भर्नापहिले विद्यालय जाँचबुझ

मेदिनबहादुर लामिछाने

काठमाडौँ — चैतमा गर्मीसँगै सहरका अभिभावकहरूको तनावको पारो बढिरहेको छ । बुझेर वा नबुझेर, अरूको लहैलहैमा लागेर वा देखासिखीका कारण अभिभावकहरू केही सीमित विद्यालयका लागि मरिहत्ते गर्छन् । अभिभावकको रोजाइमा पर्ने विद्यालयको सङ्ख्या सीमित छ, तापनि कक्षा एकमा भर्ना गर्नुपर्ने विद्यार्थीको सङ्ख्या भने धेरै छ, करिब आठ लाख । 

अभिभावकले आफ्नो बच्चालाई सार्वजनिक विद्यालयमा भर्ना गर्ने वा घरमै पढाउने हो, निर्णय लिन सहजै हुन्छ । हाम्रो सन्दर्भमा बच्चालाई घरमै पढाउनु त्यति सजिलो छैन, स्वीकार्य छैन र अभ्यासमा पनि छैन । सार्वजनिक विद्यालयहरूले अझै अभिभावकहरूको ध्यान तान्नसकेका छैनन् । आयले धानेसम्म अभिभावकहरूको छनोटमा संस्थागत विद्यालय नै हुन्छन् । सार्वजनिक विद्यालयहरू छनोटमा नपरुन्जेल अभिभावकको तनाव कम हुने छाँट छैन ।

हामीकहाँ बाह्र–सत्ताइस थरीका संस्थागत विद्यालय छन् । तिनको स्रोतसाधनको उपलब्धतामा, पठन–पाठनको तौरतरिकामा भिन्नता छ । यही भिन्नताले अभिभावकलाई दिग्भ्रमित पार्ने गरेको छ । विद्यालयहरूको शब्दजालले अझ अलमलमा पारेको छ—एक्काइसौं शताब्दी सुहाउँदो व्यावहारिक शिक्षा, अन्तर्राष्ट्रिय स्तरको शिक्षण पद्धति, मौलिक पाठ्यक्रम, रचनात्मक सिकाइ, प्रयोगात्मकशिक्षण सिकाइ, विद्यार्थीको प्रतिभा अनुसारको शिक्षा ... । यी शब्दावली सुन्दा राम्रै छन्, विद्यालयको व्यवहारमा तादात्म्य नहुन सक्छ ।

अभिभावकहरूले आफ्ना बच्चाको क्षमता के हो, रुचि केमा छ, कमजोरी के–के हुन्, स्वभाव कस्तो छ, सिकाइमा उसका आवश्यकता के–के हुन् भन्ने थाहा पाउनुपर्छ । विद्यालयको दर्शन र मूल्य–मान्यता अभिभावकको मूल्य–मान्यतासँग मेल खान्छ कि खाँदैन, तपाईंले सिकाउन खोजेको संस्कार दिन विद्यालयले सकारात्मक भूमिका खेल्न सक्छ कि सक्दैन भन्ने पनि ख्याल गर्नुपर्छ । शिक्षकको योग्यता कति छ, तालिमप्राप्त र पेसागत दक्षता हासिल गरेका हुन् कि हैनन् ? तिनलाई जीवनयापन गर्न पुग्नेगरी तलब छ कि छैन जस्ता पक्षमा पनि चासो दिनुपर्छ । थोरै तलब पाउने, कम योग्यता भएका शिक्षकहरूबाट गुणस्तरीय सिकाइको अपेक्षा गर्न सकिँदैन ।

अर्को कुरा, विद्यालय तपाईंको निवासबाट टाढा छ, आउ–जाउ गर्दा साह्रै ट्राफिक जाममा पर्छ भने त्यतातिर ध्यान नदिएकै राम्रो । नानीबाबुहरूलाई प्रशस्त आराम गर्ने, सामाजिकीकरण गर्ने, खेल्ने र मनोरञ्जन गर्ने समय चाहिन्छ । उनीहरूले जति धेरै समय अभिभावकसँग बिताउन पाए, त्यति राम्रो । विद्यालय टाढा भए आउ–जाउ गर्दै उनीहरू थाकिसकेका हुन्छन् र घरमा अध्ययन गर्ने, अभिभावकसँग बोल्ने समय नै पाउँदैनन् ।

धेरै अभिभावकको गुनासो शुल्कमा हुन्छ । विद्यालयले शुल्क घुमाउरो पाराले तोकेभन्दा बढी लिने र हरेक नयाँ शैक्षिक सत्रमा बढाउने गरेका छन् । विद्यालय छनोटमा यो पक्षबारे पनि चनाखो हुनुपर्छ । विद्यालयको आकार र शिक्षक–विद्यार्थी अनुपात पनि विचार गर्नुपर्छ । व्यक्तिगत देखभाल चाहिने बच्चाका लागि जतिसक्दो थोरै विद्यार्थी भएको र शिक्षक–विद्यार्थी अनुपात कम भएको विद्यालय उपयुक्त हुन्छ ।

एकभन्दा धेरै सन्तान भएका अभिभावकले सबैलाई सकेसम्म एउटै विद्यालयमा पढाउनुपर्छ । विद्यालय एउटै भैदियो भने जाडो र गर्मी बिदा, परीक्षा र शिक्षकसँगको अन्तरक्रियामा समय मिलाउन सजिलो हुन्छ । बच्चाका लागि विद्यालय छान्दा तिनका साथीभाइ कहाँ पढ्छन् भन्ने कुराले पनि अर्थ राख्ने गर्छ । साथीभाइकै विद्यालयमा भर्ना गरियो भने बच्चाले मनोवैज्ञानिक रूपमासुरक्षित महसुस गर्न सक्छन् । विद्यालयमा आफूलाई सुरक्षित ठान्न नसके बच्चाको ज्ञान निर्माण, सीप तथा कौशल सिकाइ र अवधारणा बुझाइमा प्रभाव पर्न सक्छ ।

अभिभावकले हेर्नुपर्ने अर्को पक्ष हो— सिकाइका लागि सहयोगी भूमिका खेल्ने खेल मैदान, पुस्तकालय, दृश्यकला, प्रदर्शन कला, क्लब क्रियाकलाप, खेलकुद । यी सेवासुविधा भएका विद्यालयले मात्र तपाईंका बच्चाको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउन सक्छन् ।

विद्यालयले जीवनोपयोगी कौशल सिकाउन के गरेको छ ? विचार गर्नुपर्छ । कोरा किताबी ज्ञान त घरैमा राखेर पनि दिन सकिन्छ ! विद्यार्थीका लागि चाहिने व्यावहारिक सीप तथा सोचाइ सीपहरूलाई कत्तिको महत्त्व दिइएको छ ? बुझ्नुपर्छ । यी सीपहरू अबको कक्षाकोठामा उपलब्ध गराइएन भने विद्यार्थी काम न काजका हुन सक्छन् ।

विद्यालयले अभिभावकहरूलाईआफ्ना क्रियाकलापमा सहभागी गराउनुपर्छ । अभिभावकको भूमिका विद्यार्थीको सिकाइमा कसरी विचार गरिएको छ ? घर–विद्यालय सञ्चार कसरी सुनिश्चित गरिएको छ ? विद्यालय र समुदायलाई कसरी जोडिएको छ ? यसबारे बुझ्नुपर्छ । अभिभावकको सक्रिय सहभागिता भएको विद्यालयमा पढ्ने विद्यार्थीको ज्ञान निर्माण र सीप तथा कौशल सिकाइ सुदृढ र सबल हुन्छ ।

अभिभाकहरूले आफ्नो परिवारका भावना र मूल्यहरू विद्यालयका भावना र मूल्यहरूसँग मेल खान्छन् कि खाँदैनन्, हेर्नुपर्छ । आफ्ना संस्कार, धर्म, रीतिरिवाजलाई नानीबाबु अध्ययन गर्ने विद्यालयले कत्तिको सम्मान गर्छ ? नानीबाबु पढ्ने विद्यालयले कतै एउटामात्र धर्म, भाषा र संस्कृति, रीतिरिवाजलाई प्रोत्साहन गर्नेगरी क्रियाकलापहरू सञ्चालन त गरिरहेको छैन ? बुझ्न जरुरी छ । विद्यालयले कतिपय क्रियाकलाप जबर्जस्ती गरिएका उदाहरण छन् ।

इच्छाविपरीत कसैको भावनामा चोट पुर्‍याउने हिसाबले कलिला विद्यार्थीलाई जबर्जस्ती विद्यालयको क्रियाकलापमा सहभागी गराउनु राम्रो होइन । तपाईंले यस्तो विद्यालय खोज्नुस्, जसका कक्षाकोठाले समाजको प्रतिनिधित्व गरेका होऊन् । सानै उमेरदेखि समाजको प्रतिनिधित्व गर्ने कक्षाकोठामा राखेर ज्ञान र सीप सिकाइयो भने मात्र भोलिका दिनमा सहजै बच्चा समाजमा केही योगदान दिन सक्ने र सफलतापूर्वक केही गर्नसक्ने नागरिक बन्न सक्छन् ।

तपाईंले जुन विद्यालयमा आफ्ना नानीबाबुलाई भर्ना गराउन खोज्दै हुनुहुन्छ, त्यो विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक, विद्यालय नेतृत्व समूहका सदस्यहरूले आफ्ना छोराछोरीलाई त्यसैमा पढाएको हुनैपर्छ । उनीहरूले आफ्ना नानीबाबुलाई त्यहीँ पढाएका भए तपाईं ढुक्क हुन सक्नुहुन्छ । उनीहरूले आफ्ना नानीबाबुलाई चाहिँ अन्यत्रै भर्ना गरेका भए तपाईंले त्यो विद्यालयको बाटै नहिँडेको बेस । जसलाई आफूले सञ्चालन गरेको वा काम गरेको विद्यालयप्रति विश्वास छैन, तिनलाई तपाईंले पनि किन विश्वास गर्ने ?

वातावरण अभिभावक र बालमैत्री छ, सेवासुविधामा विद्यार्थीको उमेर र कक्षा अनि रुचिलाई ध्यानमा राखिएको छ, सिकाइ कक्षाकोठा बाहिर पनि सम्भव बनाइएको छ, सिकाइलाई पाठ्य–पुस्तकभन्दा बाहिर निकालिएको छ,
ज्ञान निर्माण, सीप सिकाइ तथा अवधारणाविकासलाई जीवन र जगतसँग जोडिएको छभने तपाईंले आफ्ना सन्तानका लागि त्यही विद्यालय छनोट गर्नुपर्छ ।

लेखक युलेन्स स्कुलका प्रिन्सिपल हुन् ।

प्रकाशित : चैत्र २०, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

स्कुलमा बर्दी होइन, पोसाक

समूहमा लगाइने उस्तै रङ, बनावट र कपडाको सेट पोसाक होइन, बर्दी हो । बर्दीले विद्यार्थीको आत्मअभिव्यक्ति निस्तेज पार्छ । रचनात्मक चिन्तन र सीपमा सहयोग गर्दैन ।
मेदिनबहादुर लामिछाने

काठमाडौँ — विद्यालयमा बर्दीको लिखित इतिहास छैन । सन् १२१२ मा तत्कालीन केन्टरवरीका आर्क विशपले विद्यालयमा विद्यार्थीलाई ‘कप्पा क्लाउजा’ (एक प्रकारको बर्दी) लगाउनुपर्ने नियम बनाएका थिए । त्यसपछि विद्यालयमा बर्दी सुरु भएको मानिन्छ ।

आधुनिक विद्यालय शिक्षामा बर्दीको प्रयोग १६आैं शताब्दीबाट भएको पाइन्छ ।बेलायतको एक क्रिस्चियन अस्पतालको आवासीय विद्यालयमा अध्ययनरत विपन्न तथा असहाय बालबालिकालाई चर्च प्रशासनले बर्दी व्यवस्था गरेको थियो । विद्यालयमा बर्दी संसारभर फैलिएको छ ।

बर्दीको आवश्यकताबारे चर्चा, बहस, छलफल, अध्ययन, अनुसन्धान तीव्र रूपमा भइरहेको छ । यसको उपयोगिता पनि घट्दै गएको पाइन्छ । धेरै विकसित राष्ट्रले यसलाई त्यागिसकेका छन्, कतिपय त्याग्ने क्रममा छन् । हामीकहाँ भने यो अझ बलियो रूपमा उपस्थित हुँदै गएको पाइन्छ । राज्यले नै यसलाई मलजल गर्ने क्रम रोकिएको छैन ।

काठमाडौं महानगरपालिका र प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले आफ्नो मातहतका सबै विद्यालयमा विद्यार्थीका लागि एउटै पोसाक व्यवस्था गर्न लागेको समाचार आएका छन् । सार्वजनिक र निजी दुवै प्रकारका विद्यालयमा यो नियम लागू हुने जनाइएको छ । यस्तो व्यवस्थाले विद्यालयमा समावेशिता र समानताको संस्कृति सिर्जना गर्ने दाबी गरिएको छ ।

फरकफरक पोसाकका कारण शिक्षामा व्यापारीकरण बढेको र कमिसनको जालो फैलिएको ठहरसमेत गरिएको छ । कुनै विद्यार्थीले एउटा विद्यालयबाट अर्को विद्यालयमा स्थानान्तरण हुँदा नयाँ पोसाक किन्ने बोझ पनि हट्ने भनिएको छ ।

प्रदेश सरकार र महानगरपालिकाले विद्यार्थीलाई लक्षित गरी पोसाकसम्बन्धी गर्न लागेको नयाँ व्यवस्था उचित छ/छैन भनी बहस र छलफल गर्नुअघि विद्यालयमा लागू गर्न खोजेको बर्दी हो वा पोसाक भन्नेबारे बुझ्नुपर्छ । कुनै समूहले उस्तै रङ, उस्तै बनावट र उस्तै कपडाको सेट पहिरन्छ भने त्यसलाई पोसाक होइन, बर्दी भनिन्छ ।

नेपाली सेना र नेपाल प्रहरीले लगाउने लुगाको रङ, डिजाइन, कपडाको गुणस्तर र सेट एउटै हुन्छ । फरक हुन्छ केवल आकार । तिनलाई बर्दी भनिन्छ । हामीले कसैलाई ‘तपाईंहरू औपचारिक पोसाकमा उपस्थित हुनुहोस्’ भन्याैं भने उनीहरू नेपाली पोसाक दौरा, सुरुवाल, ढाका टोपी, कोट कि त कमिज पाइन्ट, कोट, टाई लगाएर आउँछन् । उनीहरूले लगाउने लुगाको डिजाइन, रङ, कपडाको गुणस्तर फरकफरक हुन्छ । यहाँ उनीहरूले लगाउने लुगालाई पोसाक भनियो, बर्दी होइन ।

महानगरपालिका र प्रदेश सरकारले विद्यालयमा पोसाक होइन, बर्दीको व्यवस्था गर्न लागेको देखिन्छ । पोसाक हुन्थ्यो भने आफूले लागाउने लुगाको रङ, डिजाइन, गुणस्तर छनोट गर्ने अधिकार विद्यार्थीलाई दिइन्थ्यो । विद्यार्थीलाई पोसाक लगाएर आउनुपर्ने नियम बनाइएको हो भने निर्णयकर्ताले पोसाक र बर्दीमा फरक छुट्याउन जान्नुपर्छ ।

के पढ्ने, कसरी पढ्ने, कसले पढाउने, कति गहिराइमा पढने/पढाउने, कहाँ पढाउने भन्ने कुराको निर्णय गर्ने अधिकार हामीले हाम्रा विद्यार्थीलाई दिन सकेनौं । कस्तो लुगा लगाउने, कस्तो खाने भन्ने निर्णय पनि उनीहरूले गर्न नपाउने भए । अभिभावक र समाजको आकांक्षा त कसरी बोल्ने, के बोल्ने, कसरी हिँड्नेसमेत विद्यालयले निर्णय गरिदिए हुन्थ्यो भन्ने छ ।

हाम्रा नानीबाबुहरू कहिले अभिभावक, कहिले समाज, कहिले शिक्षक, कहिले विद्यालय प्रशासन, कहिले सरकारको आदेश र निर्णय शिरोधार्य गर्दा गर्दा थिचिने भए । बर्दीले विद्यार्थीको आत्मअभिव्यक्तिलाई निस्तेज पार्छ । रचनात्मक चिन्तन, सीप र महत्त्वपूर्ण सोचका लागि बर्दीले सहयोग गर्दैन । बर्दी अनुशासनको प्रतीक हो भने पोसाक जिम्मेवारीको ।

हामीले खोजेको नागरिक आदेशपालक हो कि रचनात्मक चितनसहितको जिम्मेवार नागरिक ? बर्दीले समानता देखाउला तर त्यस्तो बनावटी समानताले द्वन्द्व मात्र निम्त्याउँछ । केटा र केटीलाई फरक–फरक बर्दी लगाउन बाध्य पारिँदा लैंगिक विभेद जरा सानै उमेरदेखि गाडिदिन्छ । पोसाकले विद्यार्थीलाई अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्छ र कक्षा कोठाको सिकाइ वातावरणलाई सहज बनाउन मद्दत गर्छ ।
विभिन्न संस्थाले गरेका अध्ययन अनुसन्धानले विद्यार्थीको बर्दी र उसको सिकाइ उपलब्धिबीच कुनै साइनो हुँदैन भन्ने पुष्टि गरेका छन् । कक्षाकोठाको सिकाइ वातावरण रंगीन हुनुपर्छ । रंगीन वातावरणले हाम्रो सोच र दिमागलाई सिक्न, पढ्न र छलफलका लागि उत्तेजित बनाउँछ । विद्यार्थीलाई आफूलाई मन पर्ने रङको सर्ट, पाइन्ट तथा स्कर्ट लगाएर विद्यालय आउनुपर्ने नियम बनाइयोभने कक्षा फूलबारीजस्तो हुन्छ । रातो, नीलो, पहेंलो फूल फुलेको फूलबारीजस्तो ।

मानिसले आफू को हो भनेर व्यक्त गर्ने धेरै माध्यममध्ये उसले लगाउने पोसाक पनि एक हो । बर्दीको उर्दी जारी गर्दा विद्यार्थीले आफूलाई सहज तरिकाले प्रस्तुत गर्न पाउँदैन । बर्दी लगाउँदा विद्यार्थीले आफूलाई दमित महसुस गर्छ । १२ वर्षसम्म एउटै रङ, डिजाइन र स्तरको पोसाक पहिरिँदा विद्यार्थीमा लघुताभास विकास हुन जान्छ । कुनै विद्यार्थीलाई कुनै रङसँग एलर्जी छ भने या त उसले त्योसँग जुध्नुपर्‍यो, या त विद्यालय छाड्नुपर्‍यो ।

हाम्रा कक्षाकोठाले समाजको प्रतिनिधित्व गर्नुपर्छ । विविधता नभएको समाज प्राण नभएको जीवजस्तै हुन्छ– निरर्थक र लघुताभासयुक्त । कक्षाकोठामा समाजलाई प्रतिविम्बित गर्न विभिन्न जातजाति, पेसा–व्यवसाय, सामाजिक–सांस्कृतिक पृष्ठभूमि भएका केटाकेटी भर्ना गर्नुपर्छ । उनीहरूलाई आफूले मन पर्ने पोसाकमा विद्यालय आउने वातावरण बनाउनुपर्छ ।

बर्दी लगाउन बाध्य पारियो भने विविधता रहेन जुन शाश्वत चीज हो, जुन जीवन र जगत्मा देखिन्छ, भोगिन्छ अनि जुन विद्यार्थीले भविष्यमा भोग्नुपर्नेछ, त्यही चीज हामीले नसिकाउँदा विद्यार्थीको पढाइको तयारी गरिएला तर जीवनको तयारी गर्न सकिँदैन ।

बर्दीले विद्यार्थीको आर्थिक, सामाजिक विविधतालाई छोप्न खोजियो भने त्यसले नकारात्मकता ल्याउन सक्छ । उसले कपडाको माध्यमले नभए पनि शब्दले व्यक्त गर्‍यो भने भयावह बन्न सक्छ । शाश्वत सत्य नलुकाईकन ज्ञान निर्माण, सीप तथा कौशल सिकाइ र अवधारणा बुझाइमा विद्यार्थीलाई संलग्न गराउनुपर्छ । केही लगाम लगाउनैपर्‍यो भने पोसाक निर्धारण गर्न सकिन्छ, बर्दी होइन । पोसाकले छाडापन ल्याउँछ कि भन्ने आशङ्का व्यक्त गर्ने गरिएको छ ।

विद्यालयमा के लगाउन पाउने/नपाउने, कस्तो डिजाइन स्वीकार्य/अस्वीकार्य हुन्छन्, निर्धारण गर्न सकिन्छ । पोसाकको आचारसंहिता बनाएर नियमन गर्न सकिन्छ । पोसाक आचारसंहिताले अस्वस्थ प्रतिस्प्रर्धा हटाउन र सिकाइ वातावरणअनुकूल बनाउन केही बन्देज लगाउन सक्छ । सामान्यतया पोसाक आचारसंहिता बर्दी नीतिहरूभन्दा कम सीमितता भएका र कम हानिकारक हुन्छन् ।

बर्दी विद्यार्थी कक्षामा अनुपस्थित हुने कारण पनि बन्न सक्छ । हामीले सामाजिक आर्थिक समानताको हिसाबले विद्यालयमा बर्दीको नियम लगाएका हौं भने हुँदा खाने र आर्थिक रूपले विपन्न बालबालिकाले एक वा दुई सेट बर्दी मात्र किन्न सक्छन् । कुनै कारणले लुगा मैलो भयो र धुन सकेन भने उससग विद्यालय नजानुको विकल्प रहँदैन ।

धेरै अभिभावकले विद्यालयले बर्दी लगाउनुपर्ने नियम बनायो भने बिहान विद्यालय पठाउँदा अनुत्पादक वादविवादमा अल्झनु नपर्ने तर्क गरेको पाइन्छ । आफूले लगाउने पोसाकमा आमाबाबुसँग तर्क–वितर्क गर्दा हाम्रा नानीबाबुले आफ्नो पहिचान र मूल्य आमाबाबुसँग व्यक्त गर्ने मौका पाउँछन् । अभिभावकले आफ्नो मूल्यमान्यता के हो, आफ्ना छोराछोरीलाई बताउने प्लेटफर्म प्राप्त गर्छन् । यो अति महत्त्वपूर्ण हुन्छ ।

आमाबाबु र छोराछोरीबीच हुने सम्मानित असहमतिले जहिल्यै परिपक्वतातर्फ बढाउँछ । आमाबाबु र छोराछोरीबीच हुने सानो वादविवाद र छलफलले भविष्यमा ठूला विद्रोह रोक्न सक्छ । यसले कुनै समस्या पर्दा छलफलबाटै समाधान निस्कन्छ भन्ने बोध गराउँछ । कुलतबाट समेत बचाउन मद्दत गर्छ ।

विद्यालय ज्ञान निर्माण गर्ने, सीप तथा कौशल सिक्ने, अवधारणा बुझ्ने थलो हो । यो कुनै सेनाको ब्यारेक वा प्रहरी थाना होइन, जहाँ बर्दी लगाएर काम गर्नैपर्ने हुन्छ । कडा अनुशासनमा राखेर भन्दा स्वतन्त्र रूपमा राखेर दीक्षित गराइएका विद्यार्थीमा अन्तर्निहित क्षमता राम्रोसँग विकास गराउन सकिन्छ ।

विश्वभरका उदाहरणले विद्यालयको बर्दीले अनुशासन, सामूहिक भावना र उपलब्धि हासिल गराउनेमा कम से कम शैक्षिक संस्थामा स्थान राख्दैन भन्ने देखाउँछ । यो ब्यारेक र थानामा अपरिहार्य होला तर शिक्षालयमा होइन । विद्यालयमा बर्दी अनुकूलताको दृष्टिकोणबाट मात्र ठीक छ । अभिभावकलाई हाइसन्चो । व्यापरीलाई मालामाल । निर्णयकर्तालाई लोकलाज बचाउन सजिलो ।

विद्यालयमा बर्दीको उर्दीले पोसाकसम्बन्धी दबाब घटाउला, विद्यार्थीको सामाजिक आर्थिक वर्गीयतामा समानता ल्याउला, अभिभावकको खर्च कटौती गर्ला, अनुशासन कायम गर्ला, विद्यार्थीलाई विद्यालय जान तयारी गर्ने समय घटाइदेला, पहिरनसम्बन्धी कुराबाट विद्यार्थीको ध्यान पढाइमा केन्द्रित गर्ला तर यसले विद्यार्थीको व्यक्तिगततालाई घटाइदिन्छ । नागरिकले आफ्नो व्यक्तिगत विकास गर्न र असल नागरिक बन्ने मौका नपाएपछि समाज र राष्ट्रले के पाउला ?

संविधानले आधारभूत शिक्षा नि:शुल्क पाउने हक स्थापित गरेको छ । आधारभूत तहसम्मको शिक्षा प्राप्त गर्न नि:शुल्क पाठ्यपुस्तक व्यवस्था गरिएको छ । कुनै अभिभावकले विद्यालयको बर्दी किन्न नसके ऊ पढाइबाट वञ्चित हुन्छ । कि त राज्यले उसको बर्दी किनिदिने व्यवस्था गरिदिनुपर्‍यो । सरकारी तथा सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीका आमाबाबुले एक रुपैयाँ पनि खर्च नगरी पढ्न पाउनुपर्ने हो ।

बर्दी अनिवार्य गरियो भने अभिभावकलाई नानीबाबुको शिक्षा पाउन खर्च गर्नुपर्ने बाध्यता आइलाग्छ । यसले संविधानले सुरक्षित गरेको नि:शुल्क शिक्षा प्राप्त गर्ने हक र अधिकारलाई वञ्चित गरिदिन्छ ।
लेखक युलेन्स स्कुल ललितपुरका प्रधानाध्यापक हुन् ।

प्रकाशित : पुस २, २०७५ ०७:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्