राष्ट्रिय सुुरक्षामा प्राथमिकता

केशरबहादुर भण्डारी

काठमाडौँ — नेपाल राष्ट्रिय सुुरक्षाको दृष्टिकोणले बाहिरबाट ठिकै देखिए पनि भित्रभित्रै कुहिन लागेको फर्सीजस्तो भइरहेको छ । सरकारमा रहेका नेताहरूले राष्ट्रिय हित र राष्ट्रिय सुुरक्षाबारे ठूलठूला कुरा गरे पनि व्यवहार तथा अभ्यासमा त्यस्तो पाइँदैन । 

कूटनीतिक सुुरक्षामा अपरिपक्वता

हाम्रा सरकार प्रमुखहरू छिमेकी राष्ट्रहरूको औपचारिक भ्रमणका बेला संयुक्त विज्ञप्तिमा राष्ट्रिय हित र स्वार्थ प्रतिकूल बुँदामा हस्ताक्षर गर्छन् । अर्कोतर्फ भए–गरेका द्विपक्षीय सम्झौता, समझदारी कार्यान्वयनमा उदासीन देखिन्छन् । बिमस्टेक शिखर सम्मेलनका बेला प्रस्तावित संयुक्त सैनिक अभ्यासबारे सरकारले देखाएको दोधारे चरित्र, धार्मिक स्वर्थ केन्द्रित एसिया प्यासिफिक समिटमा सरकार र नेताहरूले देखाएको रवैया तथा नेकपाका एक अध्यक्षले भेनेजुएलाका राष्ट्रपतिको विवादमा विज्ञप्तिद्वारा अमेरिकाको भत्र्सना गर्नु आदि कूटनीतिक कमजोरीका पाटा हुन् । अमेरिकाले सुझाएको इन्डोप्यासिफिक रणनीतिमा नेपालको कस्तो भूमिका रहनेछ, त्यसले नेपालको कूटनीतिक सुुरक्षामा ठूलो माने राख्छ ।


सशस्त्र प्रहरी बलमा धावा

सशस्त्र प्रहरी बल (सप्रब) बारे गृह मन्त्रालयको एउटा निर्णय कार्यान्वयनले नेपालको राष्ट्रिय सुुरक्षामा सुनियोजित प्रहार भएको देखिन्छ । सप्रबको प्राथमिक भूमिका सीमा सुरक्षा हो । यो मूल भूमिका विस्तार गर्दै लैजानुपर्नेमा संकुचित पारिएको छ । नेपाल–भारत बीचको १७५१ किमि खुला सिमानामा ७० हजारभन्दा बढी भारतीय सशस्त्र सीमा सुरक्षाबल तैनाथ छन् ।


नेपालको सीमा सुरक्षामा सप्रबको उपस्थिति धेरै पातलो छ । दीर्घकालीन योजना अनुसार स्थापना गरिएको सीमा सुरक्षा पोष्ट (बीओपी) विस्तार गर्नुपर्नेमा अहिले गृह मन्त्रालयको निर्णयले कतिपय सीमा सुरक्षा गण/गुल्म खारेज भएका छन् । कतिपयलाई अस्थायीकरण गरिएकाले दक्षिणतर्फको सीमा सुरक्षा कमजोर भएको छ । यो सुनियोजित वा स्वार्थवश भएको हुनसक्छ ।


तराई, पहाड दुबैतर्फको सुरक्षा आवश्यकता र प्रभावकारी परिचालनलाई दृष्टिगत गरी सप्रबलाई सामरिक हिसाबले पूर्व–पश्चिम राजमार्गको नजिक तैनाथ गरिएको थियो । तर संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा हालको बाहिनी तथा गणको तैनाथी खारेज गरी तराईका जिल्लामा भएका १४ वटा गण विलय गरिएको बुझिन्छ ।


अर्कोतर्फ सामान्य सुरक्षा अवस्था भएको केही पहाडी जिल्लामा गणको तैनाथी गरिएको छ । यसले दक्षिणी सीमातर्फको सुरक्षा संवेदनशीलताले प्राथमिकता नपाएको प्रस्ट हुन्छ । यो नयाँं व्यवस्थाले राजमार्ग तथा तराईको संवेदनशील सुरक्षा आवश्यकतालाई सम्बोधन गर्न कठिन हुनेछ ।


अन्तर्राष्ट्रिय सिमानाको सुरक्षा संघीय सरकारको जिम्मा हो । यो प्रादेशिक प्रहरीबाट हुन सक्दैन, मिल्दैन । सप्रब संघीय स्रोत हो । सेना र सप्रबलाई अन्य सरकारी निकाय/कार्यालयजस्तो प्रशासनिक विभाजनका आधारमा जिल्ला–जिल्लामा तैनाथ गर्नु हुँदैन ।


जिम्मेवरी क्षेत्रका आधारमा तैनाथ गर्नुपर्छ । सप्रबको संख्या आवश्यकताका आधारमा कम छ । ७७ वटै जिल्लामा उपस्थिति गराउने नीतिका कारण सेक्सन, प्लाटुन र कम्पनीको नफ्री घटाएर लडाकु कम्पनीको नफ्रीमा समेत एकरूपता कायम गर्न नसकेको बुझिन्छ । यस्तो हचुवा किसिमको व्यवस्थाले सप्रबको प्रभावकारितामा ह्रास आउँछ ।


अन्वेषण तथा विकासजस्तो महत्त्वपूर्ण निर्देशनालयलाई अन्यत्र गाभी महाशाखामा सीमित गरिएको छ । दर्जनभन्दा बढी बीओपी स्थापना गर्न पुग्ने जनशक्तिलाई खेलकुद शिक्षालय तथा बाद्यबादन गुल्मजस्ता अनुपादक क्षेत्रमा खर्चिइएको छ । प्रशासनिक र समन्वय कार्य गर्ने सप्रबको बाहिनीमा अनावश्यक दरबन्दी बढाइएको छ ।


इन्टिलिजेन्स ब्युरोलाई आईजीपी सचिवालयमा सार्नुको औचित्य पनि प्रस्टिएको छैन । सप्रबका तल्लो निकायसम्मको व्यक्तिगत हतियारमा अमेरिकन एम–१६ राइफल राखिएको छ । नेपाली सेनाले समेत सबैलाई पुर्‍याउन नसकेको एम–१६ राइफल सप्रबमा व्यक्तिगत हतियार बनाउन खोज्नुमा अनावश्यक प्रतिस्पर्धाको मानसिकता देखिन्छ ।


सप्रब प्रभावकारी हुँदा सेनाको प्रयोग र परिचालनमा न्यूनीकरण हुन्छ । यही कारण नेपालमा सेना र नागरिक प्रहरी बीचको शक्तिका रूपमा सप्रबजस्तो अर्धसैनिक बल सिर्जना गरिएको हो । सप्रबलाई विशुद्ध व्यावसायिक अर्धसैनिकका रूपमा विकास गरिनुपर्छ, नकि सेनाको प्रतिस्पर्धीका रूपमा । सुरक्षा निकायहरूको मेरुदण्ड अनुशासन र सञ्चालनको आधार ‘चेन अफ कमाण्ड’ हो ।


अनाश्रित बीओपीको खारेजी तथा अस्थायीकरणका कारण जिल्लास्थित गणको तजबिजीमै सीमा नाकाहरूमा कमाण्डर खट्दा सही चेन अफ कमाण्डको अभ्यास हुन सक्दैन । आर्थिक अनुशासनमा नकारात्मक प्रभाव पर्ने सम्भावनासमेत बढ्छ ।


नाम परिवर्तन

कुनै समाज, राष्ट्र वा राज्यको पहिचानलाई सैनिक आक्रमणबिना मास्नुछ भने पहिले त्यसको इतिहास, भाषा, धर्म, संस्कार संस्कृति, परम्परा आदिलाई सिध्याउनुपर्छ भनिन्छ । जुन काम नेपालमा सुनियोजित ढंगबाट भैरहेको छ । सप्रबको बाहिनी तथा गणहरूको निसान र नामकरण धार्मिक परम्परा, संस्कार र संस्कृतिका आधारमा देवी, देवताका नाममा गरिएको थियो । सरकारले देवी, देवताको नाम हटाई बाहिनी तथा गणलाई १, २, ३...जस्ता अमूक नम्बरबाट सम्बोधन गर्ने आदेश गरेको छ । यो भोलि अरू सुरक्षा अंगमाथि पनि हुनसक्छ ।


विभेदी सरकार

सरकारले घोषणा गरेका सबैजसो काम कार्यान्वयनमा असफल छन् । सरकारले हात हाल्न खोज्छ, तर सम्बन्धितको दादागरी र धम्काइको अगाडि केही गर्न सक्दैन । सरकार तिनै कर्मचारीलाई रिझाउन अनेक सुविधा र सहुलियत दिन उद्यत छ ।


दर्जनौं सरकारी कार्यालयका कर्मचारीको शतप्रतिशत तलब–भत्तादेखि लिएर अनेक सरसुविधा बढाउने कार्यले अन्य सरकारी कर्मचारीमा आकांक्षा बढ्नु र नपाए हतोत्साही/विद्रोही हुनु स्वाभाविक हो । के सेना र प्रहरीका जवानले दिनरात खटिनु अन्य कुनै सरकारी कार्यालयका कर्मचारीले गर्ने कामभन्दा कम छ ? यसमा सरकारको बेलैमा सोच पुग्नु जरुरी छ ।


सकारात्मक पहल

सुरक्षा निकायमध्ये नेपाल प्रहरी, सप्रब र राष्ट्रिय अनुसन्धान विभागमा सेवारत कर्मचारीको वृत्तिविकास तथा अन्य महत्त्वपूर्ण विषयमा नियमद्वारा सञ्चालन गर्नसक्ने सरकारी तजबिजीको कानुनी व्यवस्था गरिएको छ । यही कारण यी निकायमा चरम राजनीतिक हस्तक्षेप र चलखेल बढेको हो ।


यसका प्रमुखहरू निरीह हुन बाध्य छन् भने उच्चतहका अधिकृतहरू व्यक्तिगत लाभका लागि राजनीतिको फेरो समाती हरकिसिमको चलखेलमा अभ्यस्त भएका छन् । यी निकायहरूको व्यावसायिक क्षमातामा ह्रास आएको छ । सरकारले संघीय प्रहरी ऐन ल्याएर प्रहरीभित्र नियमावलीबाट सञ्चालन गर्ने तजबिजीको व्यवस्था खारेज गर्नुका साथै ३० वर्षे सेवा अवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्ने र आईजीपी, एआईजीपी र डीआईजीको निश्चित पदावधि कायम गर्ने व्यवस्था गर्नलागेको छ । यसले यी निकायमा सुधार आउने देखिन्छ । यसले व्यावसायिक क्षमता बढाउने गर्छ ।


निचोड

चौतर्फी भ्रष्टाचार मौलाएको छ । हर क्षेत्रमा अराजकता बढ्दो छ । जनता आजित छ । सरकार निरीह देखिन्छ । समाज संवेदनहीन तथा विभाजित समाज छ । ठूलठूला राजनीतिक कुरा भए पनि कार्यान्वयन फितलो छ । धर्म, भाषा र इतिहासप्रति असहिष्णुता/प्रहार हुँदैछ ।


संघीयताको यथोचित व्यवस्थापनमा कठिनाइ र द्वन्द्व देखिन्छ । कर्मचारी र शिक्षक राजनीतिक खेमामा विभाजित छन् । अर्थतन्त्र अन्योल उन्मुख छ । विदेशी चासो तथा चलखेल बढ्दो छ । कूटनीतिक सन्तुलन मिल्नसकेको छैन । यी राष्ट्रिय सुुरक्षाको चुनौतीका रूपमा देखा पर्दैछन् । समयमै सोचविचार पुर्‍याई जनता र राष्ट्रिय हितलाई मात्र केन्द्रमा राखी राज्यव्यवस्थामा सुधार ल्याउनु अनिवार्य भइसकेको छ ।


नेपाली सेनाका पूर्वसहायक रथी लेखक नेपाल स्ट्राटेजिक स्टडिजका सचिव हुन् ।

kesharbh@gmail.com

प्रकाशित : फाल्गुन ३, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्

अभिभावक पहिलो शिक्षक

सान्नानी बुर्लाकोटी

काठमाडौँ — पारिजात (विष्णुकुमारी वाइबा) लाई उनका पिता केएन वाइबाले चिकित्सक बनाउन चाहेका थिए । उनी साहित्यको वाटिकामा मगमगाएर फुलिन् । डार्बिनलाई उनका पिताले चिकित्सक वा पादरी बनाउन चाहेका थिए । उनी प्राकृतिक विज्ञानमा रमाए । 

अभिभावकले आफ्ना सन्तानको रुचि र चाख नसोधिकनै डाक्टर, इन्जिनियर, पाइलट, सीएको पढाइलाई उच्च प्राथमिकता दिइरहेका छन् । दसैंको टीकामा आशिर्वाद दिँंदासमेत हरेक मान्यजनले डाक्टर, इन्जिनिएर हुनु भन्ने गर्छन् । तर कसैले असल मान्छे बन्नु भन्दैनन् ।

आफ्नो बच्चालाई कस्तो शिक्षा दिने, के सिकाउने भन्नेतिर हाम्रो ध्यान जाँदैन । बाबुआमा दुवै जागिरे हुन्छन् । परिवार सधैं व्यस्त हुन्छ । अभिभावकले आफ्ना सन्तानलाई समय दिनसकेका छैनन् । कतिपय सन्तानलाई होस्टलमा राखेर वैदेशिक रोजगारीतिर गएका छन् । होमवर्क धेरै दिने, थोरै बिदा दिने विद्यालयमा बच्चालाई पढाउन लैजाने गरिन्छ । विद्यालय गएर बच्चाका राम्रा–नराम्रा गतिविधिबारे जानकारी लिने समय अभिभावकलाई छैन । हामी बच्चाहरूको कलिलो र चुलबुले मनका उपयोगी साथी बन्नसकेका छैनौँ ।

हामी बच्चाको गल्ती औँल्याउँदै देखाएर ‘म्याम, सरलाई फोन गरिदिन्छु’ भनेर गलत कुरा सिकाइरहेका छौँ । छोराछोरीले कस्तो सङ्गत गर्छन् भनेर चासो राख्दैनौं । उल्टै साथीभाइभन्दा कमजोर बन्नु हुँदैन, उनीहरूले हेप्छन् भन्छौं । इष्टमित्र, समाजलाई देखाउनकै लागि भए पनि महङ्गा र नाम चलेका कलेज छान्छौँ । सकेसम्म हामी बच्चालाई विज्ञान पढ्न प्रेरित गर्छाैँ ।

भारतका शिक्षाशास्त्री गिजुभाइको पुस्तक पढेँ । उहाँले भन्नुभएको छ– घरमा राम्रो सिक्न नसकेको बच्चालाई भगवान्/ईश्वरले पनि सपार्न सक्दैनन् । बच्चाका लागि आमा जति नजिकको नाता अर्को छैन । आमा जन्मदाता हुन्, भाग्यविधाता हुन्, गुरुआमा हुन्, त्योभन्दा ठूलो एउटा असल साथी हुन् । साथीसँग मात्र मान्छेले आफ्नो मनका दु:ख, दर्द, पीडा, वेदना, खुसी, संवेग साटासाट गर्न सक्छ । हामीले सन्तानसँग साथीभंैm खुलेर व्यवहार गर्न सक्नुपर्छ । सन्तानको समस्या के हो, कसरी, के कारणले समस्या झेलिरहेका छन् भनी चिन्न र निराकरण गर्न आमाले सक्छिन् ।

बाबुले पनि थोरै समय छोराछोरीको काखमा लुटुपुटु हुने, नानीहरूसँग खुलेर बोल्ने, पढाइका कुरा गर्ने, दिनमा भएका कुरा सुनाउने गर्नुपर्छ । कहिलेकाहीं नयाँ ठाउँ घुमाउन लैजाने, कुनै समयमा रेष्टुरेन्टको नयाँ स्वाद चखाउने, सिनेमा हेर्न लैजाने, समय सन्दर्भ मिलाएर आर्थिक कारोबारबारे भन्ने, पैसा थन्क्याउने जिम्मेवारी दिने गर्नुपर्छ ।

काम तथा पढाइमा असफल हुनु ठूलो कुरा होइन भनेर अभिभावकले उनीहरूलाई निरन्तर मिहिनेत गरे, धैर्य गरे अवश्य गन्तव्यमा पुग्न सकिन्छ भनी बुझाउनुपर्छ । नकारात्मक टिकाटिप्पणी गर्नु हँुदैन । सानो काम छ भने पनि उनीहरूलाई हौसला र प्रेरणा भर्न सक्नुपर्छ । उज्यालो ज्योति तिनीहरूको मानसपटलमा आमाले भर्न सक्छिन् । शिक्षकभन्दा पनि उत्तम शिक्षक आमाबुबा बन्न सक्छन् । हामीलाई चाहिने शिक्षाभन्दा ठूलो संस्कार हो भन्ने कुरा आमाले सन्तानलाई पढाउन सक्छिन् ।

मिहिनेत र परिश्रम गर्दागर्दै पनि कहिलेकाहीं असफल भइन्छ भन्ने कुराको बोध आमाले गराउन सक्छिन् । आमा राम्रो परामर्शदाता र असल सल्लाहकार हुन सक्छिन् । आफ्ना सन्तानको भविष्य बनाउने कर्मशील सर्जक आमा हुन् । हामी अभिभावकले आफ्ना सन्तानलाई रुचि, चाख, क्षमता, सीपमूलक सिर्जनाशील विषयमा अध्ययन गर्न प्रेरित गरौँ । जबर्जस्ती थोपरिएको शिक्षाले प्रतिफल राम्रो दिँदैन । उच्च शिक्षाका नाममा ऋणको मानसिकता बच्चामा रोप्नु हुँदैन ।

बच्चाको रुचि र अभिभावकको आर्थिक क्षमता हेरेर सर्वसुलभ, सजिलो, सस्तो, सांस्कारिक, सीपमूलक शिक्षामा हामीले प्रेरित गर्नुपर्छ । इच्छा विपरीत कठिन विषय पढ्न लगाउँदा घोक्न, कण्ठ पार्न लगाउँदा उनीहरूले आफूलाई कमजोर ठान्छन्, हीनताबोध हुन्छ । उनीहरूमा नकारात्मक सोच विकास हुन्छ ।

छोराछोरीको अनुभवलाई विश्वास गरेर अभिभावकले प्रेरणा भरिदिन सक्नुपर्छ । छोराछोरीको विगतको गल्तीलाई कोट्याउनुको साटो उनीहरूभित्र प्रतिभाको खानी छ भन्ने कुरा बुझाउनुपर्छ । समय र परिस्थितिसँगै अभिभावक बदलिन सिक्नुपर्छ । आफू टेलिभिजन र फेसबुकमा रमाउने अनि बच्चालाई पढ भन्ने गरे उसको पढाइ प्रभावकारी हुँदैन । हामीले पनि कुनै पुस्तक, पत्रिका आदि लिएर छेउमा बसिदिनसके उनीहरूलाई प्रेरणा मिल्न सक्छ । हाम्रो पालामा यस्तो थियो, उस्तो थियो भन्ने गरे तिनीहरूमा दिक्क भाव जाग्छ ।

भौतिक रूपले होइन, मानसिक रूपले तिनीहरूको मन जित्न सक्नुपर्छ । अपरिपक्व उमेरका छोराछोरीले गल्ती गरेछन् भने पनि सुध्रने मौका दिनुपर्छ । आफू कमजोर होइन, अलिकति बढी अभ्यास गर्नुपर्छ भन्ने भावना विकास गराउनुपर्छ । आफ्नो लक्ष्य, उद्देश्य र गन्तव्यमा नपुगेसम्म निरन्तर अभ्यास र धैर्य गर्नुपर्छ भन्ने सल्लाह र ज्ञान तिनलाई दिनुपर्छ ।

अरूसँग तुलना गरेको बच्चाहरूले रुचाउँदैनन् । उही कुरा बारम्बार दोहोर्‍याएर परिणाम राम्रो आउँदैन । पढेर मात्रै सबै कुरा सिकिने र जानिने होइन, जीवनको पाठशालामा भोगेर धेरै कुरा जानिन्छ । हाम्रो जीवन भोगाइ प्रयोगशालाभन्दा कम छैन ।

लेखक काठमाडौंको सामाखुसीस्थित रेडन उच्च माविकी शिक्षक हुन् ।

प्रकाशित : फाल्गुन ३, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×