प्रलेस: आन्दोलन कि ट्याग

समवेत
सरिता तिवारी

काठमाडौँ — अब समय आएको छहाम्रा सम्बन्धहरू स्वीकार गरौंर झूलभन्दा बाहिर निस्केर लडौं विचारको लडाइँ  । – पाश, बीच का रास्ता नहीं होतावामपन्थी लेखकहरू विभाजित ! समाचार आयो  । प्रगतिशील लेखक संघको इतिहासमा पहिलोपल्ट एकैसाथ ३८ लेखकले संयुक्त विज्ञप्तिमार्फत बगावत गरे । विज्ञप्तिको मजबुन छः प्रलेसको मूल नेतृत्व सत्ता–संरचनाको कृतदास भयो । यसले इतिहासदेखिको आफ्नो ‘प्रगतिशील लिगेसी’ गुमाउँदै गयो ।

पार्टी प्रभुत्वलाई प्रलेस सञ्चालनको तजबिजी दिइयो । भाषिक/सांस्कृतिक समावेशिता र अग्रगामी विचारलाई निषेध गर्ने प्रवृत्तिलाई प्रोत्साहित गरियो ।फरक विचार राख्ने, वैचारिक बहस गर्नेलाई अपमानित गर्ने, दुत्कार्ने प्रवृत्ति हावी भयो ... ।


के यी कुराका लागि प्रलेसबाट लेखकहरूको घोषित बहिर्गमन नै जरुरी थियो ? के यी विषयमा प्रश्न उठाउने र बहस गर्ने ‘स्पेस’ त्यहाँभित्र नभएकै हो ?यिनै आधारमा प्रलेसभित्रको सबैभन्दा सिर्जनशील मानिसको दस्ताले प्रलेस छाडेर अर्को साझा मोर्चा चाहिएको तर्क गर्नुपर्थ्यो कि अझै विकल्पजीवित थिए?


प्रलेस के हो ?
प्रलेस अर्थात् प्रगतिशील लेखक संघ धेरै देशमा क्रियाशील वामपन्थी लेखकहरूको संगठन हो । यसको स्थापना फ्रान्सको पेरिसमा भएको हो । सन् १९३४ मा पेरिसमा भेला भएका लेखकहरू म्याक्सिम गोर्की, रोमा रोला, थोमस मुन लगायतले विश्वव्यापी संगठित साहित्यिक आन्दोलन सुरु गरेका थिए, जसलाई नाम दिइएको थियो–प्रोग्रेसिभ राइटर्स एसोसिएसन ।


रूसी कम्युनिस्ट सरकारको तत्त्वावधानमा भर्खरै रसियाली लेखक संघको पहिलो अध्यक्ष बनेका गोर्कीसहितको यो मण्डलीको गतिलो प्रभाव पर्‍यो । भारत स्वतन्त्रता आन्दोलनको उत्कर्षतर्फ बढ्दै गइरहेका बेला प्रेमचन्द,मुल्कराज आनन्द, सज्जाद जहिर, रवीन्द्रनाथ टैगोर, श्रीपाद अमृत डाँगे लगायत ख्यातनाम लेखक यसमा समाहित भए ।


उपनिवेशवादविरोधी आन्दोलनका सिलसिलामा संगठित जनसाहित्यको प्रसारमा लागेका कतिपय भारतीय लेखक कम्युनिस्ट ब्रान्डको प्रलेसमा आबद्ध हुनु संयोग मात्रै पनि हुन सक्थ्यो, तथापि भारतमा प्रलेसले एउटा गौरवशाली पदचाप छाड्यो । साम्राज्यवाद, उपनिवेशवादविरुद्ध उठेको स्वतन्क्रता संग्राम र त्यहाँका बौद्धिक–राजनीतिक घटनात्रमबाट नेपाली युवा विद्यार्थीमा सकारात्मक प्रभाव पर्नु अपेक्षित थियो । त्यसमाथि चिनियाँ कम्युनिस्ट क्रान्तिको पनि आलो प्रभाव छँदै थियो । फलस्वरूप राणातन्त्रको समाप्तिपछि श्यामप्रसाद शर्माको अगुवाइमा वीरगन्जमा भेला सम्पन्न गरीप्रलेस जन्म्यो । यो संवत् २००९ को कुरो हो । यसको तत्कालीन लक्ष्य युवा लेखकहरूलाई संगठित गरेर जनवादी साहित्यको प्रचार गर्नु थियो ।


संवत् २०१० तिर काठमाडौंमा पनि प्रलेस स्थापनाको पहल भएको भन्ने इतिहास भेटिन्छ, जसमा सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, विजय मल्ल, शंकर लामिछाने, कृष्णचन्द्रसिंह प्रधान आदिको नाम जोडिएर आउँछ । तारानाथ शर्मा, धर्मराज थापा, कमल दीक्षित लगायत समेत प्रलेसभित्र थिए ।


वर्ग पक्षधरताको स्पष्ट प्रावधान नहुनाले नै हुनुपर्छ, स्थापनाकालमा पुँजीवादी प्रगतिशीलसमेत प्रलेसभित्र समेटिए । ‘प्रगतिशीलतालाई अँगाल्ने तर प्रगतिवादलाई लघार्ने... अराजक र अवसरवादी प्रवृत्ति हावी भएका कारण’ प्रलेसको पुनर्गठन गर्नुपर्ने आवाज उठ्न थालेपछि ‘देब्रे ढल्कुवामात्रै बन्ने तर राजनीतिक दलविशेषको नियन्त्रण नचाहने’ भन्ने लेखक असुविधामा परे । जब संगठित पक्षधरताको आग्रह धेरै बलियो बन्न थाल्यो, त्यसपछि केही लेखक राजीनामा दिएरै बाहिरिए ।


२०१७ पुसदेखि पञ्चायत थालिएसँगै लोकतान्त्रिक राजनीति संकटमा परेपछि अवरुद्ध भएको प्रलेस २०३५–३६ सालमा बल्ल बौरियो । यसपटकको पुनर्गठनमा प्रलेसलाई प्रलेक सङ्घ (प्रगतिशील लेखक कलाकार सङ्घ) को रूप दिइयो । २०४४ सालमा पुनः प्रलेसकै नाममा पुनर्गठन भएयता प्रलेसका दस वटा सम्मेलन भैसकेका छन् र यो अहिले एघारौं सम्मेलनको सङ्घारमा छ ।


२०३६ सालदेखि नै कम्युनिस्ट पार्टीसम्बद्ध लेखकहरूको साझा मोर्चाका रूपमा विकसित गरिएपछि यो प्रायः संगठित वाम लेखकको मात्रै संस्था बन्यो । कुनै कम्युनिस्ट पार्टीमा असंगठित तर विचारले मार्क्सवाद प्रतिबद्ध लेखक नै नअट्नु प्रलेसको उल्लेख्य सीमा थियो । त्यो सीमा अहिलेसम्म कसैले भत्काउनसकेको छैन, त्यस्तो प्रयत्न भने धेरैपल्ट भएको छ । यद्यपि प्रलेसभित्र रहँदैमा प्रगतिशील बनिने अन्यथा नबनिने भन्ने होइन, तथापि पार्टीसम्बद्ध कतिपय लेखकभन्दा धेरै गुणा प्रतिभाशाली र सिर्जनशील लेखकहरू प्रलेसभन्दा बाहिरै रहनु ‘प्रगतिशील’ हरूका लागि सुहाउँदो कुरा थिएन ।


यस दौरान प्रलेसमा आमने–सामने बहस, विवाद, अखबारबाट प्रतिकार र गम्भीर आरोप–प्रत्यारोप आदि हुँदै आएका हुन् । यो शृङ्खला पारिजात–मोदनाथ प्रश्रित हुँदै आजसम्म तन्किन्छ । प्रलेसको आन्दोलनात्मक स्वभाव र चरित्र जीवित हुन्जेल साना–ठूला विवाद, बहस र असम्मतिलाई नै मुद्दा बनाएर यत्रो ठूलो संख्यामा प्रलेस छाडेर बाहिर निस्कने स्थिति आएको थिएन । यस्तो यसैपटक भयो । उसो भए अहिले नै किन त ? के त्यस्तो कारण पर्‍यो, राष्ट्रिय सम्मेलनको मुखैमा प्रलेसको मूल नेतृत्वमाथि गम्भीर आरोपसहित अर्को साझा संगठन खोल्ने तयारी गर्दै यसभित्रका लेखक बाहिरिए ?

'पश्चयात्रा कि अग्रगमन'को घर्षण?
प्रगतिशीलताको मानकविपरीत पश्चयात्रा रोज्ने कि जुगले तय गरेको अग्रगामी बाटो पक्रिने ? अहिले प्रलेसको मुख्य घर्षण यही हो। आजको विवादको विषय ‘सरकारी प्रगतिशील’ हरूले आरोप लगाएजस्तै केही व्यक्तिका पद, स्थानमान वा अन्य कुनै लुकेको प्रस्ताव पूर्ति नहुँदाको परिणति होइन,नत नेतृत्वले विज्ञप्तिमार्फत भनेजस्तै निष्क्रियहरूको अरण्यरोदन नै हो ।


यो इतिहासको जटिल मोडमा मार्क्सवादी आदर्श मान्ने, आलोचनात्मक बहस मनपराउने लेखकहरूले आफ्नै गालामा झापड हानेर, आफूलाई झकझक्याएर बाटो छुट्टिएको बेला हो । यो मूलतः सत्तापक्षीय भक्तिमार्गसित आमने–सामने भई गरिएको वैचारिक लडाइँको अभिव्यक्ति हो ।


देशभित्र रहेका वामपन्थी पार्टीसम्बद्ध लेखकहरूको संगठन (सबै वामपन्थीको साझा भने होइन) भएकाले प्रलेसको जीवनमा सम्बन्धित पार्टीका राजनीतिक–सांस्कृतिक धारणा र धरातलले अर्थपूर्ण स्थान राख्ने गर्छन् । आफूलाई कम्युनिस्ट भन्दै आए पनि तीमध्ये प्रायः कम्युनिस्ट मूल्य र आचरणको प्रगतिशील रूपान्तरित संस्कृति निर्माण गर्न असमर्थ छन् भन्ने सबैलाई थाहा छ । त्यसबाट प्रगतिशील भनिने लेखकहरूसमेत अछूतो छैनन् ।


ठूला दुई ‘कम्युनिस्ट’ पार्टीको एकतापछि यो संकट झनै चुलिएको छ । निकट अतीतको ‘क्रान्तिकारी’ र धर्मनिरपेक्षता लगायत भाषिक–सांस्कृतिक समावेशी,सहभागितामूलक लोकतन्क्रको हिमायती शत्तिले नीतिगत विसर्जनको बाटो समाएपछि मरणशील महेन्द्रपन्थी राष्ट्रवाद ‘कम्युनिस्ट’हरूकै खोपीमा पुजिन थाल्यो । यो विपथगमनले सांस्कृतिक क्षेत्रमा काम गर्ने मानिसलाई बढारेर लैजानु निश्चित थियो ।

‘हिमवत्‌खण्ड कला साहित्य सम्मिलन’ त्यसैको सांस्कृतिक प्रहसन थियो । यो प्रहसन गैरमार्क्सवादी र गैरप्रगतिशील त हुँदै हो,कांग्रेस र पञ्चहरूलाई समेत जिल्याइदिने गरी गरिएको पश्चगामी अभ्याससमेत हो । राज्यसंरक्षित यस्ता अनुष्ठानमा पलेँटी कसेर सहभागी हुने मानिसले साहित्य उत्सवमा भाग लिएर आलोचनात्मक बहस गर्नेहरूको निन्दा गर्नु हास्यास्पद छ ।


राज्यसत्ताको चरित्रअनुसार बौद्धिकहरूको चरित्र निर्धारित हुने सामान्य नियम ‘कम्युनिस्ट र प्रगतिशील’ शक्तिले चलाएको सत्तामा पनि स्पष्ट देखिएको छ । चरम दलालपन्थ र सामन्तवादी सांस्कृतिक अभ्यासमा चुर्लुम्म डुबेको सरकारी कम्युनिस्ट वृत्तले यस्तो चाबी निर्माण गरेको छ, जसमा मार्क्सवादी र सामन्तवादी दुवै विचार एकै ठाउँमा अट्छन् ‘सरकारी दृष्टिको त्यो चाबीभित्र फिट भएकाको आँखाबाट आजका सबै खाले विचलनमाथि आलोचना गर्ने लेखकजतिजम्मै ‘डलरमा बिकेका’देखिन्छन् ।


जातीय र सांस्कृतिक उत्पीडनविरुद्ध लेख्नेहरू ‘विखण्डनवादी र राष्ट्रवादविरोधी’ बन्छन् । महिलाको अधिकार र आत्मसम्मानका पक्षमा उभिनेहरू ‘पश्चिमा हन्डी खाएर’ बोलिरहेका देखिन्छन् । सत्ता अनुकूल दृष्टिको यही चाबीले यतिखेर प्रगतिशील लेखक संघलाई बन्धक बनाएको छ ।


प्रलेस विवादको मूलविन्दु संगठनात्मक जीवनका सामान्य भनाभन र आरोप–प्रत्यारोपमा छैन । यसको विन्दु वैचारिक–सांस्कृतिक विपथको दोबाटामा छ । अब सामाजिक–राजनीतिक परिवर्तनका घोषित अजेन्डामुताबिक, प्रलेसको विधानमा उल्लिखित उद्देश्य र कार्यक्रम मुताबिक अगाडि बढ्ने कि सत्तासंरक्षित पश्चयात्रामा सरिक हुने ? पहाडे, पितृसत्तात्मक, हिन्दुवादी एकात्मक राष्ट्रवादमा सङ्कुचन हुँदै बाउन्निने किसबैको साझा उदात्त र सहिष्णु राष्ट्र निर्माणका विविध बहसलाई जोड्दै अनि प्रश्न र विमर्शको स्थानलाई सुरक्षित गर्दै फैलँदै जाने ? यी प्रलेसका लागि निर्णायक सवाल थिए ।


यिनको उत्तर खोज्ने प्रयत्न प्रलेसभित्र नगरिएको होइन, तर नियोजित तरिकाले नै भिन्न मत राख्ने सदस्यलाई कारबाही गर्ने र निष्कासन गर्ने धम्की दिन थालेपछि प्रलेसमा निहित ‘साझा सांस्कृतिक आन्दोलन’ को विम्ब भत्किँदै गएको छर्लङ्ग छ । यस सन्दर्भमा पंक्तिकारकै पहलमा चितवनमा गरिएको ‘माङ्गेना मन्थन’ लाई जिम्मेवार नेतृत्वले नै ‘राष्ट्रवादविरोधी’ किताबमाथिको बहस तुरुन्त रोक्न र नरोके अन्यथा हुनसक्ने चेतावनी दिएको घटना नै एउटा ज्वलन्त उदाहरण हो ।


प्रलेस एउटा साहित्यिक संस्थामात्रै होइन, सांस्कृतिक आन्दोलनको नाम पनि हो । प्रतिरोध र निरन्तर बहस यसको जीवन्तता र अस्तित्वको सार हो । यसको मूल्यरक्षा सम्बद्ध सबैको चिन्ता र सरोकारको विषय हुनुपर्ने हो, त्यसो भएन । प्रगतिशील सांस्कृतिक मूल्य र आन्दोलनको रक्षा गर्ने प्रस्तावनालाई कुल्चेर केवल नाम र ट्यागको प्राविधिक रक्षा गर्नुको कुनै अर्थ छैन ।


जसरी सत्ता सञ्चालकहरू दलाल पुँजीवाद, कमिसनखोरी, भ्रष्टाचार, सामाजिक न्यायप्रति पूर्णतया विमुख र आलोचनात्मक चेतनाप्रति असहिष्णु भएर पनि ‘कम्युनिस्ट’ भनाउन सक्ने सुविधाको उपभोग गरिरहेका छन्, त्यसै गरी महेन्द्रपथीय पञ्चायती राष्ट्रवादको स्तुति, पितृसत्तात्मक, सामन्तवादी रुढिग्रस्त र धार्मिक अतिवादका पक्षपाती भएर पनि प्रलेसभित्रको निर्णायक पंक्ति ‘प्रगतिशील’ भैरहन सक्ने सुविधाको उपभोग गरिरहेको छ । प्रलेसका आम इमानदार सदस्यले बुझ्न जरुरी छ– अहिले प्राविधिक रूपले प्रलेस तिनै मानिसको कब्जामा छ । यतिखेर पनि प्रलेसभित्रै बिनाप्रश्न चुपचाप रहिरहनु तिनैको सत्ताप्रजनित ‘दुईतिहाइवाला’ दम्भ र अधोगतिशील नेतृत्वको दासत्व स्वीकार गर्नु हो ।


यो वास्तविक प्रगतिशील आन्दोलनको रक्षा गर्ने कि ‘प्रलेस’ नामक आलंकारिक ट्यागकोभन्ने निश्चित गर्ने समय हो । कवि पाशले भनेजस्तै यो सुरक्षाका तमाम खोलबाट बाहिर निस्केर विचारको लडाइँलाई आत्मसात् गर्ने समय हो ।


ट्वीटर : @saritatiwari36

प्रकाशित : चैत्र १९, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

बारमा प्रगतिशील समूहको अग्रता 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल बार एशाेसिएसनको केन्द्रिय कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहको अग्रता देखिएको छ । मंगलबार जारी मतगणनामा प्रगतिशील समूहबाट अध्यक्ष उमेद्वार चण्डेश्वर श्रेष्ठकाे १९६ र लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलको १०९ मत पुगेकाे छ ।

महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाकाे १८५र लोकतान्त्रिक समूहका लिलामणि पौडेलको १११मत पुगेकाे छ।

‍एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन भएकोथियाे। मतगणना जारी छ।

प्रकाशित : चैत्र १९, २०७५ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्