२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

विद्यालयमै टिकाउन पाए !

बिना थिङ

काठमाडौँ — सेर्मो तामाङले अनुहार कालोनीलो बनाउँदै भनिन्, ‘मकै छर्ने बेला भा’को छ । घरमा बा हुनुहुन्न । आमा एक्लैले कताकता भ्याउनु ! त्यसैले म स्कुल भर्ना भइन ।’ नुवाकोटको जिमनाङकी सेर्मोले यसरी ८ कक्षाभन्दा माथि पढिनन् । उनले पढाइ छाड्नुको अर्को कारण थियो— आफ्नो गाउँमा मावि नहुनु ।

९ कक्षामा भर्ना भएकी भए उनले दिनहुँ चार घण्टा विद्यालय आउजाउमै बिताउनुपर्थ्यो । राउतबेसी त्यति टाढा छ । उनका बा कमाइका लागि भारत गएको आठ वर्ष भइसक्यो । उनी फर्किने अवस्था छैन । वस्तुभाउ, खेतीबारी, जंगल, पानी–पँधेरो भ्याउन आमा एकजनालाई हम्मे नै छ । त्यसमाथि सेर्मोमा दूधे बालकको जिम्मा पनि छ । ७ कक्षा पढ्दा–पढ्दै भागी विवाह गरेकी उनकी दिदीले वर्षदिनको छोरो माइतमा छाडेकी छन् । दिदीचाहिँ वैदेशिक रोजगारीमा गएकी छन् ।


सेर्मोकै छिमेकी चिनीमाया (नाम परिवर्तित) तामाङ बाह्र वर्षकी भइन् । उनका बा रोगी छन् । आमालाई अर्मपर्म गर्दै ठिक्क छ । दाइ प्राथमिक तह नसक्दै गुम्बामा घेलुङ भएका छन् । आधारभूत तह निःशुल्क छ, तर नकमाइ खान पुग्दैन । भोको पेटले पढाइ ? असम्भव । ५ कक्षाको वार्षिक परीक्षा नजिकिँदै गर्दा चिनीमाया गाउँलेहरूसँगै काठमाडाँैतिर हिँडिन् । कलम चलाउनुपर्ने कलिला हातहरू अचेल थान्का सिलाउनमा अभ्यस्त हुँदै गएको छ । थान्का सिलाउनेहरूमा उनकै उमेर समूहका चारजना छन् ।


माथिका दुई उदाहरणले स्कुले पढाइ पूरा नगरेका बालबालिकाको प्रतिनिधित्व गर्छन् । एउटा सानो गाउँमै यसरी बीचमै पढाइ छोड्नेको सङ्ख्या वर्षेनि बढ्दो छ भने, समग्र मुलुककै अवस्था कस्तो होला ! सरकार तथा शिक्षा सम्बद्ध निकाय यसबारे अब पनि सचेत नहुने हो भने शिक्षामा गरिएको लगानी व्यर्थ हुँदै जान्छ ।


शिक्षा विभागको तथ्याङ्क अनुसार, २०६५ मा १३ लाख ६ हजार ७ सय ३१ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । २०७५ को एसईईमा करिब ५ लाख मात्रै सामेल भए । कहाँ गए ८ लाख विद्यार्थी ? प्रश्न गम्भीर छ र यसको सोझो अर्थ हो— साक्षरता दर बढ्यो, औपचारिक शिक्षाको खुड्किलो भने भाँचियो । अर्धदक्ष, अल्पपठित, अल्पज्ञानीले देशको ठूलो हिस्सा सङ्क्रमित छ । एउटा जिम्मेवार राज्यका निम्ति यो ठूलो घाटाको विषय हो ।


प्रत्येक शैक्षिक सत्रको सुरुवातमा गरिने भर्ना अभियानले धेरैभन्दा धेरै केटाकेटीलाई विद्यालय शिक्षाको दायरामा ल्याउन मद्दत गरेको छ । विभागको तथ्याङ्क अनुसार, २०७४ मा सामुदायिक विद्यालयका कक्षा १ मा १ लाख २ हजार ५ सय १४ विद्यार्थी भर्ना भए । २०७५ मा ६० हजार मात्र कक्षा २ मा भर्ना भए । यसले विद्यालयमा केटाकेटी ल्याएर हुलिदिने काम मात्रै भएको, त्यसपछि आइपर्ने समस्यालाई नहेरिएको बुझाउँछ । यस्ता कारणले पनि केटाकेटी बीचैमा पढाइ छाड्न बाध्य भएका हुन् । सरकार र विद्यालयले भर्ना अभियान मात्रै तीव्र बनाए, विद्यार्थी टिकाउने वातावरण बनाउन सकेनन् ।


विद्यालय प्रवेश गरिसकेका विद्यार्थी बीचैमा जान छोड्नुमा बसाइँसराइ, पारिवारिक विखण्डन, भाषिक समस्या, बालविवाह, बालमैत्री विद्यालयको अभावजस्ता कारक पनि हुन सक्छन् । तथापि यिनमा गरिबी नै प्रमुख देखिन्छ । गरिबीकै कारण कतिपय नेपाली सुरक्षित स्थान र नियमित आम्दानीको खोजीमा भौंतारिइरहेका छन् । अभिभावकको हैरानी देखेर केटाकेटीमा नकारात्मकताको विकास हुन्छ । तिनको दिमागमा असुरक्षित भविष्यले डर उब्जाइदिएको छ । यसैले पनि केटाकेटी अर्थोपार्जनमा होमिन बाध्य हुन्छन् । नचाहेरै पनि उनीहरूले कुनै एउटा विन्दुमा पुगेर

पढाइ छाड्ने गरेका हुन् ।


पछिल्ला केही दशकदेखि वैदेशिक रोजगारीका कारण गाउँहरू युवाविहीन भइरहेका छन् । घरायसी कामदेखि खेती–किसानीसम्ममा बालबालिकाको प्रयोग अत्यधिक हुन थालेको छ । यसले गर्दा पनि बालबालिकाको स्कुले पढाइ गन्तव्यमा पुग्न नसकेको हो । अझ यसबाट छात्राहरू बढी पीडित छन् । आधारभूत तहसम्म त अनियमित हँुदै पनि जसोतसो वार्षिक परीक्षामा सामेल हुन्छन्, माध्यमिक तहमा पुगेपछि भने अनियमित हुने विद्यार्थीलाई कठिनाइ महसुस हुन थाल्छ । अनि विवाह गर्ने कित वैदेशिक रोजगारीमा जाने हुन्छन् ।


समस्या विकराल छ । विद्यालयमा भर्ना सँगसँगै विद्यार्थी टिकाउ अभियान पनि चलाउनुपर्ने देखिन्छ । दिवा खाजा, तेल वितरण, छाक्रावृत्तिको कार्यत्रमले मात्र यसले निकास पाउँदैन । यसका लागि समस्याको जरासम्मै पुग्नु आवश्यक छ । गाउँ–गाउँमा खेतीपातीलाई आधुनिक प्रविधियुक्त बनाउनसके केटाकेटी नियमित विद्यालय जान पाउँछन् ।


यौन शिक्षा दिएर बालविवाहलाई हतोत्साहित गर्नुपर्छ । मातृभाषामा शिक्षा, अभिभावक सचेतना कार्यक्रम चलाएर पनि यो समस्याबाट उन्मुक्ति पाउन सकिन्छ ।

प्रकाशित : चैत्र २१, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?