विचारको विनिर्माण

केशव दाहाल

काठमाडौँ — नेपाली राजनीतिमा ‘विचारको बहस’ यात पूर्वाग्रही छ या परम्परागत । मार्क्सवादी बुद्धिजीवीहरूलाई लाग्छ— दुनियाँमा मार्क्सवाद जप्नेहरू मात्र वैचारिक हुन्छन् । अर्कातिर उदारवादीहरू ठान्छन्— पुँजीवादी प्रजातन्त्र नै संसारको सबैभन्दा उन्नत विचार हो । केही मान्छे जब राजनीतिमा विचारको प्रश्न गर्छन्, उनीहरू यात वामपन्थी धार समाउँछन् या दक्षिणपन्थी ।

कसैलाई लाग्छ— शास्त्रीय समाजवाद र पुँजीवादभन्दा न वर छ, न त पर । नेपालमा जब नयाँ विचारको कुरा आउँछ, केही बुज्रुक मित्रहरू नै प्रश्न गर्छन्— कस्तो विचार ? कांग्रेसको जस्तो कि कम्युनिस्टको जस्तो ? उनीहरूलाई लाग्छ— राजनीति भनेको यात कम्युनिस्टजस्तो हुनुपर्छ या कांग्रेसजस्तो । राजनीतिको नवीन भाष्यलाई खिसिट्युरी गर्ने शास्त्रीय बुद्धिजीवीहरूको पनि हामीसँग कमी छैन । किन यस्तो छ ? के परम्परागत मार्क्सवाद वा पुँजीवादको ‘फ्रेमवर्क’ भन्दा पृथक कुनै कुरै छैन ?


दार्शनिकहरू संसारको उत्पत्ति र विकासलाई दुई धारबाट व्याख्या गर्थे/गर्छन् । एउटा धारले भन्थ्यो— संसार अज्ञेय छ । यो ईश्वरको महान शक्तिबाट निर्देशित र परिचालित छ । यो विशाल ब्रह्माण्डलाई ईश्वरले रचना गरेका हुन् । उनै ईश्वर यसका पालक हुन् । उनै संहारकर्ता । यसरी अध्यात्मवादीहरू समाजलाई ईश्वरको हातमा छोडिदिन्थे । उनीहरूका लागि सुख, दुःख, गरिबी, पुण्य, पाप र मान्छेको भाग्य सबै ईश्वरको देन हो । अध्यात्मवादीहरू संसार बदल्न भगवानको आशिर्वाद अनिवार्य ठान्थे, अझै ठान्छन् । आज पनि मठ, मन्दिर, चर्च, मस्जिद र धार्मिक सम्प्रदाय यो धारमा विश्वास गर्छ । दर्शनको भौतिकवादी धारले चाहिँ संसारलाई ज्ञेय ठान्छ । भौतिकवादले भन्छ— संसार बुझ्न पनि सकिन्छ र बदल्न पनि । यो दर्शनले मान्छेको शक्ति, ज्ञान, गतिशीलता र प्रयोगलाई सर्वथा महत्त्व दिन्छ ।


सामन्तवादी युगको राजनीति अध्यात्मवाद र भौतिकवादमा विभाजित थियो । आज अध्यात्मवाद तथ्य र तर्कमा कमजोर हुँदै छ । भौतिकवाद समृद्ध बन्दै छ । हिजो कम्युनिस्टहरू आफूलाई मात्र भौतिकवादी ठान्थे । आज संसारका सबैभन्दा ठूला भौतिकवादीहरू पुँजीवादी विश्वमा पाइन्छन् । ठूलठूला वैज्ञानिक आविष्कार, क्वान्टम विज्ञानको व्याख्या, ब्रह्माण्डको अनवरत खोज र तरंगहरूमाथि मान्छेले गरेका चामत्कारिक प्रयोगहरूले भन्छन्— ‘शक्तिको स्रोत ईश्वरीय संसारमा हैन, मानव संसारमै निहित छ । यसर्थ वैश्य युगमा चाहे दक्षिणपन्थी, चाहे वामपन्थी वा वैकल्पिक सबै राजनीतिक दलहरूको विचारको जग भौतिकवाद नै हो । आज कुनै पार्टी अध्यात्मवादी हो कि भौतिकवादी हो भनेर कित्ताकाट गर्नु वस्तुतः अनावश्यक कुरा हो ।


भौतिकवादलाई जडतामा बुझ्ने कि व्यापक अर्थमा ? कुरा यहींनेर फरक पर्छ । के मान्छे ‘मटेरियल’ मात्र हो ? जस्तो– काठ, ढुंगा । के रगत र पानी एउटै हो ? किनभने दुवै तरल छन् । मान्छे निश्चय नै भौतिक प्राणी हो । उसमा निहित भावना, खुसी, प्रेम, विनम्रता, दया, करुणालाई कसरी बुझ्ने ? ईश्वरवाद र स्वर्ग–नर्क भ्रम होला, तर आत्मिक सन्तुष्टिको जग के हो ? सबैलाई थाहा छ, समाज मान्छेहरूको समूह हो । यो भौतिक कुरा हो । समाजलाई जोड्ने तन्तुहरू के हुन् ? सामाजिक मनोविज्ञान, सामाजिक तथा सांस्कृतिक पक्षहरूलाई के भन्ने ? यसर्थ भन्नैपर्छ, मान्छे भौतिक प्राणी त हो, त्यति मात्र पनि होइन । मान्छे वर्ग मात्र पनि होइन, जात मात्र पनि होइन । मान्छेलाई खान दिएर मात्र पुग्दैन । उसलाई स्वतन्त्रता, मनोरञ्जन, प्रेम सबै चाहिन्छ । यसर्थ नै मान्छे भौतिक त हो, त्योभन्दा माथि पनि हो । मान्छेलाई न जडवत भौतिकवादी मात्र भएर बुझ्न सकिन्छ, न त अध्यात्मवादी भएर । मान्छेलाई बुझ्न मानवतावादी हुनुपर्छ । मानवतावाद भौतिकवाद त हो नै, सँंगै त्योभन्दा गहिरो कुरा हो । यो यान्त्रिक भौतिकवाद मात्र होइन ।


जब हामी भौतिकवादको यान्त्रिक व्याख्यालाई इन्कार गर्छौं, स्वभावतः पुराना विचारहरूलाई बदल्नुपर्ने हुन्छ । जस्तो कि हिजो पुँजीवाद र समाजवाद भन्दा पुग्थ्यो । हिजो लोकतन्त्र भन्दा खास अर्थ लाग्थ्यो । हिजो वामपन्थी भन्दा खास धारलाई बुझिन्थ्यो । हिजो साम्राज्यवादको आफ्नै चरित्र थियो । हिजो सर्वहारा वर्गका आफ्नै समस्या थिए । हिजोको पुँजीवाद अर्कै थियो । हिजो राज्यका दायित्वहरू नै सीमित थिए । यसको अर्थ, समयसंँगै दर्शनका क्षेत्रहरू व्यापक हुँदै गए । त्यसैले हिजोका राजनीतिक विचारहरूको सीमाबाट आजको युगलाई निर्देशित गर्ने समय सकियो । उदाहरणका लागि, जोहन लकले ‘बजारको स्वतन्त्रता’ माथि प्रकाश पारे । यसो गर्दा उनले मान्छेलाई बिर्सिए । मार्क्सको फोकस ‘वर्ग’मा थियो । वर्गभन्दा माथि मान्छेको अस्तित्व छ भन्ने कुरा उनले गरेनन् । गान्धीले ‘अहिंसा’लाई केन्द्रमा राखे, द्वन्द्वहरूको दार्शनिक व्याख्या गरेनन् । ज्याँ पाल सार्त्रहरूले ‘अहं’लाई चिन्तनको केन्द्रमा ल्याए । नित्सेले मानवीय उच्चता बोधलाई प्राथमिकता दिए । यी दर्शनका अंशहरू हुन् । परिणाम यस्तो भयो, राजनीतिले पनि अंश–अंश समाउँदै गयो । आजको राजनीतिक कार्यझार न वर्गहरूको मुक्ति मात्र हो, न जातहरूको मात्र मुत्ति हो, न त बजारको स्वतन्त्रता मात्र हो, न मात्र भौतिक विकास । अन्यथा यस्तो संकीर्णताले विचारको कुवा निर्माण हुन्छ । बासी कुवा । यसरी विचारको कञ्चन र पवित्र नदी बन्दैन । विचारको अंश मात्र समाउनु वस्तुतः गतिहीन र जड हुनु हो । यान्त्रिक भौतिकवादी भएर राजनीति गर्नु मन विनाका मान्छेहरूको साम्राज्य बनाउनु मात्र हो ।


माथिका उदाहरणहरूलाई लिएर थप केही प्रश्न गरौं । आजको नेपाली राजनीतिको ‘फोकस’ के हो ? वर्ग मात्र हो ? हो भने मार्क्सवादी मात्र हुनु ठीकै होला । बजार हो ? हो भने जोहन लकलाई शिरमा राखौँ । के अहिंसाले मात्र जीवनको शाश्वत मार्ग खुल्छ ? त्यसो हो भने गान्धीलाई पूजा गरौं । राजनीतिको केन्द्र मान्छे, यसको सुख, समृद्धि र जगतको बृहत्तर हित हो भने मार्क्सवादी मात्र भएर कसरी पुग्छ ? गान्धीवादी मात्र भएर कसरी पुग्छ ? लकको मात्र कुरा गरेर कसरी हुन्छ ? राज्यको दायित्व मानव सभ्यतालाई अझ माथि उठाउने विशाल लक्ष्य हो भने स्वभावतः राज्य न वर्गीय हुन्छ, न त जातीय । यस्तो अवस्थामा लोकतन्त्रका सीमाहरू पनि फराकिँदै जानुपर्छ । र हामीले एकैपटक वर्ग, जात, क्षेत्र, लिंग, बजार, वातावरण, स्वतन्त्रता र मानव समृद्धिको कुरा गर्नुपर्छ । यो परम्परागत आर्थिक/राजनीतिक मोडलहरूमा भारी बदलावपछि मात्र सम्भव छ ।


सर्वविदितै छ, मार्क्सवादी अर्थशास्त्र र बजारवादी अर्थशास्त्र दुवै यो वा त्यो कोणका ‘बायस’ आर्थिक सिद्धान्त हुन् । मार्क्सवाद र बजारवाद किन ‘बायस’ छन् ? किनभने यिनीहरूले सेवा गर्ने ‘वर्ग’ फरक छ । कम्युनिस्टहरू ठान्छन्— सर्वाहारा वर्गको (?) मुक्तिपछि मात्र संसार रामराज्य हुन्छ । उनीहरूले जनताको मुक्तिको कुरा कहिल्यै गरेनन् । अथवा जनता भन्नु नै उनीहरूका लागि सर्वहारा वर्ग हो । परिणामतः उनीहरूले सर्वहारा सत्ता र राज्यनियन्त्रित समाजवादको अर्थशास्त्र रचना गरे । अर्कोतिर पुँजीवादीहरू थिए । उनीहरूको विचार थियो— निजी धनको स्वतन्त्रता मान्छेको स्वतन्त्रताकै अभिन्न अङ्ग हो । यसरी जेम्स मिल, डेभिड ह्युम, जेरिमी बेन्थम, आडम स्मिथ, डेभिड रेकार्डो, जर्ज वर्कले, जोहन स्टुअर्ट जस्ता चिन्तकहरूले निजी धन र बजार व्यवस्थाका अनेक नियमको व्याख्या गरे । यसरी राज्य नियन्त्रित अर्थव्यवस्था वा बजार नियन्त्रित अर्थव्यवस्था दुवै पूर्वाग्रही बन्न पुगे ।


‘सम्पत्ति र स्वतन्त्रता’ मान्छेलाई उत्प्रेरित गर्ने महत्त्वपूर्ण विषय हुन्, जसले मान्छेको निजत्वलाई स्थापित गरिदिन्छन् । यही निजत्वका कारण मान्छेले उडान भर्छ । मान्छे समाजको स्वतन्त्र इकाइ हो । मान्छेको स्वतन्त्रतालाई राज्य नियन्त्रित आर्थिक/राजनीतिक पद्धतिले नियोजन गर्ने हो भने के हुन्छ ? मान्छेको गतिशीलता रोकिदिन्छ । मान्छेले आविष्कार गर्दैन । मान्छे उद्यमशील बन्दैन । यसको अर्को पक्ष पनि छ । जस्तो— निजी धनको स्वतन्त्रताले सधैं राम्रो मात्र गर्दैन । निजी धनको तृष्णाका कारण मान्छेले भ्रष्टाचार गर्छ, शोषण गर्छ, कालाबजारी गर्छ । यो निजी धनको कुरूपता हो । यसर्थ समाजवादी र पुँजीवादी अवधारणाहरू बीचमा राज्यको आवश्यकता हुन्छ, जसले दुवैका खराबीहरूमाथि नियमन गरोस् । राज्यले अर्थतन्त्रका ‘स्टेकहोल्डर’ बीच समन्वय गर्नुपर्छ, नियमन गर्नुपर्छ । अनि मात्र राज्य, निजी क्षेत्र र जनताबीच आर्थिक साझेदारी र लाभहरूको न्यायपूर्ण वितरण सम्भव हुन्छ ।


यसपछि कुरा आउँछ, लोकतन्त्रको । अब परम्परागत लोकतन्त्रको समीक्षा गर्नुपर्छ । किनभने हामीलाई आजको लोकतन्त्र चाहिन्छ । चौथो पुस्ताको लोकतन्त्र । सहभागितामूलक लोकतन्त्र । समावेशी लोकतन्त्र । यसको अर्थ के हो ? मान्छेको सार्वभौमिकता बराबर हो । यसर्थ राज्यले मान्छेलाई बराबर सम्मान, बराबर अवसर, बराबर लाभ र अधिकार दिनुपर्छ । यो नै आधुनिक, गहिरो र समावेशी लोकतन्त्रको मूलभूत चरित्र हो । यसैगरी सहभागितामूलक लोकतन्त्रले भन्छ— जनताको सार्वभौमिकता हस्तान्तरणीय हुँदैन । औपचारिक लोकतन्त्रले भन्छ— मतदानमार्फत मतदाताले आफ्नो सावभौमसत्ता जनप्रतिनिधिलाई हस्तान्तरण गर्छन् । औपचारिक लोकतन्त्रमा निर्वाचित जनप्रतिनिधिहरू यही भएर छाडा बन्छन् र जनसम्पर्क गुमाउँछन् । सहभागितामूलक लोकतन्त्रले भन्छ— तोकिएको सर्त र विषयमा बाहेक, यो वा त्यो बहानामा जनताको सार्वभौमसत्ता कसैलाई पनि कहिल्यै हस्तान्तरण हुँदैन । यसर्थ सहभागितामूलक लोकतन्त्र राज्यसत्तामा जनताको नियमित (आवधिक हैन) नियन्त्रणको सिद्धान्त हो । जब राज्यसत्तामाथि जनताको नियमित नियन्त्रण स्थापित गरिन्छ, स्वभावतः राज्य जनताप्रति अझ धेरै उत्तरदायी हुन्छ । राज्यले अझ धेरै मानवसेवा गर्छ । राज्य अझ धेरै कल्याणकारी बन्छ । त्यसैले यसलाई ‘कल्याणकारी लोकतन्त्र’ पनि भन्न सकिन्छ ।


राज्य किन आवश्यक छ ? हिजो राज्यको आविष्कार निश्चित वर्गहरूको सुख र वैभवका लागि गरियो । निश्चय नै यो क्रूर र निरंकुश थियो । त्यसैले भनियो— राज्य वर्गीय हुन्छ । यसर्थ राज्य दमनको साधन बन्यो । अब त्यो पक्षपाती युगको अन्त्य हुनुपर्छ । अब राज्य न वर्गीय हुन्छ, न त दमनको साधन । यो जनताप्रति उत्तरदायी हुनुपर्छ । यहाँ जनता एक व्यापक, बहुआयामिक र बृहत्तर परिचय हो । त्यो अर्थमा ‘सहभागितामूलक लोकतन्त्र, कल्याणकारी राज्य र समन्वयात्मक अर्थव्यवस्था’ले नै नयाँ चरित्रको राज्य र वैकल्पिक राजनीतिलाई दिशानिर्देश गर्न सक्छ । त्यसैले ज्याक डेरिडाले भनेझैँ अब विचारको ‘विनिर्माण’ आवश्यक छ । लौ छलफल गरौं, नेपाली राजनीतिको समानान्तर विचार के हुनसक्छ ? पूर्वाग्रहबाट विचारको विनिर्माण हुँदैन । प्रकाशित : चैत्र ६, २०७५ ०९:१४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

टाउकामा चोट लाग्नासाथ अस्पताल

डा. राजीव झा

काठमाडौँ — टाउकामा लाग्ने चोट (हेड इन्जुरी) सामान्यदेखि ज्यानै जाने किसिमको हुने गर्छ । यसलाई आधुनिक विश्वको नदेखिएको महामारीसम्म भन्न थालिएको छ । चोटका कारण हुनेमध्ये ३० देखि ५० प्रतिशतसम्म मृत्यु टाउकोकै चोटका कारण हुने गरेको पाइन्छ ।


नदेखिएको महामारी
प्रत्येक वर्ष संसारभरि लगभग २० लाख मानिसलाई टाउकामा चोट लाग्ने गरेको पाइन्छ । लगभग प्रत्येक १५ सेकेन्डमा एक जनालाई टाउकोमा चोट लागेकै हुन्छ । मृत्युका प्रमुख कारकमध्ये टाउकाको चोट चौथो नम्बरमा आउँछ ।


उमेर समूहको आँकडा हेर्दा, टाउकामा सबैभन्दा बढी चोट ४ वर्षसम्मका बालबालिकालाई, १५–१९ वर्षका युवा र ६५ वर्षमाथिका बुबाआमालाई लाग्ने गरेको छ । बालबालिकालाई जोखिम पहिचान गर्ने क्षमता नभएका कारण चोट धेरै लाग्ने गर्छ । अभिभावकमा पनि त्यस्ता चोट लाग्न सक्ने जोखिमबाट बालबालिकालाई बचाउने सावधानी लिने सचेतना नहुनु त्यसको अर्को कारण हो ।


युवा अवस्थामा अत्यधिक ऊर्जा हुने कारण उनीहरू खेलकुद गर्दा तथा सडक दुर्घटनामा पर्ने गरेको पाइन्छ । वृद्ध अवस्थामा शरीर कमजोर हुनु तथा सानो आघातमा पनि टाउकामा रगत जम्ने समस्या भइहाल्ने भएकाले यो समूह उच्च जोखिममा रहने हुन्छ । ७५ वर्षमाथिका व्यक्तिमा टाउकाको चोट अस्पताल भर्ना तथा मृत्युको प्रमुख कारण हो ।


टाउकाको चोट जोखिमपूर्ण
सामान्य चोट (माइल्ड हेड इन्जुरी) को जोखिम कम हुने गर्छ । यस्तो चोटले सामान्यतया मृत्यु हुँदैन । मध्यम खालका चोट (मोडरेट हेड इन्जुरी) मा व्यक्तिविशेष कोमामा पनि जान सक्छ र राम्रो उपचार नपाए मृत्युसम्म हुनसक्छ । तथापि राम्रो उपचार अपनाई मृत्युको जोखिम घटाउन सकिन्छ । उच्च जोखिम हुने चोट (सिभियर हेड इन्जुरी) मा घाइते प्रायः कोमामै हुने गर्छन् र धेरै समय बेहोस रहन्छन् । यस्तो अवस्थामा ज्यान जाने जोखिम त अत्यधिक हुने नै गर्छ, बचेका व्यक्तिमै पनि कुनै न कुनै किसिमको विकलांगता रहने गर्छ ।


चोट लाग्ने प्रमुख कारण
वीर तथा ट्रमा अस्पतालमा आएका बिरामीहरूमा गरिएको सर्वेक्षण अनुसार, सन् २००० सम्म चोटको प्रमुख कारण अग्लो स्थानबाट खस्नु रहेको थियो भने पछिल्लो समय सडक दुर्घटनाले धेरैलाई अस्पताल पुर्‍याइरहेको छ । तेस्रो कारण हो— झैझगडामा लाग्ने चोट ।


सडक दुर्घटना हुँदा विशेष गरी पैदलयात्रीलाई बढी टाउकामा चोट लागेको भेटिन्छ । दुईपांग्र्रे सवारलाई बढी चोट लाग्ने गरेको छ । दुईपांग्र्रेमा पनि हेल्मेट नलगाई पछाडि बस्नेहरू बढी मारमा पर्ने गरेका छन् ।


नेपालमा उपचारको अवस्था
सरकारी स्तरमा वीर अस्पताल, ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालले हेड इन्जुरीका बिरामीलाई सेवा दिँदै आएका छन् । यीबाहेक काठमाडौं उपत्याकाभित्र कम्तीमा १५ वटा निजी अस्पतालले यो सेवा दिइरहेका छन् । नेपालमा ८० जनाजति न्युरो सर्जरी विशेषज्ञ भइसकेका छन् । काठमाडौं उपत्यका बाहिर पनि मुख्य केन्द्रहरूमा हेड ट्रमाका बिरामीले भरपर्दो उपचार पाउने अवस्था बन्दै गएको छ ।


हेड इन्जुरीको उपचारमा सामान्यसँंगै न्युरो सर्जरी सेवा सहितको सघन उपचार सेवा दिनसक्ने अस्पतालको उत्तिकै महत्त्व हुन्छ । हेड इन्जुरीका बिरामीलाई न्युरो सर्जन नै चाहिहाल्छ भन्ने हुन्न । सडक दुर्घटना वा अन्य कुनै कारणवश हेड इन्जुरी भएकालाई पहिलो एक घन्टाभित्र उपचार सुरु गर्न सकियो भने ज्यान बच्न सक्ने सम्भावना धेरै हुने थुप्रै अध्ययनले देखाएका छन् ।


‘गोल्डन आवर’ भनिने यो अवधिभिक्र बिरामीलाई स्थिर राखेर अक्सिजन दिने, सलाइन चढाई रत्तचाप सामान्य राख्ने जस्ता सामान्य उपचार विधिका माध्यमले धेरै हदसम्म ज्यान बचाउन सकिन्छ । हेड इन्जुरी भई वीर र ट्रमामा आउने बिरामीमध्ये ९० प्रतिशतलाई हामीले राम्रो नतिजासहित बचाउन सफल भएका छौँ । २ देखि ५ प्रतिशतसम्मको भने मृत्यु हुने गरेको छ । ठूलो चोट वा ढिलो गरी अस्पताल आउनु यसको कारक हो । यसबाट बुझ्न सकिन्छ— समयमै उचित उपचार सुरु गर्नसके धेरै जनाको ज्यान जोगाउन सकिन्छ । वीर र ट्रमा अस्पतालको न्युरो सर्जरी अपरेसन रूम संसारकै उत्कृष्टमध्ये पर्छ ।


घाइतेले समयमै उपचार नपाउने कारण
सडक दुर्घटना तथा दैवी प्रकोपका बेला मुख्य राहत र बचाव दलका रूपमा प्रहरीहरू परिचालन हुने गर्छन् । प्रहरीकै तदारुकताका कारण धेरै घाइतेलाई समयमै अस्पताल पुर्‍याउन सकिएको पनि छ । तर प्रहरीसँग घाइतेको प्राथमिक उपचार गर्ने र बेहोस बिरामीलाई कसरी उठाउने भन्नेबारे जानकारी नहुँदा अपेक्षित फाइदा हुनसकेको छैन । विकसित मुलुकमा यस्तो अवस्थाका लागि छुट्टै प्यारामेडिक टोली हुने गर्छन् । हेड इन्जुरीको बढ्दो घटनालाई ख्याल गरी नेपालमा पनि यस्तै तालिमप्राप्त राहतकर्मीसहित एम्बुलेन्स सेवा ल्याउन अत्यावश्यक छ ।


मापसे र टाउकामा चोट
सरकारले सन् २०१२ देखि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनमा कडाइ गरेसंँगै सडक दुर्घटनामा धेरै कमी आएको छ । यद्यपि अहिले पनि हेड इन्जुरीका करिब ६५ प्रतिशत केसमा मद्यपानको प्रभाव भएको भेटिन्छ, तथापि पहिलेको तुलनामा यो थोरै नै हो । दुर्भाग्यवश, २०१५ सम्म घट्दो क्रममा देखिएको सडक दुर्घटनासम्बद्ध हेड इन्जुरी २०१६–१७ पछि बढ्दै गएको छ । मापसे मात्र नभई, काठमाडौँको सडक विस्तार र ट्राफिक अव्यवस्था पनि यसको कारण हुनसक्छ ।

लेखक वीर अस्पतालको न्युरो सर्जरी विभागका प्रमुख हुन्।

प्रकाशित : चैत्र ६, २०७५ ०९:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×