२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

किन कुबाटामा लाग्छन् केटाकेटी ?

बिना थिङ

काठमाडौँ — गत फागुन ७ गतेको एउटा घटनाले मेरो ध्यानाकर्षण गर्‍यो । घटना संवेदनशील थियो । बुढानीलकण्ठ नगरपालिका–२, भंगाल सुन्दर बस्तीमा दलित महिला उत्थान बाल शिक्षालयमा उक्त घटना भएको थियो । बसाइका हिसाबले घटनास्थल मेरो छिमेकी वडामा पर्छ । घटनामा डीआर मेमोरियल स्कुलमा कक्षा २ मा पढ्ने १२ वर्षीय समुन्द्र मल्लले होस्टलको बेडमा झुन्डिएर आत्महत्या गरेका थिए ।

समुन्द्रले लेखेको ‘सुसाइड नोट’मा आफू रमिला (परिवर्तित नाम) को कारण मरेको उल्लेख गरेका थिए । अनुसन्धान क्रममा रमिला त्यही स्कुलमा समुन्द्रभन्दा माथिल्लो कक्षामा पढ्ने रहिछन् भन्ने खुल्न आयो । उनीसँग समुन्द्रले गएको तिहारमा भाइटीकासमेत लगाएका थिए ।


उनै किशोरी दिदीबाट पर्याप्त (समुन्द्रको अपेक्षामा) प्रेम, स्नेह नपाएको झोँकमा समुन्द्रले आत्महत्याजस्तो डरलाग्दो बाटो अपनाएको देखिन आएको छ । यस्तो घटना भएको यो पहिलो भने होइन । समय–समयमा यस प्रकारका अकल्पनीय समाचार सुन्दै आएका छौं । यसले हाम्रा केटाकेटी कुन मानसिकताबाट गुज्रिरहेका छन् भन्ने प्रश्न उब्जाएको छ ।


समुन्द्रको पृष्ठभूमि बुझ्दा पक्षाघातबाट पीडित उनकी आमा गाउँमा र बाबु भारतमा छन् । त्यसैले ऊ होस्टलमा बसेर पढिरहेको थियो । यसरी परिवार, आफन्त, साथीसंगीबाट लामो समयदेखि विछोडिएको बालकले कसैको साथ, माया खोजेको थियो । तर अपेक्षा विपरीत सम्बन्धित व्यक्तिबाट बेवास्ता गरिएको अनुभूति भएपछि डिप्रेसनमा पुगेर बालकले स्वयम्लाई जुन सजाय दिएको छ, त्यो भयावह छ ।


उत्तर बाल्यावस्था (६ देखि १२ वर्ष) दुःखपूर्ण वा समस्याग्रस्त उमेर हो । यसलाई बालमनोविज्ञहरूले नाजुक उमेरका रूपमा लिन्छन् । किशोरावस्थाको संघार र यौवनावस्था जस्तो खप्टिएको उमेरमा उभिएका यस उमेरका केटाकेटीले स्वभावतः विपरीत लिङ्गीप्रति संकोच र मायाको अपेक्षा गर्न थाल्छन् । मायाको परिभाषा उनीहरूका लागि जीवन बिताउने साथी नभई आफ्ना कुरा सेयर गर्ने र आफूलाई केयर गर्ने साथीको रूपमा लिएका हुन्छन् ।


यस्तो साथी उसको आमा, बाबु, दाइ, दिदी, शिक्षक अथवा सहपाठी जो पनि हुनसक्छ । उनीहरू आफ्ना समस्या बताउन र त्यसको समाधानार्थ कोही आफ्नो निकट होस् भन्ने चाहन्छन् । जब उनीहरू यसबाट बञ्चित हुन्छन् अथवा आफूलाई बेवास्ता गरेको महसुस गर्छन्, तब उनीहरूमा इर्ष्या, नैराश्य, कुण्ठा बढ्दै जान्छ । यसको उजागर तिनले जथाभावी सामान फालेर, फुटाएर, आफ्नो शरीरमा चोट पुर्‍याएर अथवा घरबाट भागेर गर्छन् । उनीहरूमा आवेग यसरी जन्मिन्छ कि यसको पराकाष्ठा आत्महत्या पनि हुनसक्छ ।


यसको अनुभव मसँग पनि छ । एक्लै हुर्किएको केटाकेटीमा अहम् ज्यादा हुन्छ । म पनि एक्लै हुर्किएको थिएँ । ११ वर्षकी हुँदा एकपटक आमाले मेरो कुनै गल्तीमा खुब झपार्नुभयो । एक–दुई थप्पड पनि खाएँ । म सानो मान्छे । मलाई त्यो सजाय ठूलो लाग्यो । मलाई लाग्यो, यो संसारमा मेरो कोही छैन । त्यसदिन म घरबाट भागेंँ । दिनभर म घरभन्दा परको खोल्साको ह्युमपाइपभित्र लुकेंँ ।


आफूप्रतिको बेवास्ता सम्झिएर घरिघरि घुँक्क–घुँक्क रोएँ । रातिसम्मै मलाई खोज्न नआए मैले मर्ने सोच बनाएँ । त्यतिखेर त्यो मेरोलागि आफ्नो ‘इगो’ फेर्ने सबैभन्दा उत्तम माध्यम लागेको थियो । तर साँझपख आमाले मलाई भेट्टाउनुभयो । मैले आमालाई ग्वाम्लङ्ग अंँगालो हालेंँ । सायद त्यसदिन आमाले मलाई नखोज्नुभएको भए मैले कुबाटो रोज्थेंँ ।


अहिले समय, परिवेश, प्रविधिले मान्छेलाई यान्त्रिक बनाउँदै लगेको छ । यान्त्रिक समय, यान्त्रिक प्रेम ! अभिभावकसंँग केटाकेटीको लागि समय छैन । घर बाहिर गएर खेल्न केटाकेटीलाई सुरक्षाको कारण अभिभावकले मनाही गरेका छन् । स्कुल बाहेकको अतिरिक्त समय केटाकेटी कोठामा कित भिडियो गेम खेल्न बाध्य छन् कि विभिन्न वेबसाइट चहार्न ।


इन्टरनेटको प्रयोग केटाकेटीले कसरी गरिरहेका छन् ? त्यसको अनुगमन गर्न अभिभावक चुकेका छन् । केटाकेटीलाई आधारभूत आवश्यकता जस्तै– कपडा, खाना, शिक्षा उपलब्ध गराएर मात्रै हुँदैन । उनीहरूलाई त्यो संँगसँंगै प्रेम, स्नेहको आवश्यकता हुन्छ । हामी उनीहरूलाई वास्ता गर्छौं भन्ने आभास दिलाउनुपर्छ ।


विविध कारणले यस उमेरका केटाकेटीको मनमा भावना गुम्सिरहेको हुन्छ । उनीहरू त्यो पोख्न चाहन्छन् । विश्वासिलो, प्रेमिल पात्रको अभावमा केटाकेटीहरू अस्थिर हुँदै जान्छन् । उनीहरूमा आफ्ना शारीरिक परिवर्तनबारे कौतुहलता हुन्छ । प्रेम, स्नेहको अभावले हृदय र मस्तिष्कमा छटपटीको भुमरी चल्छ ।


यो संकटकालीन समयमा केटाकेटीहरू कोही यस्तो साथी बनिदेओस् भन्ने चाहन्छन्, जोसँंग यावत पारिवारिक, मानसिक उद्वेग पोख्न सकियोस् । यस्तो समस्या अझ होस्टल, बाल आश्रम, विभिन्न संस्थामा बस्ने केटाकेटीमा बढी पाइन्छ । जो विविध कारणवश आमाबाबु तथा आफन्तबाट टाढिएका छन् । तिनीहरू संस्थाको नियममा बाँधिएका हुन्छन् । बिहान उठ्नेदेखि खाने, पढ्ने, खेल्ने लगायत क्रियाकलाप सिलसिलाबद्ध र कडाइसाथ गर्नुपर्ने हुन्छ ।


एकातिर आमाबाबुको प्रेमिल काख हुँदैन, अर्कोतिर पट्यारलाग्दो बाँधिएको जीवन व्यतित गर्नुपर्दा उनीहरूले हीनताबोध गरिरहेका हुन्छन् । यस्तो नाजुक समयमा उनीहरू आफ्ना दौँतरी, अग्रज, शिक्षकहरूबाट माया चाहन्छन् । उनीहरू ती आफूले नजिक ठानेका अथवा नजिक हुन मनपराइएकाहरूलाई शारीरिक स्पर्श (हात समाएर, कपाल चलाएर, काखमा लुटपुटिएर) गरेर आफ्नो इच्छा व्यक्त गर्छन् । उनीहरूको मनोकांक्षा बुझेर दुई–चार मिठो शब्द बोलिदिए मात्रै पनि ती चङ्गा हुन्छन् । पढाइमा मन लगाउँछन् ।


अझ उनीहरूले बताउन चाहेका कुरा ध्यान दिएर सुनिदिए, समस्या समाधानमा सहयोग गरिदिए, आमाले जस्तै शारीरिक स्पर्शसहित माया दिए उनीहरू प्रफुल्ल हुन्छन् । विस्तारै उनीहरू आफैलाई पनि प्रेम गर्न थाल्छन् । उनीहरूमा जीवनप्रतिको मोह बढ्छ । प्रेमपूर्वक प्रस्तुत हुनसके केटाकेटीहरू खराब आचरण त्यागेर असल मार्गतिर हिँड्न सक्छन् ।


सामान्यतया अभिभावक, शिक्षकले केटाकेटीमा कहाँनेर समस्या छ भनी पत्ता लगाउनसके उनीहरूलाई जटिलतातिर जानबाट रोक्न सकिन्छ । तर केही केटाकेटीमा जटिल र विशिष्ट समस्या हुनसक्छ । यस्तो अवस्थामा भने परामर्शदाताहरूको सहयोग लिनुपर्ने हुन्छ । परामर्शले व्यक्तिलाई केन्द्रमा राखेर उसको समस्या पहिचानमा जोड दिन्छ । आपसी स्वीकृति, विश्वास, बुझाइले परामर्शी र बालकबीच जुन सम्बन्ध स्थापित हुन्छ, त्यसले बालकको जटिलता पहिचान पत्ता लगाउन सहयोग पुग्छ ।


परामर्श गोप्य हुने भएकाले केटाकेटीहरू निर्धक्क आफ्ना समस्या बताउँछन् । यसले गर्दा वातावरणसंँगको समायोजन र आत्माभिमुखीकरण प्रक्रियामा सहज वातावरण बन्छ । मनोवैज्ञानिक तवरबाट गरिएको उपचारले केटाकेटीमा भएको नैराश्य, आवेग नियन्त्रण गर्न सकिन्छ । तसर्थ सम्भव भएसम्म विद्यालय, छात्रावास, बाल आश्रमहरूमा परामर्शदाताको व्यवस्था गर्नुपर्छ ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?