कश्मीरको कारुणिक अन्तर्कथा 

श्रीकृष्ण अनिरुद्ध गौतम

काठमाडौँ — गर फिरदौस बर रुये जमीं अस्त, हमी अस्तो हमी अस्तो हमी अस्त । ‘यदि धर्तीमा कहीं स्वर्ग छ भने यहीं छ, यहीं छ, यहीं छ ।’ यी पंक्ति कश्मीरको सौन्दर्यले मुग्ध फारसी सूफी कवि, गायक, संगीतकार अमीर खुसरोले त्यस भूमिको वर्णनातीत सौन्दर्यको गान गर्दै भनेका, गाएका थिए, आजभन्दा करिब सात सय वर्षपूर्व । कश्मीर छ पनि त्यस्तै मानौं धर्तीमै स्वर्ग ओर्लिए जस्तै । 

कवि कल्हणले राजतरंगिनी रचना गरेको भूमि, विशिष्ट शैव दर्शन अर्थात् कश्मीर–शैवको उद्गमस्थल, बौद्धहरूको ध्यानस्थली, हिन्दू, बौद्ध र इस्लाम तीनै आस्थाको समागम गर्ने सूफी मतको क्रीडास्थल कश्मीर, प्राकृतिक सौन्दर्यका दृष्टिले त अनुपम हो नै, आध्यात्मिक उच्चताको कर्मस्थलीसमेत रहेको हो । त्यहीं अमरनाथ गुफामा स्वयं बन्ने हिम शिवलिंगको दर्शन हुन्छ ।

झेलम नदीमा सिकाराहरू (हाउस बोट) अर्थात् पानीमा तैरिरहेका घरहरू छन्, घर नै ‘पानीजहाज’ । यो यता हाम्रा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सपनाका पानीजहाजको जस्तो दृश्य होइन, कश्मीरका जीवन्त सौन्दर्यको परिदृश्य हो । प्रधानमन्त्री ओलीको पानीजहाजको सपना कहिले, कसरी साकार होला, त्यो आफ्नो ठाउँमा छ ।

तर नेपालको राजधानी काठमाडौंदेखि आकाशमार्गबाट करिब १ हजार ७२ किलोमिटर उत्तर–पश्चिम कश्मीर उपत्यकाको शान्त झेलममा पानीमा तैरिरहेका घरहरू छन् । हिमाच्छादित पर्वतमालाले घेरिएको कश्मीर उपत्यका यस लोकमै अलौकिक प्रतीत हुन्छ । झेलमको शान्त बहावमा स्वर्गिक माधुर्य छ । कश्मीरीहरू हस्तकलामा पनि नामी छन् । कश्मीरका पश्मिना र सल विश्व प्रसिद्ध छन्, त्यहाँका स्याउको स्वाद अन्त कतै पाइँदैन ।

तर कश्मीरबारे अचेल यी विषयहरू समाचार, विश्लेषण, विचार बन्दैनन् । समाचार आतंक, हिंसा, हत्याका आउँछन् । लस्कर–ए–तयवा, जैश–ए–मोहम्मद जस्ता आतंककारी संगठनका खबर आउँछन् । युवामा फैलिँदो निराशा र त्यही निराशाको जगमा उभिएको आतंक । अचेल त्यहाँ, माथिका हरफहरूमा वर्णित प्राकृतिक सौन्दर्यजस्तै जीवन छैन । दग्ध–दग्ध आतंकित छ, जनजीवन । न त्यहाँ पर्यटकहरू ढुक्कसँग विचरण गर्दै दर्शनीय स्थलहरूको दृश्यावलोकन गर्न पाउँछन्, न झेलमका सिकारामा समय व्यतीत गर्न ।

पृथकतावादी विद्रोहीहरूले कहिले कसलाई तारो बनाउने हुन् र कहिले कसलाई बन्दी अत्तोपत्तो हुँदैन । सैनिकहरूको गस्ती, खोजतलास (सर्च अपरेसन) तथा विद्रोही र सुरक्षाकर्मीबीच हुने गोली हानाहानले कश्मीरको आत्मा पछिल्ला ७२ वर्ष त्यसमा पनि विशेष गरेर विगत ३० वर्षदेखि चिथोरिइरहेको छ । विशेष गरेर किनभने कश्मीरमाथि अत्याचार हुनथालेको कम्तीमा ६ सय वर्ष बितिसकेको छ । ६ सय वर्षको करूण कथा, फेरि कुनै बेला लेख्नेछु अवश्य । तर पछिल्ला ३० वर्षमा प्रदेशभित्रै वैमनष्य अरु चुलिएको छ ।

फागुनको पहिलो साता पुलवामामा एउटा स्तब्ध पार्ने आत्मघाती आक्रमणमा ४० भारतीय सुरक्षाकर्मी मारिएपछि कश्मीर विश्वभरका समाचार माध्यमहरूको हेडलाइन बन्यो । त्यसको ९ दिनपछि भारतीय वायु सेनाले पाकिस्तानी खैबार पख्तुनवा प्रदेशको बालकोटमा पृथकतावादी संगठन जैश–ए– मोहम्मदको प्रशिक्षण केन्द्रमा आक्रमण गरेको समाचारसँगै यसअघि चारपटक (स्वतन्त्रता लगत्तै सन् १९४७, १९६५, १९७१, यसमा भारतको प्रत्यक्ष संलग्नतामा पाकिस्तान टुक्र्याएर तत्कालीन पूर्वी पाकिस्तानलाई स्वतन्त्र बंगलादेश बनाइएको थियो र सन् १९९९ को कार्गिल) युद्ध गरिसकेका भारत र पाकिस्तानबीच अर्को युद्ध हुनसक्ने आशंकाले कश्मीर मात्र होइन, समस्त दक्षिण एसिया नै त्रस्त भयो ।

विश्व नेताहरूले भारत र पाकिस्तानलाई संयम धारण गर्न आग्रह गरे । त्यसमा पनि दक्षिण एसिया त्रस्त हुनपर्ने कारण झनै छ, किनभने भारत र पाकिस्तान दुबै आणविक शक्ति सम्पन्न देश हुन् । कथं युद्ध चर्किए यस क्षेत्रका कुनै पनि देश आफैंमा सुरक्षित रहन सक्ने अवस्था छैन । भारत–पाक बीचको वैमनष्य त्यसै पनि यस क्षेत्रको शान्ति, सुव्यवस्था र प्रगतिका निम्ति बाधक बनिआएको छ ।

भारत र पाकिस्तानबीच वैमनष्यका चल्ते दक्षिण एसियामा क्षेत्रीय सहकार्य एक प्रकारले असम्भव जस्तै छ । दक्षिण एसियायी क्षेत्रीय सहयोग संगठन (सार्क) ठट्यौलीजस्तै बनेर रहेको छ । भारत र पाकिस्तानबीच केको झैझगडा छ, किन छ भन्ने विषयलाई धेरैले केवल जुँगाको लडाइँ भन्ने गरे पनि कारण त्यतिमात्र होइन । विवादको, झैझगडा र बारम्बार उपस्थित भइरहने युद्धजन्य अवस्थाको प्रमुख कारण हो– कश्मीर र विभाजनका तुष ।

सन् १९४७ मा भारत विभाजन सँगैजसो कश्मीर कसको भन्ने प्रश्न किन उपस्थित भयो भने मुसलमान बहुल कश्मीरका राजा हिन्दू थिए । पाकिस्तानका नेताहरूको जनता मुसलमान भएपछि कश्मीर आफ्नो भूभागमा पर्नुपर्ने जिकिर रहेको थियो । तर जम्मू–कश्मीरका तत्कालीन राजा हरिसिंह भने भारत, पाकिस्तान कतै पनि नमिसिने अडान लिएर बसेका थिए । ज्ञातव्य छ, तत्कालीन भारतको विभाजन धार्मिक आधारमा भएको थियो ।

पाकिस्तानको निर्माण नै इस्लामी राज्य बनाउने प्रयोजनले भएको हुँदा हिन्दू, सिख र जैन बहुल क्षेत्रमा भारत नै कायम रहने तर मुसलमानहरूको बाहुल्य भएका क्षेत्रमा पाकिस्तान बनाइएको भनियो । अग्रिम मोर्चामा मुस्लिम लिगका नेता मोहम्मद अली जिन्ना देखिए, तर त्यो भारतका औपनिवेशिक शासकहरूले अर्थात् बेलायतीहरूले जाँदाजाँदै खेलेको अत्यन्त खतरनाक खेल थियो र त्यस खेलमा भारतीय राष्ट्रिय कांग्रेसका नेता पण्डित जवाहरलाल नेहरू पनि फँस्न पुगेका थिए ।

अन्ततः धार्मिक आस्थाका नाममा भारतको विभाजन भयो । विभाजनका कारण १० लाखभन्दा बढी मानिस मारिए । करिब ३३ लाख बेघरबार भए, अलपत्र परे । त्यस विभाजनमा भएको मानवीय क्षतिलाई इतिहासकै एउटा दुर्दान्ततम घटनाका रूपमा चित्रण गरिन्छ र त्यही घटनाले हिन्दू र मुसलमान बीचको वैमनष्यलाई संस्थागत गरेको हो भनेर मान्दा हुन्छ । किनभने भारतीय स्वतन्त्रता संग्रामको लामो यात्रामा दुबै समुदाय साथसाथै थिए, अखण्ड भारतको स्वतन्त्रता दुबैको साझा उद्देश्य थियो ।

विभाजनपछि पाकिस्तानमा जेजति बाँकी हिन्दू र सिखहरू थिए, निरन्तर प्रताडनाका सिकार भए । त्यहाँ उनीहरूको कुनै हैसियत रहेन । इस्लाम नै राज्यको धर्म र गैरइस्लाम सबै काफिर भए । त्यस्तै भारतमा रहन गएका मुसलमानहरू, कानुनी संरक्षण रहे पनि हमेशा दोस्रो दर्जाका नागरिकका रूपमा हेरिए । धार्मिक अतिवादकै कारण स्वतन्त्रताको वर्षदिन नबित्दै महात्मा गान्धीको हत्या भयो । त्यसभन्दा पहिलै स्वतन्त्रता संस्थागत हुन त कताकता, विभाजन लगत्तै पाकिस्तानले भाडाका कबाइली प्रयोग गरेर कश्मीर कब्जा गर्ने तरिका अवलम्बन गर्‍यो ।

कश्मीरलाई स्वतन्त्र राज्य राख्ने मनसुवा लिएका त्यहाँका तत्कालीन राजा हरिसिंह अत्तालिएर पाकिस्तानबाट कश्मीर बचाइमाग्न दिल्लीसँग सहयोगको याचना गर्न पुगे । पाकिस्तानको दाबी र हमला तथा हरिसिंहको भारतसँग याचनासँगै कश्मीरको भावी मानचित्र कोरिँदै थियो । भारतले कश्मीर भारतीय गणसंघमा सामेल भएमात्र पाकिस्तान विरुद्ध कारबाही गर्नसक्ने सर्त राख्यो । हरि सिंहसँग कुनै अर्को विकल्प थिएन, उनले जम्मू–कश्मीरलाई भारतीय गणसंघमा सामेल गर्ने ‘इन्सट्रुमेन्ट अफ एक्सेसन’मा हस्ताक्षर गरे । त्यस लगत्तै भारतले आफ्नो सेना परिचालन गरेर कश्मीरभित्र पसेका पाकिस्तानद्वारा भाडामा प्रयोग गरिएका कबाइली विरुद्ध कारबाही प्रारम्भ गरेको थियो ।

त्यसपछि मामिला संयुक्त राष्ट्र संघमा पुग्यो र कश्मीरमा युद्धविराम रेखा कायम भयो । त्यतिबेला जम्मू–कश्मीरको करिब एक तिहाइ भूभागमा पाकिस्तान तथा दुई तिहाइमा भारतको आधिपत्य कायम भयो । त्यही युद्धविराम रेखालाई पछि गएर नियन्त्रण रेखा (एलओसी) भन्न थालिएको हो । तर सन् १९६२ को भारत–चीन युद्धमा भारत अधीनस्थ जम्मू–कश्मीरको २० प्रतिशत भूभागमाथि चीनले आफ्नो आधिपत्य स्थापित गर्‍यो ।

अर्थात् भारत स्वतन्त्रता–ताकाको जम्मू–कश्मीरको नक्सामाथि आज तीन अलग देशको शासन छ । एक तिहाइमा पाकिस्तान, जम्मा भूभागको करिब २० प्रतिशतमा चीन र बाँकी भूभागमा भारतको शासकीय नियन्त्रण छ । अहिले जुन जम्मू–कश्मीरको बढी चर्चा हुने गर्छ, त्यो भारत अधीनस्थ कश्मीरको वस्तुस्थिति हो । तर पाकिस्तान अधीनस्थ भूभागमा बस्ने कश्मीरीहरूको अवस्था के कस्तो छ, तिनको कुनै चर्चा नै भइरहेको छैन । त्यस्तै चीन अधीनस्थ क्षेत्रमा के भइरहेको छ, त्यसबारे कुनै खोजिनिती भएको पाइँदैन ।

कश्मीर समस्याको समाधान के त ? कसले खोज्ने, परस्परमा वैमनष्य पालिरहेका, विगतमा चारपटक युद्ध गरिसकेका भारत र पाकिस्तानले आफैं खोज्छन् कि यसमा तटस्थ मध्यस्थता चाहिन्छ ? फेरि यस जटिलतामा चीन पनि अंशियार हो, किनभने जम्मू–कश्मीरको २० प्रतिशत भूभागमाथि उसैको कब्जा कायम छ । कश्मीर समस्याको स्थायी समाधान खोज्न जम्मू–कश्मीरको भूक्षेत्र, पूर्ववत अर्थात् सन् १९४७ कै अवस्था हुनु नै न्यायसंगत हुन्छ र हुनु पनि त्यही पर्छ ।

नियन्त्रण रेखाहरू मेटिनुपर्छ । तब बल्ल थाहा हुन्छ, कश्मीरको चाहना, कश्मीरीहरूको आकांक्षा । केवल भारत अधीनस्थ–कश्मीरमा समस्याको समाधान खोजेर यसको स्थायी समाधान सम्भव छैन । सम्पूर्ण अर्थात् भौगोलिक अखण्डतासहितको जम्मू–कश्मीर नै कश्मीरको समुच्च व्यक्तित्व हो । यसो हुँदा नै कश्मीरबारे गुनगुनाइने अमीर खुसरोका पंक्तिहरू सार्थक र पुनः जीवन्त हुन सक्छन् । गर फिरदौस बर रुये जमीं अस्त, हमी अस्तो हमी अस्तो हमी अस्त । अर्थात् ‘यदि धर्तीमा कहीं स्वर्ग छ भने यहीं छ, यहीं छ, यहीं छ ।’

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

एक सर्को महिलावाद

करुणा पराजुली

काठमाडौँ — बेलायतबाट फर्केपछि एक दिन म काठमाडौँमा युवा स्वरोजगारको उदाहरण दिन भनी खोलिएको चियापसलमा गएकी थिएँ । चिया मगाएपछि साहुजीले मुस्काउँदै सोधे, ‘बहिनी, चियामात्र ? चुरोट पनि दिऊँ कि ?’ मैले हाँस्दै प्रतिप्रश्न गरेँ, ‘एक वर्ष बेलायत बस्ने बित्तिकै मैले चुरोट तान्नुपर्ने हो र ?’

उनले भने, ‘होइन बहिनी, हाम्रो पसलमा थुप्रै अर्बन फेमिनिस्ट आउनुहुन्छ । उहाँहरूले फेमिनिस्ट हुन चुरोट पिउनुपर्छ भन्दै गफ गरेको मैले सुनेको छु । तपाईं पनि महिलाबारे पढ्ने, लेख्ने र बोल्ने गर्नुहुन्छ, यसो चुरोट सहितको आन्दोलन गर्न थाल्नुभो कि भनेर ।’
उनी चिया बसाल्न भान्सातर्फ लागे । म सोचमग्न भएँ ।

बेलायतमा विश्वविद्यालय पढ्दा मैले कक्षाको ब्रेक टाइममा केही युरोपेली महिला साथीहरू चुरोटको सर्को तान्दै ‘ओह, फिल्स सो एम्पावोर्ड, वी आर रिभोल्टिङ...’ भन्दै खितखिताएको धेरैपल्ट सुनेकी थिएँ । त्यतिबेला नियमित क्लासको दबाबले गर्दा यसबारे मैले गम्भीर भएर सोच्ने गरेकी थिइन । अहिले यी साहुजीको प्रश्नले मेरो दिमाग घुमाइदियो । महिला मुक्तिसँग चुरोटको सम्बन्ध छ कि छैन भनेर घोत्लिँदै जाँदा अमेरिकी समाजमा चुरोटको अर्थ राजनीति र त्यहाँका चुरोट कम्पनीले आफ्ना उत्पादन बेच्न महिला आन्दोलनलाई गरेको प्रयोग र हामीकहाँ गरिएको त्यसको सिकोसम्म पुगेँ म ।

पहिलो विश्वयुद्धपछि अमेरिका र युरोपमा जब सिपाहीहरूको रासनमै चुरोट राखियो, धूमपान गर्ने पुरुषहरूको संख्या
ह्वात्तै बढ्दै गयो । चुरोटको कारोबार पुरुषबीच मात्रै बढेको देखेपछि अमेरिकी सुर्ती कम्पनीका अध्यक्ष जर्ज वासिङ्टनहिलले सन् १९२८ मा त्यस्ता अम्मलीको संख्या बढाएर नाफा कमाउन एडवार्ड्स बर्नेसलाई बजार अभियन्ता नियुक्त गरे । आधुनिक ‘पब्लिक रिलेसन’का पिता मानिने बर्नेसले आफ्नो कौशल यही दिशामा केन्द्रित गरे ।

चुरोटको कारोबार बढाउन महिला एउटा आदर्श बजार भएको बर्नेसले बुझेका थिए । समस्या के थिया भने तत्कालीन समाजमा महिलालाई सार्वजनिक स्थानमा धूमपान गर्न वर्जित थियो । धूमपान गर्ने महिलालाई चरित्रहीन वा वेश्याको संज्ञा दिइन्थ्यो । यस्तो अवस्थामा महिलामा धूमपानको बानी विकास गर्नु चुनौतीपूर्ण थियो । बर्नेसको तिखो दिमागले यही चुनौतीबीच अवसर लुकेको देख्यो । त्यो अवसर थियो— सन् १९२० को दशकमा चलिरहेको महिला समान मताधिकारको अभियान ।

यो सामाजिक–राजनीतिक परिवेशमा महिला समानता र स्वतन्त्रतालाई चुरोटसँग जोडेर प्रचार गर्दा धूमपान गर्ने महिला बढ्ने निष्कर्ष उनले निकाले अनि ‘टर्च अफ फ्रिडम’ (स्वतन्त्रताको दियो) का रूपमा महिलाले ‘चुरोट’ पिउने अभियानको सूत्रपात गरे ।

सन् १९२९ मा न्युयोर्कमा आयोजित इस्टर आइतबारको परेडमा ‘टर्च अफ फ्रिडम’ अभियानको सुरुवात गर्दा महिलाहरूका हातहातमा प्लेकार्ड नभई ‘लक्की स्ट्राई’ नाम दिइएका चुरोटका ठुटा थिए । बर्नेसको योजना अनुरुप महिलाहरू चुरोट सल्काउँदै सडकहुँदी हिँडे । सञ्चार माध्यमलाई पहिले नै खबर गरिएकाले उक्त मार्चले देशब्यापी चर्चा बटुल्यो । कतिसम्म भने, चुरोट कम्पनीहरूले हलिउड कलाकारलाई नियमित रूपमा चुरोट सप्लाइ गर्न थाले, विज्ञापनमा खेलाउन थाले । चुरोट कम्पनी फिलिप मोरिसले त महिलाले सानका साथ कसरी चुरोट तान्ने भनेर विभिन्न राज्यमा ‘लेक्चर टुर’ नै चलायो !

उक्त मार्च कुनै पनि हिसाबले महिला समानताका लागि थिएन, थियो त चुरोटको सस्तो प्रचारबाजी । झट्ट हेर्दा पुरुषसरह महिलाले पनि समानताका लागि चुरोट पिउनुपर्छ भन्ने देखाइएको थियो । यसको अन्तर्य चुरोटको बिक्रीलाई दोब्बर गराउनु थियो । बर्नेसको योजनाले काम गर्‍यो र चुरोट बिक्री दुई सय प्रतिशतले बढ्यो । त्यो कम्पनी दुई वर्षसम्म बेस्ट सेलिङ ब्रान्ड बन्यो ।

यसबारे बर्नेसले सन् १९६५ मा निस्केको आफ्नो संस्मरण कृति ‘बायोग्राफी अफ एन आइडिया’मा ‘टर्च अफ फ्रिडम’ सुरु भएपछि कम्पनीका मालिक हिलले स्वतन्त्रताको नारा दिएपछि महिलाहरू चुरोट तान्न आकर्षित भएकाले व्यापार बढ्नु आफ्नो कम्पनीको लागि बगैंचामा सुनखानी भेटेसरह भएको अभिव्यक्ति दिएको उल्लेख गरेका छन् । बर्नेसको यो योजनाको सिको गर्दै अन्य कम्पनीले पनि चुरोटका प्रचारलाई महिला लक्षित गर्न थाले । यसरी चुरोट अर्कै ढंगले महिला स्वतन्त्रताको प्रतीक रहेको मान्यता स्थापित हुँदै गयो ।

सन् १९३० देखि १९६० सम्म अमेरिकी बजारमा एकातिर चुरोटको बिक्री बढ्दै थियो भने अर्कोतिर चिकित्सा क्षेत्रमा धूमपानले स्वास्थ्यमा पार्ने असरबारे तीव्ररूप बहस चल्दै थियो । १९६४ मा सर्जन जनरल रिपोर्टले यो बहसलाई झनै उत्कर्षमा पुर्‍याइदियो । अमेरिकी केन्द्रीय सरकारका सार्वजनिक स्वास्थ्य सम्बन्धी प्रवक्ता सर्जन जनरलको अध्यक्षतामा गरिएको सर्वेक्षण रिपोर्ट थियो त्यो ।

यसले पहिलोपटक धूमपानले क्यान्सर र मुटु रोगसँगै अन्य नकारात्मक असर निम्त्याउने तथ्य सार्वजनिक गर्‍यो । सरकारी स्तरमा जनस्वास्थ्य सम्बन्धी यस्तो गम्भीर रिपोर्ट आएपछि चुरोट कम्पनीहरूले आफ्नो व्यापार ओरालो लाग्ने खतराको पूर्वानुमान गरे । र तुरुन्तै १९६० को दशकमा चलिरहेको ‘सेकेन्ड वेभ अफ फेमिनिजम’को नामले परिचित महिला आन्दोलनको सहायता लिने जुक्ति निकाले ।

महिलामाथि हुने सांस्कृतिक तथा राजनीतिक विभेद विरुद्ध सेकेन्ड वेभ अन्तर्गत विभिन्न गतिविधि हुँदै थिए । वुमन लिबरेसनका नाममा एकातिर महिलाका प्रजनन स्वास्थ्य सम्बन्धी अधिकार र गर्भनिरोधक साधनमा सर्वसुलभ पहुँचको नारा घन्किँदै थियो भने अर्कातिर यो आन्दोलनमा ‘बेबी ब्लुमर्स’ जस्ता सम्भ्रान्त वर्गका अमेरिकी युवाको हालिमुहाली भएकाले वर्गीय पक्षधरता नभएको निष्कर्ष निकालिँदै थियो । यस्तो विरोधबीच बजार पितृसत्तात्मक रहेको विषयले विश्वव्यापी रूपमा ध्यान खिचिरहेको थियो ।

बजारमा जे बिक्छ, त्यो बेच्नुपर्छ भन्ने नारा बोक्ने पुँजीवादी मान्यताका अमेरिकी चुरोट कम्पनीले अब आफ्ना सबै उत्पादन बेच्दा बजारमा चलिरहेको वुमन लिबरेसनसँग संगतिपूर्ण हुनैपर्ने थियो । तसर्थ भर्जिनिया स्लिम्स नामक ब्रान्डले महिला केन्द्रित भर्जिनिया स्लिम्स अल्ट्रा लाइट्स र भर्जिनिया सुपर स्लिम्स नाममा चुरोट उत्पादन गर्‍यो ।

यी चुरोटको प्रचार गर्ने क्रममा सो ब्रान्डले यस्तो विज्ञापन बनायो, जसले अमेरिकी बजारमा तहल्का पिट्यो । विज्ञापनको सुरुवातमा एउटी दमित महिलालाई देखाइयो, जो पछि उक्त चुरोट तान्न सुरु गरेसँगै सहरिया, सभ्य, स्वतन्त्र र आत्मर्निभर हुँदै जान्छे । प्रचार मात्र होइन, उक्त ब्रान्डले १९७३ ताका महिला खेलाडीहरूको टुरमा आर्थिक सहयोग नै गर्‍यो । त्यो बेला अमेरिकामा महिला र पुरुष टेनिस खेलाडीबीच पारिश्रमिक र पुरस्कारमा गरिने विभेद विरुद्ध बिल्ली जिन किङ (अमेरिकी महिला टेनिस एसोसिएसनकी संस्थापक) को नेतृत्वमा सो संस्थाका महिला खेलाडीहरूले मोर्चाबन्दी गरिरहेका थिए ।

पुरुष सरह खेल्न र कमाउन सक्ने क्षमता रहेको देखाउन ती महिला विश्वब्यापी टुर गर्न चाहन्थे । यसका लागि उनीहरूसँग पर्याप्त रकम भने थिएन । एकातिर यी महिला खेलाडीहरू प्रायोजक खोजिरहेका थिए, अर्कातिर टुरमा लगानी गर्दा संसारभर सजिलै प्रचार हुने र यो मुद्दामा साथ दिँदा धेरै महिलाको समर्थन पनि पाइनेबुझ्यो, भर्जिनिया स्लिम्सले । अन्ततः उसले टुर प्रायोजन गर्ने भयो । सो टुरलाई ‘भर्जिनिया स्लिम्स सर्किट’ नामकरण गरियो ।

१९९० सम्म त्यस्ता गतिविधिले भर्जिनिया स्लिम्सको व्यापारमा टेवा पुर्‍यायो । तर १९९० पछि युवा महिलाहरूले यी चुरोटको सट्टा ‘क्राप्री’ र ‘मिस्टी’ नामका चुरोट उपभोग गर्न थाले । यसरी एकाएक घाटा बेहोर्नुपरेपछि भर्जिनिया स्लिम्स बनाउने फिलिप मोरिस कम्पनीले किन अन्य ब्रान्ड महिलाको रोजाइमा परे भन्ने बुझ्न बजार सर्वेक्षण गर्‍यो ।

भर्जिनिया स्लिम्सको तत्कालीन विज्ञापन सन्देशले १९९० दशकका युवतीको व्यक्तिगत परिचय, जागिर खोजाइको संघर्ष र युवापनको प्रतिनिधित्व नगर्ने तथ्य त्यसबाट जानकारीमा आयो । युवा महिलाहरूको निष्कर्ष थियो— भर्जिनिया स्लिम्सको पुरातनपन्थी नारा थर्ड वेभ फेमिनिजमको प्रतीक बन्न सक्दैन । यसबाट कुनै पनि वस्तुको विज्ञापन र प्रचारबाट त्यसको कसरी सामाजिक छवि बन्छ र उपभोक्तावादी संस्कार निर्माण हुन्छ भन्ने प्रस्टिन्छ ।

चुरोटबाट कसरी मानव स्वास्थ्य खस्किँदैछ भन्ने अध्ययनपछि तयार कृति ‘द सिगरेट सेन्चुरी’मा लेखक प्रोफेसर आलन ब्रान्ट भन्छन्, ‘पछिल्ला केही दशकको समीक्षा गर्दा नयाँ राजनीतिक, आर्थिक र सामाजिक परिवेश बन्दै गरेका देशमा चुरोट कम्पनीहरूले चुरोटलाई स्वतन्त्रता र प्रगतिको पासपोर्टका हिसाबले प्रचार गरिरहेका छन् ।’

हुन पनि १९९० को उदारीकरणको फाइदा लिन चुरोट कम्पनीहरूले विकसितबाट विकासोन्मुख र अविकसित मुलुकतिर डेरा सार्न थाले । त्यसको एउटा उदाहरण हो— दक्षिण अफ्रिका । त्यहाँ चलिरहेको रंगभेद विरुद्धको आन्दोलनलाई पनि चुरोट कम्पनीले प्रयोग गरे । आफ्ना विज्ञापनमा तिनले काला महिलाले गोरा पुरुषको हातबाट चुरोट खोसेको देखाए ।

चुरोटको बजार प्रबर्द्धनका बेलायती अध्येता आमान्ड आमोस र मार्गरेथा हग्लुन्डका अनुसार, चुरोट कम्पनीको आक्रामक प्रचारको प्रभाव एसियाली मुलुकहरूमा पर्‍यो । भारतीय चुरोट कम्पनीहरूले अमेरिकी सिको गर्दै पाइन्ट र टिसर्टमा चुरोट पिएकी महिला देखाए, पश्चिमी महिलाजस्तै स्वतन्त्र हुन चुरोट पिउनुपर्ने सन्देश दिँदै विज्ञापन र होडिङ बोर्ड बनाए । कतिपय बलिउड फिल्ममा अझै पनि चुरोटलाई महिला मुक्तिको संवाहकझैं देखाइएको पाइन्छ ।

‘लिपस्टिक अन्डर माई बुर्का’ त्यस्तै एउटा फिल्म हो, जसको क्लाइमेक्स सिनमा चार महिला पात्र चुरोट तान्दै गरेका देखिन्छन् । महिलावादी धार बोकेको भनी दाबी गरिएको यस्तो फिल्ममा महिला स्वतन्त्रतालाई धूमपानमा प्रतिविम्बित गर्नाले पनि समाजमा चुरोट र महिला समानता पर्यायवाची हुन् कि भन्ने गलत मनोविज्ञान निर्माण भएको छ । ‘ग्लोबलाइजेसन’ले ब्रह्माण्डै साँघुरो बनाएका बेला, विश्वव्यापी आन्दोलन, त्यसमा पनि भारतीय फिल्मका पारखी हाम्रो समाजमा यी दुबैको प्रभाव देखिनु स्वाभाविकै भयो । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार, दक्षिण एसियामा धूमपान गर्ने महिलाको संख्यामा नेपाल अगाडि छ ।

यसैलाई मानक मान्दा त लैङ्गिक समानताको सूचकमा नेपाल अन्य दक्षिण एसियाली देशभन्दा अब्बल दरिनुपर्ने थियो, किन अन्तिम तीनमा परेको छ त ?समानताका नाममा पुरुषले अपनाएको कुलत महिलाले पनि अँगाल्न पाउनुपर्छ भन्नु हास्यास्पद हुन्छ । महिला हुन् वा पुरुष, कसैलाई पनि धूमपानले हित गर्दैन । यो सर्वविदित तथ्य हो । धूमपान नितान्त व्यक्तिगत रोजाइ हुनसक्छ । पुरुषले गर्दा स्वीकार्य र महिलाले गर्दाचाहिँ हेय मानिनुचाहिँ दोहोरो मापदण्ड हो । यो प्रवृत्ति गलत हो । महिला आन्दोलनमा चुरोटको प्रभावकारी भूमिका देख्नु भनेको पुँजीवादी कम्पनीहरूले वस्तुकरण गरेको ‘टर्च अफ फ्रिडम’ जस्ता उदारवादी मुद्दालाई प्रोत्साहन गर्नुमात्र हो ।

चुरोट सामाजिक परिवर्तनको संवाहक कदापि हुन सक्दैन । धूमपान गर्दा महिला बन्धनमुक्त हुने भए, हाम्रा घरगाउँमा दाजुभाइ सबैका सामु निस्फिक्री चोलोको गोजीबाट चुरोट निकालेर एक सर्को तान्दै, घाँस–दाउरा गर्ने आमैहरूको फहिले नै मुक्ति हुने थियो ! एक सर्को महिलावादले न हाम्रा ती आमाहरूलाई बन्धनमुत्त पार्‍यो, नत आजका युवालाई नै त्यसले मुक्ति दिन सक्छ । धूमपान कुनै पनि महिलावादी आन्दोलनको पर्याय हुन सक्दैन ।

लेखक अधिवक्ता हुन्।

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्