हातेमालो गरे समृद्धि

डिला संग्रौला

काठमाडौँ — अधिकारका लागि महिलाहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै संघर्ष गरेका छन् । आज हामी अन्तर्राष्ट्रिय महिला दिवस अर्थात ८ मार्च ‘लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार’ भन्ने नारासहित मनाउँदैछौं । अझै पनि महिलाहरू आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पछाडि नै छन् ।

हरेक देशमा महिलाको पद, प्रतिष्ठा र भूमिका एवं नीति–नियममा समय–सापेक्ष केही परिवर्तन भए पनि समग्रमा राष्ट्रको मुल प्रभावीकरणमा आउनसकेको देखिँदैन । समानता, सह–अस्तित्व, प्रतिनिधित्व, अवसर र पहिचानबाट वञ्चित छन् । योदिवस मनाउँदै गर्दा उनीहरूले विगतमाखेलेको गौरवान्वित संघर्षलाई नियाल्नैपर्छ ।

विश्वका धेरै देशमा महिला र पुरुषको जनसंख्या बराबरी नै छ । धेरैजसो देशमा महिला र पुरुषबीच समान व्यवहारगरिँदैन । समाजमा विद्यमान पितृसत्तात्मक सोचमा आधारित मूल्य, मान्यताका कारण लैंगिक विभेद छ । शोषण र हिंसाका घटना बढिरहेका छन् । यिनै असमानतालाईमध्यनजर गरी आजभन्दा १०९ औं वर्षअघि समानता, न्याय, शान्ति र विकासका लागि सुरु भएको अभियानको सम्झनास्वरूप महिला अधिकारका लागि ऐक्यबद्धता जाहेर गर्न अन्तर्राष्ट्रिय महिला दिवस मनाउनथालिएको हो ।

प्राचीन र आधुनिक जातिहरूबारे अन्वेषण गर्दा आदिम समाजमा महिलाहरूको बोलवाला भएको मातृसत्ता थियो भन्ने वैज्ञानिकहरूको निष्कर्ष छ । जब उत्पादन प्रणालीमा प्रगति हुँदै गयो वा श्रम विभाजनको प्रक्रिया प्रारम्भ भयो, तब उत्पादनका साधन र स्रोतमाथिपुरुष वर्चस्व हुनपुग्यो । मातृसत्तात्मकसामूहिक समाजबाट पितृसत्तात्मक परिवारमा परिणत हुनपुग्यो ।

महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक, मनोवैज्ञानिक रूपले नियन्त्रित र उपेक्षित बन्दै गए । यिनै विभेदबाट मुक्तिका लागि विश्वभरका महिला आन्दोलित हुनपुगेको देखिन्छ । आदिम समाजदेखि आधुनिक युगसम्म आइपुग्दा पनि महिला विरुद्धको भेदभाव गम्भीर र संवेदनशील समस्याको रूपमा कायमै छ । विभेद खास कुनै एउटा भाग र समाजमा मात्र नभई सबैतिर व्याप्त छ । परिणामस्वरूप महिला र पुरुष बीचको हैसियत सामाजिक मूल्य र मान्यतामा भिन्नता आयो । यसले फुरुषलाई शक्तिशाली र महिलालाई शत्तिविहीन करार गर्‍यो ।

१९१० मार्च ८ का दिन पुरुषसरह शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार पाउनुपर्छ भन्ने सन्दर्भमा आवाज उठ्यो ।
सोही दिनलाई प्रत्येक अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन सुरु गरिएको हो । पश्चिमी मुलुक अमेरिकामा समेत महिलाले मताधिकार प्रयोग गर्न संघर्ष गर्नुपर्‍यो ।

दोस्रो विश्वयुद्धपछि अमेरिकामा महिला समूहले पुरुषसरह समान अधिकार पाउन संगठितभएर संघर्ष गरे । सबैभन्दा पहिला न्युजिल्यान्डका महिलाहरूले भोट दिन पाउने अधिकारको माग राख्दै संघर्षमा उत्रिए । १८९३ देखि मताधिकार प्राप्त गरे । १९६० र ७० को दशकमा महिला आन्दोलनले सामाजिक आन्दोलनको रूप लियो । १९६८ मा बेलायतमा कामदार महिलाहरूले घरेलु हिंसा विरुद्ध आन्दोलन गरे ।

पूर्वीय समाजमा पनि पितृसत्ताकोकारण पुरुष र महिला बीचको असमानताको खाडल बढ्दै गयो । मनुस्मृतिमा, जुन हिन्दुहरूको अत्यन्त पवित्र ग्रन्थ हो, पुरुषलेआफ्नी पत्नीलाई कहिल्यै स्वतन्त्रता दिन नहुने र बाल अवस्थामा पिता, युवा अवस्थामा पति, वृद्ध अवस्थामा पुत्र नारीका रक्षक हुन् भनी उल्लेख छ । यसरी महिला र पुरुषबीच समाजमा मूलतः पारिवारिक, राजनीतिक, सांस्कृतिक र आर्थिक हरेक क्षेत्रमा महिलामाथि विभेद राख्ने गरेको पाइन्छ ।

नेपालको सन्दर्भमा प्रजातन्त्र प्राफ्तिकोलडाइँसँगसँगै महिला अधिकार, महिलामुक्ति र सशत्तीकरणका लागि संघर्ष र आन्दोलनको सुरुवात भएको पाइन्छ । २००७, ०३६, ०४२, ०४६, २०६२/६३ सालका क्रान्तिमा महिलाहरू प्रजातन्त्र प्राप्ति र पुनः प्राप्तिका लागि संघर्षमा जुटे । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहले २००४ सालमा नेपाल महिला संघ स्थापना गरी मताधिकारका लागि प्रधानमन्त्री पद्म शमशेरकहाँ डेलिगेसन गएको इतिहास छ ।

२००४ सालमै नेतृ सहाना प्रधानको सक्रियतामा राणाशासन विरुद्ध पर्चा छर्ने काम भयो । १९७४ मा दिव्यादेवी कोइरालाको सक्रियतामा महिला समिति गठन गरी प्रजातन्त्र प्राप्ति र महिला अधिकारका लागि अर्को अभियानको प्रारम्भ गरिएको थियो । १९९८ मा योगमायादेवी न्यौपानेको नेतृत्वमा ६८ जना महिलाले जलसमाधि लिई सामाजिक सुधारको पक्षमा संगठित रूपले संघर्ष गरे । महिला अधिकारका लागि नेपालसहित विश्वभर नै ठूलठूला संघर्ष र आन्दोलन भए । फलस्वरूप महिलाले केही अधिकारका साथै राज्यको कार्यकारिणी प्रमुख पदमा आसीन हुने अवसर पाएका छन् ।

लैंगिक समस्या समाधान गर्न संविधान २०७२ ले संघ र प्रदेशमा ३३ प्रतिशत, स्थानीयमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । महिलाहरूको हक–अधिकारका विषयलाई संवैधानिक मान्यता प्रदान गरेको छ । समग्रमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा लैंगिक विभेद उनीहरूलाई हेर्ने दृष्टिकोण गरिने व्यवहार हत्या, हिंसा, बलात्कार, छाउपडी प्रथा, बोक्सी प्रथा, चेलीबेटी बेचबिखन, बहुविवाह र दाइजो प्रथाले अझै पनि नेपाली समाजमा जरो गाडेको छ ।

महिला अधिकार र नारी दिवसको नारालाई सार्थक बनाउन सरकार, समाज र नीति–नियम कार्यान्वयन गर्दै तिनलाई अशिक्षा, गरिबी र बेरोजगारीको चपेटाबाट माथि उठाई आर्थिक र सामाजिक सशक्तीकरण गर्दै राष्ट्र विकासको मूलधारमा ल्याउनसके मात्र समृद्धिको आधार तय गर्न सकिन्छ ।

लेखक नेपाली कांग्रेसकी केन्द्रीयसदस्य तथा सांसद हुन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्

चुलाचौकामा आनन्द पनि

प्रगति राई

काठमाडौँ — कहिलेकाहीं सुन्दर वस्तु पनि ज्यादै असुन्दर देखिन्छ । सौन्दर्यको मूल्यांकन वा व्याख्या यथोचित हुन नसक्दाको परिणाम हो त्यो । गलत व्याख्याका कारण असुन्दर देखिइरहेको त्यस्तै एउटा विषय हो— महिलावाद । यसलाई एकथरीले ज्यादै दुःख, कष्ट र टारेर नटर्ने दुर्घटनाको रूपमा व्याख्या गर्छन् भने अर्काथरीले ज्यादै डरलाग्दो, चाहेमा संसारै ध्वस्त पारिदिने खालको वस्तुको रूपमा । यी दुवै व्याख्या व्यावहारिक छैनन् । यिनले महिलावादलाई झन् जटिल बनाइदिने गरेका छन् । 

महिलाले धानेको संसारमा शारीरिक कष्ट अवश्य छ । त्यसमा आत्मसन्तुष्टि पनि उत्तिकै छ । यो पुरुषले आकलन गर्नसक्ने कुरा होइन । सगरमाथा चढेर आउने मानिसले कति गर्व महसुस गरेको हुन्छ, ऊ स्वयंले पनि शब्दमा व्याख्या गर्न सकिरहेको हुँदैन । उसले सगरमाथा चढ्दा पाएको दुःख देखेर टेलिभिजन हेर्नेले चिन्ता व्यक्त गरेजस्तै हो, पुरुषले महिलालाई जीवनभर दुःखी देख्नु पनि ।

महिलाले घरभित्र बस्नुमा नरद्दमाइलो छैन, दुःख छैन, बरु घर बाहिर धेरै असुरक्षा र दुःख छ । अधिकांश पुरुष जङ्गली व्यवहारबाट अझै पनि टाढा भइसकेका छैनन् । पशुले जस्तो स्त्रीमाथि जाइलाग्छन् । केही ‘मानिस’ भइसकेका पुरुषहरूले महिलामाथि पशुत्व व्यवहार गर्ने पुरुषलाई पनि पशुजस्तै खोरमा थुन्ने कानुन बनाएका छन् । यो कानुनबारे ज्ञानको अभावकै कारण अझै पनि ठाउँ–ठाउँमा यौनहिंसा भइरहेको छ । यसैले महिलाहरूलाई अपेक्षित रूपमा बाहिर आउन सजिलो छैन । महिलालाई पुरुषले बाहिर ल्याए भन्नुचाहिँ गलत हो ।

कतिपयले महिलालाई प्रतिपक्ष भन्ने गरेका छन् । घरभित्र पुरुष पनि प्रतिपक्ष नै रहन्छ । एक ठाउँको मानिसलाई अर्को ठाउँमा स्थापित हुन समय लाग्छ, पर्खनुपर्छ । घरपरिवार सम्हालेर बसेको मानिसलाई संस्था वा समाज सम्हाल्न समय लाग्छ नै । यतिखेर राजनीतिमा महिलाको उपस्थिति बढ्दो क्रममा छ । यो जमातलाई मजबुत हुन अझै समय लाग्छ । कुनै गम्भीर निर्णय गर्न महिलालाई सहयोगीको पनि उत्तिकै आवश्यकता पर्छ । यसलाई ‘सधैं’ भनेर निराकरण हुनै नसक्ने विषय मान्नु पर्दैन । ‘महिला उच्च पदमा पुगेर पनि केही गर्न सकेनन्’ भनी दिक्क मानिहाल्नु पर्दैन ।

कवि सीमा आभासले एक ठाउँ ‘समाजशास्त्र, धर्मशास्त्रले तोकिएभन्दा बिलकुलै भिन्न हुन्, आइमाई’ भनेकी छन् । आइमाई पुर्खाविहीन समुदाय भन्ने उनको उद्घोष पनि एकदम सही छ । जब गलतलाई इंगित गर्दै सही काम गरिन्न, तबसम्म गलत चीजले नै जीवन चलिरहन्छ । ती धर्मशास्त्र, समाजशास्त्र बनाउने बेला महिलाको उपस्थिति थिएन ।

यसर्थ पुरुषले आफ्ना रहर मुताबिकको शास्त्र बनाए । यी महिलामैत्री भएनन् भनी अहिले ज्ञान प्राप्त हुँदा पनि अझै तिनलाई चलाइरहनुको कारण हो— तिनलाई विस्थापित गर्नेगरी अर्को शास्त्र नआउनु । अडबंगे लाग्ने शास्त्रहरूलाई समयानुकूल संशोधन गर्न तयार नहुनु वा आँट नगर्नु र पुरातन चिन्तनको डोरी समाइरहनुमा कुनै अन्तर छैन ।

राम्रा कुरामा हाम्रो स्वर नखापिनु भनेको महिला पुर्खाविहीन मात्र होइन, समाजविहीन पनि भएको प्रमाण हो । महिला सामाजिक अभियन्ताहरू, कलमजीवीहरूले गरेका राम्रा कामको प्रशंसा हामीले नै खुला हृदयले गर्नसकेका छैनौँ । भएको संरचना भत्काउन खोज्नु, तर सुविधाजनक वस्तुको निर्माण गर्न अल्छी गर्नु सबैभन्दा ठूलो कमजोरी हो ।

संसारभरिकै पुरुषले महिलालाई दुःखी देख्छन्, जसरी पुरुषलाई महिलाले सधैं हिंस्रक र गलत देख्ने गरेका छन् । महिलाले महिला दुःखी छैनन् भनेर नलेखे–नबोलेसम्म, महिला हुनुको सुन्दरताको व्याख्या नगरेसम्म पुरुषहरूले हामीलाई दुःखी नै देखिरहनेछन्, ‘दुःखको प्रतीक’ छोरी जन्मेली भनेर चिन्तित भइरहनेछन् ।

धर्तीबाट अनाजको, आकाशबाट वर्षाको आशा गरेजस्तै महिलाबाट ममताको अपेक्षा गरिन्छ । शान्ति, सुख र आनन्दको आशा गरिन्छ । यही स्रोतलाई अर्काथरी व्याख्याताहरूले सङ्कुचनको संज्ञा दिने गरेका छन् । महिला चुलाचौकामा सीमित हुने होइन भनी तिनले आनन्दपूर्वकआफ्नो कर्म गरिरहेका महिलाहरूलाई गिजोले । तर महिलाले सम्हालेको घरको सुन्दरता,उनले पस्केर दिएको खानाको स्वाद र उनले स्याहारेको बच्चाको बालापन कति मूल्यवानछ भनी मूल्यांकन गरिएन ।

बरु यसलाई केवल दुःख साबित गर्नपट्टि लागे ती । काम गर्दा शारीरिक दुःख अवश्य हुन्छ, एकोहोरो काम गरिरहँदा कहिलेकाहीं झर्कोफर्को हुन्छ । यसैलाई दुःख भन्नुचाहिँं गलत हो । आमासँंग खाना माग्नु बालबालिकाको अधिकार हो, महिलासंँग न्यानो माया, संरक्षण र न्यानो काखको आशा गर्नु हर पुरुषको नैसर्गिक अधिकार हो । तर एकथरी जमातले महिला आमा हुनु भनेको दुःख भिर्नु हो भन्ने व्याख्या गरिदिएपछि धेरै महिलाहरू अविवाहित बसे, बसिरहेका छन् । महिलावादलाई असुन्दर यिनैले बनाइरहेका छन् ।

प्रकाशित : फाल्गुन २४, २०७५ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्