कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चाँगुका चार किल्ला

सम्पादकीय

काठमाडौँ — जर्मनीको २० किलोमिटर लामो ड्रेस्डेन एल्व भ्यालीलाई युनेस्कोले सन् २००४ मा विश्व सम्पदा सूचीमा समावेश गरेको थियो  । तीन वर्षपछि भ्यालीलाई चिरा पार्ने गरी पुल निर्माण थालियो  ।

चाँगुका चार किल्ला

जर्मनीको २० किलोमिटर लामो ड्रेस्डेन एल्व भ्यालीलाई युनेस्कोले सन् २००४ मा विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । तीन वर्षपछि भ्यालीलाई चिरा पार्ने गरी पुल निर्माण थालियो । युनेस्कोले तीन पटकसम्म खतराको सूचीमा राख्दै पुल निर्माणमा पुनर्विचार गर्न आग्रह गर्‍यो । पुल निर्माण गर्ने कि सम्पदा सूचीमा रहने भन्नेबारे सहरवासी विभाजित बनेपछि जनमतसंग्रह भयो । ५७ प्रतिशतले पुल बनाउने पक्षमा मत दिए । सहर सम्पदा सूचीबाट हटेको हट्यै भयो ।सम्पदा सूचीबाट हट्नाले हतोत्साहित हुने जर्मनी अहिले युरोपमै पहिलो मुलुकका रूपमा दर्ज हुन पुगेको छ ।


यता नेपालमा पनि विश्व सम्पदा सूचीप्रति जिम्मेवारी पूरा नगर्ने, सम्पदाको मान नराख्ने र झल्याँस्स हुने गरी भविष्यमा पछुताउनुपर्ने क्रियाकलाप जारी छन् । सम्पदा सूचीमा परेका दरबार, मन्दिर, स्तूप र निकुञ्जमाथि स्थानीय स्वार्थ समूहहरूको लालच बढेको छ । भक्तपुरको चाँगुनारायण हेरे हुन्छ । मन्दिरका चार किल्लामा जे भइरहेको छ, त्यसले हाम्रो सचेतना, सभ्यता र संस्कारमा प्रश्न उब्जाएको छ । हेर्नुहोस् न, मन्दिरलाई छेक्नेगरी भवन निर्माण जारी छ । मन्दिरमा साँखुपट्टि पहिरो छ । बालुवा उत्खनन हटेको छैन । निजी घर बनाउने होड घटेको छैन । भूकम्पपछि निर्माण गरिएका निजी घरहरूले चाँगुनारायणलाई छेक्न थालेका छन् । मन्दिरको गजुरै छोपिने गरी निर्माण जारी रहँदा पनि नियमनकारी निकाय मौन छ । जसको पहिचानबाट नगरपालिकाको नामै चाँगुनारायण बनेको छ, त्यही सम्पदाको नामोनिसान मेटाउने गतिविधि हुँदा पनि नगरपालिका र पुरातत्त्व विभाग दुवै कानमा तेलमा हालेर लापरवाह बसिरहेका छन् ।


सम्पदा क्षेत्रमा घर निर्माण गर्नै नसकिने होइन । यसका मापदण्ड तोकिएका छन् । यस्ता क्षेत्रमा परम्परागत शैलीका घर निर्माण गर्नुपर्ने नियम छ । मन्दिर वरिपरि घरहरू बनाउँदा ३५ फिटभन्दा अग्लो र भूमिगत बनाउन पाइँदैन । मापदण्ड मिचेर नक्सा पासबिनै घरहरू ठडिइरहेका छन् । वडाध्यक्षकै घर मापदण्डभित्र छैन, नक्सा पास छैन । घरदैलोको सरकारले रैथाने कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने आशामा असिना बर्साइएको छ । स्थानीय जान्ने–मान्नेहरू नै मिचाहा बन्न पुगेका छन् । मन्दिर वरपर घर बनाउन पुरातत्त्वले अनुमति दिनुपर्ने हुन्छ । पुरातत्त्व र नगरपालिकाको समन्वयमा मात्र विश्व सम्पदाको संरक्षण गर्न सकिन्छ । चाँगुनारायण, पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र काठमाडौं उपत्यकाका विश्व सम्पदा हुन् । उपत्यकाबाहिर लुम्बिनी, सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज छन् । यिनको संरक्षणको मूल समस्या नै वरिपरि घर निर्माण हुन् ।


प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार विश्व सम्पदाको संरक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ । २०६४ सालमा सबै सम्पदा संरक्षणका लागि अलग–अलग मापदण्ड बनेको छ । वसन्तपुरमा महर्जन बिजनेस एसोसिएट्सले ३५ फिटभन्दा अग्लो भवन निर्माण गर्न खोजेपछि विवाद बल्झेको छ । उसले ‘अन्डरग्राउन्ड’ पनि बनाउन खोज्नु मापदण्ड मिच्नु हो ।


विश्व सम्पदाको देखिने परिदृश्यमा असर पर्ने गरी थुप्रै घर बनेका छन् । बनिरहेका छन् । नगरपालिका, पुरातत्त्व विभाग, प्रहरी, गुठी संस्थान, उपत्यका विकास प्राधिकरणसहितको प्राचीन स्मारक संरक्षण सहयोग समिति गठन हुने नियमावलीमा व्यवस्था छ । यो समितिले स्थलगत निरीक्षण गरेपछि मात्र पुरातत्त्वले सिफारिस गर्नुपर्ने व्यवस्था छ । पास भएको नक्साभन्दा फरक पारेर घर बनाएमा वा मापदण्डविपरीत भएमा पुरातत्त्व विभागले नगरपालिकालाई जानकारी दिनुपर्छ । जानकारी र आवश्यक कारबाहीका लागि जिल्ला प्रशासनमा लेखेर पठाउनुपर्छ ।


केही वर्षअघि पुरातत्त्वले स्वयम्भूको हल्चोकपट्टिको सार्वजनिक जग्गामा निर्माण भइरहेका दुईवटा संरचना भत्काएको थियो । पुरातक्त्वले इच्छाशत्ति देखाउने हो भने विश्व सम्पदा छेकिने गरी बनाइएका घर भत्काउन सक्छ । अहिले भने पुरातत्त्व मापदण्ड मिचियो भनेर चिठी लेखिरहने, घर बनाउनेले चाहिँ बनाइरहने क्रियाकलाप चलिरहेको छ । यसरी त कुनै पनि सम्पदाका चार किल्ला सुरक्षित हुने छैनन् ।

प्रकाशित : चैत्र १३, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?