३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उदाउँदो मधेस

मधेसको समाज विविध छ । कोसीपूर्वका मधेसको सामाजिक, आर्थिक, राजनीतिक अवस्था जुन छ त्यो गण्डक पश्चिमको छैन । कैलाली, कञ्चनपुरका युवा जे सोच्छन्, त्यो पक्कै प्रदेश दुईका थारु वा मधेसी युवाभन्दा फरक छ ।
तुलानारायण साह

काठमाडौँ — सुरुमा मधेसी युवाहरूबारे लेख्ने काम सजिलै होलाजस्तो लागेको थियो । स्वीकार गरिहालियो । लेख्दै जाँदा निकै असहज महसुस भयो । यो निकै ‘वेग’ विषयजस्तो लाग्यो । मधेसको कुन भेगको युवाबारे लेखाँै ? कुन जातको युवाका भावनालाई प्राथमिकता दिऊँ ? मधेसभित्र बसिरहेका मधेसी युवाहरूको मनोविज्ञान एकखाले महसुस हुन्छ । काठमाडौंलगायत पहाडी सहरहरूमा रहेका मधेसी युवाहरूको मनभित्र अर्कै कुरा चलिरहेको जस्तो लाग्छ । विदेशमा रहेका मधेसी युवाहरू के सोच्दा हुन् ? कसरी आफ्नो परिवार, समाज र देशबारेको सोचमा तारतम्य मिलाउँदा हुन्, खुट्याउनै गाह्रो ! 

उदाउँदो मधेस

मधेस र त्यहाँका समाजभित्र अनेक खालका विविधता छन् । कोसी पूर्वका मधेसको सामाजिक, आर्थिक, राजनीतिक अवस्था जुन छ त्यो गण्डक पश्चिमको छैन । कैलाली, कञ्चनपुरका युवाहरू जे सोच्छन् त्यो पक्कै प्रदेश नम्बर दुईका थारू वा मधेसी युवाभन्दा फरक छ जस्तो लाग्छ । पूर्वपश्चिम राजमार्ग छेउको समाज र दक्षिणी सीमासँग टाँसिएर बसेको मधेसी समाजमै बहुआयामिक भिन्नता छन् ।


जातिगत रूपमा उच्च जातका युवाको अवस्था र मधेसी दलित युवाको अवस्था, सोच सबै कुरामा आकाश–जमिनको फरक छ । राजनीतिमा सीमान्तकृत रहिआएका दलित र मुस्लिम समुदायका युवा, वर्चस्व गुमाउँदै गएका उच्च जातका युवा र वर्चस्व स्थापित गर्न खोजेका यादव एवं वैश्य समुदायका युवाको सोच र कार्यशैली साँच्चिकै विश्लेषणलायक लाग्छ । त्यसैले व्यक्तिगत रूपमा हालै अनुभूत गरेका केही अनुभवबाट विविधतायुक्त मधेसी समुदायका युवाहरूबारे लेख्ने प्रयास गर्दै छु ।


आर्थिक सबलतासँगै पलाउँदो आत्मविश्वास

लामो समयपछि केही दिन काठमाडौंको जाडो छल्नेगरी दुवै छोराहरूको बिदा मिलेको संयोग थियो । जनवरी ५ तारिखका दिन हामी सपरिबार रात्रिबस चढेर सप्तरीतिर लागेका थियौँ । मेरोसँगैको अर्को सिटमा २०/२२ वर्ष उमेरका एक युवा थिए । अनुहारको रङबाट प्रस्टै मधेसी देखिने ती युवा नेपाली छाडी मरिगए मैथिली बोल्न चाँहदैनथिए । फुर्तीका साथ छिनमै महँगो खाले चिप्स किन्थे त छिनमै पानीको बोतल । कलंकीमा पानीको बोतल किन्दा अन्तर्राष्ट्रिय कम्पनीहरू (किन्ले, एक्वा १००) को फर्माइस गरेका थिए । फुच्चे हकरले भनेको सम्झन्छु, ‘चढने बेलामा नाइट बसमा चढ्ने अनि जहाजमा पाइने किन्ले पानी खोज्ने ?’


‘जहाज चढ्न नसक्ने हो र भाइ, टिकट नपाएर पो त १’ सिट पाटनर भाइको जवाफ थियो । उसको मोबाइल महँगो खाले थियो । सिटको अगाडि ठूलो स्क्रिनको टीभी प्याकेटमा बेरिएर राखिएको थियो । त्यस टीभीले मात्र उनी अरबको कुनै देशबाट फर्केको अनुमान गर्न सघाउँथ्यो । अन्यथा उसको कुनै हाउभाउले मधेसी युवाको आभास दिँदैनथ्यो भने वैदेशिक रोजगारबाट फर्केको त झनै अनुमान गर्न सकिँदैनथ्यो ।


सुरुको एक–दुई घण्टासम्म त उनले मलाई मान्छे गनेका थिएनन् । पछि बिस्तारै हामी खुल्दै गयौँ । मेरै अग्रसरतामा घुलमिलको प्रयास हुँदै थियो । बिस्तारै थाहा भयो, कतारबाट फर्किंदै रहेछन् । त्यहाँको एउटा सुपरमार्केटमा तीन वर्ष काम गरेर फर्किरहेका थिए । काम सजिलो, सहज र तलब ठीकठाक पाएको कारण उनी निकै सन्तुष्ट थिए । आफ्नो मोबाइलमा फोटाहरू देखाउँदै भन्थे, ‘तपाईं त जानुभएको छैन होला, फोटोमा भए पनि हेरिहाल्नुहोस् ।’ नेपालको बडेबडे हाकिमभन्दा कम मस्ती छैन । तीन वर्षमा कमाएको पैसाले गाउँमा सानो पक्की घर बनाइयो, बुबाको इलाज र दाइको बिहेमा सघाइयो । आदिइत्यादि लम्बेतान उनको बखान जारी थियो ।


उनी सप्तरीको पश्चिमी भेगको एउटा गाउँका हजाम परिवारका युवा थिए । एसएलसीसम्म उत्तीर्ण गरेका उनका दुई दाजुले काठमाडौंमा सैलुन राखेका छन् । ठूलो दाइले गाउँ नजिकको चोकमा सैलुन खोलका छन् । बुबाआमा कहिले काठमाडांै त कहिले सप्तरीमा बस्ने गरेको बुझियो । गफ गर्दागर्दै उनको गन्तव्य आइपुग्यो । उनी ‘बाई’ भनेर बसबाट ओर्लिए ।


राजविराजमा एक दिन बसेपछि भोलिपल्ट आफ्नो गाउँ गोइठी जानुपर्ने थियो । तराईका सहर बजारमा इलेक्ट्रिक रिक्सा र बजाजको टुकटुक (अटो) बग्रेल्ती चढ्न पाइन्छ । एउटा अटोले तीन सय रुपैयाँमा गोइठी पुर्‍याइदिने भन्यो । चन्द्र नहरको बाटो, धूले सडकमा अटो सुस्त गतिमा गोइठीतर्फ बढ्दै थियो । चालक भाइसँग गफिन जानीजानी अगाडिको सिटमा बसेको थिएँ । करिब १८/२० वर्षका ती युवा झा थरका थिए । दाजुभाइ मिलेर अटो चलाउँदा रहेछन् । दाजुचाहिँ ३ वर्ष मलेसिया बसेर फर्केका रहेछन् । बिरामी आमाको इलाज गरिसकेर उब्रेको पैसाले किस्तामा अटो किनेका रहेछन् । चालक भाइको कलेजको पढाइ जारी रहेछ ।


केही दिनको गाउँ बसाइमा थाहा भयो । आफ्नै छरछिमेकका भाइहरू प्रशस्त अटो र रिक्सा चलाउँदा रहेछन् । दुई–चार वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका युवाहरू गाउँमै केही गरेर बस्ने योजनामा लागेका रहेछन् । भूमिहीनहरूको पहिलो प्राथमिकता घडेरी किनेर राम्रो घर बनाउने हुँदो रहेछ । घडेरी भएका तर पुराना घर भएकाहरूले पक्की घर बनाउँदा रहेछन् । गाउँका अलिक हुनेखाने घरका युवा सहर–बजारमा जग्गा जोड्ने, घर बनाउने सोच्दा रहेछन् । बालबच्चालाई राम्रो शिक्षा–दीक्षा दिने सोच सबैको पाइयो । गाउँको स्कुलबाट कोही पनि सन्तुष्ट भेटिएनन् ।


आजको मधेसी समाज सबैभन्दा बढी रेमिटयान्समा निर्भर रहेको भन्न सकिन्छ । मधेसका युवा अत्यधिक संख्यामा वैदेशिक रोजगारीमा छन् । कति मधेसी युवाहरू कुन खाले काम गर्छन् यकिन तथ्यांक पाउन गाह्रो छ । तर, वैदेशिक रोजगारमा रहेका मधेसी युवाहरूको संख्या अधिक भएकोमा कसैको विमति छैन ।


“कुराग्राफी” को यात्रा

गाउँको १० दिने बसाइपछि काठमाडौंबाट गएका मानवशास्त्री जनक राईको टोलीसँग मिसिएर सप्तरीदेखि कपिलबस्तुसम्म घुमियो । दसैँयता विराटनगरदेखि बर्दियासम्म घुमेको यो दोस्रो अवसर थियो । कुनै खास प्रश्नहरूको सेट लिएर अध्ययनमा निस्किएको थिइनँ । तैपनि निर्वाचनको एक वर्षपछि मधेसी समाजको मनोविज्ञान बुझ्ने प्रयत्न अवश्य थियो । आम मानिससँगको कुराकानीबाट गरिने अध्ययनलाई राई सरले कुराग्राफी भन्नुहुँदो रहेछ । सप्तरी–सिरहाका दलित युवाहरू राजनीतिक रूपमा संगठित हुने प्रयास गरिरहेका रहेछन् । कपिलबस्तुसम्म पुग्दा दलित अभियानमा एकनासको जागरण र जोस नरहेको देखिए पनि चेतनाको स्तर उकासिएकै पाइयो ।

पूर्वदेखि पश्चिमसम्मका दलित युवाहरूमा अध्ययनको भोक, आफ्नो समुदायको सामाजिक र राजनीतिक समस्याको विश्लेषण गर्ने र संगठित हुनुपर्ने जागरण कुनै न कुनै रूपमा छ । वैदेशिक रोजगारीबाट आउने रेमिटयान्सले आर्थिक रूपमा परनिर्भरता घटाएको देखियो । राजनीतिमा भएको आरक्षणको व्यवस्थाले उत्साहित तुल्याएको पाइयो । मुस्लिम समुदायका युवामा अलिक फरक कुरा पाइयो । आर्थिक एवं सामाजिक पक्षहरू फरक रहेको यो समुदायका युवाको मूल चासो सामुदायिक सुरक्षाको छ ।


जातीय जनसांख्यिक हिसाबले फरक–फरक समुदायका युवा फरक– फरक काममा र भावी योजनामा व्यस्त छन् । दलित र मुस्लिम समुदायको जनसंख्या मधेसमा उल्लेख्य छ, तिनीहरू काठमाडौं आवतजावत गर्छन् तर काठमाडौंको समाजमा तिनको प्रभावशाली उपस्थिति देखिएको छैन ।


काठमाडौं वा मधेसको सहर बजारमा जुन युवाको बोली सुनिन्छ, ती जातीय रूपमा उच्च एवं मध्यम जातका र वर्गीय हिसाबले हुने–खाने परिवारका शिक्षित युवा हुन् । जसले हिजोको दिनमा राजनीतिक आन्दोलनको अगुवाइमा महत्त्वपूर्ण भूमिका खेलेका थिए, आज ती तप्का एजेन्डाविहीन बनेको आभास हुन्छ । सम्भवत: त्यसै कारण जातीय हिसाबले आरोप–प्रत्यारोपमा बढी व्यस्त देखिन्छन् उनीहरू । यी समूहका मधेसी युवा मधेसको भूमिभन्दा बाहिर बढी छन् ।


यस वर्गका युवाहरूको प्रादेशिक आयाम पनि भिन्न छ । गत माघ २१ गते जनकपुरमा प्रदेशसभाको वार्षिकोत्सव समारोह भइरहेको थियो । संघीयताले मूर्तरूप लिएको एक वर्ष पुगेको त्यस दिनलाई प्रदेशसभाका सभामुख अनेक प्रकारले यादगार बनाउन व्यस्त थिए । तर, आम मानिसका लागि त्यो चासोको विषय बनेको पाइएन । त्यसताका साता दिनदेखि म जनकपुरमै थिएँ । आम मानिसमा प्रदेशसभाको वार्षिक उत्सवभन्दा नेपालगन्जमा राममनोहर यादवको श्रद्धाञ्जलीबारे बढी चासो थियो । माघ १९ को शनिबार काठमाडौं पोस्टले राममनोहर यादवको मृत्यु र महिनौंदेखि अस्पतालमा राखिएको लासबारे लामो आलेख प्रकाशित गरेको थियो । मैले उल्लेख गरेको मध्यमवर्गीय परिवारका पढे–लेखेका युवाहरू सोसल मिडियामा त्यसबारेको बहसमा केन्द्रित थिए । माघ २१ गते नेपालगन्जका युवा र प्रहरीबीच राममनोहरको लासलाई लिएर लामो रस्साकस्सी भएको थियो, जुन कुरा जनकपुरका युवाहरूबीच पनि चासोको विषय बनेको थियो । यो र यस्तै अरू घटनाबाट देखिन्छ, मधेसका युवाको ठूलो हिस्सा वर्तमान राष्ट्रिय राजनीतिसँग आक्रोशित, मधेसी राजनीतिसँग असन्तुष्ट छन् । गएको १०/१२ वर्षमा मधेसमा नयाँ राजनीतिक समूहको उदय भएको छ । जातीय हिसाबले यादव र वैश्य समुदायका मानिस चुनावी राजनीतिमा पकड जमाउन पुगेका छन् । परम्परादेखि अगुवाइ गरिआएका उच्च जातका मानिसहरूले निर्वाचनमा कम जिते पनि राजनीति हाँक्ने, नीति निर्माण र स्रोतमाथिको नियन्त्रणमा आफ्नो वर्चस्व कायमै राखेका छन् । त्यस तप्काका युवाहरू पालिकादेखि प्रदेश हुँदै केन्द्रसम्मको राजनीति नेतृत्वको आसपास रहेर बजेट परिचालन र व्यवस्थापनमा बढी व्यस्त छन् । यस पटकको यात्रामा अनेक नयाँ पाटाहरूबारे बुझ्न पाइयो । मधेसी समाजभित्रका हुन खोजेका अनेक परिवर्तन महसुस गरियो । अनेक स्कुल जाँदा केटाभन्दा केटी विद्यार्थीको संख्या ज्यादा देखियो । सहर बजारमा सिर्जनशील युवा पनि भेटिए ।

पूर्वपश्चिम राजमार्ग छेउछाउका युवाहरू बढी क्रियाशील र रचनात्मक रहेको अनुभव भयो । दक्षिणी सीमाक्षेत्रमा वारिपारि ओसारपोसार कारोबार प्रशस्त हुने भएकाले त्यस भेगका युवाहरूमा त्यसको प्रभाव प्रस्टै देख्न पाइन्छ ।

नेपालगन्जका मुस्लिम युवा सहरको आर्थिक अवस्था, परिवर्तित सन्दर्भमा त्यसमा देखिने परिवर्तन र आगामी दिनका चुनौतीबारे गम्भीरतापूर्वक चिरफारमा व्यस्त देखिए । कैलालीदेखि सुनसरीसम्मका थारू युवामा जुझारुपन पुनर्ताजगी गर्ने गम्भीर प्रयास भइरहेको थियो । दलितहरूमा चेत विकास, मुस्लिममा सुरक्षाबारे विशेष चासो र राजनीतिमा ठाउँ खोजी, थारू युवामा विगतको आन्दोलनको पुनरावलोकन गर्दै भविष्यको बाटा पहिल्याउने चिन्तन समाजका लागि निकै राम्रा संकेत हुन् ।


फर्केर फेरि काठमाडौंका कुरा

मिथिलादेखि अबधसम्म सरसर्ती घुमेपछि काठमाडौं फर्किनासाथ यहाँका विभिन्न कलेजमा अध्ययनरत मधेसी युवासँग भेटघाटको अवसर जुर्‍यो । दुइटा प्राविधिक कलेजमा अध्ययनरत ती विद्यार्थी आफ्नो छुट्टै संस्था मार्फत सरस्वती पूजाको भव्य तयारीमा व्यस्त थिए । काठमाडांैका मधेसी युवा आफ्नो समाजको वर्तमान अवस्था र समस्याबारे के सोच्दा रहेछन् भनेर बुझ्नु मेरो चासोको विषय थियो । ‘तपाईंहरूको संस्थाले सरस्वती पूजाबाहेक के–के गर्छ ?’ मेरो प्रश्न थियो ।


एकाध सामान्य गतिविधिबाहेक ती युवा खासै केही गर्दा रहेनछन् । आफ्नै उमेर समूहका अन्य मधेसी युवाको अवस्थाबारे खासै जानकार पनि थिएनन् उनीहरू । औपचारिक खालका केही कार्यक्रमहरूबाहेक कम्तीमा मधेसी समाजमा शिक्षा सम्बद्ध समस्या, युवा सम्बन्धित समस्याबारे केही जानकारी होला भन्ने मेरो आशामा तुषारापात भयो । मधेसको शिक्षाका आधारभूत समस्याहरू, गौरवशाली विगतबारे ती सरस्वती पूजामा व्यस्त युवाहरू अनभिज्ञ थिए ।


सन् १९९१ मा सबैभन्दा कम १० साक्षर जिल्लामा मधेसका केवल २ वटा थिए । सन् २००१ म त्यस्तो जिल्लाको संख्या बढेर ४ वटा भए । सन् २०११ मा ६ वटा पुगे । संयोगले यी सबै जिल्लाहरू प्रदेश नम्बर २ का छन् । मधेसमा विद्याकी देवी सरस्वतीलाई पूजा गर्ने चलन बढ्दै जानु तर जिल्लाहरूको शैक्षिक अवस्था खस्किँदै जानुको भेद के होला ? किन र कसरी यस्तो भएको होला ? मेरो यही प्रश्नले ती विद्यार्थी भाइबहिनीहरू अवाक बनेका थिए । सरस्वती पूजाप्रति मेरो विरोध होइन । काठमाडौंमा बसेका मधेसी युवा कस्ता काम गर्दै छन् भन्ने मेरो सवाल हो ।


काठमाडौंमा बस्ने अवसर पाएका मधेसी युवा सर्वजातीय छन् तर लेखपढमा लागेकाहरू भने मधेसी समाजभित्रको खास वर्ग र तप्काका अध्यधिक छन् । यहाँका मधेसी युवाहरू कि त यतै बसोबास थालेका परिबारका छोराछोरी छन्् नभए मधेसका हुनेखाने परिवारका हुन् । यी युवाहरू स्वयं या यिनका परिवारले काठमाडौंसँगको सम्पर्क बनाउने सिलसिलामा पहिचान–वेशभूषा, भाषा, संस्कृतिजन्य विभेद बारम्बार भोगेका छन् । यी युवालाई मधेसी समस्याबारे जे जानकारी छ, त्यो विगत १०/१२ वर्षको आन्दोलनमय वातावारणका बीचमा निर्माण भएको हो । यिनलाई सम्मान र स्वाभिमानका लागि संगठित भइराख्नुपर्छ भन्ने चेत छ तर सकेसम्म उच्च शिक्षाका लागि विदेश जान पाए हुन्थ्यो भने चाहना पनि उत्तिकै छ ।


उसो त, काठमाडौंमा रहेका मधेसी युवा केवल सरस्वती पूजामा मात्र व्यस्त रहँदैनन् । झन्डै दुई वर्षअघि, रौतहट र पर्सा जिल्ला घर भएका दुई युवा मिलेरै एकसाथ मलाई फोन गरेका थिए । भेटघाटका लागि समय मागेका थिए । उनीहरू शाखा अधिकृतमा लोकसेवा उत्तीर्ण गरेर स्टाफ कलेजमा तालिमरत रहेछन्, बेलुका ५ बजेपछि मात्र भेट्न सक्ने । उनीहरूले ‘तपाईंसँग खुसी साट्न’ भेट्न चाहेको भनेपछि हामीले भेटघाटको समय मिलायौँ ।


उक्त भेटघाट मेरा लागि अविस्मरणीय रह्यो । तीमध्ये एक २५ वर्ष हाराहारीका थिए । अर्का एक–दुई वर्ष कमका । पारिवारिक पृष्ठभुमिका हिसाबले एक जना सानो पसल चलाउने परिवारका सन्तान थिए भने अर्को सानो किसान परिवारका । दुवैले पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेका थिए । ती युवाको भनाइअनुसार २०६५ यता सुरु भएको आरक्षण र लोकसेवाको पाठ्यक्रममा गरिएको परिवर्तनले मधेसका युवायुवतीमा सरकारी सेवाप्रति आकर्षण बढ्दो छ । उपत्यकामा जताततै खुलेका होस्टलले त्यस्ताखाले युवालाई परीक्षा तयारीमा सहज बनाएको छ । कोचिङ सेन्टरहरूमा मधेसी युवाहरूको भीडबाट बुझ्न सकिन्छ तिनीहरू के चाहन्छन् । ती भाइहरूले भन्दै थिए– हेर्दै जानुहोला, आगामी १० वर्षमा सरकारी सेवामा मधेसी युवायुवतीको अवस्था बदलिनेछ तर परीक्षाको पाठ्यक्रममा कुनै षड्यन्त्र गरेनन् भने ।


काठमाडौंको बागबजार, डिल्लीबजार, पुतलीसडक, थापाथली, कुपण्डोल क्षेत्रमा रहेका कोचिङ सेन्टर र होस्टलहरूमा मधेसी युवतीहरूको पनि भीड देखिन्छ । बीपी राजमार्ग बनेपछि र काठमाडौंमा महिला छात्राबास खुलेपछि पूर्वी मधेसका युवतीहरूलाई काठमाडौंमा बस्न निकै सहज भएको छ ।


मलाई पनि लाग्छ, काठमाडौंमा मधेसीको अवस्था अब त्यो रहेन, जतिबेला भेटघाटका लागि न्युरोडको पीपलबोट धाउनुपथ्र्यो र आफ्नो फरक पहिचान देखाउन कृष्णजन्माष्टमी र सरस्वती पूजा गर्नुपर्ने बाध्यता थियो । आज काठमाडांैको मुटु मानिने रानीपोखरीदेखि विभिन्न तालतलैयामा मधेसीहरू छठ मनाउँछन्, खुलामञ्चमा होली खेल्छन् । काठमाडौंमा मधेसीको यो अवस्था पुग्नमा तत्समयका युवाहरूको संघर्ष प्रशंसनीय छ ।


काठमाडौंमा रहेका मधेसका गरिखाने परिवारका युवाहरू जो निर्माण कार्यमा मजदुरी गर्छन्, साइकलमा खुद्रे तरकारीको ब्यापार गर्छन्, पुराना कागज र खाली बोतल जम्मा पार्छन्, सैलुनमा कपाल काट्ने काम गर्छन् वा वैदेशिक रोजगारमा जाने वा आउने क्रममा यहाँ बसेका हुन्छन्, ती युवाहरूको समस्या समाधानका लागि खासै पहल भएको पाइँदैन् । तिनका लागि न त कुनै राजनीतिक संगठनले विशेष संयन्त्र निर्माण गरेको छ, न त कुनै युवा समूहले नै केही गरेको देखिन्छ ।


देशबाहिरका मधेसी युवा

देशभित्र पहाड र मधेसमा मात्र बस्ने युुवाबारे मात्र सोचेर पुग्दैन । विदेशमा पनि मधेसी युवा बस्छन् । तिनीहरूको सोच वा क्रियाकलापबारे चर्चा नगरी यो आलेख अधुरो हुनेछ ।


विदेशमा मधेसी युवा सबैभन्दा बढी अरब र मलेसियामा बस्दा रहेछन् । पहिले यो समूह भारतको पन्जाब, हरियाणामा गएर मौसमी मजदुर भएर काम गर्थे । अचेल भारतमा भन्दा अरब र मलेसियामा ज्यादा जाने रहेछन् । भारतमा कति संख्यामा कुन समुदायका नेपालीहरू बस्छन्, त्यसको यकिन तथ्यांक छैन ।


भारतमा मजदुरी गरिखाने मधेसी युवा कुनै सामाजिक गतिविधिमा सक्रिय होलान्जस्तो लाग्दैन । तर, दुई वर्षअघि नयाँ दिल्ली जाँदा पाएको थिएँ— त्यहाँका विभिन्न विश्वविद्यालय/कलेज अध्ययनरत मधेसी विद्यार्थी मधेसी पहिचानबारे निकै सजग थिए । नेपालमा भइरहेका राजनीतिक गतिविधिहरूबारे आफूलाई अद्यावधिक राख्थे । देशभित्र जारी संघर्षलाई साथ दिने प्रकारका ऐक्यबद्धतामूलक अनेक गतिविधिहरू गर्थे । संविधान निर्माणको अवधिमा दिल्लीमा रहेका मधेसी युवाले अनेकौँ राजनीतिक गतिविधि गरेको सोसल मिडियाबाट बुझिन्थ्यो । पतनीहरूले छुट्टै संस्था नै बनाएका छन् ।


अरबका देशहरूमा वैदेशिक रोजगारमा रहेका मधेसी युवा विभिन्न पेसाका छन् । त्यहाँ मजदुरीको काम गर्ने युवाहरू पनि संगठित भएका छन् । नभएका ठाउँमा त्यसको प्रयासमा लागेको सुनिन्छ । विभिन्न राजनीतिक दल/संगठनहरूको भ्रातृ संस्थाको रूपमा विकास गर्दै छन् । अनेक संगठनका लागि लेबी जम्मा गरेर मधेसमा पठाउने गरेका छन् । विभिन्न सांस्कृतिक गतिविधि आयोजना गर्ने गर्छन् ।


दशकअघिसम्म काठमाडौंमा मधेसीहरूजस्तो गतिविधिमा केन्द्रित थिए, अरब र मलेसियामा आज त्योभन्दा परिपक्व खालका गतिविधि भइरहेका छन् । त्यहाँबाट फर्केर आउनेहरू मधेसमै पनि केही रचनात्मक काम गर्ने प्रयास भएको देखिन्छ । यसरी वैदेशिक रोजगारमा जानेहरू त्यहाँ बस्दा दु:ख मात्र गर्दैनन्, पैसा मात्र कमाउँदैनन् बरु सीप, आत्मविश्वास र रचनात्मक गुण पनि लिएर मधेस फर्किने गर्छन् ।


भारत, अरब र मलेसियाबाहेक अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियामा सीमित संख्यामा मधेसी युवा बस्ने गरेका छन् । कठिन संघर्ष गरेर अध्ययन गरिरहेका ती युवाले केही वर्षअघिसम्म छुट्टै पहिचानका लागि सोच्ने अवस्था थिएन । तर, २०६३ को मधेस आन्दोलनपछि सबैभन्दा पहिला अमेरिकामा रहेका मधेसी युवाले संगठित हुने प्रयास गरे । जो अहिले अनेक टुटफुटका बाबजुद निरन्तर अघि बढ्दै छ । तिनीहरू निकै सक्रिय छन् र मधेसी पहिचान फैलाउने सवालमा विभिन्न गतिविधिहरू गरिरहेका छन् । अन्य देशहरूमा रहेका मधेसी युवाको प्रयास जारी छ ।


समग्रमा, नेपालबाहिरका मधेसी युवा सांख्यिक सीमितताका बाबजुद आफ्नो ‘करिअर’ र मधेसी पहिचानका लागि एकसाथ संघर्षरत छन् ।

प्रकाशित : फाल्गुन ८, २०७५ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?