कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कांग्रेस : असफल वियोगान्त

विष्णु सापकोटा

काठमाडौँ — तत्कालीन नेकपा–एमाले र माओवादी–केन्द्रले पार्टी एकीकरणको घोषणा गरेर चुनावमा होमिएका मात्र थिएनन् । उक्त समीकरणले जगाएको उत्साहबीच जनताले लगभग दुई तिहाइ मत दिएर उनीहरूलाई विजयी पनि बनाएका थिए । त्यतिबेलासम्म एमाले समर्थकले माओवादीलाई बाटो बिराएका वामपन्थी भन्थे । माओवादीले एमालेलाई धेरै पहिलेदेखि संशोधनवादी भन्दाभन्दै थाकेर यिनीहरू कम्युनिष्ट नै होइनन् भन्न थालेका थिए ।

कांग्रेस : असफल वियोगान्त

त्यस्तो स्थितिमा कुनै वैचारिक मध्य–विन्दु र ‘चिज’लाई हेर्ने न्यूनतम साझा ऐतिहासिक दृष्टिकोणसमेत फेला नपारी अचानक गरिएको एकताको घोषणाले समेत धेरै समर्थकमा यस्तो ठूलो उत्साह ल्याएको थियो– मानौं बल्ल नेपालमा वामपन्थी क्रान्ति सम्पन्न भयो । जबकि त्यो दुइटा वाम पार्टी मिलेर एउटा संसदीय निर्वाचन जितेको मात्र अवस्था थियो ।


अब फेरि त्यही ‘बुर्जुवा’ संसद्मा ठूलो पार्टी भएर गर्ने काम के हो भन्नेबारे छलफल पनि भएको थिएन । तर युवा अवस्थादेखि नै ‘क्रान्ति हुन्छ’ भन्ने सपना देखेर हुर्केको पुस्ता आफैँले भन्ने गरेको ‘दलाल पुँजीवाद’कै प्रमुख हिस्साका रूपमा संसद्मा ठूलो पार्टी बनेको ‘सफलता’मै खुसी हुन विवश भएको मनोदशा वास्तवमा एउटा वियोगान्त थियो । जसलाई यसै स्तम्भमा त्यतिबेला नेपालको ‘वामपन्थी सपनाको वियोगान्त’ भनेर चर्चा गरिएको थियो ।


वामपन्थी सपनाको वियोगान्त दुई तिहाइको ऐतिहासिक ‘कम्युनिष्ट सरकार’ बनेर वर्षदिन कटाइसक्दासम्म कस्ता–कस्ता परिदृश्य मञ्चन गर्दै बढ्दैछ (वा पछाडि हट्दैछ) भन्नेबारे चर्चा भइरहेकै छ । आजको यस स्तम्भले नेपाली कांग्रेस नामक अर्को ऐतिहासिक पात्रको त्यस्तो अवस्थाबारे चर्चा गर्नेछ, जो आफैमा एउटा वियोगान्त कहलिन पनि असफल छ । कांग्रेसको त्यस्तो स्थिति के हो भनेर चर्चा गर्नुभन्दा पहिले अलिकति काव्यिक प्रसंगमा जाऊँ ।


खासगरी ‘ग्रीक ट्राजेडी’ र पछि शेक्सपियरसम्मका दुःखान्त नाटकलाई काव्य–सिद्धान्तमा निश्चित मापदण्ड र विशेषताका आधारमा मूल्यांकन गरिएको हुन्छ । अर्थात् कुनै कृति वा कामको अन्त्य दुःखद भयो भन्दैमा त्यो स्वतः वियोगान्त भनिन योग्य नहुन सक्छ । जस्तो– सफल वियोगान्त नाटकको मुख्यपात्र यस्तो हुन्छ, जो आफ्नो आदर्श कर्मका लागि वर्षौंदेखि समाजमा सम्मानित हुन्छ ।


त्यति हुँदाहुँदै सबै हिसाबमा आदर्श मानिएको व्यक्ति केवल एउटा कुनै निर्णय क्षमताको कमजोरी वा चारित्रिक त्रुटिले गर्दा उसको अन्त्य दुःखान्तमा पुगेर हुन्छ । त्यसरी त्यो सत्पात्रको अन्त्य दुःखद रूपमा हुँदा दर्शकको मनमा डर र दया एकैचोटी उत्पन्न हुन्छ । डर किनभने नाटकको दर्शकलाई लाग्छ– त्यस्तो दुःखान्त त मलाई पनि पर्न सक्छ । दया किनभने उक्त पात्रमा सबै गुण राम्रा हुँदाहुँदै एक ठाउँमा परिस्थितिवश चिप्लिनाको कारणले उसको अन्त्य नै भयो ।


र फेरि पनि हेर्ने दर्शक वियोगान्त हेर्दा नै बढी रमाउँछन्, किनकि उनीहरूलाई लाग्छ– धन्न त्यो दुःखान्त मलाई परेको छैन । आफूलाई तत्काल कुनै वियोग परेको छैन, तर अरू कसैको वियोगमा आँसु झारेर रुने प्रक्रियाले मन हलुंगो हुनेहुँदा हामीमध्ये धेरैलाई वियोगान्त हेर्न र पढ्न मनपर्ने हो । एरिस्टोटल जस्ता दार्शनिकहरूले त्यसै भनेका छन् । यदि त्यो नाटकको पात्र असल हुँदैनथ्यो भने उसको दुःखद अन्त्य हुँदा दर्शकले ताली बजाएर फर्कने थिए, जस्तो कुनै भिलेनको अन्त्य हुँदा हुने गर्छ ।


अब फर्कौं, कांग्रेसतर्फ । २००७ सालको क्रान्तिको नेतृत्व गर्दै देशमा प्रजातन्त्र भित्र्याउनमात्र होइन, बृहत नेपाली समाजलाई नै आधुनिकतातर्फ डोर्‍याउने बौद्धिक र सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई बीपी कोइरालाले कांग्रेस पार्टीकै माध्यमबाट गरेको विषय इतिहास भइनै हाल्यो । २०४६ को परिवर्तन, २०६२/६३ को आन्दोलन र २०७२ मा संविधान घोषणा गर्ने बेलासम्मको उसको भूमिका पनि इतिहासमा सुरक्षित नै होला ।


तर संविधान घोषणापछिका दिनमा कांग्रेसको चरित्र जेजस्तो बन्दैछ र यसको केन्द्रीय नेतृत्व जसरी बौद्धिक दिवालियापनको सन्मुख र लोकतान्त्रिक आदर्शबाट विमुख भएको छ, त्यसले उक्त पार्टीको वियोगमा मान्छेको बरु हाँसो जाग्ला, करुणा आउँदैन । उदाहरणका लागि, मानौं उक्त पार्टीका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट संन्यास लिन्छु भनेर आजै घोषणा गरे ।


कतिजना होलान्, उनलाई ‘विचरा’, त्यस्तो गर्नु हुँदैनथ्यो भन्ने ? किनकि सत्पात्रको रूपमा स्थापति व्यक्तिको वियोग वा विजोगमात्र करुणालायक हुन्छ । मानौं पहिलोपटक प्रधानमन्त्री हुँदा उनको एकपटक निर्णय क्षमता कमजोर भएको कारणले उनकै पालामा थुप्रै संसदीय विकृति भित्रिए रे । र त्यसकै कारण उनको पतन भएको भए मान्छेले वियोगान्त नाटकको पात्रलाई झैं ‘विचरा’ भन्थे होलान् ।


तर देउवाका निर्णय क्षमताका वा चारित्रिक कमजोरीको फेहरिस्त यति लामो छ कि त्यो त्यतिबेला ‘प्रजातन्त्रलाई दरबारमा बुझाएको’ कमजोरीदेखि पछिल्लोपटक प्रधानमन्त्री हुँदाका प्रहरी महानिरीक्षक काण्डदेखि सुशीला कार्की माथिको महाभियोगसम्ममा पनि रोकिँदैनन् । कांग्रेसका मुख्य पात्रका चारित्रिक विशृंखलताका यी सिलसिला यति धेरै भइसके कि अब उक्त पार्टीको दुःखान्तले समेत दर्शकमा कुनै दुःखभाव जगाउन छाडेको छ । देउवा लगायत पार्टीको हालीमुहाली गरिराखेका अरू धेरैले सोचे हुन्छ, आज उनीहरूको पतन भयो भने रमाउने मान्छे बढी हुनेछन् कि रुने र त्यस्तो किन भएको होला ?


प्रथमतः कांग्रेसको अहिलेको संस्थापन आफू जनताबाट त के आफ्नै कार्यकर्ताबाट अनुमोदित भएर आउनुपर्ने सिद्धान्तमा नै न विश्वास गर्छन् न आफूलाई कार्यकर्ताले निवार्चित गरेर नेतृत्वमा पुर्‍याउलान् भन्ने कुरामा आत्मविश्वास राख्छन् । त्यस्तो केन्द्रीय सदस्य भएर बस्दा के नै इज्जत होला, जसले स्वीकारिसक्यो कि उसलाई निर्वाचन भयो भने आफ्नै स्थानीय कार्यकर्ताले हराएर थन्काइदिनेछन् । कतिपय ‘वरिष्ठ’ नेताको निर्लज्ज तर्क रहने गरेको छ– सबै नेतृत्वका मान्छे नै पार्टीको स्थानीय चुनावमा हारे भने पार्टीको हालत के हुन्छ ? जबकि खास हुनुपर्ने नै त्यही हो ।


अहिलेका मध्ये धेरैलाई पाखा लगाउन नै महाधिवेशन हुने हो वा हुनुपर्ने हो । अनि अहिलेका केन्द्रीय नेतामध्ये धेरै पार्टी महाधिवेशनको स्थानीय तहमा हार्छन् भन्ने कुरा उक्त पार्टीको चिन्ताको विषय नहुनुपर्ने हो । उसका कार्यकर्ताको चिन्ताको विषय अहिलेका मध्ये सबैजसो फेरि पार्टीका चुनाव जितेर आउलान् वा चुनावमै नगई नेतृत्वमा बसिरहलान् भन्ने हुनुपर्ने हो ।


पछिल्ला संसदीय, प्रादेशिक र स्थानीय निर्वाचनमा ‘ऐतिहासिक’ हार हात पारेको दोस्रो वर्ष चल्दैछ । तर तिहारपछिको समय पार्टी जेजत्रो आकारमा बचेको छ, त्यसैमा आफ्नो कब्जा कसरी जमाउने भन्ने बाहेक कसैको पनि ध्यान अन्यत्र छैन । पहिले कुनै निश्चित उद्देश्य बनाएपछि नै सो उद्देश्य पूरा गर्न पार्टी संगठनको आवश्यकता पर्ने हो । तर अहिले कांग्रेसको हकमा धेरैजसो नेता–कार्यकर्तालाई पार्टी कब्जा गर्नुपरेको छ ।


तर कब्जा गरिएको संगठनमार्फत कुन उद्देश्य पूरा गर्ने हो भन्नेतर्फ छलफलसमेत छैन । तसर्थ केचाहिँ ठोकुवा नै गरेर भन्न सकिन्छ भने– अहिलेको नेतृत्व नफेरिएको कारणले मानौं पार्टी आगामी निर्वाचनमा अहिलेको भन्दा झन् आधा साइजको भयो । त्यसको बाबजुद पनि स्वेच्छाले कसैले नेतृत्व छाड्नेवाला छैन । किनकि उनीहरूको उद्देश्य नै यही पार्टीलाई कब्जा गरेर त्यसैबाट जेजति सत्ताको लाभ लिन सकिन्छ, त्यो लिने हो । यदि कुनै विचार वा कार्यक्रमका लागि पार्टी चाहिएको हुन्थ्यो भने न त्यो विचार बोक्ने आफूभन्दा प्रभावकारी व्यक्तिलाई पार्टी जिम्मा लगाउने इच्छाशक्ति आउँथ्यो ।


विगत तिन महिनामा कांग्रेसबारे जति पनि समाचार छापिएका छन्, त्यो उसका आन्तरिक झगडाबारे नै हुने गरेका छन् । र ती आन्तरिक झगडा कुनै नीति वा कार्यक्रम विशेषसँग सम्बन्धित छैनन् । ती सबै अन्तरकलह कसले पार्टी कब्जा गर्न कुन रणनीति लिंँदा ठिक हुन्छ भन्नेमा मात्र केन्द्रित छन् । अहिलेका सभापतिले जसरी पनि महाधिवेशनको म्याद लम्ब्याउँछन् भन्नेमा शंका नै नगरे हुन्छ । पहिले टिप्पणी हुने गर्थ्यो कि कांग्रेस आफू सत्तामा हुँदामात्र आन्तरिक रूपमा झगडा गर्ने हो ।


तर प्रतिपक्षी रूपमा बस्नुपर्‍यो भने ऊ आन्तरिक रूपमा एकबद्धमात्र होइन, संसद्मा पनि प्रभावकारी विपक्षी हुन्छ । प्रतिपक्षीमा रहेको कांग्रेस ‘खतरा’ हुन्छ । तर यस पटकको उसको नेतृत्वले त्यो पुरानो प्रतिपक्षीय इज्जतसमेत पखालिदिएको छ । बरु सरकारका कमजोरीबारे बाहिरबाट जेजति टिप्पणी भएका छन्, कांग्रेस ती टिप्पणीप्रति नै बेखबर भएको भान हुन्छ । जसरी सत्तालाई उसले आफ्नैमात्र हो भन्ने ठानेर बसेको थियो, त्यसरी जनतालाई पनि आफ्नै त हुन् भन्ने भ्रम उसमा अझै देखिन्छ ।


तर सभापति देउवामात्र होइन, कांग्रेस नेतृत्वका अधिकतम पुराना सदस्यको बौद्धिक समय २०४० को दशकको अन्त्यमा अड्केको छ । यतिसम्म कि नेपाली समाजमा चलेका कतिपय जीवन्त बौद्धिक बहसप्रति पनि तिनीहरू बेखबर छन् । नत पछिल्लो दशकमा स्थापित साहित्यिक लेखकलाई नै तिनीहरूले चिन्दा हुन् । तीमध्ये धेरैले सोच्दा हुन्– ‘ए, मैले नचिनेको यो कुनचाहिँ फुच्चे लेखक वा बौद्धिक आएछ, अहिले ? मैले त चिन्दिन, तसर्थ यो पक्कै कोही सिकारु होला ?’ दल भित्रको जीवन्त बौद्धिक चिन्तनले समाजका अन्य बौद्धिकलाई प्रभावमा पारेर तिनीहरूलाई आफ्नो प्रवाहमा ल्याउनुपर्ने क्षमताको त कुरै छाडौं । आफ्नै समाजको बौद्धिक प्रवाहबारे समेत ऊ आफै बेखबर छ । किनकि यसको नेतृत्वले जान्नुपर्ने कुरा २०४६ सालअघि नै जानिसकेको थियो ।


निष्कर्षमा, दुइटा संसदीय वामपन्थी पार्टीको चुनावी एकीकरणलाई वाम–क्रान्ति नै सम्पन्न भएजस्तो ठान्नुपर्ने विवशता बोकेका शुभचिन्तकको मनोदशालाई अझै वियोगान्त नै भन्न सकिन्छ । किनकि उनीहरूको त्यो मनोदशाले उनीहरूप्रति सहानुभूति जगाउँछ । तर कांग्रेस नेतृत्वको आफ्नै आदर्शबाट भएको पतन त्यो हदसम्म पुगेको छ कि उनीहरूको चुनावी पराजयको वियोगान्तमा मान्छेका करुणाका भावभन्दा ‘कमेडी’का राग नै बढी उजागर भएको हुनुपर्छ । यी सबै विशेषताको आलोकमा अहिलेको कांग्रेस एउटा वियोगान्त भनिन पनि असफल सावित भएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?