कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पाठेघरबाहिर गर्भ

डा. अरूणा उप्रेती

काठमाडौँ — २५ वर्षअघि ४२ वर्षीया महिलालाई अस्पतालमा ल्याइयो । ती महिला पेट दुखाइले आलस–तालस थिइन् । जाँच गरेपछि डाक्टरले सोधे, ‘गर्भ त रहेको थिएन ?’ ‘कसरी हुन्छ र, ३ साता अघिमात्र सुरक्षित गर्भपतन गरिएको हो,’ उनको जवाफ थियो । डाक्टरले परिवारका मानिसलाई भने, ‘एकटोपिक प्रेगनेन्सी (पाठेघर बाहिरको गर्भ) जस्तो छ । त्यो गर्भ फुटेर धेरै रगत बगेको छ । तुरुन्तै शल्यक्रिया गर्नुपर्छ ।’ तत्काल रगत प्रबन्ध गरी शल्यक्रिया गरेपछि उनको ज्यान बच्यो । 

नेपालमा धेरै किशोरी तथा महिलाले जथाभावी औषधि खाएर वा अस्पतालमा गएर गर्भपतन गराउँछन् । गर्भपतन गराउँदा उनीहरूलाई पाठेघर बाहिर गर्भ रहेको थाहा भएन र समयमा उपचार गरिएन भने मृत्यु हुनसक्छ ।


पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसंँग शारीरिक सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ सातामै गर्भपतन गराउने औषधि खाइछन् । त्यसको एक सातापछि पेट धेरै दुखेर बेहोश भइछन् । अस्पताल लगेर सोनोग्राम गर्दा थाहा भयो, उनको गर्भ गर्भनलीमा बसेको रहेछ । त्यो फुटी आन्तरिक रक्तस्राव भएर ज्यान खतरामा परेको थियो । शल्यक्रियापछि ज्यान बच्यो । किशोर जोसंँग शारीरिक सम्बन्ध भएको थियो, उसले नचिनेझैं गर्‍यो । किशोर काठमाडौंमा उच्चशिक्षा हासिल गर्दैछ । किशोरी मानसिक रोगको औषधि खाएर बसेकी छन् । उनको पढाइ पनि छुटेको छ ।


यसरी उमेर नपुगी यौन सम्पर्क राखेर जथाभावी गर्भपतन गराउँदा कति किशोरीको जीवन सिद्धिएको होला, त्यसको तथ्यांक नेपालमा छैन । समस्या आइपर्दा केटा/पुरुष भाग्छन् । कतिलाई घरका मान्छेले लुकाइदिन्छन् । जीवन र स्वास्थ्य बरबादी भोग्ने महिला र किशोरी मात्र हुन्छन् । झापामा १७ वर्षीय किशोरीको गर्भपतन गराउँदा जटिलता आएपछि किशोर भागेर भारत गएको एक शिक्षकले सुनाएका थिए । ती किशोरले नै घरमा खबर गरिदिएकाले बेलैमा उपचार भएर किशोरीको ज्यान भने जोगिएको थियो ।

गर्भपतनले कानुनी मान्यता पाउनुपर्छ भनेर म पनि लडेकी थिएँ ।


सुरक्षित भए पनि सकेसम्म गर्भपतन गराउने स्थिति आउन दिनु हुँदैन भन्नेमा म जोड दिन्छु । सुरक्षित गर्भपतन सेवा सबै ठाउँमा पुग्नुपर्छ । तर सकेसम्म गर्भपतन गराउनु नपर्ने अवस्था सिर्जना गर्नुपर्छ । सबै किशोरीलाई १५–१६ वर्षको उमेरमै यौन सम्पर्क नराख्न

शिक्षा दिनुपर्छ ।


सुरक्षित गर्भपतन गराउँदा पनि कहिलेकाहीं बढी रक्तस्राव भएर पाठेघर निकाल्नुपरेको स्त्रीरोग विशेषज्ञहरू सुनाउँछन् । कुनै १६ वर्षीया किशोरीको सुरक्षित गर्भपतन गर्दा धेरै रक्तस्राव भएर पाठेघर निकाल्नुपर्‍यो भने के हालत होला ? यसले उनको स्वास्थ्यमा मात्र होइन, विवाहपछि दाम्पत्य जीवनमै असर पर्न सक्छ ।


किशोरी गर्भवती भइहाले घरका मानिसलाई भन्न नसकी छटपटिएर मानसिक रूपमा पनि अस्वस्थ हुन सक्छन् । केही अघि काठमाडौं मेडिकल कलेजको अस्पतालमा पेट दुख्यो भनेर १७ वर्षकी किशोरीलाई राति १० बजे पुर्‍याइयो । आकास्मिक कक्षमा जाँच गराउँदा उनी गर्भवती रहिछन् । उनको रक्तचाप १८०/११० थियो । अविवाहित उनी गर्भवती भएको कुरा घरमा कसैलाई थाहा थिएन । कति कोसिस गर्दा पनि उनलाई बचाउन नसकिएको स्त्रीरोग विशेषज्ञ डा. सरस्वती पाध्यले बताइन् । सायद ती किशोरीले गर्भ रहेको १२–१३ सातामा गर्भ तुहाउने औषधि खाएकी थिइन् कि !

धेरै किशोरीले यौन सम्पर्कपछि ‘इमर्जेन्सी औषधि’ खान्छन् । यसरी जथाभावी औषधि प्रयोग गर्दा किशोरीको स्वास्थ्यमा पर्ने असरबारे विचार गर्दैन । स्वास्थ्य मन्त्रालय भने ‘इमरजेन्सी पिल’ जहिले जसरी खाए पनि हुन्छ भन्ने खबरको विज्ञापन दिन्छ । यसले किशोरीहरूको शरीर र पछि प्रजनन स्वास्थ्यमा असर गर्छ भन्ने ज्ञान गाउँघरमा पुगेको छैन । सहरमा पनि धेरै अनभिज्ञ छन् ।

स्कुलको सट्टा घुम्न गएको र आवेशमा आएर शारीरिक सम्पर्क भएपछि पछुताएका किशोरीहरू देखेकी छु । गर्भपतनको सहज उपलब्धता भएकैले किशोर–किशोरीले सहजसंँग यौन सम्पर्क राख्ने र कुनै क्लिनिकमा गई गर्भपतन गराउने गरेको धेरै तर्क

गर्छन् । तर गर्भपतनको सहज सुविधा भएकाले होइन, किशोर–किशोरीलाई राम्रो मार्गदर्शन अभावले समस्या भएको हो ।


यौन सम्पर्क नैतिकता, अनैतिकताको विषय होइन । तर किशोरीले आफ्नो स्वास्थ्य ख्याल राखेर यौन सम्पर्क नगरेकै ठिक हुन्छ । प्रेम गर्नु नराम्रो होइन । यसले जीवनमा ऊर्जा भर्नुपर्छ, जीवनलाई अघि बढाउन उत्साह दिनुपर्छ । जीवन खतम पार्न प्रेम गरिनुहुन्न । प्रेम एक जिम्मेवारी पनि हो । किशोरीले आफ्नो प्रेमी वा साथीलाई यो कुरा बुझाउन सक्नुपर्छ ।

प्रकाशित : फाल्गुन १४, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?