रोहित किन रैता बन्छ ?

केशव दाहाल

काठमाडौँ — ओली सरकारले एक वर्ष पुरा गरेको छ । यही उपलक्ष्यमा दुइटा प्रश्न सोध्न चाहन्छु । पहिलो, सरकार तपाईलाई थाहा छ, रोहित किन रैता बन्छ ? यो मधेसमा माटो काट्दै हिँड्ने सबैभन्दा गरिब मुसहरहरूको प्रश्न हो । मुसहरहरू भूमिहीन छन्, तर किसान हुन् । हाम्रो समाजमा यस्ता प्रश्न अनगिन्ती छन् । जसलाई सुनेर माथि तपाई हाँस्नुहुन्छ ।

तपाईंको रेल, जहाज, लोकतन्त्र र समृद्धिको रोमाञ्चक कुरा सुनेर तल उनीहरू हाँस्छन् । उनीहरू भुइँमा छन् । धुलोमा छन् । भोकमा छन् । विभेदमा छन् । माथि र तलको हाँसो, खुसी र दु:खका आ–आफ्नै लयलाई एक वर्षमा सरकारले कसरी एकाकार गर्‍यो ? यो सरकारलाई दोस्रो प्रश्न ।

गत माघ पहिलो साता बर्दिबासका केही अगुवासँंग भेटघाट भयो । मैले सोधेँ, ‘साथीहरू, गाउँमा लोकतन्त्रले कसरी काम गर्दैछ ?’ एकजना मित्रले मेरो प्रश्नमाथि व्यंग्य गर्दै उल्टो सोधे, ‘के हो लोकतन्त्र ? कहाँ छ, सरकार ? धेरै ठूलो कुरा नगरौं । मधेसमा रोहित किन रैता बन्छ, थाहा छ ?’ कुराको चुरो त्यसपछि फुक्दै गयो ।

मधेसमा मेला, उत्सव र पर्वमा नाटक देखाउने चलन छ । कुनै बेला बर्दिबासको कुनै गाउँमा एउटा नाटक प्रदर्शन भयो । सत्यहरिश्चन्द्र । नाटकमा एउटा पात्र थियो, रोहित । रोहितको चरित्र मनमोहक थियो । नाटक हेरेपछि एकजना मुसहर युवालाई लाग्यो, ‘मेरो छोराको नाम रोहित राख्छु ।’ उसले आफ्नो हुनेवाला पुत्र रोहितका नाममा अनेक सपना देख्यो– स्कुल ब्याग च्यापेर टाई हल्लाउँदै स्कुल गएको, सानो टिफिन बट्टाबाट खाजा निकालेर खाएको, बगैंचामा डुलेको, वकिल बनेको । संयोग, उसको मालिकको पनि सन्तान हुँदै थियो । अन्तत: दुबैका सन्तान भए । एकै महिना । दुबैले पुत्र प्राप्त गरे । जब आफ्नो छोराको नाम रोहित राख्ने दिन आयो, मुसहर युवाले थाहा पायो, मालिकले उसको छोराको नाम रोहित राखिसकेछ ।

एकजना मुसहर र आफ्नै मालिकको छोराको नाम कसरी एउटै राख्नु ? मुसहर युवाले आफ्नो छोराको नाम रैता राख्यो । रैता, जो कहिल्यै बोर्डिङ स्कुल जाने छैन । वकिल बन्ने छैन । यो हाम्रो लोकतन्त्र भित्रको निर्मम सत्य हो । आज पनि मधेसमा मुसहरहरूलाई नवलकिशोर, जुगल किशोर र युगल किशोर भनेर बोलाइँदैन । उनीहरूको नाम हुन्छ– नब्ला, जुग्ला, जुग्ले, युग्ला । सरकार हाम्रो लोकतन्त्रमा किन युगल– युग्ले बन्छ ? जुगल– जुग्ले बन्छ ? रोहित– रैता बन्छ ? महोत्तरीमा क्रियाशील एकजना सामाजिक कार्यकर्ता भन्छन्, ‘सरकारको एक वर्ष रैताहरूका लागि फगत भ्रम हो ।’

टिकापुरका एक सज्जनले भने, ‘सरकारको एक वर्ष धेरै समय होइन । थोरै समय पनि होइन ।’ उनको आशय थियो, ‘समस्या छिमल्न एक वर्ष कम हो । तर समस्या देख्न एक वर्ष काफी हो ।’ उनको भनाइलाई आधार मानी सरकारलाई प्रश्न गरौं, के बितेको एक वर्षमा सिंहदरबार र गाउँको देखाभेट भयो ? के गाउँले सिंहदरबार देख्यो ? के सिंहदरबारले गाउँ देख्यो ? कैलालीका गाउँले भन्छन्, ‘गाउँघरतिर तरकारी बारीमा डोजर चलाएको नदेख्ने सिंहदरबारले रेलको कुरा गर्नु लोकतन्त्रकै अपमान हो ।’ सिंहदरबारमाथि यो निकै गम्भीर आरोप हो । जसलाई सिंहदरबारले चिर्न सकेन ।

सिंहदरबारकै थप कुरा गरौं । जस्तो दृश्यमा सिंहदरबार छ । सेतो, कञ्चन, सफा र विशाल दरबार । भित्र पस्न भब्य गेटहरू छन् । गेटमा सुरक्षा जाँच छ । जहाँ प्रधानमन्त्री, मन्त्री, मन्त्रालय र आयोग छन् । अनेक नाम र गोत्रका पदाधिकारी छन् । उनीहरूका दर्जनौं सल्लाहकार छन् । सचिव छन् । सेवक छन् । चम्चा र चाकर छन् । उनीहरू त्यो ठूलो गेट पार गर्दै हरेक दिन भित्र–बाहिर गर्छन् । उनीहरूसँंग चिल्ला गाडी छन् । उनीहरू तलब लिन्छन् । भत्ता लिन्छन् । घरभाडा लिन्छन् । तेल लिन्छन् । विदेश घुम्छन् । चञ्चलासिरी छ, उनीहरूलाई । प्रश्न गरौं कि को हुन्, ती मान्छे ? किन सिंहदरबारबाट प्रत्येक दिन भित्र–बाहिर गर्छन् ? किन उनीहरूलाई चिल्ला गाडी, सहयोगी र सेवक उपलब्ध छन् ? यी मान्छे के गर्छन्, त्यहाँ ? उनीहरूले दिएको परिणाम खै ?

गाउँको दृश्य अर्कै छ । मैलोधैलो बाटो छ । फुस्रा मान्छे छन् । काम छैन । खेतमा राम्रो उब्जनी हुँदैन । युवा यात बेरोजगार छन् वा विदेशमा छन् । बस्तीमा भोक छ । बाटोमा थोत्रा गाडीमात्र चल्छन् । एम्बुलेन्स छैन । डाक्टर छैन । पढाइ छैन । बढी पीडित छन् । छुवाछूत पीडित छन् । दाइजो पीडित छन् । निम्छरा मान्छे प्रत्येक दिन जिउँदै अपमानको विष पिउँछन् । केही अगाडिमात्र यही सरहदभित्र एकजना आमाले आफ्ना दुई छोरासहित आत्महत्या गरिन् । भोक र गरिबीले । भाग्यवश एउटा छोरा बाँच्यो । किन यस्तो दुर्दशा छ, भुइँमा ? भुइँमा गुनासो छ कि सिंहदरबारले गाउँको भोक, गरिबी र अभावलाई जहिलेसम्म देख्दैन, लोकतन्त्र फगत शासकहरूको रामराज्य मात्र हुन्छ ।

सिंहदरबार र गाउँको दूरी किन यति धेरै ? सायद हाम्रो समाजवादमा भ्रम छ । राजनीतिमा विचार र व्यवहारको संकट छ । हुनसक्छ, हाम्रा नेताहरूले काम कहाँबाट थाल्ने र के परिणाम निकाल्ने भेउ पाउन सकेनन् । यो क्षमताको ‘क्राइसिस’ होला । सरकारको सांस्कृतिक चेत र मानवीय संवेदनशीलता पनि कमजोर देखिन्छ । सरकारले प्राथमिकता निर्धारण गर्नै सकेन । नेताहरूको प्रतिबद्धतामा पनि प्रश्न छन् । केही अगाडि हाम्रा प्रधानमन्त्रीले भनेथे कि ‘भ्रष्टाचामा शून्य सहनशीलता’ । यो एक वर्षमा सुशासनका लागि कति काम गरिए ? सरकारी दलकै एकजना कार्यकर्ता भन्छन्, ‘सिंहदरबार स्वयं भ्रष्टाचारको अखडा हो ।’ उनको भनाइ थियो, ‘एनसेल, वाइड बडी र बुढीगण्डकीका ठूला माछा त्यतै बस्छन् ।’

भुइँका मान्छेको सिंहदरबारसँंग विश्वास सकिँदैछ । त्यो ठूलो दरबार आसेपासेको अखडा बन्दैछ । यस्तो लाग्छ, सिंहदरबारको समाजवाद ‘क्रोनी सोसलिजम’ हो । जस्तो क्रोनी क्यापिटालिजम । आसेपासे समाजवाद । लोकतन्त्रमा सरकारका नातेदार र आसेपासेलाई रजगज छ । उनीहरू गाडी ठग्छन् । तेल ठग्छन् । कमिसन मिलाउँछन् । महंँगी चुलिँदो छ । जनता भने मारमा छन् । प्रश्न गरौं, के हाम्रो सिंहदरबारले भोको पेटमा आत्महत्या गर्ने आमालाई चिनेको छ ? के मधेसतिर माटो काट्दै हिँड्ने गरिब जुग्लुलाई चिनेको छ ? रैतालाई चिनेको छ ? अन्यथा सरकारको एक वर्ष मात्र अहंकारको हो ।

संसारभर लोकतन्त्रका सफलता र असफलतामाथि विमर्श भइरहेका छन् । विश्लेषकहरू भन्छन्, राजनीतिक विचार, प्रणाली र ज्ञानको गतिशीलता रोकिनु हुँदैन । यो निरन्तर समृद्ध हुँदै जानुपर्छ । त्यो खुला हुनुपर्छ । समाजको गतिलाई यसले समाउँदै अगाडि बढ्नुपर्छ । समाज र राजनीतिको गति थोरै पनि अघिपछि भयो भने यात राजनीति बिग्रिन्छ या समाज पछाडि पर्छ । समाजका सपनाहरूको सन्तुलित व्यवस्थापन सरकारको सफलताको मुख्य कडी हो । लोकतन्त्रले बागी विचारलाई सुन्नुपर्छ । लोकतन्त्र भुइँतिर फर्किनुपर्छ । अनि मात्र लोकतन्त्र न्यायपूर्ण हुन्छ । प्रगतिशील हुन्छ ।

एउटा निर्मम तथ्य सम्झाऊँ । संस्थापन विचार र व्यवहारमा चुक्दै जाँदा लोकतन्त्र स्वयं दक्षिणपन्थको मतियार बन्छ । जस्तो– अमेरिकामा काला र मेक्सिकन आप्रवासी विरुद्धको मुद्दा प्रभावशाली हुँदैछ । गोरा अमेरिकनको पक्षमा जसले चर्को कुरा गर्‍यो, त्यो प्रभावशाली ।

भारतको संस्थापनले हिन्दुत्वको मुद्दालाई उठाउँदैछ । ऊ आफ्नो सत्ता संकटलाई टार्न कहिलेकाहीं पाकिस्तानको मुद्दालाई अगाडि ल्याउँछ । युरोपमा आप्रवासीको मुद्दाले काम गर्दैछ । यता नेपालमा पनि मधेस र भारतको कुरा गरेपछि पुग्यो । अन्धराष्ट्रवाद गतिशील लोकतन्त्रको शत्रु हो । विश्लेषकहरू भन्छन्, ‘यसले लोकतन्त्रलाई बिगार्छ ।’

बितेका दस वर्षमा हामीले लोकतन्त्रलाई कस्तो बनाउँदै गयौं ? यो एक वर्षमा हाम्रो लोकतन्त्र कुन दिशामा हिँड्दैछ ? के हाम्रो सरकारले लोकतन्त्रलाई भुइँतिर फर्काउँदैछ ? हाम्रो संस्थापनकै कमजोरीले कतै राजतन्त्र र हिन्दुत्वका दक्षिणपन्थी मनोकांक्षा चिहानबाट उठ्दै त छैनन् ? कतै हाम्रो लोकतन्त्र संस्थापनको अहंकारमा त फँस्दै छैन ? जनतालाई परिणाम चाहिन्छ । सबैभन्दा अन्यायमा परेकाहरूले सुखको अनुभूति गर्नुपर्छ । अन्यथा लोकतन्त्रको गर्भबाट अँध्यारा संकट सिर्जना हुनेछन् ।

नेताहरू भन्छन्, ‘सरकार बलियो छ । स्थिर छ ।’ हामीलाई बलियो हैन, राम्रो सरकार चाहिएको हो । हामीलाई रैता, जुग्लु र युग्लाहरूको पनि स्वामित्व भएको गतिशील राजनीति चाहिएको हो । जनमुखी लोकतन्त्र चाहिएको हो । गहिरो लोकतन्त्र चाहिएको हो । जहाँ पैसा नभए पनि रैता रोहित बन्न स्वतन्त्र होस् । उसको वकिल बन्ने सपना नमरोस् ।

सरकारको एक वर्षमा सिंहदरबारभित्र मस्ती भयो होला । तर रैताहरूको बस्तीमा आशाको उज्यालो दृष्टिगोचर भएन । रैताहरू जुन दिन रोहित बन्लान्, सरकार सफल होला ।

dahal.keshab@gmail.com

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्

दलित ‘पनि’ हिन्दु

प्रेम विश्वकर्मा

काठमाडौँ — कानुनद्वारा तिरस्कृत, शूद्र, मूलधारबाट पन्छाइएका, सीपहीनहरूले कजाएका सीपका धनी, घोचिएका, मिचिएका, सेवा गर्दागर्दै नथाकेका दलित देशैभरि छरिएका छन् । तराईमा अधिकांश दलित भूमिहीन छन् ।

मुलुकको साक्षरता ६५.९ प्रतिशतमध्ये पुरुष ७५.१ प्रतिशत र महिला ५७.४ प्रतिशत छन् । दलित ३३ प्रतिशतमात्र साक्षर छन् । निजामती सेवामा दलितको उपस्थिति जम्मा १ प्रतिशत छ ।

दलित विद्यार्थी
पहाडका ७ र तराईका १९ जाति दलित आयोगमा सूचीकृत छन् । मोफसलका ९९ प्रतिशत दलित बालबालिका सामुदायिक विद्यालय पढ्छन् । एक कक्षामा भर्ना भएका एक तिहाइभन्दा कम दस कक्षा पुग्छन् । कक्षा चढ्दै जाँदा संख्या र गुणस्तर खस्किँदैछ । नपढेका अभिभावक भएकाले विद्यालय नै सिकाइको केन्द्र हो । सिकाए पढ्यो, नत्र खेलेर बितायो ।

सरस्वती पूजामा दलित विद्यार्थीलाई छुट्टै राखेर प्रसाद दिइन्छ । धारो नभएको विद्यालयमा दलित विद्यार्थीलाई जगबाट धारो बनाएर पानी दिन्छन् वा दिँदै दिँदैनन् । गैरदलितसँगै बसेर खाँदैनन् । बराखीको शिक्षकले दलितको गृहकार्य जाँच्दैन । घर, मन्दिर, धारा, स्कुल, कक्षाकोठा सबैमा विभेदै–विभेद । अनि कसरी पढ्छन्, सामुदायिक स्कुलमा दलितका सन्तान ?

घरपायक शिक्षक
शिक्षामा भन्दा शिक्षकमा गुणस्तरीयता चाहिन्छ । शिक्षक स्कुलमा भन्दा घरधन्दामा व्यस्त छन् । उनीहरू राजनीतिक कार्यकर्ता पनि हुन् । ब्याज खाने साहु । गाउँकै स्कुल पढाए पनि भयो, नपढाए पनि भयो । तलब आइहाल्छ, किन मरिमेट्ने ? विद्यार्थी पास नभए अभिभावक र विद्यार्थीलाई दोष । व्यवस्थापन समितिमा शिक्षकभन्दा कम योग्यता र उमेरका आफ्नै भाइसाथी र कनिष्ट छन्, जसलाई फकाउन, फुर्काउन, घुर्की लाउन सकिन्छ ।

घरमा छुवाछूत गर्ने, विद्यालयमा किन नगर्ने ? गाउँकै शिक्षक भएकाले विभेदमा कमी आएन । पानी र पाक्शिक्षामा दलित विद्यार्थी बञ्चित हुन्छन् । चलनचल्तीको भूमिका दिइन्छ । पेसामा परिवर्तन, व्यवहारमा पुरातन । चेतनामा परिवर्तन, सभ्यतामा पुरातन । बाबुबाजेले चलाएको चलन स्थानीय शिक्षकले तोड्ने आँट गरेन । बाहिरबाट आएको शिक्षक विभेदमा लचक देखियो । बसाइँ–सराइले परिवर्तन निम्त्याउँछ ।

कार्यालयको भूमिका
शिक्षा कार्यालयले विद्यालयको भेदभाव मापन गरेन । शिक्षक, हेड शिक्षक, स्रोतव्यक्ति, निरीक्षक, शिक्षा अधिकारी र अधिकांश विद्यार्थी गैरदलित छन् । छुवाछूतका सवालमा सबै मौन । आफू पीडामा परेकै छैन । उजुर परे पनि गाउँको कुरा गाउँमै मिलाऊँ भनिन्छ । नछुनु नैसर्गिक अधिकार ठान्छ । त्यहींको वासिन्दा उनैकोमा गोठालो, खेतालो गर्नुपर्ने हो, किन दुश्मनी गर्नु भन्छ, पीडित ? विद्यालय निरीक्षक विद्यालयमा छुवाछूतका विषयमा सोधखोज गर्दैनन् । आफू दलित परिएन । छुवाछूतका विषयमा कुरा उठाएर आफ्नै जातसँंग किन क्रान्तिकारी बन्ने ?

कार्यकर्ताको दायित्व
शिक्षक गाउँका टाठाबाठा भएकाले दलीय राजनीति धानेका छन् । लोकतन्त्रवादीहरू छुवाछूतलाई धर्म र संस्कारलाई दोष दिन्छन् । वामपन्थीहरू जातपात र धर्म नमान्ने तर अहिलेलाई जात तोड्ने आँट गर्दैनन् । घर बाहिर सँंगै बसेर खाइन्छ, तर गाउँघरमा बुढापाकाले मान्दैनन् भन्छन् । परिवर्तन गर्ने आँट कसैको हुँदैन । समाजलाई दोष दिएर कमजोरी लुकाउने प्रवृत्ति छ । दलित जसरी पनि भोट दिन्छन् । जुनसुकै पार्टीको मिटिङमा बाहिरै बसेर सुन्छन् । सिद्धान्त जान्या छैन, जसको हावी छ, उसैलाई भोट ।

पुर्खाको चलन
संविधान र कानुन मान्ने हो भने छुवाछूत र भेदभाव हुँदैनथ्यो । संविधान र कानुन नमान्ने अपराधी हो, हामी नमान्दा पनि अपराधी भएनौं । हामी धर्ममा अडिएका छौं, हामीलाई परम्पराले छेक्यो, पुर्खाले चलाएको चलन संविधानले रोकेन । हाम्रो कानुन पालना गरे पनि हुने, नगरे पनि हुने । हामीलाई पेसागत मर्का पर्दा युनियन, सम्बन्धित निकाय र न्यायालय धाउँछौँ । तर आफै न्याय गर्ने ठाउँबाट संविधान र कानुन मिच्दा अपराधबोध भएन ।

पेसा कब्जा
सनातन वैदिक धर्मले दलित जातिलाई काम लाग्ने पेसा दियो । अहिले ती पेसा गैरदलितको कब्जामा भए । बाहुनले रक्सी र मासुको व्यापार रोजे, छुवाछूत छोडेनन् । पेसा तोडियो, भेदभाव तोडिएन । विद्यालय जस्तो पवित्र ठाउँमा गुरुहरूबाटै छुवाछूत भयो, सरोकारवाला निकायले कारबाही गरेन ।

शरम मान्नुपर्ने हो– शिक्षकले, स्रोत व्यक्तिले, विद्यालय निरीक्षकले अनि शिक्षा अधिकारीले । कामीले भाँडाकुँडा र हातहतियार बनाउँछन्, सामानको सम्मान गर्‍यौं, बनाउनेलाई घृणा । दमैले लुगा सिलाउँछन्, लुगाको इज्जत गर्‍यौं, सिलाउनेलाई तिरस्कार । सार्कीले जुत्ता बनाउँछन्, जुत्ताको सम्मान गर्‍यौं, सिलाउनेलाई अपमान । न यी पेसा अपनउनेलाई नवकामी, नवदमाई र नवसार्की बनाउन सक्यौं । पेसा हत्याइयो, जात जहाँको त्यहीं छाडियो ।

जबर्जस्ती हिन्दु
दलितहरू जबर्जस्ती हिन्दु हुन् । उनीहरूको थर, गोत्र र संस्कार बाहुन, क्षत्रीसँग मिल्छ । वर्णाश्रम व्यवस्थाको कान्छो वर्ण । उपल्ला जातिबाट पेलिएको, हेपिएको र दलिएको छ । उनीहरू इष्टदेवताको मूर्तिका जन्मदाता भए पनि छुन र दर्शन गर्न पाउँदैनन् । पूजाको प्रसाद खुसी मनले दिंँदैनन् पुजारी । दलितहरू हिन्दु नै होइनन् । ‘पनि’ हिन्दु हुन्, गैरदलितले दलित पनि हिन्दु हुन् भन्छ । हिन्दुको जनसंख्या ८० प्रतिशत नघाउन दलितहरू पनि हिन्दु भए । दलितले आफूलाई हिन्दु माने, हिन्दु धर्मले उनीहरूलाई अनुयायी मानेन ।

दलितको भूमिका
हिजो बाबुबाजेले पढेनन्, मैले नपढेर चल्यो, यिनलाई किन पढाउनुपर्‍यो ? आज पढ्न पठाएकै छ, पढ्ला नि । दिनभरि काम गर्‍यो, साँझ एक–दुई गिलास लियो । छोराछोरी स्कुल गए/गएनन्, स्कुलमा के पढे सोधिएन । पास भए छोराछोरीले जानेर, नभए शिक्षकले नपढाएर । अशिक्षित अभिभावक, शिक्षाको महत्त्व नबुझेको समूह । शिक्षा नैसर्गिक अधिकार हो भन्ने नबुझेका । आफूले नपढेर धोका पाइयो भन्ने नजानेका । शिक्षा र अधिकारका विषयमा थोरै चेतना पलाएको छ ।

अन्त्यमा, महाकवि कालीदास ‘क’ दुब्लाएको देखेर रोए रे, हामी सिंगो दलित शिक्षा भासिँदा रोएनौं । शिक्षक तालिममा दलित विद्यार्थीको अवस्थाबारे चर्चा गरौं । शिक्षकले विद्यालय, समुदाय र घरमा छुवाछूत गर्दिन भनेर सपथ ग्रहण गराऔं ।

स्रोतव्यक्ति, विद्यालय निरीक्षक र शिक्षा अधिकारीले विद्यालयमा छुवाछूतका घटना भए/नभएको अनुगमन गरौं । छुवाछूत गर्ने शिक्षकलाई सम्झाऊँ–बुझाऊँ, नमाने दण्ड दिने आँट गरौं । उत्पादित वस्तुलाई जस्तै बनाउनेलाई पनि सम्मान गरौं । परिवर्तनलाई व्यवहारमा उतारौं ।

लेखक ‘छोरी पढाऔं अभियान’का संयोजक हुन् ।
bishwokarmaprem@gmail.com

प्रकाशित : फाल्गुन ८, २०७५ ०८:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्