कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भाषा सिके विदेश जिते

दीप्स शाह

काठमाडौँ — विश्वविद्यालयका विद्यार्थीहरू दक्षिण कोरिया जाने आवेदन भर्न रातरातभर बाटामा बसेको खबरले केही दिनअघि सञ्चार माध्यम भरिए  । त्यसले वैदेशिक रोजगारीप्रति नेपाली युवाको मनोविज्ञान मात्रै देखाएन, देशलाई दिशा दिन भनेर गौँडा–गौँडामा बसेकाहरू कति अकर्मण्य छन् भन्ने पनि छर्लंग्यायो  ।

लर्कोका लर्को पठित युवा जमात देशबाट बाहिरिने होडमा हुनु कुनै पनि देशका लागि अत्यन्त घाटाको कुरो हो । हामी नेपाली युवालाई त्यसको भरपर्दो विकल्प पनि छैन । देशमै बसेर जीविकोपार्जन हुने दीर्घकालीन प्रत्याभूति नभएसम्म अनिश्चित कालसम्म हाम्रो पसिना वैदेशिक रोजगारीमै बगिरहने निश्चित छ । त्यो बाध्यता रहुन्जेल हामीले बरु आफूलाई बेलैमा आवश्यक क्षमताले परिपूर्ण बनाउनु बुद्धिमत्ता हुन्छ ।


नेपालीले वैदेशिक रोजगारीमा जाने भनेको प्रायः कठोर परिश्रम गर्न नै हो । एकाध बाहेक न कसैको यहाँ गरेको अध्ययनको विषय मिल्छ, न सिकेको सीप नै काम चल्छ । पराई मुलुकमा त्यहीँका संस्कार, परम्परा, भाषाको सामना गर्नुपर्ने हुन्छ । नितान्त नौलो समाजमा हेलमेल गर्नलाई सबैभन्दा ठूलो हतियार हो— भाषा र सीप ।

आफूले गर्नुपर्ने काम र बोल्नुपर्ने भाषा नजान्दा अधिकांश कामदारले अनेक हन्डर र ठक्कर खानुपरेका खबर हामीले देखेसुनेकै छौं । त्यसैले विदेश जानुअघि त्यहाँको बोलिने भाषा, रहन–सहन, चालचलनबारे जानकार हुनु अत्यावश्यक हुन्छ । भाषा नजान्नु भनेको सम्पर्कको माध्यम नहुनु हो । त्यसो हुँदा आफूले भन्न खोजेको कुरा बुझाउन सकिन्न, अरुको कुरा बुझ्न सकिन्न, आफ्नो समस्या र पीडा बताउन सकिन्न । पीडितले आफ्नो समस्यै व्यक्त गर्न नसकेपछि अर्को पक्षले सहयोग गर्न पनि त सक्दैन !


विदेशी भूमिमा भाषाको कमजोरीका कारण कतिसम्म अप्ठेरो हुनसक्छ भन्ने कुराको भुक्तभोगी मै हुँ । नर्सिङ केयरगिभरको काम गर्न सन् २००७ को माघे संक्रान्तिको दिन म दक्षिणी इजरायल पुगेकी थिएँ, जन्मँदैकी अपांग डेढ वर्षीया नानीको स्याहार–सुसार गर्नुपर्ने भिसामा । बीए पास गरिसकेकी भए पनि गाउँघरमा पढेको आम नेपालीझैं मेरो अंग्रेजी अत्यन्त कमजोर थियो । अधिकांश इजरायली अंग्रेजी जाने पनि दिनचर्यामा आफ्नो भाषा हिब्रु नै बोल्न चाहने रहेछन् । आफ्नो भाषा र पहिचानप्रति त्यस्तो सम्मान !

अंग्रेजी नै असाध्य कम बोल्ने–बुझ्ने मेरो त्यसबेला हिब्रु भाषाको ज्ञान त झनै शून्य थियो । भाषामा म कमजोर रहेको फाइदा मेरा रोजगारदाता दम्पतीले मजैले उठाए । मलाई तिनले न ती सानी नानीको रेखदेख गर्नमात्रै लगाए, नत तोके बमोजिम तलबै दिए । ती नानी बिहानदेखि साँझसम्म स्कुलमै हुन्थिन् ।

तिनकै लागि भनेर गएकी मैलेचाहिँ दिनैभरि काममा जोतिनुपर्थ्यो । पाँच जनाको त्यो मार्क परिवारको पूरै घर घोट्ने र पुछ्ने, कपडा आइरन गर्ने र मिलाउने, खाना बनाउने काम आफ्नो होइन भन्ने जान्दाजान्दै पनि म लाटी सावित भइरहेकी थिएँ । न मार्क दम्पती न मेरो एजेन्सीलाई आफ्ना गुनासा सुनाउन सक्ने अवस्थामा थिएँ । प्रतिवाद गर्ने हिम्मत नहुनुको प्रमुख कारण थियो— हिब्रु बोल्न नजान्नु । अंग्रेजीमा पनि मट्ठु भएकीले मेरो आत्मविश्वास झन्–झन् डगमगाउँदै गयो । फरक काम र थोरै तलबमा चुपचाप काम गरिरहेँ ।


फरान भनिने त्यो इजरायली गाउँ चल्तीको सहर तेलअभिभभन्दा निकै टाढा थियो । खेतीपाती गरिने त्यो ठाउँमा नेपाली कामदार एकैजना भेटिन, आफू बसुन्जेल । निर्जन जस्तो लाग्ने त्यो गाउँंमा भाषा नजान्नुको पीडा त छँदै थियो, काम नजान्नुको समस्या झन् विकराल थियो । भन्नु मात्रै घरको काम, हामीले यहाँ गरिरहेको भन्दा भिन्न हुन्थ्यो त्यो । ‘यति सामान्य काम पनि नजानेको’ भन्दै मार्क बूढीले झपार्दा म रुन पनि सक्दिनथेँ । नेपालमा छँदा बिभिन्न कम्पनीमा जागिर खाइसकेकी, आफ्नै ससानो व्यवसाय चलाइसकेकी परिपक्व आमा मैले पराई मुलुकमा नाथे घर पुछ्न पनि नजानेको भन्दै खप्की खानुपर्दा कम्ती आत्मग्लानि हुन्नथ्यो ।


हिब्रु नभए पनि मैले अंग्रेजी सुधार्ने अठोट गरेँ । दिनभरि काम गर्थें र राति नेपालबाटै लगेको शब्दकोश र भाषा पुस्तक पल्टाएर अंग्रेजी पढ्थेँं । एक्लै संवाद गर्थें । कामचलाउ अंग्रेजी बोल्न सक्ने भएपछि विस्तारै आफ्ना गुनासा व्यक्त गर्न थालेंँ । मलाई अनुभव हुँदै गयो, भाषाले आत्मविश्वास पनि उकास्दै लग्दोरहेछ । म बाठी हुंँदै गरेको देखेर मार्क दम्पती चिढिन थाले । एक दिन हिम्मत जुटाएर मैले आफ्नो तलब पनि तोकेभन्दा ५०४ कम्ती भएको र भिसामा उल्लिखितभन्दा भिन्न काम लगाएको कुरा एजेन्सीलाई सुनाइदिन्छु भनेँ ।

तिनले धम्की दिए, ‘खान–लाउन नपुगेर काम खोज्दै आउनेको यस्तो फुर्ती ? धेरै निहुँ खोजे कामबाट निकालिदिन्छौँ ।’ मैले पनि भनिदिएँ, ‘तिम्रो देशले मेरो देशसँग बकाइदा कानुनी सम्झौता गरी मलाई पूरा चार वर्ष छ महिनाको भिसा दिएर ल्याएको हो । म भागेर आएकी शरणार्थी होइन । तिमीले काम नदिए पनि अर्को खोजिदिन एजेन्सी बाध्य हुन्छ । लौ, मेरो हिसाब गरिदेऊ । म तिम्रो काम छोड्दैछु ।’


मनमुटाव भइसकेपछि त्यहाँ बसिरहनु राम्रो पक्कै हुने थिएन । मैले अर्कै काम खोजेँ । त्यो हिम्मत र आफ्नोलागि लड्ने हिम्मत मलाई भाषाकै ज्ञानले दिएको थियो । अंग्रेजीसँगै हिब्रुको ज्ञान पनि बढाउँदै गएँ । त्यसपछिका दिनमा मैले कहिल्यै असहज काम गर्नुपरेन, खाली हात बस्नुपरेन । त्यही अवधिमा मैले भाषाकै समस्याले गर्दा कि न्युन तलबमा जस्तासुकै काम गर्न बाध्य कित काम नपाएर दुई–चार महिनादेखि खाली हात बसेका कतिपय नेपाली, भारतीय, श्रीलंकाली, माल्डोभी, रूसी, फिलिपिनीहरूलाई एजेन्सिहरूसँग कुरा गरेर काम खोजिदिएँ ।


हाम्रो देशको अवस्था र रेमिटान्समा निर्भर दैनिकीले गर्दा वैदेशिक रोजगारी नै तमाम शिक्षित युवा जमातको निर्दयी छनोट हुने गरेको हो । सके समृद्ध भनिएका अमेरिका, अष्ट्रेलिया, क्यानाडा वा युरोपतिरै भासिने, नसके खाडी या मध्यपूर्वी मुलुक पुगेरै भए पनि आफ्नो र परिवारको भविष्य उजिल्याउने सपनाको लाइनमा हाम्रा भविष्यका ताराहरू उभिन बाध्य छन् । त्यता उड्नु अघि देश विशेषको भाषा र आवश्यक सीप सिक्नसके भोलि त्यहाँ आइपर्ने हरेक चुनौतीको सामना गर्न सजिलो हुनेछ ।
[email protected]

प्रकाशित : चैत्र १८, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?