कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवेकी डाक्टरको अविवेकी चाला

डा. अरूणा उप्रेती

काठमाडौँ — केही दिनअघि मैले एउटा हिन्दी फिल्म हेरेकी थिएँ । त्यसमा निजी अस्पतालको कहलिएको डाक्टरले बढी शुल्क असुल्न बिरामीलाई बढी समय अस्पतालमा राख्दा र बेवास्ता गर्दा कसरी एक बालकको मृत्यु हुनपुग्यो भन्ने देखाइएको छ । बालककी आमा त्यो डाक्टर विरुद्ध कानुनी लडाइँ लडछिन् र अन्ततः जित्छिन् । 

विवेकी डाक्टरको अविवेकी चाला

आफ्नो पेसालाई व्यापारको रूपमा मात्र हेर्ने डाक्टर पनि छन् है भन्ने त्यसको अन्तर्य हो ।

त्यो फिल्मले मलाई सोचमग्न बनायो । नेपालमा त्यसरी पैसा कमाउनकै लागि कुनै निजी अस्पतालमा बिरामीहरूलार्ई चाहिनेभन्दा बढी समय राख्ने गरिन्छ होला ? नचाहिने महँगो जाँच गर्न र औषधि किन्न लगाइन्छ होला ? भारतका कतिपय प्रसूति गृहमा धेरै पैसा कुम्ल्याउने उद्देश्यले नचाहिने शल्यक्रिया गरेर बच्चा निकालेका जस्ता घटना नेपालमा पनि होलान् ? हाम्रामा पर्यटकहरूलाई बिग्रेको खाना दिएर बिरामी पारी हेलिकप्टरबाट उद्धार गर्ने र अस्पतालमा उपचारै नगरी बिल बनाउने ठूला अस्पतालका नामचाहिँ यदाकदा सञ्चार माध्यममा आउने गरेका छन् ।


हामीकहाँ आमा र बच्चाको स्वास्थ्य खराब हुने अवस्था नआउन्जेल निजी अस्पतालमा पनि सकेसम्म प्राकृतिक रूपमै बच्चा जन्माउन प्रेरित गरिन्छ भन्ने मलाई लाग्थ्यो । डा. लक्ष्मी तामाङले एकदिन मेरा आँखा खोलिदिइन् । मलाई चकित बनाउँदै उनले भनिन्, ‘नेपालका केही निजी अस्पतालमा ८०–९० प्रतिशतसम्म बिरामीलाई शल्यक्रिया गरिन्छ । अझ नेपालका ठूला व्यक्तिहरू जाने एउटा अन्तर्राष्ट्रिय अस्पतालमा त प्राकृतिक तरिकाले सुत्केरी हुने महिलालाई भर्ना नै लिँदैन ।


त्यो अस्पतालमा सुत्केरी गराउनु भनेको शल्यक्रिया गर्नु नै हो ।’ म सोच्थेँ— हामीकहाँ भारतमा झैँ कुनै महिलाको ‘मलाई बच्चा पाउँदा दुख्छ, त्यसैले बरु शल्यक्रिया गरेर बच्चा पाउँछु’ वा ‘लगन अनुसार बच्चा बाहिर निकाल्छु’ भन्दै बहुलट्ठी मागमा डाक्टरले चक्कु उठाइहाल्दैनन् । तर डा. तामाङले ‘तपाईको विचार गलत छ’ भन्दै मलाई केही निजी अस्पतालका तथ्यांक दिइन् ।


यो सरासर गलत अभ्यास हो । ‘म निजी अस्पतालमा पैसा तिरेर आएपछि मेरो माग अनुसार हुनुपर्छ’ भन्ने महिलालाई डाक्टर र नर्सले नचाहिने शल्यक्रिया गर्दा बालक र आमाको ज्यान जोखिममा पर्न सक्छ भनेर सम्झाउन सक्नुपर्छ । प्राकृतिक रूपले बच्चा जन्माउँदाको फाइदाबारे अर्थ्याउनुपर्छ । महिलालाई सुत्केरी गराउँदा शल्यक्रियाका लागि बाध्य पार्नु अमानवीयता हो ।


यस विषयमा कुरा हुँदा नर्स र सामाजिक कार्यकर्ता दुर्गा कार्कीले मलाई आफ्नो अनुभव सुनाउँदै भनेकी थिइन्, ‘एउटा गोष्ठीमा मैले हाम्रा निजी अस्पतालहरूमा धेरैजस्तो शल्यक्रिया गरेरै सुत्केरी गराउने किन होला भन्ने प्रश्न राखेकी थिएँ । एक स्त्रीरोग विशेषज्ञले मलाई झपार्दै भनेकी थिइन्— यो प्रश्न उठाएर तपाईंले पाप गरिरहनुभएको छ । हरेक महिलाको सुत्केरी हुँदा शल्यक्रिया गर्नैपर्छ ।’ उनका कुराले मलाई झन् रनभुल्लमा पार्‍यो । नेपालमा त्यस्ता स्त्रीरोग विशेषज्ञ कति होलान्, जसले सुत्केरी हुनु भनेकै ‘शल्यक्रिया गरेर बच्चा निकाल्नु हो’ भन्ने बुझेका छन् ।


शल्यक्रिया गरेर बच्चा जन्माउँदा सरकारी अस्पतालमा सरकारले नै शुल्क तिरिदिन्छ भने निजी अस्पतालमा चाहिँ ६०–७० हजार रुपैयाँ गन्नुपर्छ । निजीले किन यति धेरै पैसा लिएको भनी प्रश्न गर्ने, औंला उठाउने कुनै निकाय छैन । ‘कुनै अस्पतालमा ९० प्रतिशत बिरामीलाई शल्यक्रिया गरियो भने त्यो पैसाकै लागि गरिएको हो भन्ने बुझे हुन्छ,’ स्त्रीरोग विशेषज्ञ डा. गीताले सुनाइन् ।


डा. लक्ष्मी तामाङले उपलब्ध गराएका तथ्यांक हेर्दा निजी अस्पतालहरूले महिलालाई प्राकृतिक रूपले सुत्केरी गराउनुभन्दा शल्यक्रिया गराउनतर्फै बढी जोड दिएको देखिन्छ । थापाथलीको प्रसूति गृहमा सुत्केरी भएका महिलामध्ये २७ प्रतिशतको माक्र शल्यत्रिया गरिएको छ भने निजी अस्पतालमा त्यो संख्या कसरी ८०–९० प्रतिशतसम्म पुग्ने गर्छ ? यो प्रश्न विवेकी मानिने डाक्टरहरूको दिमागमा नआएको किन होला ?


डा. तामाङले अझ दुःखद सन्दर्भ सुनाइन्, ‘गर्भावस्था जँचाउन पाँचौँ महिनामा एउटा निजी अस्पताल पुगेकी महिलालाई ‘तपाईंको बच्चा उल्टो बसेको छ, त्यसैले शल्यक्रिया गर्नुपर्छ’ भनिएछ । उनी मकहाँ सोध्न आइन् । मैले ‘पाँच महिनामा सुत्केरी हुँदा शल्यक्रिया गर्ने/नगर्ने भन्ने हुँदैन’ भन्दै उनलाई प्रसूति गृहमा पठाएँ । त्यहाँ बच्चा ठिक छ भनियो । उनले ९ महिनामा प्राकृतिक रूपमै बच्चा जन्माइन् ।’


यसबाट प्रस्ट हुन्छ, निजी अस्पतालको चिकित्सालाई व्यापारमात्रै ठान्ने गरेको छ । सायद यही भएर भुक्तभोगीहरूले बिरामीको मृत्यु भयो, जटिलता आयो भने निजी अस्पताल तोडफोड गर्ने, त्यहाँका कर्मचारीलाई हातपात गर्ने गर्छन् । प्रायः यस्तो बेला प्रशासन मूकदर्शक बन्छ । अनि निजी अस्पतालले १०–२० लाख दिएर त्यो परिवारलाई शान्त पार्छ । आम मानिसलाई डाक्टरले विवेक पुर्‍याएर काम गर्छन् भन्नेमा विश्वास लाग्न छोडेको यसले देखाउँछ ।


प्रकाशित : फाल्गुन २७, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?