१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यसरी भित्रिन्छ वैदेशिक लगानी

आशुतोष तिवारी

काठमाडौँ — अर्को साता नेपालमा लगानी सम्मेलन हुँदै छ । देश–विदेशका लगानीकर्ताहरू नेपाल आउँदै छन् । तर ‘लगानी सम्मेलन जति वटा गरे पनि खासै फरक पर्दैन’ भन्नेहरू पनि कम छैनन् । आलोचनाको यो पृष्ठभूमिमा यो सम्मेलनलाई उपलब्धिमूलक बनाउन नेपालले के–के कुरामा ध्यान दिनुपर्ला ?

यसरी भित्रिन्छ वैदेशिक लगानी

मानसिकता परिवर्तन गर्ने

नेपालमा कुनै कुरा उद्घाटन भएकै भरमा या सुरु मात्रै गरिएकै आधारमा ‘सम्पनै भयो, सफलै भयो’ भनेर प्रचार गर्ने चलन छ । तर, त्यसबाट आशाअनुरूप नतिजा नआए सरकारसहित अरू जो–जसले ‘सफलै भयो’ भनेर प्रचार गरेका थिए, तीप्रति विश्वास घट्न जान्छ र वितृष्णा मात्र बढ्छ । पहिले–पहिले भएको यही हो ।


विगतका लगानी सम्मेलनहरू पनि सम्मेलन गरेकै भरमा ‘सफलै भयो’ भनेर भनिए पनि पछि सोचेअनुरूप कोही लगानी गर्न आएनन् । आए पनि तिनले झेल्नुपरेका कठिनाइहरू हेर्दा, हाम्रो सरकार र कर्मचारीतन्त्रले विदेशी लगानीप्रति आ–आफ्ना सूक्ष्म धारणा पनि व्यापक रूपले परिवर्तन गर्नुपर्ने देखिन्छ । मानसिकता परिवर्तनका तीन खम्बा छन् ।


पहिलो खम्बा त, समग्रमा ठूला आयोजना या ठूला कम्पनीहरू खोल्न स्वदेशमै पैसा अपुग भइरहने देशमा विदेशी लगानीमार्फत पैसा मात्र देशभित्र आउने हैन । देशमा हजारौं रोजगारी अनि नयाँ र खँदिला सीपहरू पनि भित्रिन सक्छन्, जसले आय बढाएर गरिबी घटाउन मद्दत गर्छन् । लगानीलाई यस्तै जनतामुखी आँखाले हेर्नुपर्छ ।


लगानीको सवालमा हामीकहाँ कसले कति पैसा कहाँबाट केका लागि ल्याउँछ भनेर गनेर बस्ने मात्र चलन छ । लगानीलाई जनताकै भलाइको आँखाबाट नहेरेसम्म यसप्रति हाम्रो धारणा हालका लागि ‘ट्रान्ज्याक्सनल’ या पैसाको लेनदेनमै मात्र सीमित हुन्छ ।

मानसिक परिवर्तनको दोस्रो खम्बा हो— विदेशी लगानीका कारण देशबाट पैसा विदेश जाने मात्र हैन, देशमा पनि त्यो लगानीले ‘वेल्थ क्रिएसन’ या धन निर्माण गर्न धेरै मद्दत गर्छ भनेर सोच्नु ।


वैदेशिक लगानीको सवालमा हामी प्रायः विदेशीले नेपालमा आएर पैसा कमाएर (हाम्रो पैसा) विदेशमा लगे अर्थात् अरू आएर हामीलाइ लुटे भन्ने त्रासको ‘न्यारेटिभ’ ले ग्रस्त छौं । तर त्यही लगानीले नेपालमा धेरैलाई रोजगारी दिएर, सीप सिकाएर अनि त्यस्तै उद्योग अरू पनि खोल्न सजिलो पारेर धेरै नेपालीलाई पनि धनी बनाएको यथार्थचाहिँ बिर्सन्छौं ।


एक–दुई ठूला र प्रख्यात लगानीकर्तालाई बढी नै समय खर्च गरेर, सम्मान गरेर देशमा ल्याउन सकियो भने तिनले विश्वको अगाडि हाम्रा ‘एंकर इन्भेस्टर’ को काम गर्छन् । तिनको देखासिखी गर्दै अरू धेरै लगानीकर्ता नेपाल आउन उत्साहित हुन्छन् भनेर बुझ्नु नै मानसिक परिवर्तनको तेस्रो खम्बा हो ।


वैदेशिक लगानीको सन्दर्भमा, हामीले उपर्युक्त तीन पक्षमा सरकारको माथिल्लो तहदेखि तल्लो तहसम्मको मानसिकता परिवर्तन गरेनौं भने हाम्रो कर्मचारीतन्त्रले नै विभिन्न झन्झट उठाइदिएर लगानीकर्ताहरूको समय र पैसा खेर फालिदिन सक्छ । त्यसका लागि प्रधानमन्त्रीदेखि लगानीको काममा लागेका सरकारका सबै संयन्त्रले जनतामुखी र भविष्यमुखी हिसाबले वैदेशिक लगानीको महत्त्वबारे बुझाइरहनुपर्छ ।


हार्डवेयर ल्याउने, सफ्टवेयर बनाउने

वैदेशिक लगानी ल्याउन सरकारले लगानीकर्ताहरूसँग मात्र कुरा गरेर हुँदैन । त्यो एकपक्षीय काम हो । नेपालमा शिक्षा र सीपको अवस्था राम्रो छ कि छैन, राम्रो छैन भने प्राविधिक स्कुलहरूलाई कसरी बलियो पार्न सकिन्छ, काम गर्ने दक्ष नेपालीहरू नै पाइँदैनन् भने भएकैलाई नयाँ–नयाँ सीप सिक्न कसरी उत्प्रेरित गर्न सकिन्छ भन्ने कुराहरूमा डटेर लाग्नुपर्छ । हाम्रै नेपाली सक्षम भए या सक्षम बन्न जति जाँगर देखाउँछन्, त्यति नै वैदेशिक लगानीकर्ताको खर्च घट्छ ।


सीप नै नभएर या अर्धदक्ष मात्र भएर नेपालमै काम खोजिरहेका नेपालीले न आएको वैदेशिक लगानीबाट काम मिलाएर आफ्नो आय बढाउन सक्छन्, न त नयाँ सीप सिक्ने प्राथमिकतामा पर्छन् । अफ्रिकाका कतिपय देशमा लगानी गर्ने कुनै एउटा देशले कपाल काट्ने र जुत्ता मर्मत गर्नेहरूलाई पनि आफ्नै देशबाट झिकाएको प्रसंग नेपालको हकमा ठाडै लागू त नहोला, तर लगानी ‘हार्डवेयर’ हो भने देशभित्र पाइने सीपचाहिँ ‘सफ्टवेयर’ हो ।


त्यो सफ्टवेयरको क्षमता बढाउने काम शिक्षा, प्राविधिक तालिम, स्वास्थ्योपचार सेवा र सजिलै उपलब्ध हुने सार्वजनिक यातायात आदिले गर्छन् भन्ने हेक्का सरकारलाई हुनुपर्छ । यो अर्थमा वैदेशिक लगानीकर्ताहरूलाई नेपालमा लगानी गराइराख्न सरकारको आफ्नै खर्चमा गरिने अरू काम गर्न सजिलो हुने प्लाटफर्मरूपी पूर्वाधार विकासको काम तीव्र गतिमा अघि बढाउनै पर्छ ।


सजिलो पारिदिने

नेपालका नियम–कानुन सरसर्ती हेर्दा धेरै सजिलो र छरितो बनाए जस्तो देखिन्छ । तिनको कार्यान्वयन पक्ष भने झन्झटिलो छ । कुनै रेस्टुरेन्टमा गएर सिधै चाउमिन खान नपाई ग्राहक आफैंले मैदाको अर्डर छुट्टै, गोलभेंडा र प्याजको अर्डर छुट्टै, तेल र ग्यास–स्टोभको अर्डर छुट्टै गर्नुपर्‍यो भने त्यो रेस्टुरेन्ट चल्छ ? रेस्टुरेन्ट आफैंले काँचो नुडल्स, गोलभेंडा, नुन–तेल आदिको जोहो गरेर ग्राहकलाई उसले अर्डर गरेको तातो चाउमिन पस्कन जान्नुपर्छ ।


विदेशी लगानीकर्तालाई पनि हामीले सामान्यतः रेस्टुरेन्टको ग्राहकजसरी नै बुझ्नुपर्छ । एउटा अनुमति लिन यो मन्त्रालय, अर्को कागज बुझाउन अर्को आयोग र अन्य कुरा बुझ्न अर्कै महाशाखामा दौडाएर हाम्रा सरकारी कार्यालयहरूले त आ–आफ्नो क्षेत्रगत काम पाउलान्, तर विदेशी लगानीकर्ताहरूचाहिँ माथिको उदाहरणमा देखाइएको रेस्टुरेन्टको ग्राहक जस्तै हायलकायल हुन्छन् । एकचोटि यसरी चेतेको लगानीकर्ता अर्कोपल्ट फर्केर आउँदैन र अरूलाई पनि नेपालमा आउन प्रेरित गर्दैन ।


यस्तो झन्झट नहोओस् भन्न लगानीकर्ताहरूका लागि सरकारले दिने सम्पूर्ण सेवा एकै ठाउँबाट दिनुपर्छ, राम्रो रेस्टुरेन्टले सिधै चाउमिन बनाएर ल्याएजसरी । सरकारको कुन निकायले के काम कति समयमा गर्ने, त्यो त हाम्रो कुरा हो, विदेशी लगानीकर्तालाई काम गर्न सजिलो र छिटो सेवा पो चाहिएको हो !


हाम्रा सरकारी संयन्त्रलाई बुझ्न नेपाली जनतालाई त गाह्रो छ भने विदेशीले कसरी बुझ्लान् ? त्यसैले लगानीकर्तालाई नै ‘के–के गर्‍यो भने तिमीहरूलाई सजिलो पर्छ ?’ भनेर सोधौं र पहिलो तीन वर्ष त्यहीत्यही गरिदिऔं । तीन वर्षमा आएको डेटा र अनुभवबाट भविष्यका अरू वैदेशिक लगानीका योजनाहरू पनि खँदिलो पार्न मद्दत पुग्छ ।


अनुभव र डेटा नभईकनै त्रास र मनलाग्दी ‘हुँदैन’ को भरमा लगानीकर्ताहरूको काम सजिलो पार्न सकिँदैन । कार्यान्वयन सजिलो नपारेपछि कागजमा र लगानी सम्मेलनमा जतिसुकै राम्रा कुरा गरे पनि ठोस नतिजा आउँदैन ।


उदाहरणार्थ, अहिले दुग्ध व्यवसाय र कृषिमा विदेशी लगानी चाहिँदैन, यी क्षेत्रमा नेपाली नै सक्षम छन् भनिएको छ । तर कृषिमा सुर्खेतको अदुवा, ताप्लेजुङको अलैंची, जुम्लाको स्याउ आदि नेपालले उत्पादन गरे पनि किन त ‘भ्यालु–एड’ गरिएर नेपालको त के विश्वकै बजारमा उच्च मूल्यका साथ पुग्दैन ? त्यो गर्नलाई ‘प्रोसेसिङ प्लान्ट’ चाहियो, प्रोडक्ट विविधता चाहियो, प्याकेजिङ हुनुपर्‍यो । यसका लागि धेरै ज्ञानको आबश्यकता पर्छ, जुन नेपालमा छैन । त्यो ज्ञान नेपालमा फैलाउन पैसा पनि छैन ।


विश्वको बजारमा सबैभन्दा छिटो कसरी पुग्ने र पुग्न के–के कुरा सिक्नु/गर्नुपर्छ भनेर वैदेशिक लगानीले नै देखाउने हो । सोल्टी होटलमा धेरै वर्षअगाडि गरिएको वैदेशिक लगानीले नेपालीलाई नै दक्ष बनाई कालान्तरमा नेपालमै नेपालीलाई धेरै अरू होटल खोल्न सक्षम बनाइदियो । त्यस्तै, विदेशी लगानीकै स्टान्डर्ड चार्टर्ड बैंकले नेपाली बैंकरहरूको क्षमता ह्रास हैन, वृद्धि नै गरिदियो । कृषि र दुग्ध व्यवसाय पनि यसरी विकास हुन किन नसक्ने ?


नेपालको समृद्धिका लागि आर्थिक वृद्धि र गरिबी निवारण दुवै हुनुपर्छ भन्नेमा धेरैको विमति नहोला । आर्थिक वृद्धि र गरिबी निवारण गर्न नेपालमै पुँजी पर्याप्त नभएको पनि कसैबाट लुकेको छैन । त्यो अपर्याप्तता पूरा गर्न वैदेशिक लगानी चाहिन्छ भन्नेमा पनि देश चलाउने कम्युनिस्ट सरकारसमेत विश्वस्त भएको देखिन्छ ।


चाहना र उद्देश्य ठीक ठाउँमा हुँदाहुँदै पनि पुरानै मानसिकता, जनताको सीप नबढाइने काम र कागजमा राम्रै लेखिए पनि कार्यान्वयनमा ढिलासुस्ती हुनाले नेपालमा आउनुपर्ने लगानी नआउन सक्छ । सरकारले यी कुरामा आउँदो सम्मेलन र सम्मेलनपछि पनि ध्यान दिएर काम गर्नुपर्छ ।

प्रकाशित : चैत्र ४, २०७५ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?