सञ्चालन जोखिम टार्न सक्दैनन् बैंक

दुर्गा कँडेल (छत्कुली)

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाको व्यावसायिक कृयाकलापमा कारोबारसँगै सञ्चालनमा जोखिम जोडिएको हुन्छ  । बैंकिङ्ग व्यवसाय यसबाट टाढा हुन सक्दैन  ।

सञ्चालन जोखिम टार्न सक्दैनन् बैंक

बैंक तथा वित्तीय संस्थाको व्यावसायिक कृयाकलापमा कारोबारसँगै सञ्चालनमा जोखिम जोडिएको हुन्छ । बैंकिङ्ग व्यवसाय यसबाट टाढा हुन सक्दैन । सञ्चालन जोखिमले समग्र बैंकिङ्ग प्रणालीलाई चक्रिय प्रभाव पारिरहने भएकोले यिनको पहिचान, मूल्याङ्कन, नियमन, व्यवस्थापन र नियन्त्रण जरुरी हुन्छ । सञ्चालन जोखिम मानवीय गल्ती, प्रणाली तथा प्रविधिको असफलता, पर्याप्त सूचना तथा प्रकृयाको अभाव, कर्मचारी र ग्राहकको नियत, आन्तरिक नियन्त्रणको अभाव, जालसाजी, ऐन–नियमको कमी, संस्थागत सुशासनको अभावका कारण हुने गर्छ । बैंकिङ्ग सेवा मात्र नभई व्यवसाय पनि भएकाले यसको हरेक प्रकृयामा जोखिम हुन्छ नै, तापनि त्यसको पूर्वानुमान निकै कठिन हुन्छ ।


सञ्चालन जोखिम अन्यका तुलनामा फरक प्रकृतिको हुन्छ । यसको व्यवस्थापन जटिलै हुने गर्छ । बैंक तथा वित्तीय संस्थाकै आन्तरिक वा बाह्य वातावरणका कारण एकै वा विभिन्न खाले जोखिमहरू देखा पर्न सक्छन् । यसको पहिचान, व्यवस्थापन र नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकको जोखिम व्यवस्थापन मार्गदर्शन, २०१० र वासेल समितिको मापदण्ड, २०११ मार्गदर्शक सहयोगी हुन्छन् ।


सञ्चालन जोखिमका कारण

आन्तरिक जालसाजी तथा कर्मचारीहरूको बदनियतपूर्ण क्रियाकलाप वा भूलवश काम बिग्रिन गएको हुन सक्छ । सूचनाको चोरी, पदको दुरुपयोग, आन्तरिक व्यवस्थापनमा कमजोरी, कर्मचारीमा अधिक विश्वास जस्ता परिस्थितिबाट यो अवस्था आउने गर्छ । चोरी, डकैती, कम्प्युटर ह्याकिङ जस्ता बाह्य जालसाजीका कारण पनि बैंक तथा वित्तीय संस्थामा क्षति हुने गर्दछ ।भौतिक अवस्थाको कमजोरी यस्तो हुनुको तेस्रो कारण हो । बैंक तथा वित्तीय संस्था संवेदनशील स्थान भएकाले यसको सुरक्षाको उचित प्रबन्ध जरुरी हुन्छ । संस्थामा रहेका सुन, चाँदी, पैसा तथा कानुनी कागजातको सुरक्षाको प्रबन्धको लागि भौतिक संरचना बलियो हुनु अत्यावश्यक हुन्छ । आन्तरिक नियन्त्रण पनि प्रभावकारी हुनुपर्छ ।कम्प्युटर प्रणालीको उचित व्यवस्थापनको अभाव, व्यवसायमा देखापर्ने अवरोध तथा कानुनी जटिलता, कर्जा प्रवाह किटान नगरिएका जोखिम, काबुभन्दा बाहिरको परिस्थिति तथा प्राकृतिक प्रकोप, नीति–नियमको पालनामा कमीका कारणसमेत संस्था समस्यामा पर्न सक्छ ।दैनिक कार्य सञ्चालनमा प्रयोग हुने भौचरहरूको प्रविष्टिमा त्रुटि, महŒवपूर्ण कागजातको उचित व्यवस्थापनमा कमी, कर्मचारीहरूमा ज्ञानको अभाव, बढी कार्यभार, ‘जब रोटेसन’ नहुनु, जिम्मेवार नहुनु, बढी अधिकार र नियन्त्रण प्रणालीमा कमजोरीले गर्दा पनि समस्या निम्तिएको हुन सक्छ ।


सञ्चालन जोखिम कम गर्ने उपाय
बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालन जोखिमको प्रभाव, दबाब र असरबाट बच्न विभिन्न उपाय अपनाउनुपर्छ । कारोबार सञ्चालन हुने क्षेत्रको भौतिक संरचना सवल र सुरक्षित हुन जरुरी हुन्छ । उपयुक्त भौतिक संरचनालाई प्रयोग गर्ने जनशक्ति पनि क्षमतावान्, दक्ष र अनुभवी हुनुपर्छ । सञ्चालन जोखिमका सम्बन्धमा समयसमयमा तालिम, कार्यशाला र गोष्ठी सञ्चालन गर्नुपर्छ ।सञ्चालक र उच्च व्यवस्थापनबाट निरन्तर रूपमा निगरानी, संस्थाको आन्तरिक प्रणाली प्रभावकारी, कर्मचारी, प्रकृया र आन्तरिक तथा बाह्य वातावरणको नियमित मूल्याङ्कन र सुधारका उपायहरू अवलम्बनका माध्यमले जोखिम घटाउन सकिन्छ ।व्यवसायको दीर्घ जीवनका लागि अल्पकालीन तथा दीर्घकालीन योजन बनाई लागु गर्नुपर्छ । व्यवस्थापन सूचना प्रणालीलाई सवल र संस्थामा कार्य वातावरण सहज बनाएर असहज परिस्थितिमा पनि सजिलै काम गर्न सक्ने अनुकुलता सिर्जना गर्नुपर्छ ।


सञ्चालक भनेको सम्बन्धित संस्थाको पथप्रदर्शक हो । व्यवस्थापन भनेको बाटो निर्माण गर्ने पक्ष हो र कर्मचारी भनेका बटुवा हुन् । बाटो देखाउने पक्ष नै अलमलमा भए बटुवालाई गन्तव्यमा पुग्न सजिलो हुन्न नै । सञ्चालक तथा व्यवस्थापकमा स्पष्ट दृष्टिकोण हुनुपर्छ । गन्तव्यमा पुग्ने क्रममा आउन सक्ने अप्ठ्यारा परिस्थितिको जानकारी पनि तिनलाई हुनुपर्छ । तिनले कर्मचारीहरूलाई त्यही बाटो हिँडाउन सके सञ्चालन जोखिम कम गर्न सकिन्छ ।बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन जोखिम व्यवस्थापन गर्न नीति तथा कार्यविधिहरू तर्जुमा गनुपर्छ । सञ्चालक समितिबाट त्यसलाई स्वीकृत गराई कार्यान्वयन गर्ने र कार्यान्वयन पक्षको नियमित अनुगमन पनि गर्नुपर्छ । बैंक व्यवस्थापनले योजना तथा रणनीतिहरू तयार गर्ने, बजारमा नवप्रवर्तनात्मक वस्तुहरू उपलब्ध गराउनु अगाडि सम्भावित जोखिमको विश्लेषण गर्ने, आन्तरिक तथा बाह्य वातावरणमा आइरहने र आउन सक्ने अवसर र चुनौतीहरूको ‘स्वोट एनालिसिस’ गरी सोही बमोजिम संस्थालाई अगाडि बढाउन सक्नुपर्छ ।


सञ्चालन जोखिम संवेदनशील र पहिचान गर्न गाह्रो हुने भएकाले प्रत्येक वित्तीय संस्थाको सञ्चालक समिति, उच्च व्यवस्थापन, प्रवन्धक लगायतको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्छ । बैंकिङ्ग व्यवसाय लगानी व्यवसाय पनि हो । लगानीको सर्वमान्य सिद्धान्त हो— ‘हाइअर द रिस्क हाइअर द रिटर्न’ । उच्च प्रतिफलका लागि जोखिम पनि उच्च रहने हुँदा असल व्यवस्थापक, सक्षम सञ्चालक समिति र दक्ष कर्मचारीद्वारा सञ्चालन जोखिमको व्यवस्थापन गर्नुपर्छ ।
लेखक राष्ट्रिय वाणिज्य बैंकमा जोखिम व्यवस्थापन तथा कर्जा अनुगमन विभाग प्रमुख हुन् ।

प्रकाशित : फाल्गुन २९, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?