शोकमा त संकोची बनौं

लीला लुइँटेल

काठमाडौँ — हेलिकप्टर दुर्घटनामा पर्यटनमन्क्री रवीन्द्र अधिकारी लगायत देशका अन्य व्यत्तिहरूको मृत्यु भएर सिङ्गो देश शोकमा रहेको एकदिन पनि बित्न नपाउँदै उनकी पत्नी विद्या अधिकारीले लेखेको र वाचन गरेको भन्दै एउटा कविताको भिडियो युट्युबमा राखियो ।

यस अघि विद्या अधिकारीसँग कुनै दृष्टिबाट परिचित नभएकी र कहिल्यै आवाजसम्म नसुनेकी मलाई उनले यस्तो विषम परिस्थितिमा यति छिटै यस्तो कविता लेखेर रेकर्ड गरी युट्युबमा समेत राख्न सक्छिन् भन्नेमा विश्वास लागेन । केही अंश सुनेर युट्युब बन्द गरिदिएँ । उक्त भिडियो आफूले बनाएर युट्युबमा नहालेको भनी विद्या अधिकारीसहित उनको परिवारका सदस्यले आपत्ति जनाएको तथ्य अहिले बाहिर आएको छ ।

मृत्यु शाश्वत सत्य हो भनेर जान्दाजान्दै यससँग साक्षात्कार हुँदा सम्बद्ध परिवारलाई परेको बज्रपातको मात्रा कसैले पनि अनुभूति गर्न सक्दैन । त्यसमा पनि कुनै बिमार नै नभई अल्पायुमै एक होनहार व्यक्ति एक्कासी दुर्घटनामा परेको समाचार सुन्दा ऊसँग आश्रित एवं अत्यन्तै निकट व्यक्तिलाई हुने पीडाको अनुमान गर्नु जस्तै मै हुँ भन्ने व्यक्तिको पनि सामर्थ्य बाहिरको कुरा हो । अझ आफूमाथि परेको बज्रपातको यस्तो अवस्थामा केही समय नेपाली महिला बाहिरबाट हेर्दा सग्लो शरीरयुक्त देखिए पनि उनीहरू लगभग अचेत अवस्थामै हुन्छन्, केही बोल्न सक्ने अवस्थामै हुँदैनन् । यस्तो स्थितिमा सम्बद्ध व्यक्तिको पीडालाई भजाएर कस्तो प्रकारको आनन्द लिइरहेका छौँ हामी ? यस्तो संवेदनालाई ख्याल गर्दै कसैले भिडियो खोलेर सुने अनि सेयर गरेबापत कसैको खातामा निश्चित रकम जम्मा हुने व्यवस्थालाई ध्यानमा राखी यस्तो नकाम गर्छ भने योभन्दा निकृष्ट र निन्दनीय क्रियाकलाप यस धरतीमा अर्को हुन सक्तैन । कोही शोकमा परेका बेलासमेत भ्रमको खेती गर्न ध्यान दिइरहने केही व्यक्तिको खुराफाती मानसिकतालाई देख्दा हामी साँच्चै जिउँदा मानव हौँ त भनेर एकपटक आफैलाई प्रश्न गर्न मन लाग्छ । अर्कातिर राजनीतिका क्षेत्रमा त यसले विकरालै रूप लिएको देखिन्छ । राजनीति सम्बद्ध व्यक्तिको मृत्यु भएर अन्तिम संस्कारसमेत गर्न नपाउँदै उसको स्थानमा कसलाई विराजमान गराउने भन्ने खिचडी पाक्न सुरु भइसक्छ ।

विद्युतीय सञ्चारको अभूतपूर्व विकासले गर्दा अहिले हामीलाई हरेक घटना तत्कालै प्रत्यक्ष देख्न र सुन्न पाइने सुविधा प्राप्त छ । परिवार गुमाउनुको पीडाले लगभग चेतनाहीन अवस्थामा पुगेको मानिसका मुखमा माइक ठोसेर ‘तपाईंलाई कस्तो अनुभव भइरहेछ’ भनी गरिने प्रश्न पनि केही समययता हाम्रालागि नौला रहेनन् । पीडाले ग्रस्त सम्बन्धित व्यक्तिको त कुरै भएन, उक्त पीडासँग असम्बद्ध व्यक्तिलाई पनि यस खाले क्रियाकलाप अत्यन्त विडम्बनापूर्ण तथा भद्दा ठट्टाजस्तो लाग्छ । अनि यस्ता प्रश्न गर्ने सञ्चारकर्मी चेतन अवस्थामै छन् त भन्ने शङ्का उत्पन्न हुन्छ ।

सञ्चार जगतमा मात्र नभएर अहिले यस खाले असंवेदनशील क्रियाकलापले साहित्यका क्षेत्रमा पनि आक्रमण गरिसकेको स्थिति सबैले देखेभोगेकै हुनुपर्छ । अहिले कुनै साहित्यकारको मृत्यु हुँदा समवेदना पत्र छापेर फ्रेममा सजाई सेता लुगा लगाएका व्यक्तिलाई प्रदान गर्न लागिएको पोजवाला फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने प्रचलन पनि व्यापक देखिन्छ । यसैगरी कतिपय शोकाकुल घरमा जाँदा समाजका अगुवा भनिनेहरूले फ्लेक्स ब्यानरमा समवेदना बनाएर लैजाने गरेका छन् । यस्ता फ्रेम र ब्यानरहरूले सम्बन्धित शोकाकुल परिवारलाई गौरवको अनुभूति गराउँछन् कि पीडा झन् बल्झाउँछन् भन्नेतर्फ कसैको ध्यान पुगेको पाइँदैन ।

अझ कुनै साहित्यकारको मृत्युपछि जीवनी लेखनका नाममा उनको साहित्यिक व्यक्तित्व, कृतित्व एवं नेपाली साहित्यमा उनले दिएको योगदानलाई ओझेलमा राखेर सम्बद्ध व्यक्तिको यौनजीवन, प्रणय प्रसङ्ग लगायतका नितान्त व्यक्तिगत सन्दर्भहरू थैथै पारेर आफू चर्चामा आउने होड पनि वर्तमानमा चलेको छ । तथाकथित यस्ता जीवनीहरूमा अरू त अरू सम्बन्धित साहित्यकारले कुन–कुन नाम प्रयोग गरेर साहित्यको सिर्जना गरेका थिए, उनको साहित्य यात्रा कहिलेदेखि प्रारम्भ भएको हो, उनले कुन–कुन विधाका के कस्ता कृति लेखेका थिए भन्नेजस्ता सामान्य जानकारीधरि नभएकाहरूले पनि जीवनी साहित्यमा आफूले ठूलो योगदान दिएको भ्रम छर्दै तथ्यहीन, अनर्गल एवं नितान्त वैयक्तिक कुरा उछालेको पाइन्छ । सबभन्दा हास्यास्पद कुरा त वर्तमानमा जीवितै रहेका दस लेखक मिलेर लेखेको र २०३२ सालमा प्रकाशित भएको कृतिलाई पनि चार जनाले मिलेर लेखेको भनी भ्रामक उल्लेख गरेको पाइन्छ । यसरी आफ्नै समकालीन यथार्थको समेत जानकारी नहुनेले नितान्त वैयक्तिक एवं अनर्गल कुराहरू लेखेर जीवनी लेखेको धाक दिनु पनि सम्पूर्ण नेपाली साहित्यकै लागि विडम्बना हो । यस खाले जीवनी लेखन सम्बन्धित साहित्यकारको परिचय आउने पुस्ताका लागि सुरक्षित राख्ने नभई जीवनी लेखेको भ्रम सम्बन्धित परिवारलाई दिएर उनीहरूबाट केही अपेक्षा गर्ने अभीष्टले प्रेरित भएको यथार्थसँग पनि नेपाली साहित्यका पाठक लगभग परिचित छन् ।

यस संसारका सबै भूगोल, धर्म, पेसा तथा वर्गका मानिसले मृत्युलाई अत्यन्त संवेदनशील ठानेर व्यवहार गरेको पाइन्छ । यस्तो संवेदनशील विषयमा केही बोलि–लेखिहाल्नुभन्दा पहिले यसले सम्बद्ध व्यक्तिको परिवारलाई कस्तो पीडा दिनसक्छ भन्नेबारे सचेत हुन ढिलो भइसकेको हो कि ?


प्रकाशित : चैत्र १, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

छोराको पढाइ खर्च उठाउन दाइजो !

छोराको पढाइ खर्च छोरीका बाबुबाट उठाउनुपर्छ भने त्यत्ति नै खर्च गरेर पढाएकी छोरीको मूल्य के ?
लीला लुइँटेल

काठमाडौँ — एक जना छिमेकीकी डाक्टर छोरीका लागि तय गरिएको वरको मूल्य साठी लाख रुपैयाँ भन्ने सुनेपछि र जिन्सी सामानको लिस्ट देखेपछि मैले ‘यत्रो पैसा कहाँबाट ल्याउनु ?’ भनेर सोधेँ । केटाका बाबुले ‘अझ हामीले निकै कम भनिरहेका छौं, हाम्रा छोरालाई डाक्टर बनाउन त्यतिले पुगेको छैन’ भनेको सुन्दा म आश्चर्यचकित भएँ ।

‘हाम्री छोरी पनि डाक्टर हुन्, उनलाई पढाउन पनि त्यत्तिकै खर्च लागेको तपाईंहरूलाई थाहै होला अनि त्यसको मूल्य नि ?’ भनेर मैले जिज्ञासा राखेँ । केटाका बाबु क्रुद्ध भएर ‘यो पहाडी लोग हाम्रो परम्परामा किन बढ्ता हुन आएको’ भने । केटीका बाबुले मतिर पुलुक्क हेरे । त्यहाँ बस्न उचित नलागेर म जुरुक्क उठेर हिँडेँ ।

अहिले पुगिसरी हुने अभिभावकले आफ्नो शक्ति र सामथ्र्यले भेटेसम्म शिक्षा प्रदान गर्ने कुरामा छोरा र छोरी भनी विभेद गरेको प्राय: भेटिँदैन । यति हुँदाहुँदै पनि अधिकांश नेपाली अभिभावकका लागि छोराको भन्दा छोरीको विवाह आतङ्ककै रूपमा रहेको पाइन्छ । यस्तो आतङ्कले सिर्जना गरेको त्रासदी पहाडमा भन्दा बढी मधेसमा देखा परेको छ । मधेसमा छोरी बढ्दै जाँदा अभिभावकमा आतङ्कको पारो चढ्दै जान्छ ।

यसखाले क्रियाकलापलाई कुनै परिवारको आन्तरिक मामला भनेर पन्छिने स्थिति छैन । तिलक र दाइजो आतङ्क नभोगेको मधेसी परिवार पाउन हम्मे पर्छ । दाइजो एवं तिलक आतङ्ककै कारण कतिपय चेलीले आत्महत्या गरेका पनि छन् । आर्थिक अवस्था कमजोर भएको तथा धेरै दिदीबहिनी भएको परिवार बढी पीडित छ । आमाबाबु घरजग्गा बेचेर वा ऋण गरेरै भए पनि लोभी एवं द्रव्यपिशाच वरपक्षका माग पूरा गर्न बाध्य छन् । मधेसका छोरीलाई बालविवाह गरिदिने तथा उच्चशिक्षाबाट वञ्चित गरिने कटु यथार्थ हामीले देखेभोगेकै हो । वर पक्षबाट तिलक एवं दाइजो माग्नु कानुनी रूपमा अवैध भनिए पनि सामाजिक अभ्यासमा यो घटेको छैन । उल्टै यसले विकराल रूप लिँदै छ ।

मधेसमा छोरीको विवाह गर्ने सबै कुरा मिलेपछि तिलक एवं दाइजो विवाद र छलफल विषय बन्ने गरेको छ । त्यो पनि छोरीका बाबुको स्वेच्छा हुँदैन । छोराका तर्फबाट व्यापारिक तरिकाले तय गरिन्छ । तिलक एवं दाइजोको परिमाणमा केटाको कुलघरान तथा शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । अहिलेको व्यावहारिक अभ्यासअनुसार डाक्टर, इन्जिनियर, वकिल तथा उच्चपदस्थ सरकारी अधिकारी वरका लागि ठूलै मोलमोलाइ हुन्छ । वरपक्षको मागअनुरूप दाइजो ल्याउन नसके गृहलक्ष्मी मानेर आफैँले भित्र्याएकी बुहारीलाई यातना दिने, घरनिकाला गर्नेजस्ता घटना बारम्बार घटिरहेका छन् ।

मधेसमा शिक्षित, बौद्धिक एवं चेतनशील वर्ग नभएको होइन । यस्ता व्यक्तिहरूले पनि तिलक एवं दाइजो प्रथाविरुद्ध सामाजिक जागरणका लागि भूमिका खेल्न सकेका छैनन् या उनीहरू यसबारे टीकाटिप्पणी गर्न चाहँदैनन् । सबभन्दा हास्यास्पद एवं लज्जास्पद त छोराको पढाइ खर्च छोरीका बाबुबाट उठाउनुपर्ने दरिद्र मानसिकता छ । छोरी चाहे डाक्टर, इन्जिनियर तथा कामकाजी नै किन नहुन्, दाइजो नदिई तिनीहरूको पनि विवाह हुँदैन ।

यही दाइजो एवं तिलक प्रथाका कारण अधिकांश परिवारमा भू्रणको लिङ्ग पहिचान गरेर छोरी भए भ्रूण नष्ट गरिदिनेजस्ता मानवताविरोधी कार्य धेरै क्षेत्रमा महामारीकै रूपमा फैलिसकेको छ । यसखाले जघन्य अपराधले जनसंख्याको सन्तुलनमा नकारात्मक असर पर्न सक्छ । यस्तो विकराल अवस्थाविरुद्ध सीमित मानव अधिकारीवादी, महिलावादी व्यक्ति एवं संघसंस्थाले बेलाबखत आवाज उठाएजस्तो देखिए पनि यसखाले दुष्कर्म उन्मूलनतर्फ कसैले सक्रियता देखाएको पाइँदैन ।

अहिले राजनीतिक रूपले मधेसमा परिवर्तन आएको र मधेसका जनता आफ्नो अधिकारका लागि सचेत भएको सुनिन्छ तर चेलीबेटीका नाममा गरिने यसखाले अमानवीय क्रूर क्रियाकलाप नियन्त्रण गर्नेतर्फ व्यक्ति, समाज एवं राज्यको ध्यान प्रभावकारी पाइँदैन । अझ मधेसी जनताको अधिकारको सुरक्षाका लागि समाज सेवा गरेको, राजनीति गरेको हवाला दिनेहरूले पनि यसतर्फ ध्यान दिएको पाइँदैन । कि जनसंख्याकोआधा हिस्सा मधेसी चेलिबेटीचाहिँ उनीहरूका दृष्टिमा जनता होइनन् ?

मानवीय मूल्यकै उपहास गर्ने यस्ता क्रियाकलाप शिक्षित तथा सभ्य कहलिएकाहरूको समाजमा परम्परा एवं संस्कारका नाममा जरो गाडेर बसिरहेका छन् । यस्ता क्रियाकलाप न्यून गराउँदै मधेसका चेलीबेटी एवं तिनका अभिभावकलाई सिंगो मानवका रूपमा जीवनयापन गर्ने वातावरण सिर्जना गर्नेतर्फ यस क्षेत्रका परिवार, समाज तथा प्रशासन कसैको पनि ध्यान पुगेको देखिँदैन ।

उच्च शिक्षित विवाहयोग्य कतिपय युवकलाई यसबारे जिज्ञासा राख्दा सामाजिक तथा पारम्परिक संस्कार भनेर तिनको संरक्षणमा जोड दिने मानसिकता लाजै पचाएर मसँग उनीहरूले अभिव्यक्त गरेका छन् । मानवीय मूल्यकै उपहास गर्ने यस्ता क्रियाकलापलाई अझै परम्परा भनिरहने कि सामाजिक क्यान्सर मानेर तिनको उपचार खोज्ने ?

यहाँ प्रश्न उठ्छ, छोराको पढाइखर्च छोरीका बाबुबाट उठाउनुपर्छ भने त्यत्ति नै खर्च गरेर पढाएकी छोरीको मूल्य के ? के छोरी पाएर उचित शिक्षादीक्षा दिई उसलाई योग्य बनाउनु नै छोरीका बाबुको सबभन्दा ठूलो अपराध हो ? अनि तिलकका नाममा देशको शिक्षित एवं एउटा सुयोग्य नागरिकको मोलमोलाइ बोकोसरह गर्ने र यसको कमी हँुदा आफ्नी गृहलक्ष्मीलाई जिउँदै जलाउनेहरूमा आफूलाई एक्काइसौँ शताब्दीको मानव भन्न भनाउन लज्जा हुनुपर्ने होइन र ?

प्रकाशित : माघ १३, २०७५ ०८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्