिकाका मेयर निलम खनालको उपस्थितिमा प्रकाशपुरमा एउटा कार्यक्रम भयो । संयोगले यो पंक्तिकार पनि त्यहाँ पुगेको थियो । खोर बनाएका ४१ घरधुरीलाई साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले मिस्त्री खर्चबापत जनही २ हजार रुपैयाँ वितरण गर्‍यो ।

फाउन्डेसनले हालैका वर्षबाट प्रकाशपुरमा सञ्चालित सप्तकोशी होमस्टे सामुदायिक कार्यक्रममा पर्या–पर्यटन प्रबर्द्धनका निम्ति १ लाख रुपैयाँ पनि दियो । स्वचालित क्यामेरामा तस्बीर कैद भए अनुसार, यो वन्यजन्तु माछा पोखरीमा प्रायः राति ९ देखि ११ बजेसम्म विचरण गर्दोरहेछ ।

क्षतिपूर्ति यथाशीघ्र
हामीकहाँ वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ जारी भएको छ । यसको उपदफा २ ले हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चिुवता, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगरबाट हुने मानवीय, पशुधन वा भण्डारण गरेको अन्नबालीको क्षति, घरगोठको क्षति र खाद्यान्न बाली (उखु र व्यावसायिक केराखेती समेत) लाई वन्यजन्तुबाट हुने क्षति मानेको छ ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा पानी बिरालो नलेखिनाले सरकार पानी बिरालो र यसले पुर्‍याउने क्षतिबारे बेखबर छ भन्ने संकेत गर्छ ।

प्रकाशपुरमा पहिले माछापालन गर्दै आएका आधाभन्दा बढी किसानले हिजोआज पानी बिरालोकै कारण त्यो व्यवसाय छाडेको बताइन्छ । ‘द स्टेट्स अफ नेपाल्स म्यामल्स : द नेसनल रेड लिष्ट सेरिज’ पुस्तकमा पानी बिरालो जोगाउन समुदायलाई यसको संरक्षण गर्ने गतिविधिमा सहभागिता गराउनुपर्ने सुझाइएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, स्पेसिस सर्भाइभल कमिसन, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लु डब्लु एफ नेपाल, जुलोजिकल सोसाइटी लन्डन नेपाल शाखा र हिमालय नेचरले संयुक्त रूपमा २०११ मा प्रकाशन गरेको यो पुस्तक नेपालमा पाइने वन्यजन्तुबारे लेखिएको महत्त्वपूर्ण दस्तावेज हो ।

स्थानीय स्तरमा पानी बिरालोबारे जानकारी अत्यन्त कम छ । माछापालक किसान र माछा पालिने क्षेत्रका आसपासका स्थानीय बासिन्दाले तिनका माछा र हाँस–कुखुरा जोगाउन चुनौती छ । राज्यले पानी बिरालोबारे स्थानीय स्तरमा न जानकारी दिनसकेको छ, नत क्षतिपूर्ति नै । यस्तो अवस्थामा वन्यजन्तु अध्ययन–अनुसन्धान तथा संरक्षण गर्ने निकाय तथा संघ–संस्थाले स्थानीय समुदायलाई पानी बिरालो जोगाउनमा कसरी सहभागिता गराउन सक्छन् ? स्थानीय बासिन्दाका लागि क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।

नेपाल सरकारको वन्यजन्तु संरक्षण गर्ने प्रमुख निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हो । यसको लक्ष्य भनेको नेपालको प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षण तथा व्यवस्थापनमार्फत पर्या–पर्यटनको विकास गरी स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्दै राष्ट्रको आर्थिक समृद्धिमा टेवा पुर्‍याउनु हो । वन्यजन्तु संरक्षण गर्ने हाम्रो प्रमुख सरकारी निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पानी बिरालोको सवालमा उसको लक्ष्य अनुरुप काम गर्न अझ बाँकी रहेको देखिन्छ ।

संकटापन्न वन्यजन्तु
आईयुसीएनले २०१६ मा पानी बिरालोलाई विश्वभर लोपोन्मुख (भल्नेरेबल) प्रजाति मानेको छ । त्यस अघि यसको अवस्था अझ एक तहमाथि संकटापन्न (इन्डेन्जर्ड) मानिएको थियो । यो वन्यजन्तु नेपालका अतिरिक्त बंगलादेश, कम्बोडिया, भारत, भियतनाम, इन्डोनेसिया, म्यान्मार, पाकिस्तान, श्रीलंका र थाइल्यान्डमा मात्र पाइन्छ ।

आईयुसीएन अनुसार, पानी बिरालोको अवस्था गैंडा र हिउँ चितुवाजस्तै छ । यी तीनै प्रजाति लोपोन्मुख सूचीमा छन् । पानी बिरालोको संख्या नेपालमा गैंडा र हिउँ चितुवाको भन्दा अझ कम छ । २०११ मै हिउँ चितुवा ३०० देखि ५०० वटा रहेको अनुमान र गैंडा ४३५ वटा भएको जानकारी ‘द स्टेटस अफ नेपाल्स म्यामल्सः द नेसनल रेड लिष्ट सेरिज’मा उल्लेख छ ।

सोही पुस्तकमा नेपालमा पानी बिरालो २०११ ताका १५० देखि २०० सम्म भएको अनुमान गरिएको थियो । आईयुसीएनले लोपोन्मुख प्रजातिमा सूचीकृत गरे पनि नेपालमा यसको अवस्था लोपोन्मुखभन्दा अझ एक तह नराम्रो संकटापन्न मानिएको छ ।

वन्यजन्तु अध्ययन–अनुसन्धान तथा संरक्षणमा लाग्ने निकाय तथा व्यक्तिहरू गैंडा र हिउँ चितुवामा भन्दा पानी बिरालोमा बढी केन्द्रित रहनुपर्ने हो । तर पानी बिरालोलाई उपेक्षा गरिएको छ । पर्या–पर्यटनमा गैंडाको भूमिका अहं भएकाले पानी बिरालो ओझेलमा पारिएको हो ।

हिउँ चितुवाको संरक्षणमा पनि ठूलै रकम खर्च भइरहेको छ । हिउँ चितुवाका तस्बीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन्छन् । पानी बिरालोका तस्बीर जति पनि प्रकाशित छन्, ती सबैजसो स्वचालित क्यामेराबाट खिचिएका हुन् । वन्यजन्तु फोटोग्राफरले पनि यसलाई बेवास्ता गरेको देखिन्छ । यो पंक्तिकारले थाहा पाएसम्म भक्तपुरका सञ्जय था श्रेष्ठले कोशी टप्पु वन्यजन्तु आरक्षमा यसका केही तस्बीर खिचेका छन् ।

नेपालमा कुनै पनि वन्यजन्तुको संरक्षण तिनको अवस्था हेरेरभन्दा दातृ निकायले जेमा सहयोग उपलब्ध गराउँछन्, त्यसैमा हुने गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले लिएको लक्ष्य हेर्दा पनि पानी बिरालोलाई उपेक्षा गरिएको छ ।

यो वन्यजन्तुलाई जोगाउन सर्वप्रथम हामीकहाँ भएको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ मा यसलाई समावेश गर्न जरुरी छ । अनि मात्र माछापालक किसानले यो लोपोन्मुख वन्यजन्तु जोगाउन ध्यान दिन सक्छन् । यसैगरी राष्ट्रिय स्तरमा खतराको सूचीभित्र रहेका लोपोन्मुख, संकटापन्न, अति संकटापन्न वन्यजन्तुबारे विद्यालय तहदेखि नै अध्ययन–अध्यापनको प्रबन्ध मिलाउनु उपयुक्त हुन्छ ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्