१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जुन सम्मानले गर्छ अपमान

लीला लुइटेल

पछिल्लो समय नेपालमा ‘लिटरेचर फेस्टिभल,’ साहित्यकारहरूद्वारा गरिने भ्रमण आदान–प्रदान तथा साहित्यकारहरूलाई गरिने सम्मान एवं दिइने पुरस्कार चर्चाका विषय रहिआएका छन् । नेपाली साहित्य र साहित्यकारका लागि यो खुसीको विषय हो । केही समययता नेपाली साहित्यकारलार्ई दिइने पुरस्कार र सम्मानमा लेनदेन, ऐँचोपैँचो एवं सट्टापट्टा रहेको गाइँगुइँ नसुनिएका पनि होइनन् ।

कतिपय पुरस्कार एवं सम्मान सम्बन्धित साहित्यकारको प्रत्यक्ष एवं अप्रत्यक्ष प्रायोजनमा हुने गरेको यथार्थ पनि नौलो होइन । प्रत्यक्षमा जे भनिए पनि प्रचार–प्रसार जेजसरी गरिए पनि यस्ता तथ्य ‘ओपन सिक्रेट’ नै हुन् ।

सम्मानको यस्तो आदानप्रदान देशभित्र मात्र नभएर देश बाहिर पनि व्यापक मात्रामा फस्टाइरहेको छ । अन्तर्देशीय यस्ता सम्मानले एकअर्कामा भावनाहरू आदान–प्रदान गर्न र एकअर्काको साहित्य बुझ्न महत्त्वपूर्ण भूमिका खेल्छ । यसले नेपाली साहित्यको दायरा पनि विस्तार हुँदै जान्छ । नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा भूमिका खेल्न सक्छ । तर यस्ता सम्मान ग्रहण गर्नुपूर्व सम्बन्धित साहित्यकारहरू स्वयं चनाखो भएर परिवेश एवं वस्तुस्थितिको विश्लेषण गर्नुपर्ने स्थिति छ ।

सन्दर्भ हो, बिहारको भागलपुरस्थित पिरपैंतीको इशीपुरमा रहेको विक्रमशिला हिन्दी विद्यापीठद्वारा प्रदान गरिने अनेक सम्मानको । यस विद्यापीठले वर्षैपिच्छे थुप्रै नेपाली साहित्यकारलाई बोलाएर ‘विद्यावाचस्पति सारस्वत’ सम्मानद्वारा विभूषित गर्ने गर्छ । नेपाली साहित्यकारहरूले अन्तर्राष्ट्रिय सम्मान पाउनु निश्चय नै गौरवको कुरो हो । तर यस्तो खाले सम्मानबारे गम्भीर ढङ्गले सोच्नु जरुरी भइसकेको छ ।

पहिलो त ‘विद्यावाचस्पति’ भनेको महाविद्यावारिधि (डीलिट) स्तरको सम्मान हो । यस खाले सम्मान विश्वमै विरलै व्यक्तिलाई दिइन्छ । नेपालका विश्वविद्यालयले यो स्तरको सम्मान अहिलेसम्म सायद कसैलाई पनि दिएका छैनन् । नेपालका विश्वविद्यालयले दिने भनेको विद्यावारिधिस्तरीय सम्मान हो, जुन पनि एकदम थोरैले मात्र प्राप्त गरेका छन् । यस्तो गहन एवं उच्चस्तरीय सम्मान पाउन आफू योग्य छु कि छैन भनेर नेपाली साहित्यकार स्वयंले छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ ।

विक्रमशिला हिन्दी विद्यापीठले भने प्रत्येक वर्ष लाइन लगाएर यो सम्मान बाँडिरहेको छ । यो विद्यापीठ सरकारी एवं निजी कुनै पनि विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगको सूचीमा छैन । विद्यापीठको भवनमा अहिले प्रहरी चौकी छ । विद्यापीठका क्रियाकलाप कागजमा मात्र सीमित छन् । यस विद्यापीठले बाँड्ने प्रमाणपत्रहरू फर्जी भएको तथ्य भारतीय सञ्चार माध्यमले खुलासा गर्दै आएका छन् । त्यसलाई कारबाहीको माग उठ्ने गरिरहेकै छ ।

यस विद्यापीठद्वारा बाँडिने सम्मान थुप्रै नेपाली साहित्यकारले पाए पनि विद्यापीठद्वारा सञ्चालित भनिएको सामाजिक सञ्जालमा नेपाली साहित्यकारका नाम र फोटा कतै पनि उल्लेख छैन । यहाँनेर प्रश्न उठ्न सक्छ— यसरी आफूले प्रदान गरेको सम्मान प्राप्त गर्ने अन्तर्राष्ट्रिय साहित्यकारहरूका बारेमा उल्लेख गर्न विद्यापीठ किन चाहिरहेको छैन ?

अर्कातर्फ यो सम्मान पाउन ‘सुदीर्घ हिन्दी सेवा, सारस्वत साधना, कला क्षेत्र में महत्त्वपूर्ण उपलब्धियाँ, शैक्षिक प्रदेयोँ, महनीय शोधकार्य तथा राष्ट्रीय/अन्तर्राष्ट्रीय प्रतिष्ठा’ आदिलाई आधार बनाइएको छ । यो सम्मान प्राप्त गर्ने कति नेपाली साहित्यकारहरू यस मापदण्डभित्र पर्छन्, त्यो स्वयंले विचार गर्नुपर्ने विषय हो ।

यस प्रकारका सम्मानरूपी भ्रमपूर्ण क्रियाकलापलाई कलमको खेती गर्नेहरूले बेलैमा पहिचान गर्नु अत्यन्त जरुरी छ । पुरस्कार एवं सम्मानको अभीष्ट लेखकलाई प्रेरणा दिने र उसलाई थप जिम्मेवार बनाउने हो । यस प्रकारको भ्रमपूर्ण एवं गलत सम्मानले सम्बन्धित लेखकलाई यथार्थ नबुझेका आफन्तबाट तत्काल केही थान बधाई र कोठाको भित्तामा सजाउने सम्मानपत्रले क्षणिक रूपमा केही तुष्टि त मिल्ला, तर यस्तो विडम्बनापूर्ण दुष्वृत्तिबाट लेखक वर्ग सतर्क हुन अत्यन्त अपरिहार्य छ ।

प्रकाशित : वैशाख ५, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?