२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बारा–विपद्का आयाम

डेटलाइन तराई
चन्द्रकिशोर

काठमाडौँ — ‘घर उजड गइल !’ चक्रवात हुरी प्रभावित बाराको गाउँ भलुहीका दिनेश शर्मा भन्दै थिए । घर भत्कियो भनेर बताइराख्दा उनका अनुहारमा अनेक पीडा, अनिश्चितता र असुरक्षाका भावहरू पढ्न सकिन्थ्यो । घर भत्किनु भौतिक फ्रक्रिया हो, जुन चत्रवात हुरीका कारण भयो ।

बारा–विपद्का आयाम

एउटा व्यक्ति वा परिवारका निम्ति घर भनेको भरोसा र सुरक्षाको ओत पनि हो । दिनेश पटक–पटक आफ्नै बूढी आमाको भनाइ दोहोर्‍याउँदै थिए, ‘जिनगीभरिको कमाइले घर खडा गरिएको थियो ।’ घर भत्किँदा अन्न, भाँडाकुँडा, लत्ताकपडा र अन्य आवश्यक सामग्री पनि नाश हुन्छन् । आवश्यक कागजात पनि पुरिन्छन् । केही क्षणअघिसम्म घर खडा रहँदा उनी निस्फिक्री थिए । अचानक उनी घरबारविहीन भए । योसँगै सुरु भयो, खुला आकाशमुनिको बास र अनिश्चितताको लामो यात्रा ।


मंगलबार दिउँसो भेट्दा दिनेशको अनुहार धूलोले पोतिएको थियो । एउटै कपडामा दिन बित्दै थियो । राहतको खानामा गुजारा चल्दै थियो ।एउटा घर भत्किँदा उनले सञ्चय गरेका भएभरका सामग्री समाप्त भएका थिए, जसका लागि कैयौं पुस्ताको लगानी थियो । भौतिकभन्दा पनि मानसिक तनाव बढी थियो, उनमा । उनकै अनुसार, ‘कोही असुरक्षित हुँदा बाहिरबाट घर भित्रिन्छन् । यहाँ त घरभित्रै प्रलय प्रकट भो !’


प्राकृतिक विपद्को पूर्वानुमान गर्न सकिँदैन, न यसलाई रोक्नै सकिन्छ । कतिपय अवस्थामा कतिपय विपद्बारे पूर्वसूचना दिने र सम्भावित क्षेत्रका बासिन्दालाई सुरक्षित बनाउने गरिएको पाइन्छ । विपद् व्यवस्थापनसँग जोडिएको संयन्त्र दिगो, अनुभवीर प्रविधियुक्त छ भने यसको प्रभावलाई एक हदसम्म कम गर्न सकिन्छ ।


नेपालका लागि प्राकृतिक विपद् नयाँ होइन । तथापि प्रत्येक विपद् हाम्र्रा लागि संकट भएरै आउने गरेको छ । विपद् व्यवस्थापन सम्बन्धी अनुभव र अभ्यासहरूको सांगठनिक स्मृतिको चलन छैन । त्यसैले विपद्पिच्छे सरकार अतालिने गर्छ ।


विपद् प्रबन्धनसँग दुइटा कुरा मुख्य हुन्छन्— पूर्व र पश्चात्को अवस्था । बाराको विपद् क्षेत्र घुम्दा र पीडितहरूको अनुभव सुन्दा हाम्रो विपद् व्यवस्थापनको तौरतरिका सिकारु नै रहेछ ।


विपद् प्रभावित क्षेत्र समतल भएकाले घटनालगत्तै उद्धारका कामहरूसहजै सुरु हुन सके । समुदायहरूले पनि एकअर्काकालाई सघाउ पुर्‍याए । घटना अवलोकन वा सघाउ पुर्‍याउने उद्देश्यले विभिन्न हिस्साबाट मानिसहरू त्यहाँ मेलाकै झझल्को दिने गरी देखिए ।सहज भूगोलका कारण यसरी आउन सजिलो भयो । पहाडमा भूकम्पका बेला परकम्पहरू आइराख्ने हुनाले एउटा त्रास थियो, तराईमा त्यो पनि थिएन । असी वर्षका पीडित नथुनी मुखिया भन्दै थिए, ‘न चुनाव छ, न गढीमाईको मेला, तैपनि भीड लागेको छ !’


कतिपयले प्रकोपलाई तमासाका रूपमा लिएका छन्, पीडितहरूले पनि हेर्न आउनेको घुइँचोलाई तमासाकै रूपमा लिएका छन् । यो तमासाभित्र करुणा र संवेदनशीलता कम छ । ठूला कदका नेता र उच्च पदाधिकारीहरूको ओहोरदोहोरले सुरक्षा निकायको श्रम र समय त्यसैमा खर्चिइरहेको छ । शीर्ष नेतासँगै गाडीको ठूलो लाम लाग्छ । हेर्न आउनेको भीड र गाडीको लाम राहत वितरणमा तगारो बनिरहेका छन् ।


‘मँुहगरासब’ (बोल्नेहरूले) वितरित राहतमा रजाइँ गर्ने गरेका छन् । ‘अबरा’ (कमजोरहरू) फेरि चेपिएका छन् । प्राकृतिक प्रकोपले समेत गरिब र निमुखाहरूलाई नै थिच्दो रहेछ ! खोला किनारको सार्वजनिक जग्गामा बसाएको घर उजाडिन पुगेका दिलिप मरिक भन्दै थिए, ‘टेन्ट मोटगर लोग (हुनेखाने) ले कब्जा गरे !’


यसले राहत अव्यवस्थित र अवैज्ञानिक तरिकाले वितरण भइरहेको देखाउँछ । यतिखेर स्थानीय तहमा निर्वाचित सरकार छ, वडा–वडामा जनप्रतिनिधि छन्, तिनले स्वस्फूर्त सचेतना देखाएका भए अति कम समयमा पीडितहरूलाई क्षतिका आधारमा वर्गीकृत गर्न सकिन्थ्यो । स्थानीय जनप्रतिनिधिलाई संस्थागत रूपमा प्र्रभावकारी कार्य गर्न सिक्ने–सिकाउने अवसर पनि हो यो । बाँकीका प्रदेश र संघीय सरकार पनि आ–आफ्नै तालमा सक्रिय छन् ।


प्रदेश सरकारले वितरणमुखी राहतको शैलीमा मृतकलाई तीन लाख दिने घोषणा गर्‍यो । मरेकाको दाहसंस्कार, घाइतेको समुचित उपचार र गाउँ कुरेर बसेकाहरूलाई तत्कालको सुरक्षित बसाइसँगै स्थायी आवासको बन्दोबस्ती मिलाउनुचाहिँ प्राथमिकतामा पर्नुपर्ने थियो । राहतका नाममा जहाँबाट पनि उही चाउचाउ र बिस्कुट बढी बाँडिएका छन् ।


गर्मी याममा यस्ता फास्टफुड खाँदा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्छन् । बरु चिउरा–सक्खर, सातु, चना बरु पोषणयुक्त र मौसमअनुकूल हुने थियो । राहत स्थानीयमैत्री पनि देखिएन । खानाका शिविर लगाउनेहरूका बीच समन्वय छैन । खाना कतै अपुग भइरहेको छ भनेकतै फालिने अवस्था आएको छ ।


राहतका नाममा एकै खाले सामग्रीको थुप्रो लागिरहेको छ । प्रभावित क्षेत्रको आवश्यकता अनुसार नभई आफूलाई जे सहज छ, त्यही पुर्‍याउने गरिएको छ । पीडितहरू चर्को घाममा बसिरहेका छन् । कोही ढलेको भकारीभित्र त कोही साडी टाँगेर ओत लागेका छन् । राति लामखुट्टेको प्रकोप र सर्पको डर त्यत्तिकै छ ।


तीनदिन बितिसक्दा पनि आवश्यक सरसफाइ हुन पुगेको छैन । अवशेषहरू उठाउन सकिएको छैन । कुपोषण, खाद्यान्न अभाव, सफा पानीको कमी, खुलामा बस्दा चर्को गर्मीले पार्ने असर, खुला ठाउँमा गरिएको दिसापिसाबबाट पीडितहरू झन्बढी सताइएका छन् । सानो क्षेत्रमा परेको यस्तो विपद्लाई कम समयमा सहज बनाउन सकिने थियो । प्रदेश २ सरकारले आधारभूत व्यवस्थापन गर्ने आँट गर्न सक्थ्यो ।


चक्रवात हुरीले निम्त्याएको विपद् सामना गर्ने सवालमा प्रदेश सरकार पनि कमजोर र असहाय देखियो । उसले सस्ता राजनीतिक झडपमा चासो देखाउनु सट्टा प्रादेशिक विपद् घोषित गरेर एक मन्त्रीको नेतृत्वमा कलैयाबाटै राहत वितरण र सुरक्षा व्यवस्थापनलाई गति दिन सक्थ्यो । संघीय सरकारको कार्यशैली यसपटक पनि सुस्त देखियो । राहतमा तदारुकताको कमीले प्राकृतिक प्रकोपको असरलाई अझ व्यापक पार्दै लगेको छ ।


संघीय सरकारले अहिलेसम्म विश्वसमुदायसँग आपत्कालीन सहयोगका निम्ति अनुरोध नगर्नु एक अर्थमा ठीकै हो । झन् अहिले केन्द्रमा राष्ट्रवादी अनुहारको सरकार जो छ । तर घरबारविहीन भएकाहरूका लागि सुरक्षित घर निर्माण (भूकम्प प्रतिरोधी), शौचालय र आजीविकाको सुरुवात जस्ता पक्षमा यात संघीय सरकारले अवधारणागत रूपमा आफ्नो भूमिका प्रस्ट्याउनुपर्‍यो, नभए सहयोगी राष्ट्रहरूलाई राहत र पुनर्निर्माणमा संलग्न गराउनुपर्‍यो ।


म फेरि पनि भन्छु— सानो क्षेत्रमा रहेका विपद्का प्रभावितहरूलाई नवजीवन दिने सामर्थ्य नेपालभित्रै छ, तथापि संघीय सरकार अलमलमै देखिएको छ । बारा विपद्ले निम्त्याएको विमर्श के हो भने, संघीय व्यवस्थामा विपद् व्यवस्थापनको स्वरूप के हुने, विपद् व्यवस्थापन चक्रका चरणहरू राहत, पुनर्प्राप्ति, पुनर्निर्माण, रोकथाम र पूर्वतयारीमा कुन तहको केकस्तो भूमिका हुने भन्नेबारे त्यसको प्रस्ट नक्सांकन हुनु जरुरी छ ।


चक्रवात प्रभावितलाई राहत पुर्‍याउनमा सरकारी पक्षको ठूलो कमजोरी देख्दा पुनर्निर्माणका काम झन् अँध्यारोकै गोलचक्करमै रहने सम्भावना छ । तराईमा बढ्दो गर्मीसँगै आँधीहुरी र वर्षाको क्रम रहने नै छ । यस्तोमा पुनःस्थापनाको काम निश्चित समय–सीमाका साथ सुरु गर्न सकियो भने असम्भवचाहिँ होइन । विगतका विपद् व्यवस्थापनका दृष्टान्तहरूले यहाँको आगत डरलाग्दो हुनेचाहिँ देखिएकै छ ।


स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धी संस्थागत ढाँचाको आधारभूत जग मान्ने हो भने यस्तो बेला तिनलाई अग्रपंक्तिमा राख्नुपर्थ्यो । राहतको एकद्वार प्रणाली नहुँदा वा राहतका समग्र क्रियाकलाप स्थानीय तहको जानकारीमा नहुँदा वितरण प्रणालीमा असमानता देखिएको छ ।


स्थानीय तहले सचेतनाको काम भुइँतहमै प्रभावकारी तरिकाले गर्न सक्छन् । बाराकै सिमरौनगढका माछा व्यवसायी रञ्जित कुशवाहा भन्दै थिए, ‘मैले माछापालन गरेदेखि एप्सको माध्यमबाट स्थानीय मौसमको भेउ पाउने गरेको छु । त्यो दिन पनि ठूलो आँधीहुरीको पूर्वसूचना पाएको थिएँ ।’ जहाँ सूचना प्र्रविधिको सहज पहुँच छ, त्यहाँको स्थानीय तहले यस्ता उपक्रमहरू आफैले गर्न सक्छन् ।


विपद् व्यवस्थापनको सवालमा पहाड र मधेसको कित्ताकाट हुनु हँुदैन । मुलुकको जुनसुकै भूगोलमा भएपनि प्रादेशिक सरकारहरूले भविष्यमा विपद्को असर कसरी कम गर्ने, तिनको सामना कसरी गर्ने, आफ्नो प्रदेशका बासिन्दामा त्यसको तयारी र क्षमता बढाउन के काम गर्नुपर्छ भन्नेजस्ता प्रश्नको जवाफ नखोजी संघीय सरकारको मुखताक्नु हुन्न । विडम्बना, अहिले पनि विपद् व्यवस्थापन सम्बन्धी संस्थाहरू संघीय सरकारकै मातहतमा छन् ।


आउँदा दिनमा हुनसक्ने आगलागी, बाढी, खडेरी, डुबान, कटान, चट्याङजस्ता विपद्का निम्ति उद्धार र राहतका रणनीति र आधारभूत व्यवस्थापन तयार राख्नुपर्छ । संघ–प्रदेशसम्बन्धमा आधारभूत असामञ्जस्य रहुन्जेल विपद् व्यवस्थापन चुस्त–दुरुस्त बन्न सक्दैन ।

प्रकाशित : चैत्र २१, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?