२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विषादीको जैविक गुणोत्तरी 

रामचन्द्र अधिकारी

काठमाडौँ — विषादीले किराहरूबाट तरकारी, अनाजलाई बचाएर मानिसलाई लाभ दिएको छ तर यसले पार्ने दूरगामी असरबाट सिंगो जीवजगत छटपटाएको छ । 

विषादीको जैविक गुणोत्तरी 

जीव जगतमा प्रवेश गरेको विषादी कहिल्यै नासिँदैन । बरु खाद्यजालमा यसको घनत्व र गाढापन झन् बढ्दै जान्छ । यो प्रक्रियालाई जैविक गुणोत्तरी (बायोम्याग्निफिकेसन) भनिन्छ । कुनै हानिकारक जीवलाई लक्षित गरी हानिएको विषादीले अरु सबै किसिमका जीव र पुरै वातावरणलाई नोक्सान गरिरहेको हुन्छ । बानीनालीलाई किराबाट जोगाइन्छ । तर उक्त विष–अंश हाम्रो जीउमा आइपुग्दा खतरनाक भइसकेको हुन्छ ।


एक अनुसन्धानले देखाए अनुसार डीडीटी विषादी छर्किंदा बाली या झारमा ०.०४ पीपीएम सोसिएको रहेछ । प्रथम उपभोक्ताको जीउमा ०.२३ पीपीएम पाइन्छ । द्वितीय उपभोक्तामा पुग्दा गाढापन बढेर २.०७ पीपीएम र तृतीय उपभोक्तामा पुग्दा १३.८ पीपीएम हुँदोरहेछ । तृतीय उपभोक्ता वर्गका सर्वाहारी मानिस, चिल, गिद्ध लगायतका चराहरूका जीउमा विषादीको

अंश औधि पाइने अन्य अनुसन्धानले पनि जनाएका छन् ।


पारो, लिड, क्याडमियम, आर्सेनिक लगायत सबै गह्रौं धातु, डीडीटी, बीएचसी, हेक्जाक्लोरोवेन्जिन, पीसीबीएस, टेक्साफेन लगायत लगभग शतप्रतिशत विषादीको बायोम्याग्निफिकेसन भएको हुन्छ । ‘साइन्स’ पत्रिकाको ३४२ औं अंकमा छापिएको एक आलेखले भनेको छ– समुद्रको पानीमा जति अंशमा पारो पाइयो, त्यसको करोडौं गुणा बढी ठूला माछाहरूमा पाइयो । यी माछा खाने मानिसमा झन् बढी मात्रामा हुने निश्चित छ । माछा र मानिसको स्वास्थ्यमा समस्या देखिएपछि जापानले सन् १९५२ मा अध्ययन गरायो ।


निष्कर्ष निस्कियो– मर्करी (पारो) को बायोम्याग्निफिकेसन भएर यस्तो समस्या आएको रहेछ । अनुसन्धानमा यो धातु मिथाइल मर्करीको रूपमा लेउमा ०.०००००३ पीपीएम, लेउ खाने किटमा ०.०४ पीपीएम, साना माछामा आइपुग्दा ०.५ पीपीएम र ठूला माछामा सो पदार्थको गाढापन दुई पीपीएम देखियो । लेउमा भएको अंश नै जीवका लागि हानिकारक हो ।


खास गरेर बोसोमा घुल्ने (लिपोफिलिक) रासायनिक पदार्थहरू कसै गरे टुक्रिँदैनन्, बरु तत्जीवको बोसोमा स्थिर प्राथमिक ‘उत्पादन’ भएर बस्छन् । अनि पुरै परिमाण माथिल्लो खाद्यसिँढी वा त्यस जीवलाई खानेमा स्थानान्तरण भइजान्छन् ।


अकार्बनिक पदार्थहरूको आयु लामो हुन्छ । त्यसमाथि विषादी बनाउन प्रयोग गरिने रासायनिक पदार्थहरू जब्बर किसिमका छन् । जैविक गुणोत्तरीका कारण यो प्रकृतिमा हराउने कुरै भएन, झन्–झन् बढेर जैविक जगतलाई असर पारिरहने समस्या छ । अनाज, बालीनाली, बागवानी, फूलबारी आदिमा विषादी छिटेर हानिकारक जीवबाट जोगाएर ढुक्क भइयो भन्नु मूर्खता हो । त्यो विषादी सोझै त्यही उत्पादनमार्फत र घुमाउरो बाटोबाट पनि मानिस लगायत अन्य जीवका जीउमा आउँछ ।


‘बायोलोजी पेज’ नामक विज्ञान पत्रिकामा छापिएको एउटा अनुसन्धानात्मक लेखका अनुसार मसिना किराहरूमा भन्दा मर्करी, लिड, डीडीटी आदिको मात्रा चराहरूमा हजारौं गुणा बेसी पाइयो । चिल, गिद्ध, बाज आदि चरा नासिनुको प्रमुख कारण पनि यही हो भन्ने विवरण अुनसन्धानकर्मीले दिए । सन् १९७२ मा अमेरिकामा डीडीटीलाई प्रतिबन्ध लगाएपछि चराको संख्या ह्वात्तै बढ्यो ।


जैविक गुणोत्तरीबाट मानिस एक नम्बरमा सिकार भएको छ, कम संख्यामा भएका र दुर्लभ मानिएका उच्च खाद्यसिँढीका जनावरहरू पनि उत्तिकै प्रताडित छन् । बाघ, सर्प, भ्यागुता, चिल, गिद्ध, भारद्वज चरा, बाज, आसामिज बाँदर, छेपारा र प्रायशः चराहरू यस प्राकृतिक जैविक प्रक्रियाको मारमा परेका छन् । विषादी जीउमा पसेपछि यसले गर्ने असरहरूमा क्यान्सर, मुटुको रोग, स्नायु प्रणालीमा गहिरो र आजीवनको असर, मृगौला खराबी, प्रजनन स्वास्थ्यमा गम्भीर असर मुख्य छन् । यिनले आनुवांशिक पदार्थको बनावटमा परिवर्तन गराई सन्ततिमा उत्परिवर्तन ल्याउँछन्, अनि त अपांगता हुन्छ ।


हाम्रा खानेकुरा विषादीमुक्त सायदै होलान् । कृषिउपज हुन् या उद्योग निर्मित खाद्य पदार्थ अधिकांशमा विषादीको अंश छ । कृषि मन्त्रालयका अनुसार नेपालमा प्रतिहेक्टर जमिनमा ०.४२ किलोग्राम विषादी प्रयोग हुने गरेको छ । भारतमा ०.५ किलोग्राम प्रतिहेक्टर र चीनमा १४ किलोग्राम प्रतिहेक्टरको दरमा कृषिमा विषादी प्रयोग हुन्छ । विकसित देशहरूमा प्रयोगदर

अझै उच्च छ ।


भारतीय मेडिकल एसोसिएसनको तथ्यांक अनुसार विश्व बजारमा पाइने चिसा पेय पदार्थमध्ये कोकमा सबैभन्दा कम अर्थात् ९.४ देखि फेन्टामा २९.१ प्रतिशतसम्म हानिकारक एवं जैविक गुणोत्तरी हुने किसिमका रसायन छन् । विश्व स्वास्थ्य संगठनले भन्छ– २.१ प्रतिशतभन्दा बेसी विषादी भए कलेजोमा गम्भीर असर गरिहाल्छ । नेपालमा प्रयोग हुने विषादीमध्ये १५ प्रकारलाई बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको छ ।


मानव लगायत जीव समुदायको रक्षा र स्वच्छ वातावरण निर्माणका लागि विषादीको प्रयोगमा न्युनीकरण गर्न जरुरी छ । होइन भने विषादी प्रयोगले जोगिएको उत्पादनको आम्दानीभन्दा स्वास्थ्य उपचारमा लाग्ने खर्च बढी हुन्छ ।


लेखक स्नातकोत्तर क्याम्पस, विराटनगरका उपप्राध्याफक हुन् ।

[email protected]


प्रकाशित : फाल्गुन १३, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?