काम छोडी तामझाम

वाईपी आचार्य

‘यो गाउँका मानिस गरिब छन्, अशिक्षित छन् । यहाँ दलित बस्ती ठूलो छ । छोराछोरी स्कुल पठाउन चाहँदैनन् । स्कुल आएका पनि ध्यान दिएर पढ्दैनन् । जति सम्झाए पनि अभिभावकले बुझ्दैनन्,’ नुवाकोटका एउटा गाउँपालिका अध्यक्ष भन्छन्, ‘संघीय सरकारले नीति बनाएर यिनीहरूका बच्चा विद्यालयमा ल्याउनुपर्छ ।’ 

यस्तै, गोरखाका एक स्कुलका प्रधानाध्यापक अनुसन्धानका क्रममा भेटिएको यो पंक्तिकारलाई भन्छन्, ‘गरिब, दलित र तामाङका बच्चाबच्ची पढ्ने स्कुल हो यो । एक दिन आए तीन दिन हराउँछन् । बाबुआमालाई चासो छैन । कति बच्चा स्कुलै आउँदैनन् । यस्तालाई शिक्षकले के गर्ने ? सरकारले ध्यान दिनुपर्छ ।’

पठनपाठनबारे यस्तो बुझाइ रहेको समाजमा अहिले फेरि विद्यार्थी भर्ना अभियान सुरु भएको छ । ‘हाम्रो सहर हाम्रो गाउँ, सबै बालबालिकालाई स्कुल पुर्‍याऔं’ नारासाथ यस वर्षको अभियान चल्नेछ । वर्षौंदेखि बड्दो तामझामसाथ यो अभियान पर्वका रूपमा मनाइन्छ । त्यसपछि वर्षभरि सुनसान हुन्छ । पर्वहरूको नियति यही हो ।

अहिले कक्षा १ देखि ५ सम्मको भर्नादर ९७.२ प्रतिशत छ । यो रजिस्टरमा नाम लेखिएकाको संख्या हो । नाम लेखिएपछि विद्यालय नटेक्नेको संख्या कति छ, यकिन छैन । कक्षा १ मा भर्नाका लागि उमेर पुगेका करिब ६ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । प्रारम्भिक बालविकास पढ्ने उमेरका करिब १८ प्रतिशत बालबालिका ईसीडी केन्द्रमा पुगेका छैनन् । योभन्दा ठूलो समस्या टिकाउदरमा छ । कक्षा १ मा भर्ना भएकाहरू कक्षा ८ पुगुन्जेल करिब २७ प्रतिशत हराउँछन्, कक्षा १० पुग्दावर्दा ४० प्रतिशतजति बाहिरिइसकेका हुन्छन् ।
बालबालिका विद्यालयमा नपुग्नु र नटिक्नुको सबै ठाँउमा एउटै कारण हुँदैन । प्राध्यापक नुर्केले गरिबीको दुश्चक्रबाट फड्किन नसक्नेहरू विद्यालय पुग्दैनन् भनेका छन् । शिक्षा नभए कमाइ हुन्न, पोषक खानेकुरा किन्न सक्दैनन्, अस्वस्थ हुन्छन्, काम गर्न सक्दैनन्, फेरि कमाइ कम हुन्छ अनि गरिब हुन्छन्, स्कुल जान सक्दैनन् ।

त्यसैले उनी भन्छन्– गरिबी निवारणका लागि शिक्षामा जोड दिनुपर्छ । पाउलो फ्रेरे शिक्षा पाएपछि के पाउने भन्ने आशा नहुनेहरूको विद्यालयप्रति विकर्षण हुन्छ भन्छन् । उनीहरूलाई भविष्यको सपना, आशा, भरोसा दिलाउनसके विद्यालयमा बच्चा पठाउँछन् । बोड्युले भनेका छन्– समाजका पिछडा वर्गमा लघुताभास हुन्छ, दमन, शोषण र अभाव स्वीकार गर्न सक्ने संस्कृति हुन्छ, त्यही स्वीकारोक्ति र मौनको संस्कृतिले गर्दा उनीहरू बच्चा विद्यालय पठाउँदैनन् । यसका लागि सामाजिक लघुताभासलाई तोड्नुपर्छ ।

इभान इलिच, जोन हाल्टहरूका अनुसार जेलजस्ता भएकाले विद्यालयदेखि बालबालिका डराउँछन् । विद्यालयलाई घरजस्तो बनाउनसके विद्यार्थी गयल हुँदैनन् । अमर्त्य सेनका अनुसार बालबालिका विद्यालयको पर्खालभिक्र नछिर्ने तीन हुन्छन्– व्यत्तिगत, संस्थागत र वातावरणीय । यी तीनैमा उपचार खोज्नुपर्छ । नेपालमा विद्यालयीय शिक्षाका समस्या र समाधान अमर्त्य सेनले भनेका उफर्युक्त तीन कारणबाट खोज्नु व्यावहारिक हुन सक्छ ।

व्यत्तिगत पक्ष : कोही बच्चा अपांगता भएका हुन सक्छन् । कसैको बुद्धिमत्ता कमजोर हुन सक्छ । रुचि अर्कैतिर हुन सक्छ । भविष्यको सपना पढाइबाट पूरा नहुने देखेको हुन सक्छ । यसका लागि आवश्यकता र रुचिअनुसारको शिक्षा लिन मिल्ने पद्धति जरुरी छ ।

संस्थागत पक्ष : एउटा अध्ययनअनुसार नेपालमा करिब ७० प्रतिशत विद्यालय बालमैत्री छैनन् । २४ प्रतिशत विद्यालयमा शौचालय छैन । १८ प्रतिशत विद्यालयमा खानेपानी पुगेको छैन । ३७ प्रतिशत शिक्षकमा पेसाप्रति असन्तुष्टि छ । करिब ९८ प्रतिशत शिक्षक पाठयोजना बनाउँदैनन् । करिब ९५ प्रतिशत शिक्षकले प्रवचन विधि मात्रै प्रयोग गर्छन् ।

करिब ९८ प्रतिशत शिक्षक कण्ठ गर्न लगाउँछन् । अभिभावक–शिक्षक सम्बन्ध कमजोर छ । विद्यालयको सामाजिक उत्तरदायित्वभाव जीर्ण छ । अभिभावकमा अपनत्वभाव खुइलिएको छ । यस्तै संस्थागत हविगतका कारण सार्वजनिक शिक्षाप्रति जनविश्वास खस्कँदो छ । अब जोड दिनुपर्ने संस्थागत विकासमा हो ।

वातावरणीय पक्ष : नेपालमा २८.६ प्रतिशत जनसंख्या बहुआयामिक गरिबीको रेखामुनि छ । केही बालबालिकाले घरको काम गर्नुपर्छ । अर्काको घरमा सेवा गर्नुपर्छ । बाबुआमालाई सहयोग गर्नुपर्छ । यीमध्ये केही ‘ब्रेड विनर’ छन् । मास्लोले भनेजस्तै आधारभूत आवश्यकता पूर्तिका लागि तल्लीन भएकाहरूले शिक्षाको आवश्यकता महसुस गर्नै सक्दैनन् ।

जीवनस्तर सर्वेक्षणअनुसार टाढा भएकाले ७ प्रतिशत बालबालिका विद्यालय जाँदैनन् । प्राकृतिक विपत्तिका कारण विद्यालय नजानेको संख्या बढेको छ । जातभात, छुवाछूतजस्ता सामाजिक कुसंस्कारका जाँतामा पिल्सिएकाहरूको विद्यालयप्रति विकर्षण छ । समाजका रोलमोडल कोही विदेश गएकालाई मान्छन् त कोही खलासी वा यस्तैलाई । आफू पनि त्यस्तै बन्नेभन्दा बाहिर सोच्न दिँदैन वातावरणले ।

यस्ता समस्याको जञ्जालमा भासिएको समाजमा एकमुखी क्षितिजीय भर्ना अभियान वार्षिक तिथिमा श्राद्ध गरे जस्तै मात्रै हुन्छ । यसका लागि केही प्रश्नको उत्तर खोज्न जरुरी छ । यो अभियान मन्त्रालयको मात्रै हो कि अरूको पनि ? एकएक केटाकेटी टिपेर सेल्फी खिच्न हो कि संस्थागत सबलीकरण गर्न ? के यो अभियानले शिक्षक, प्राध्यापक, विद्यार्थी संघसंगठनलाई जवाफदेही बनाउला ? राजनीतिक पार्टीको मति फेरिदेला ? विकासे संस्थालाई जिम्मेवार बनाउला ?

के तराईका मुसहर बस्ती, धादिङका चेपाङ र बझाङका दलित बस्तीलाई गरिबीको दुश्चक्रबाट मुत्ति दिलाउन शिक्षा आवश्यक छ भन्ने चेतनासँगै भविष्यको आशा देखाउन सक्ला ? सडकपेटीमा पाकेटको हावा तानेर पेट फुलाउने बालबालिकालाई ओतसहित स्कुल झिकाउने र टिकाउने कर्म गर्न सक्ला ? घरमा कामदार केटाकेटी राखेर आफ्ना बच्चा स्कुल पठाउने सामन्तहरूको दिमागको बत्ती बल्ला ? यो काम सरकारको हो भनी माथितिर देखाउने र आफू तर्किने स्थानीय जनप्रतिनिधि र हाम्रो काम पढाउने मात्रै हो भन्ने शिक्षकको बुद्धिको बिर्को खोल्न सक्ला ? यी प्रश्नको जवाफ सकारात्मक आए अभियान सफल हुन्छ ।

एसमोग्लु र रबिन्सनले लामो अनुसन्धानपछि‘ह्वाई नेसन्स फेल’ शीर्षक किताब लेखे । उनीहरूको निष्कर्ष थियो– जहाँ संस्था बन्छ, पद्धतिले काम गर्छ, संस्था प्रधान र व्यक्ति गौण हुन्छ, त्यो देश सफल हुन्छ । जहाँ व्यक्ति केन्द्रमा आउँछ, संस्था ओझेलमा पर्छ, त्यहाँ स्वार्थ हुन्छ र त्यो देश असफल हुन्छ । अल्पविकसित र विकासोन्मुख देशको मुख्य समस्या यही हो ।

त्यस्तै शिक्षामा पनि संस्था बलियो बनाउन सके यी सबै समस्या समाधान हुन्छन् । एक जनाले सय जना विद्यार्थीको जिम्मा लिएर स्कुल पुर्‍याए पनि स्कुलले पहल नगरे त्यो टिक्दैन । जब स्कुल भरपर्दो र पद्धतिले चल्ने, नैतिकताले बाँधिएको, मानवीयताले ओतप्रोत, जिम्मेवारी र जवाफदेहिताले भरिपूर्ण भएर स्वचालित हुन्छ, त्यहाँ विद्यार्थी स्वतः जान्छन्, टिक्छन् र सिक्छन् पनि । त्यसैले सबै मिलेर विद्यालयलाई विद्यालयजस्तै बनाऔँ, हरेक दिन सिकाइ अभियान चलाऔँ ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

समानता उस्तै

ध्रुव तुलाधर

तुलसीपुर, दाङ — कराँते खेलाडीद्वय मन्देकाजी श्रेष्ठ र चञ्चला दनुवारमा धेरै समानता छ । एक सन्तानका अभिभावक हुन् दुवै । उमेर उस्तै छ । मन्देकाजी ३४ वर्षका भए भने चञ्चलाले पनि ३२ टेकिसकिन् । दुवै नेपाल पुलिस क्लबबाट खेल्छन् । उनीहरू कराँतेमा पनि काताका खेलाडी हुन् ।

कराँते खेलाडीद्वय मन्देकाजी श्रेष्ठ र चञ्चला दनुवार एकल काता प्रदर्शन गर्दै । तस्बिर : अनिश रेग्मी/कान्तिपुर

आठौं राष्ट्रिय खेलकुदमा पनि दुवैले एकै दिन स्वर्ण पदक जितेका छन् । तुलसीपुरस्थित निर्माणाधीन कर्भडहलमा शनिबार सुरु कराँतेमा मन्देकाजी र चञ्चलाले एकल कातामा स्वर्ण जितेका हुन् । दुवै पाँचौं राष्ट्रियका स्वर्ण विजेता पनि हुन् । इटहरीमा भएको सातौं संस्करणमा मन्देकाजी पदकविहीन हुँदा चञ्चलाको सहभागिता थिएन । छैटौं राष्ट्रियको पदक पनि दुवसँग छ । मन्देले स्वर्ण जित्दा चञ्चला रजतमा सीमित भएकी थिइन् ।

यसपालि दुवैले मिसन पूरा गरेका छन् । उनीहरू राष्ट्रिय जित्दै दक्षिण एसियाली खेलकुद (साग) मा पदक ल्याउने दौडमा छन् । दुवैले त्यो अभियानको पहिलो खुटकिलो पार गरेका छन् । नेपालमै हुने भनिएको १३ औं साग खेलकुद यसै वर्षलाई तय छ ।
आफ्ना सशक्त प्रतिद्वन्द्वीलाई पन्छाउनु मन्देकाजी र चन्चलाको लक्ष्य थियो । त्यसैले राष्ट्रियलाई उनीहरूको तयारी राम्रो थियो ।

मन्देको लक्ष्य मुख्य प्रतिद्वन्द्वी पर्शुराम बास्तोला रोक्नु थियो । किनकि पर्शुरामसँग सातौं राष्ट्रियको पहिलो चरणमै मन्दे पराजित भएका थिए । पछिल्लो समयमा कातामा यिनै दुईबीच लडाइँ चल्दै आएको छ । यसपल्टको बाजी मन्देकाजीले मारे ।

उनले सेमिफाइनलमा पर्शुरामलाई ३–२ अंकले पराजित गर्दै बाटो सहज बनाए । सातौंमा मन्दे ४–१ ले हारेका थिए । ‘हामी दुवै १९–२० का खेलाडी हौं । कहिले उसले त, कहिले मैले जित्दै आएका छौं । यसपल्ट मेरो मिसन पूरा भएको छ । हराउँछु भन्ने आशा थियो,’ स्वर्ण विजेता मन्देकाजीले भने, ‘अबको लक्ष्य भनेको सागमा पदक जित्नु हो ।’

१२ औं सागमा कराँते समावेश थिएन भने ११ औं ढाका सागमा चार कराँते खेलाडी बाटोबाट फर्काइएको घटनाका साक्षी हुने उनी । मन्देकालीले राष्ट्रियको फाइनलमा भने प्रदेश ७ का ललित खत्रीलाई सहजै हराए । पाँचौं निर्णायक उनको पक्षमा झन्डा उठाए । उनी ५–० अकले स्वर्ण विजेता बने । उनले आर्मीका खेलाडी पर्शुरामलाई हराउनुअघि पहिलो खेलमा प्रदेश २ का बब्बु राइनमाथि पनि ५–० स्कोर निस्केको थियो ।

कांस्य विजेता पर्शुरामले भने पहिलो खेलमा गण्डकी प्रदेशका विष्णु नेपाली र क्वाटरफाइनलमा प्रदेश ३ का युरोज महर्जनलाई पन्छाएका थिए । रजत विजेता ललितले भने सेमिफाइनलमा विभागीय टोली एपीएफका अनिल चौधरीलाई रोकेका थिए । मन्देकाजीका समकालीन सबैजसो निर्णायकको लाइनतिर गइसके । उमेरमा पाको भइसके पनि आफूलाई जवान राख्दै उनले कातामा दमदार प्रस्तुति दिइरहेका छन् । भन्छन्, ‘मसँगै खेल्ने त सबै जज निर्णायक भइसके । म विभागमा भएकाले अहिलेसम्म खेल्न सकिराखेको छु ।’

तीन राष्ट्रिय खेलकुदमा फरक फरक विधाबाट स्वर्ण जित्ने खेलाडी हुन् । पाँचौं संस्करण, काठमाडौंमा उनले फाइटबाट स्वर्ण जितेका थिए । जहाँ ५४ केजी तौल समूहको फाइनलमा उनले सुनील लामा (सागका स्वर्णधारी) लाई हराएका थिए । धनगढीमा भएको छैटौंमा भने मन्देले टिम कातामा जितेका थिए ।

अन्तर्राष्ट्रियमा हङकङ एसियन प्यासिफिक कराँते च्याम्पियनसिपमा १ रजत र १ कांस्य जितेका उनीसँग फिनल्यान्ड ओपनमा रजत र कांस्य तथा बर्लिन ओपनमा कांस्य पदक जितेको अनुभव पनि छ । साथै उनले थुप्रै दक्षिण एसियाली च्याम्पियनसिप र प्रिमियर लिग खेलेका छन् ।

यता, चन्चला ३ वर्षकी बच्चाकी आमा हुन् । सातौं राष्ट्रिय हुँदा उनी गर्भवती थिइन् । त्यस गर्दाले सहभागिता जनाइनन् । अप्रेसन गरेर बच्चा निकाल्नुपरेको थियो । चिकित्सकले कम्तीमा ६ महिना आराम गर्नु भनेको थियो । तर ३–४ महिना नबित्दै राखेप च्याम्पियनसिपको तयारीलाई बाहिर निस्किइन् । त्यसको पीडा अहिले भइरहेको उनले सुनाइन् ।

त्यसो त यसपल्ट चन्चलालाई राम्रो गर्छु भन्ने थियो नै । त्योसँगै एउटा ‘ईख’ रहेछ । एनआरएनए टिम पनि आउने र त्यसमा काताकी विमला तामाङ आउने खबरले उनलाई थप तयारी गर्न मदत गर्‍यो । विमला तिनै खेलाडी हुन्, जसले इन्चोन एसियाडमा देशका लागि एक्लो कांस्य पदक जितेकी थिइन् । पुरुष कातामा पर्शुराम र मन्देकाजीको जस्तो प्रतिद्वन्द्विता छ, त्यस्तै चञ्चला र विमलाको थियो । कराँते विवादका कारण चञ्चलाले छनोट भएर गए पनि इन्चोनमा खेल्न पाएकी थिइनन् ।

अहिले विमला अमेरिकामा छिन् । एनआरएनए टिमलाई पनि राष्ट्रिय खेलकुदमा सहभागिता गराउने भएपछि उनी आउनले चर्चा थियो । तर आइनन् । उनको ठाउँ क्यानडाबाट आएकी सुभद्रा श्रेष्ठले लिइन् । सुभद्रा पनि राष्ट्रिय च्याम्पियन खेलाडी हुन् । अन्ततः चञ्चला र सुभद्राबीच नै फाइनल भयो । फाइनलमा चञ्चलाले पाँचै जजको निर्णय आफ्नो पक्षमा पारिन् ।

चञ्चलाले फाइनल पुग्नअघि प्रदेश ३ की कृशा शेर्पा र आर्मीकी संगीता मगरलाई हराएकी थिइन् । उता साफकी पदक विजेता रहिसकेकी सुभद्राले प्रदेश ४ की कृपा गुरुङ, प्रदेश ६ की एलिसा थापा मगर र एपीएफकी प्रतीक्षा पाख्रिनलाई हराएर चञ्चलासँगको भेट पक्का गरेकी हुन् ।

स्वर्ण विजेता चन्चलाले भनिन्, ‘अझै योभन्दा राम्रो गर्छु भन्ने थियो । पहिलो अप्रेसन गरेकाले हल्का समस्या आएकाले त्यति खट्न सकिरहेकी छैन । समग्रमा तयारी राम्रो नै थियो ।’ एनआरएनबाट विमला आउँछ रे भनेपछि झन् आफू थप मिहिनेत गर्न बाध्य भएको उनले सुनाइन । भनिन्, ‘विमला आउँछे भनेपछि मैले थप मिहिनेत गरेँ ।’

काभ्रे पाँचखालमा छँदा आफ्नै बुबा झटकबहादुर दनुवारको प्रशिक्षणमा हुर्केकी चञ्चला विभागमा आबद्ध भएको दशक भइसक्यो । भन्छिन्, ‘साग खेलकुदको पदक जित्ने धोको छ ।’ इन्चोन एसियाड खेल्न नपाए पनि चञ्चलाले गत भदौमा सम्पन्न इन्डोनेसिया एसियाड भने खेलेकी हुन् । जहाँ उनले उत्तर कोरियाली खेलाडीविरुद्ध राम्रो प्रदर्शन गरेकी थिइन् ।

पहिलो दिनै भएको कराँतको टिम काताको स्वर्ण भने महिलामा पुलिस र पुरुषमा आर्मीले जितेका छन् । महिला टिम कातमा आर्मीले रजत तथा प्रदेश १ र प्रदेश ४ ले कांस्य पदक जितेका छन् । पुरुष टिम काताको रजत पुलिसले जित्यो । प्रदेश ६ र ७ ले कांस्य पदकमा चित्त बुझाए ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्