२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कठैबरा कांग्रेस !

काठमाडौँ — प्रधानमन्त्री केपी ओली कहिलेकाहीँ साँच्चै घतलाग्दो वाणी प्रस्फुटित गर्छन्  । केही दिनपूर्व उनका श्रीमुखबाट हाल बेहाल नेपाली कांग्रेसबारे अत्यन्त सटिक टिप्पणी आयो, ‘कठैबरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो !’ साँच्चै हो पनि, कांग्रेस कठैबरा नै भएको छ  ।

कठैबरा कांग्रेस !

आफूले माया गरिने, सहानुभूति राखिने व्यक्ति, परिवार वा समूहको अवनति, दुर्गति वा ज्यादै दयालाग्दो अवस्था हुन जाँदा कठैबरा भन्ने गरिन्छ । त्यस्तो नहोस् भन्ने कामना गरिएको, सोच्दै नसोचिएको तर दुर्घटना अथवा परिबन्दवश दुःखद अवस्था उत्पन्न हुँदा, दुःखद समाचार सुन्दा अनायास निस्कने शब्द हो— कठैबरा !


कांग्रेसका लागि आजका मितिमा यो विस्मयबोधक कठैबरा अत्यन्त उपयुक्त हो । यद्यपि ओलीले जुन सन्दर्भ उल्लेख गरेर यसको प्रयोग गरे, त्यसमा उनको बुझाइ त्यति प्रस्ट छैन । पूर्वाग्रह छ । किञ्चित् दुराग्रह पनि । उनले कांग्रेसलाई माया गरेर, मनमा असीम दया जागेर कठैबरा भनेका होइनन् । त्यो निश्चय नै बिचरा कांग्रेसजनको मुटु छेड्ने प्रयोजनले गरिएको व्यंग्य थियो । यद्यपि ओलीले कांग्रेसलाई दयावश कठैबरा भनेका होइनन्, तथापि यसको समग्र अवस्थाको चित्रण गर्दा निष्कर्षस्वरूप प्राप्त हुने सार कठैबरा नै हो ।


कांग्रेसलाई लिएर ओलीको कठैबरा नेक्रवित्रम चन्दको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि सरकारद्वारा लगाइएको प्रतिबन्धप्रति कांग्रेसका कतिपय नेताविशेषको नकारात्मक टिप्पणीतर्फ लक्षित थियो । कांग्रेसले चन्द नेतृत्वको नेकपाका हिंसात्मक गतिविधिप्रति समर्थन गरिरहेको भन्ने उनको आक्षेप थियो । त्यो ओलीको निजी अनुमान र मनको मत हो । किनभने चन्दका गतिविधि के हुन्, त्यो समूहका विषयमा केकस्तो धारणा बनाउनु उचित हुन्छ भन्ने सम्बन्धमा कांग्रेसको कुनै संस्थागत धारणा छ/छैन, यसबारे कसैलाई जानकारी छैन । सम्भवतः स्वयं कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि के भन्दा ठीक, के भन्दा बेठीक भन्ने ज्ञान छैन ।


देउवाले एक पटक चन्दका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकोलाई उचित ठहर्‍याए, लगत्तै वार्ताद्वारा समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्न थाले । सीके राउतसँग सरकारले गरेको समझदारीबारे पनि कहिले स्वागत गर्ने र कहिले भने विखण्डनकारीसँग झुकेर राष्ट्रघात गरेको भन्नेसम्मका भनाइ आए । त्यस्तै अरू नेताले पनि आफ्नो मनमा जे आयो, त्यही बोलेका छन् । ती भनाइलाई पछ्याइसाध्य छैन । बोलीको मूल्य हुन्छ, तर धेरै बेतुका बोल्ने गरिँदा र बोली फेरिइरहँदा पार्टी निश्चित विचारधारामा नचलेर साँच्चै कठैबरा हुन पुगेको ठहर्छ ।


हुन त प्रधानमन्त्री ओली आफैं पनि धेरैजसो सन्तुलित बोल्ने गर्दैनन् । कहिलेकाहीं यस्तो प्रतीत हुन्छ, उनीसँग व्यंग्यवाण, सस्ता टिप्पणी र व्यक्तिको मानसम्मानमा आघात पर्ने खालका अशोभनीय शब्दहरूको सँगालो अर्थात् शब्दकोश नै छ । लोकतन्त्रमा निजी मत राख्न हरेक नागरिक स्वतन्त्र हुन्छ । मानिस आफ्नो राजनीतिक, सामाजिक, सांस्कृतिक पृष्ठभूमि अनुसारै आचरण गर्छ । उसले प्रयोग गर्ने शब्दावली, वाक्य संयोजन, लक्षणा–व्यञ्जना औपचारिक शिक्षाले आकारित नभएर धेरैजसो अवस्थामा सामाजिक र हुर्काइका क्रममा प्राप्त अनुभवकै देन मानिन्छन् ।


निश्चय नै ओलीले पनि संविधानमा लिपिबद्ध र प्रदत्त अभिव्यक्ति स्वतन्त्रताकै हक प्रयोग गरेका हुन् । अभिव्यक्ति स्वतन्त्रताको अधिकतम उपभोग गर्दै ओली जहाँ जतासुकै जेसुकै बोलून्, तीमध्ये कतिपय त ध्यान दिन योग्य पनि हुँदैनन् । तर अचेल उनी देशको झन्डै दुईतिहाइ अग्लो, सबैभन्दा ठूलो पार्टीका एक अध्यक्षका साथै प्रधानमन्त्री पनि हुन् । प्रधानमन्त्रीले बोलेको नीति बोलेको मानिन्छ, सरकारको दृष्टिकोण बोलेको मानिन्छ ।


ओली सधैं अशोभनीय नै बोल्छन् भन्नेचाहिँं होइन । धेरैजसो अवसरमा अशोभनीय बोलिदिन्छन् भनेको मात्र हो । उनका कुनैकुनै कुरा साह्रै घतलाग्दा हुन्छन् र त्यस्तै घतलाग्दो हालैको कठैबरा हो । ‘कठै’ र ‘बरा’ को सन्धिबाट बनेको यो शब्द विस्मयका साथै करुणाबोधक पनि हो । विशेष गरेर तीन वर्षयता कांग्रेसमा दुर्दशा किस्ता–किस्तामा आएका छन् । संविधान आएका वर्ष सभापति र प्रधानमन्त्री सुशील कोइरालाले भद्र सहमति तोड्दै पुनः प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएपछि वर्तमान दुरवस्थामा आइपुग्ने मार्गचित्र बनेको हो ।


त्यसै कारण तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले परस्पर नजिक हुने अवसर पाए, सहकार्य गरे । साथै स्मरणीय छ, त्यति बेला संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । तर कांग्रेसले नाकाबन्दीलाई नाकाबन्दी भन्न सकेन । कांग्रेसका नेताले भारत रिसाउँछ कि भनेर मौनव्रत धारण गर्नु उचित ठाने । भारतीय शासन–प्रशासन र तिनका एजेन्सीहरूको मनोविज्ञान के हो भने, तिनीहरू जहाँ जो सत्तामा हुन्छ, त्यसैको ‘चाकडी’ गर्छन् । दुर्भाग्यवश, कठैबरा बिचरा, भारतसँग आफ्नो नजिकको साइनो छ भन्ने कांग्रेस नेताहरूले पनि भारतीय शासकीय मनोविज्ञान बुझेका रहेनछन् !


कांग्रेसको तेह्रौं महाधिवेशनपूर्व सुशील कोइरालाको निधन भयो र महाधिवेशनमा देउवा सभापति बने । त्यसपछि उनको नेतृत्वको कांग्रेसले पहिलो घातक काम गर्‍यो— ओलीबाट प्रचण्डलाई चुँडाएर माओवादी–कांग्रेसको संयुक्त सरकार गठन अनि प्रधानमन्त्रीमा प्रचण्ड र देउवाको आलोपालो । त्यस प्रयोगलाई कतिपयले कम्युनिस्टहरूबीचको सहकार्यलाई फुटाएको भनेर स्वागत गरे । त्यसबाट प्रचण्डले दोस्रो संविधानसभामा गुमाइसकेको राजनीतिक ‘स्पेस’ पुनः प्राप्त गर्ने र आफ्नो प्रभावलाई अरू विस्तार गर्ने अवसर पाए । यसले निष्ठावान् कांग्रेसजनमा विरक्ति र जनस्तरमा कांग्रेसलाई अरू अलोकप्रिय बनायो । त्यसको प्रकटीकरण स्थानीय तहको निर्वाचनमा भयो । प्रादेशिक र केन्द्रीय तहको निर्वाचनपूर्व पार्टी एकता गर्ने गरी ओली र प्रचण्डले चुनावी गठबन्धन गरे ।


एकातिर विभिन्न दुष्प्रयोग र अर्कातिर ओली–प्रचण्ड मिलापका कारण प्रादेशिक र केन्द्रीय तहको निर्वाचनमा कांग्रेसले सर्वस्व गुमायो । पहिलो पटक भएको प्रादेशिक निर्वाचनमा हरेक प्रदेशमा लज्जाजनक पराजय बेहोर्नुपर्‍यो । केन्द्रमा एकतिहाइभन्दा कम स्थानमा चित्त बुझाउनुपर्‍यो ।


यहाँ पूर्वप्रकरणहरूको पुनरावृत्ति किनभने यतिसम्म दुर्दशा भइसक्दा पनि आफ्नो हारको यथार्थपरक समीक्षा नगर्ने, उल्टै ठालु पल्टने, खाइपाइ आएको सुविधामै रमाउने र प्रधानमन्त्री ओलीले बेलाबेला देखाएका ललीपपमै दंग पर्ने गरेका कारण हुनुपर्छ, प्रतिपक्षको न्यूनतम धर्म पालन गर्नसमेत कांग्रेसले तत्परता देखाएन, देखाइरहेको छैन । मुद्दाविशेषमा नेतैपिच्छे फरक धारणा आए पनि कांग्रेसको आधिकारिक धारणा यो हो भन्ने त हुनुपर्ने, त्यो पनि छैन !


निश्चय नै जित–हार हुन्छ । तथापि हारेको बोध हुनुपर्छ र पुनः उठ्ने उद्यम हुनुपर्छ । यति नराम्ररी नहारेको भए पनि कांग्रेस यसपूर्व पनि दुई पटक हारिसकेको हो, २०५१ को मध्यावधि निर्वाचन र २०६४ मा पहिलो संविधानसभाको निर्वाचनमा । त्यति बेला पनि सरकारमा कम्युनिस्ट नै आएका थिए । राजनीतिको केन्द्रीय भाव भने कांग्रेसमै थियो । सम्झे हुन्छ, त्यति बेला कांग्रेस सत्तामा नहुँदासमेत माग्ने होइन, दिने हैसियत राख्थ्यो । यसका शुभेच्छु, शुभचिन्तक र कार्यकर्ताको मनोबल यति साह्रो कहिल्यै गिरेको थिएन ।


लोकतन्त्रमा सधैं सत्ता पाइँदैन । प्रतिपक्षमा बस्नु पनि सानो कुरा होइन । सत्तामा घोर कम्युनिस्ट अथवा तानाशाही प्रवृत्ति भएका पात्र नै किन नबसेका होऊन्, प्रतिपक्षले संसद र सडकमा सत्तालाई आच्छु–आच्छु पार्न सक्छ । बाहिर–बाहिर आफ्ना भान्साका कार्यकर्तामाझ रमाउँदै सरकार अधिनायकवादी भयो भनेर बोली टोपल्दैमा अधिनायकवादी मनसुबा नियन्त्रित हुँदैन ।


साथै प्रतिपक्षले सरकारसँग नियुक्तिमा भाग माग्ने पनि होइन । आफ्नो पालामा नियुक्त गरेका राजदूतहरूको थमौती गरिमाग्न याचना गर्ने होइन र गर्न सुहाउँदैन । मिल्दैन संवैधानिक अंगहरूमा आफ्ना मानिस नियुक्ति गराइमाग्न भित्रभित्रै प्रार्थना गर्न । प्रतिपक्षले बोक्नुपर्छ, जनताका अजेन्डा । प्रतिपक्षले बुझ्नुपर्छ, जनताका भावना । लोकतन्त्रमा प्रतिपक्ष सत्तासँग ‘सेटिङ’ मिलाउँदै कठैबरा भएर बस्न मिल्दैन ।


कांग्रेसका एउटा महामन्त्री छन्, शशांक कोइराला । उनी सांसद पनि हुन् । नाताले उनी विश्वेश्वरप्रसाद कोइरालाका छोरा हुन् । कांग्रेसजन उनीबाट धेरै आशा गर्छन्, उनी शशांक भएर होइन, बीपीपुत्र भएकाले । तर संसदमा ढुंगो बोल्ला, उनी बोलेको सुनिँदैन । बाहिर भने बेला न कुबेला नानाथरीका समय र सन्दर्भ नमिल्ने मागहरू अघि सारिरहेका हुन्छन् । धेरै केरकार भयो भने त्यस्तो भनेकै होइन भनेर पन्छिन कत्ति पनि विलम्ब गर्दैनन् । साथै पद ओगटेर बस्ने र फलानाले गर्न दिएन, त्यसैले पार्टी बरबाद भयो भन्नेहरू आफ्नै वृत्तमा रुवाबासी गरेर बसेका भेटिनु सामान्यझैं भएको छ ।


त्यसैले ओलीले चाहे चन्द नेकपाका गतिविधिका सन्दर्भमा कांग्रेसलाई कठैबरा भनेका भए पनि समग्रमा समेत यसको कार्य–प्रदर्शन कठैबरा भन्नलायक नै भएको छ । कठैबरा कांग्रेस !


प्रकाशित : चैत्र २२, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?