कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कुदाकुदमै बित्ने भो चैत 

डा. अजय रिसाल

काठमाडौँ — ‘ओ हो ! त्यहाँ पनि भएन । अब के गर्ने होला ?’ ‘त्यो स्कुल त राम्रै छैन रे ! सबै नेपाली भाषामा मात्र । इंग्लिस सिक्ने इन्भारमेन्ट नै छैन ।’ ‘ओहो, कस्तो महँगो त्यहाँ त ! तर के गर्नु, आफू नखाएरै ’नि बच्चालाई राम्रो गराउनैपर्‍यो !’ ‘फ्युचर स्कोप राम्रो भएको स्कुलमा पढाउन त बच्चा मात्र राम्रो भएर पुग्दैन, आमाबाबु पनि इन्टरभ्युमा पास हुनुपर्ने रे ! पैसै तिरेर पढाउन पनि कति गाह्रो !’

कुदाकुदमै बित्ने भो चैत 

‘नाइँ, म त यही स्कुल पढ्छु । साथीहरू पनि कतै नजाने रे ! त्यहाँ त जाँचमै पनि म जे पायो त्यही लेखेर आउँछु । म त अन्त कतै जान्नँ ।’


चैतको महिना । बच्चा भर्नाको मौसम । यस्तै–यस्तै गाइँगुइँ, छलफल, कुराकानी चलिरहन्छ साथीभाइबीच अनि घरभित्र पनि । अभिभावकहरू चिन्तित, तनावमय वातावरणमा । बालबच्चा त तनावमा रहने नै भए । दौडधूप, प्रतिस्पर्धा, खिचातानी, भनसुन ।

कहिलेकाहीं म आफ्नै मेडिसिन शिक्षाको समय सम्झन्छु । एमबीबीएस छात्रवृत्ति अनि एमडीका लागि यस्तै तनावमय चरण पार गरिएको थियो । इन्ट्रान्स, इन्टरभ्यु, मक–एक्जाम, कोचिङ ... हरे, ती क्षण त कसरी पो बिर्सिएइला र ! ती त म किशोर–युवावस्थामा रहँदाका समय थिए । प्रतिस्पर्धामा पनि छुट्टै रमाइलो, फरक किसिमको हुटहुटी, लगाव अनि तनाव नै पनि कति मीठा !


मैले अहिले उठाउन लागेको प्रसंग भने कक्षा १ को भर्नाको हो । कलिला ६–७ वर्षे बालबालिकाको शिक्षाको सन्दर्भ हो यो । यी कोपिलाहरूले सानै उमेरदेखि नै यस्ता नचाहिँदा प्रतिस्पर्धा, खिचातानी, एक स्कुलबाट अर्को स्कुल, एउटा साथी सर्कलबाट अर्को, निजी र सरकारी, गरिबले पढ्ने र धनीले पढ्ने, पैसा कम लाग्ने र बढी लाग्नेजस्ता अनावश्यक अनि हानिकारक अवस्थामा नै गुज्रनुपर्ने हो त ? अभिभावकहरूले पनि आफ्ना बच्चाहरूलाई स्कुल पढाउन यसरी नै दौडधूप, भनसुन अनि अत्यधिक खर्च गर्नुपर्ने नै हो त ? मौलिक अधिकार, शिक्षामा सबैलाई समानता अनि राज्यको हिस्सा खोइ त ?


केही वर्ष यताका चैत–वैशाखका वासन्ती समय यस्तै–यस्तै सोचाइमा बित्ने गरेका छन् मेरा । अहिले आफूले नै प्रत्यक्ष अनुभव गरिरहेछु म अभिभावकीय तनाव । समवयी साथीभाइ अनि बन्धुबान्धवका भनाइ र भोगाइ सुन्दा–बुझ्दा साह्रै नमीठो महसुस भएर कलम चलाउन विवश भएको छु म अहिले ।


उपर्युक्त पाँच उद्धरणमध्ये चार अभिभावकसँग अनि अन्तिम एक बालबालिकासँग सम्बन्धित छ ।


सुरु गरौं बालबच्चाको कोणबाट । यो मेरो निजी अनुभवसँग सम्बन्धित छ । मेरी छोरी आफैले यूकेजी पढेको विद्यालयसँग नै सन्तुष्ट छ । उसका साथीभाइ पनि त्यही स्कुलमा नै रमाएका छन् तिनको भनाइमा । उसको साथी सर्कलबाट ऊ छुट्टिन चाहन्न । ६ वर्ष पूरा गर्न लागेकी छोरी आफ्ना आमाबाबु अनि अभिभावक, हजुरबुबा–हजुरआमाबीचको घरायसी कुराकानी बुझ्छे पनि ।


आमाबाबुलाई छोराछोरी अझै बढी स्कोप (?) भएको विद्यालयमा पढून् भन्ने सोच आउनु अस्वाभाविक होइन । तर बालबच्चाको मनोविज्ञान भने आफू भिजिसकेको वातावरणबाट अन्यत्र नयाँ परिस्थितिमा जान नपरोस् भन्ने होला । यस्तो असामञ्ज्यस्यमा उनीहरूमा ‘जे पायो त्यही लेखिदिने’ या अन्यत्र जाँदै नजाने भन्ने किसिमको विद्रोही (?) भावना आउनु या चिडचिडे या रुन्चे बन्नु पनि त असामान्य नहोला ।


अभिभावकको तनाव भने अर्कै छ, चर्कै छ । तिनलाई साथीभाइ या समाजसामु राम्रो (महँगो) स्कुलमा पढाउनु छ । अंग्रेजीमा पोख्त भएर भविष्यमा राम्रो ठाउँ (देश) मा सेटल हुन सक्ने उम्मेदवार तयार गर्नु छ । अनि हाम्रो समाज यसरी तीव्र व्यावसायिकतामा डुबिसकेको छ, महँगो भनेकै राम्रोको पर्यायवाची हुने कुरा शिक्षामा पनि लागू हुन जान्छ । त्यसैले तिनलाई छटपटी छ, कुदाकुदमै बित्छ बाबुआमाको चैत । त्यो सँगसँगै तिनमा उत्पन्न हुने आवेग, रोष, अस्वस्थ प्रतिस्पर्धाको सिलसिला । यसको लेखाजोखा गर्ने कसरी ? अनि कसले ?


यसैसँग सम्बन्धित बालमनोविज्ञानको परीक्षण कसरी गर्ने ? ६–७ वर्षको उमेरदेखि नै नाम निस्केको/ननिस्केको, पास–फेल, पढाउन सक्ने–नसक्ने बाबुआमा, सरकारी/बोर्डिङ स्कुल, परम्परागत/प्रगतिशील पढाइ, नेपाली/अंग्रेजी माध्यम, बोर्डर्स/डे–स्कलर भन्नेजस्ता तथाकथित विभाजनका खाडल बाल मस्तिष्कमा बन्दै छ । भविष्यमा बालकबालिकाले कसरी समाजमा पहिचान बनाउन सक्लान् ? १ कक्षाको इन्ट्रान्समा कुनै नाम चलेको स्कुलमा नाम निकाल्न नसक्ने बच्चाको स्वत्वमा कस्तो असर पर्न जाला ? म अक्षम, फलाना सक्षम भन्ने छाप परेको बाल मनोबल विकसित हुन्छ भविष्यमा ।


अनि त्यस्तो अक्षम (?) बच्चाको अभिभावकको मानसिकता कस्तो रहला ? त्यस बच्चाप्रति ? स्कुलप्रति ? अनि समाजप्रति ? समष्टिमा यस राष्ट्रप्रति ? के यसले देशलाई नै असर नपुर्‍याउला अप्रत्यक्ष नै भए पनि ?


यस्तो अस्वस्थ प्रतिस्पर्धामा फाइदा भने कसलाई पो पुग्दो होला त ? बिचौलियालाई ? भनसुन गरिदिनेलाई ? या त स्कुललाई ? हानि छ त त्यो बच्चालाई जसको सुन्दर भविष्यको कामना गर्छौं, हामी अभिभावक । हानि छ त ती अभिभावक जसले आफ्ना सारा ऊर्जा दौडधूप, भनसुन अनि प्रतिस्पर्धामै लगाएका छन् । हानि छ त्यो राष्ट्रलाई, जसका बालबालिका सानैदेखि एकअर्काप्रति शंकालु र ईर्ष्यालु बन्न पुग्छन् जिज्ञासु अनि ज्ञानपिपासु बन्नुभन्दा । अनि त्यसरी रोपिएको ईर्ष्याको बीजले सुन्दर–शान्त उपवन कसरी बनाउला ? सानैदेखि जेमा पनि प्रतिस्पर्धा नै भन्ने भावना आउँदा सहअस्तित्व र समाजवाद कसरी झाँगिएला ? सबैले सोच्नुपर्ने विषय होइन र यो ?


‘शिक्षामा समान पहुँच’ को घोषणा गर्ने सरकार, ‘शिक्षालाई मौलिक हक’ मान्ने संविधान एवं कानुन किन र कसरी यसमा चुप रहन सकेका होलान् ? शिक्षालाई यसरी तीव्र व्यवसायीकरण गर्न मिल्ला र ? त्यही पनि विद्यालय प्रवेश गर्ने कक्षा १ को समयमा ? कलिला बालबालिकाको शिक्षामा ? यसमा विचार गर्नुपर्ने आवश्यकता छैन र ? यो समस्यालाई यसरी नै यस्तै रूपमा छाडिदिने हो भने त्यो दिन टाढा छैन यसरी शिक्षा पाएका भविष्यका कर्णधारहरू नैतिक शिक्षा, सामाजिक शिक्षा अनि देशभक्तिको शिक्षाको अभावमा अधुरा नागरिक बन्न पुग्नेछन् ।


लेखक धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन् ।

प्रकाशित : चैत्र १७, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?