कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

हाकिमसाबका चर्तिकला

रोजिना पोखरेल

काठमाडौँ — सेवाग्राहीका रूपमा केही स्थानीयसहित एक आयोजना कार्यालयमा पुगेकी थिएँ । आयोजना प्रमुखको कार्यकक्षमा एक जनाले आफ्नो मौसमी (चाडपर्व, बेलामौकामा प्रकाशन हुने) पत्रिकामा चेतनामूलक विज्ञापन छाप्न आर्थिक सहयोग माग्दै थिए । राजनीतिक पहुँचको ढाडसमा दबाब दिँदै थिए । आयोजना प्रमुख नरम हुँदै यो वर्ष ५ हजारभन्दा बढी दिन सकिने अवस्था छैन ।

हाकिमसाबका चर्तिकला

सो रकममा थप २० लिटर पेट्रोलको कुपन दिने प्रस्ताव गरे । ती व्यक्तिले त्यसमा केही लिटर मोबिल पनि थपिदिन आग्रह गरे । त्यसमा हाकिमसाब राजी भए । एक कर्मचारीलाई सोहीमुताबिक गर्न निर्देशन दिए । ती व्यक्ति कार्यकक्षबाहिर गएपछि हाकिमसाबले लामो सास फेर्दै भने, ‘के गर्नु, जागिर जोगाउनैपर्‍यो ।’ कुनै प्रतिक्रिया नदिई हाम्रो कामबारे अवगत गराउनतर्फ लाग्यौं ।


यस्ता विज्ञापनलगायत अनावश्यक सहयोगका नाममा रकम बाँड्ने र तेलका कुपन बाँड्ने हाकिमसाबहरू कैयौं भेटिन्छन् । आफू बसेको पद, दायित्व र जिम्मेवारीलाई विवेकसम्मत प्रयोग नगरी कानुनी कार्यविधि लत्याई भनसुन, आदेश, धम्कीमा मनोमानी रूपमा सरकारी स्रोत वितरणले सुशासन कायम गर्न कसरी सघाउला ? साथीभाइ, इष्टमित्र, राजनीतिक कार्यकर्तालाई सरकारी तेल, मोबिलका कुपन बाँडेर आफ्नो दान गर्ने क्षमता प्रदर्शन कहिलेसम्म गर्ने हो, हाकिमसाबहरू ?


केही महिनाअघि घर फर्किने बेला एक कक्षामा पढ्ने छोरो लिन स्कुल पुगेेकी थिएँ । सरकारी कार्यालयका एक हाकिमसाब पनि आफ्नो छोरो लिन स्कुल आफैं आउनुभएको रहेछ । कक्षा छुटेपछि आआफ्ना छोराछोरी हामी अभिभावक भएको स्थानमा आए । मेरो छोराले खुसी हुँदै मलाई भन्यो, ‘आज मैले ड्रोइङमा रेड स्टार पाएँ । मेमले सबै कटिङ गरेर कपीमा टाँस्नु भन्नुभएको छ । अहिले पसलबाट ठूलो डायरी र ग्लुस्टिक किनिदिसोस् है ।’ मैले हाँस्दै टाउको हल्लाएँ ।


हाकिमसाबका छोराले अबोध शैलीमा रमाउँदै, ‘मसँग त कत्ति ठूलठूला डायरी र ग्लुस्टिक छन्, बाबाले अफिसबाट ल्याउनुभएको’ भन्यो । हाकिमसाबको मुख लाजले रातो भयो । मैले, ‘बाबु टिफिन सबै खायौ ?’ भन्दै कुरा मोड्ने कोसिस गरेँ । हाकिमसाब आफ्ना छोरालाई सरकारी गाडीमा हालेर हुइँकिनुभयो । छोराले फेरि मलाई सोध्यो, ‘मामु, हजुरको अफिसमा चाहिँ ग्लुस्टिक पाइन्न ?’ मैले भनेँ, ‘बाबु, मेरो अफिसमा पसल छैन नि ।’


सामान्य ग्लुस्टिक कार्यालयबाट बोकेर घर ल्याउनु जरुरी, बाध्यता उहाँलाई पक्कै थिएन होला तर यहाँ बसेको गलत शैलीको नजिरमा हिँड्दा अबोध छोराले समेत घरमा चाहिने सामान ल्याउने स्थल भनेको उनको बाबाको अफिस बुझेछन् । सायद अन्य सामान पनि हाकिमसाबले अफिसबाट ल्याउनुहुन्थ्यो होला । अफिसबाट ल्याएँ भनी सगर्व सुनाउनु वा देखाउनुहुन्थ्यो होला ।


बालमस्तिष्कमा बाबाको यो कार्य सही वा गलत छुट्याउने पक्कै परिपक्वता थिएन तर हाकिमसाबले विचार गर्नुपर्थ्यो । आचरण र नैतिकता एक दिनको सिकाइ र घटनाले पूर्ण रूपमा निर्माण हुन्न । दैनिकीको अभ्यास र व्यवहारले सिर्जना गराउने पक्ष हुन् । सरकारी कार्यालयका स्रोतसाधनलाई निजी सम्पतिसरह प्रयोग गर्ने र सोहीमुताबिक गैरआचारण प्रदर्शन गर्दा गलत संस्कार बसेको देखिन्छ । पद, मर्यादा, व्यस्तताअनुरूप प्रदान गरेको सुविधाको दुरुपयोग बढेको सहजै देखिन्छ ।


सबैले पक्कै होइन तर अधिंकाश कर्मचारीले सरकारी स्रोतसाधनको प्रयोग कार्यालयका काममा मात्र नगरी घरायसी प्रयोजनका लागि समेत गरेको देखिन्छ । यसलाई उनीहरूले आफ्नो हक, अधिकार र तागतको अर्थमा बुझ्नु दुःखद पक्ष हो । आफू अफिस पुगेपछि परिवारको प्रयोगका निम्ति सरकारी सवारीसाधन पठाउने, बिदाको हरेक दिन सवारीसाधनको पास लिने तर त्यसको दुरुपयोग गर्ने, लाजै नमानी घरमा चाहिने पानीका जारको समेत अफिसकै खर्चमा व्यवस्थापन गर्ने, सन्तानको ल्यापटप, त्यसको मर्मतका लागि सरकारी स्रोत प्रयोग गर्ने, घरमा प्रयोग हुने, चाहिने कार्पेट, पर्दा, गमला, सोफालगायत व्यवस्थापन कार्यालयकै स्रोतबाट मिलाउने चलनमा अधिक मात्रामा ठूला हाकिमसाबहरूको सहभागिता रहेको देखिन्छ ।


अझ जंगी, प्रहरी सेवाका साना तहका कर्मचरीले हाकिमसाबकहाँ घरायसी काम गर्नुपर्ने, भवन तथा संरचना निर्माणका काम गर्नुपर्नेजस्ता व्यावहारिक, बाध्यतात्मक यथार्थको समाचार हामीले पढिरहनुपर्ने विवशता छ । विकासे हाकिमहरूलाई एउटा सवारीसाधनले नपुगी २/३ वटा चाहिने रहर, नियत कहिलेसम्म जारी रहने हो ? हाकिमसाबलाई लिन घर पुगेको ड्राइभरले उहाँका छोराछोरीलाई स्कुल पुर्‍याइदिनुपर्ने ड्युटी कहिलेसम्म गर्ने ? यो कार्यालय, निकाय, आयोजना, विभाग मेरो हो । मेरै सोच, निर्णयमुताबिक चल्छ । मेरो मर्जीमा खर्च व्यवस्थापन हुने हो भन्ने सोचाइ कहिलेसम्म ? हाकिमसाबहरू, अब त अति नै भयो कि ? सोचौं, विवेक प्रयोग गरौं ।


करारमा कर्मचारी नियुक्ति र तिनको निरन्तरता साथै एम.आर. (मस्टररोल) का कामदार, कर्मचारीको छनोटमा कतै आफन्तवाद र पजनी शैलीमा मात्रै भइरहेको छैन, हाकिमसाब ? कतै नेताको आदेश, राजनीतिक चाकडी साथै थर्काइमा डराउँदै एम.आर. का कर्मचारीलाई कामै नगरी तलबभत्ता दिने कार्यलाई मात्रै प्रश्रय दिइरहनुभएको त छैन ? कन्टेनजेन्सी खर्चको मनोमानीमा कहिलेसम्म फजुल खर्च गरी रमाउने हो ?


कर्मचारीे कतै नगई, नपठाई काज, भ्रमण आदेश दिई त्यसको भुक्तानी स्वीकृत गर्ने नैतिक खडेरी कहिलेसम्म ? ४/५ हजारको विज्ञापन दिन, विभिन्न बहानामा आर्थिक सहयोग बाँड्न आफ्नो चाकरी गर्ने वा आफन्त पर्ने खोजी गर्ने पद्धति कहिलेसम्म ? आफ्नो स्वविवेक, आर्थिक मितव्ययिताको ख्यालै नगरी मन्त्री, नेता, बडाहामिकको आदेशमा यस्ता सहयोग प्रदान गरिने प्रक्रियामा रमाउने अभ्यास कहिलेसम्म जारी राख्नुहुन्छ ? सेवाग्राहीले चाहेअनुसारको सुशासनमैत्री, चुस्त सेवा प्रवाह कहिले दिनुहुन्छ ? कहिलेदेखि अलि नैतिकवान् र सदाचारी बन्ने कोसिस गर्ने हो हाकिमसाबहरू ?


सर्वसाधारणको सुख, शान्ति र आर्थिक हित निम्ति आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम गर्ने प्रस्तावसहित कार्यान्वयनमा रहेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको वा सोसम्बन्धी कर्तव्य पालन गर्दा सरकार वा सार्वजनिक संस्थाको सम्पत्ति लापरबाही वा बदनियत गरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरे/गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा कसुरको मात्राअनुसार ऐनमा तोकिएको सजाय हुने र त्यसरी हिनामिना, हानिनोक्सानी वा दुरुपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि उनैबाट असुलउपर गरिनेछ भनी स्पष्ट व्यवस्था गरिएको छ ।


निजामती सेवा ऐन, २०४९ को दफा ५४ ख. को उपदफा ३ मा निजामती कर्मचारीले कुनै पनि सरकारी सम्पत्तिको प्रयोग वा उपयोग घरायसी कार्यका लागि गर्न हुँदैन भनी उल्लेख छ । सोही दफाको उपदफा ४ मा निजामती कर्मचारीले सरकारी राजस्वबाट तलब, भक्ता खाने गरी नियुत्त भएको कुनै पनि सरकारी कर्मचारीलाई कार्यालयका काममा बाहेक आफ्नो घरायसी काममा लगाउनु हुँदैन भन्ने कानुनी व्यवस्था छ ।


सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ मा सरकारी वा सार्वजनिक स्रोतको प्रयोग गर्दा मितव्ययी ढंगबाट अधिकतम सदुपयोग र उत्पादनशील हुने गरी प्रयोग गर्ने प्रावधान राखिएको छ । यीबाहेक अन्य सरकारी सेवा सञ्चालनसम्बन्धी कानुनी व्यवस्थाका उल्लिखित आचारसंहिताले हरेक राष्ट्रसेवक, कर्मचारी, पदाधिकारीलाई सरकारी, सार्वजनिक स्रोतसाधनको मितव्ययी प्रयोग गर्न तथा घरायसी काममा सरकारी स्रोत, साधन प्रयोग गर्न बन्देज लगाएको देखिन्छ । यसप्रकारको कार्यलाई कानुनले प्रस्ट भ्रष्टाचारका रूपमा परिभाषा गरेको छ ।


प्रजातान्त्रिक व्यवस्था अपनाइएको, कानुनी शासनलाई स्वीकार गरिएको साथै सुशासनलाई आत्मसात् गरिएको अवस्थामा समेत दिनहुँ सरकारी स्रोतसाधनको दुरुपयोग बढेको छ । हाकिमसाबहरूमा नैतिकताको घडीको सुई उल्टो दिशामा घुम्नु असल शासनको चाहना गर्ने आमनागरिकको अभिमतविरुद्ध छ ।


सदाचार र नैतिकता भन्ने कुरा सिकाएर भन्दा आचरणबाट सिर्जना हुने पक्ष हुन् । नियम, कानुन, कार्यविधिबाट उल्लेख भएका आचरणलाई इमानदारपूर्वक कार्यान्वयन गरे मात्र सदाचारको फैलावट हुन्छ । अन्यथा कानुनी दायित्व पूरा नगर्ने संस्कारले घर, परिवार, समाज र सिंगो देशमा गलत प्रवृत्तिलाई बढावा दिन्छ ।

प्रकाशित : वैशाख १, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?