२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

बाल विकास अभिभावकका हातमा

बालिका थपलिया

काठमाडौँ — जीवन प्रवेशको पहिलो अवस्था एकदम संवेदनशील हुन्छ । आमाको पेटमा रहँदादेखि दुई वर्षको पुग्दा शिशुमा अस्सी प्रतिशत दिमाग विकसित भइसकेको हुन्छ । दिमागको बाँकी बीस प्रतिशत विकास त्यसपछिको उमेरमा हुने गर्छ । त्यसैले त्यो अवधिलाई सुनौलो हजार दिन भनिन्छ । यी दिनलाई साँच्चिकै सुनौलो बनाउन अभिभावकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।

बाल्यावस्था हाम्रो जीवनको आकार निर्धारण गर्ने फ्रेम हो, सर्वाङगीण विकासको प्रवेशद्वार पनि हो । यो प्रवेशद्वारलाई जति राम्रो बनाउन सकियो, बालबालिकाको भविष्य त्यति नै उज्ज्वल हुने सम्भावना हुन्छ ।

बालबालिका भोलिका दिनमा हरेक कुरामा सक्षम होउन् भन्नका लागि सानैदेखि धेरै विषयमा ध्यान दिनुपर्छ ।


उनीहरूको चौतर्फी विकासका लागि खान, लाउन र स्वास्थ्य सम्बन्धी हेरचाहमात्र पर्याप्त हुँदैन । मायाममता, अन्तरक्रिया, खेलकुद, मनोरञ्जन, अवलोकन, सिर्जनशीलता आदि बाल विकासका अपरिहार्य तत्त्व हुन् । अभिभावकले बढी सावधानी ती अपांग नहोऊन् भन्नेमा पनि अपनाउनुपर्ने हुन्छ । सामान्य हेलचेक्र्याइँले पनि बालबालिकामा अपांगता निम्तिन सक्छ ।


बालबालिकाको वृद्धिको अवस्थालाई मापनका लागि त्यसलाई विभिन्न चरणमा विभाजन गरिएको छ । सबैभन्दा सुरुमा शिशुले हाँस्न सिक्छ । मुन्टो उठाउन थाल्छ । पल्टिन थाल्छ । बामे सर्छ । चिजबिज पक्रन्छ । बसेर खेल्न थाल्छ । खेलौना मनपराएर खेल्छ । हातमा परेका सबै चिजबिज चुस्न र खान खोज्छ । विभिन्न वस्तु समाउन विशेषगरी दुइटा औंलाको प्रयोग गर्छ ।


प्रायः नौ महिना पुगेपछि दाँत उम्रिन सुरु गर्छ । शिशु बामे सर्दै जतासुकै पुग्छ । सहारा लिएर उभिन खोज्छ । आमा र परिचित व्यक्तिको स्वर सुने प्रतिक्रिया देखाउँछ । एक वर्ष पुगेपछि विस्तारै हिँड्न खोज्छ । बाबा, आमा, दादा, मामाजस्ता सजिला शब्दहरू बोल्न थाल्छ । एक वर्षपछि शिशुको खुट्टा, पिठ्युँ र मस्तिष्कको वृद्धि हुन थाल्छ । अनि एक्लै घरवरिपरि हिँड्न थाल्छ । भुइँका चिजबिज टिपेर मुखमा हाल्छ । घरका सबै सदस्यसँग हाँस्न र खेल्न थाल्छ ।


दोस्रो वर्षमा प्रवेश गरेपछि शिशु अभिभावकहरूसँग नजिक हुन थाल्छ । सानो वाक्य बोल्न थाल्छ । सामान यताउता सार्छ, अनि आफ्नो सामान चिन्न र भन्न सक्छ । अरुले बोलेका सरल शब्द दोहोर्‍याउने प्रयास गर्छ । आफू नजिकको वस्तुसँग बढी खेल्छ ।

तेस्रो वर्ष लागेपछि बच्चा जिज्ञासु हुन्छ र धेरै प्रश्न सोध्न थाल्छ । नजिकका छिमेकी चिन्छ र त्यतै जान मनपराउँछ । सामान्य खेल खेल्न रुचाउँछ । सानातिना प्रश्नको उत्तर दिन सुरु गर्छ । आफ्ना खेलौनालाई माया गर्छ । खेल्ने साथी खोज्छ । अलि लामा वाक्य बोल्न थाल्छ र अभिभावकले गरेको कामको नक्कल गर्न थाल्छ ।


बच्चा चौथो वर्षमा प्रवेश गरेपछि दिसापिसाब आएको, बिरामी भएको बारे भन्न थाल्छ । आफूलाई खान मनलागेका खानेकुरा खान थाल्छ । आफै लुगा लगाउने प्रयास गर्छ । अलिअलि लेख्न र पढ्न कोसिस गर्छ । रङ चिन्छ । बच्चाको अभिव्यक्ति क्षमता विस्तारै बढ्दै जान्छ । पाँचौं वर्षमा प्रवेशसँगै साथीहरूको हुल बनाएर हिँड्न मनपराउँछ । विद्यालयमा साथीभाइमाझ भएका क्रियाकलापलाई घरमा ल्याएर सुनाउँछ ।


बालबालिकाले परिस्थिति अनुसार स्नेह, उत्सुकता, खुसी, माया, हाँसो, क्रोध, भय, शोक, इर्ष्या, चिन्ता, डर, आँसु प्रकट गर्ने गर्छन् । स्वस्थ बालबालिकाको उमेर वृद्धिसँगै विभिन्न पक्षमा वृद्धिको स्तर बढ्दै जान्छ ।


उमेर अनुसारको क्रियाकलाप भएन भने बालबालिकामा समस्या हुनसक्छ । त्यसैले अभिभावकले कुन उमेरमा बालबालिकाको कस्तो खालको वृद्धि हुनुपर्छ भन्ने जानकारी राख्नु अपरिहार्य हुन्छ । आफ्ना सन्तानले उमेर अनुसारको क्रियाकलाप गर्न सक्छन् कि सक्दैनन् भन्नेबारे अभिभावकहरू चनाखो हुनु अत्यावश्यक छ । बेलैमा कुनै समस्याको पहिचान हुनसके उपचारमा लाग्ने समय र खर्च जोगाउन सकिन्छ ।


बालबालिकाको शारीरिक, मानसिक, भाषागत जस्ता सबै पक्षमा विकास हुनु जरुरी हुन्छ । राम्रो स्वास्थ्य नै बाल विकासका लागि महत्त्वपूर्ण सर्त हो ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?