राजनीतिमा अल्फा प्रवृत्ति

चन्द्रदेव भट्ट

काठमाडौँ — समाजवादको नारासहित सत्तामा आएको सरकारले एक वर्ष पुरा गर्दैछ । पाँच वर्षका लागि निर्वाचित सरकारको एकवर्षे शासकीय गतिविधिलाई आधार बनाएर मत निर्माण गर्नु न्यायोचित नहुन सक्छ । लामो राजनीतिक अस्थिरताबाट नयाँ शासकीय चरणमा प्रवेश गरेको र द्वन्द्वका भग्नावशेषको भारी पनि बिसाउने जिम्मेवारी भएको सरकारका अगाडि चुनौती र समस्याको कमी हुँदैन ।

राजनीतिक परिवर्तनसँगै आम नागरिकका इच्छा र आकाङ्क्षा बढेर जाने भए । नयाँ राजनीतिक परिवर्तनलाई युगान्तकारी र नयाँ युगको सुरुआत हामी आफैँले भनेका छौं । नयाँ युगको फल चाख्ने इच्छा सबैको हुन्छ ।


यी सबैलाई सन्तुलन गर्न सजिलो छैन । यति हुँदाहुँदै पनि सरकारसँग काम गर्न सहज वातावरण छ । सबैभन्दा ठूलो पक्ष सरकारसँग जनमत छ । केन्द्रदेखि स्थानीय तहसम्म एउटै विचारधारामा विश्वास गर्ने स्वजातीयहरूको सरकार छ । प्रतिपक्ष विगतको भन्दा शालीन छ, आफैमा अलमलिएको छ ।


सहज परिस्थिति हुँदाहुँदै पनि सरकार कताकता हराए जस्तो देखिन्छ । पार्टीको सिद्धान्तमा बाँधिएका बाहेक आम नागरिकलाई सरकारले विश्वासमा लिनसकेको देखिँदैन । यो नै सत्य होइन, तर वास्तविकता हो । देश बाहिर पनि हामी विश्वास गुमाउँदैछौं र कमजोर कूटनीतिक चरित्र प्रदर्शन गर्दैछौं । नयाँ युगले दिने फल सर्वसाधारणका लागि ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तो हुने त होइन भन्ने सबैको मनमा पर्न गएको छ ।


हाम्रा नेता र प्रशासकमा ज्ञानको कमी पनि देखिँदैन । केही वर्षयता सबैले स्व:प्रशंसाले भरिपूर्ण आत्मकथा, सुझाव र सल्लाहले भरिभराउ ठेलीका ठेली पुस्तक प्रकाशित गर्दै आएका छन् । यो ज्ञानले सत्तामा बस्दा किन काम गर्दैन भन्ने विषयले सर्वसाधारण नागरिक अचम्मित भएका छन् । भाषणमा पनि नेताहरू इलियाड, ओडेसी तथा पछिल्लो समयका उत्कृष्ट पुस्तकका लेखक नोभल हरारीका सबै कृति पढेको अनुभूति दिन्छन् ।


मार्क्सवाद कण्ठै गरेर बसेका छन् । केही वर्ष पहिले प्रकाशित ‘किन राष्ट्रहरू असफल हुन्छन्’ र गतवर्ष प्रकाशित ‘कसरी प्रजातन्त्र मर्छ’ भन्ने पुस्तक नेपालमा धेरै किनिए । धेरैजसो नेतागण, प्राज्ञ र प्रशासकले यी पुस्तकको प्रसंग लिएको देखिन्छ ।


धेरैजसो शीर्षनेताले कम्तीमा तीनवटा फरक राजनीतिक व्यवस्थामा काम गरिसकेका छन् । राजनीतिक आन्दोलनको माध्यमले एउटाबाट अर्को व्यवस्थामा फड्को मारेर जुन व्यवस्थामा पनि उपयुक्त हुनसक्ने क्षमता प्रदर्शन गरेका छन् । यस्ता चतुर राजनीतिज्ञ धेरै कम देशमा पाइन्छन् । यतिहुँदाहुँदै पनि नेपाली राजनीति र राजनीतिज्ञले विश्वास गुमाउँदैछन् । किन ?


विगतका राजनीतिक आन्दोलनहरूको प्रमुख उद्देश्य नेपाली राजनीतिलाई सामन्तवादबाट समतावादतिर लानु थियो । राजनीतिज्ञहरूले विगतमा सामन्तवाद मात्र देखे, तर जनता जहिले पनि विगतकै गुणगान गाउँछन् । अहिले राम्रो गर्न नसकेर विगत राम्रो भएको हो कि विगत राम्रै थियो ? यो समीक्षा गर्नु अप्ठ्यारो पक्ष हो ।


समाज ठाडो रूपमा विभाजन भएको छ । कसैले यसैलाई प्रजातन्त्र देख्छन् भने कसैका लागि दुई हजार वर्ष अगाडि प्रजातन्त्र राम्ररी अभ्यास गरिएको देख्छन् । उनीहरूले पौराणिक र ऐतिहासिक घटनाबाट मत निर्माण गर्दैछन्, जुन आज देखिँदैन । उल्टो न्यायका लागि सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको छ ।


समतावाद स्थापनाका लागि साम्यवादी विचारधारामा विश्वास गर्ने तर प्रजातान्त्रिक प्रक्रियाबाट आएका राजनीतिक पार्टीहरूको हातमा सत्ताको बागडोर परेको लामो समय भइसकेको छ । कानुनमा व्यवस्था भए पनि व्यवहारमा न सामन्तवाद अन्त्य भएको छ, न समतावाद स्थापना हुनसकेको छ ।


राजनीतिक शब्दजाल प्रयोग गरेर विगतलाई गाली गर्ने या गुनगान गाउने, तर समकालीन विषयमा कम छलफल गर्ने हाम्रो बानी भैसकेको छ । जीवन समकालीनतामा निर्भर गर्छ । साधारण जीवन जिउन न भूत आवश्यक पर्छ, न भविष्य । छलफल गरेको भए समकालीन समस्या समाधान थिए । जनसंख्याको ठूलो भाग ओगटेका युवक–युवतीका समस्या समाधान गर्न हामी बढी केन्द्रित हुने थियौं । अरुका समस्याबाटै व्यक्तिगत समृद्धि सिर्जना गर्ने फरक वर्गको विकास भएर जाँदैछ ।


मुलुकलाई दिशानिर्देशन गर्न राजनीतिक वर्गको महत्त्वपूर्ण भूमिका हुन्छ । प्रजातन्त्रसँगै उदाएका नयाँ शासक र अभिजात्य वर्गको जीवन ‘निजितामा सुरु भएर निजितामै’ अन्त्य हुने संस्कार विकास भएको छ । यो वर्गमा पर्ने व्यक्तिहरू सबै एकैचोटी सफल र नम्बर एक (अल्फा म्यान) हुन चाहन्छन् । ओमेगा हुन कोही तयार छैनन् । हामी पुनर्जन्ममा विश्वास गर्ने बहुमतमा छौं । त्यस्तो हतारै गरिहाल्नुपर्ने छैन ।


यस्ता व्यवहारले राजनीति गर्ने र नगर्नेका बीच सनातनी शत्रुताको विकास हुनगएको छ । राजनीति गर्ने वर्गमा ‘हामी जनता’ भन्ने सिद्धान्तलाई ‘जनताका हुन् र’ भन्ने मानसिकताले जरो गाड्दैछ । यस्तो व्यवहारले प्रजातन्त्रका मौलिक मूल्य र मान्यताको उपहास गरेको देखिन्छ । हाम्रो राजनीतिक व्यवहारले निर्माण गरेको यो दोस्रो किसिमको वर्ग हो ।


अर्को समस्या हामी झुटो मनले ‘सत्य’ बोल्छौं र सत्य मनले ‘झुटो’ बोल्छौं, जसले गर्दा व्यवहार र विश्वास छुट्याउन आम नागरिकलाई अप्ठ्यारो परेको छ । हामी बाहिरी मनले सबै प्रजातन्त्र र विकास चाहन्छौं । भित्री मनले घोर अप्रजातान्त्रिक र आफ्नोमात्र विकास हेर्न चाहन्छौं । राज्यको चरित्र पनि त्यसरी नै निर्माण गर्दैछौं ।


यो चरित्रले शासकीय पद्धतिमा समस्या देखिँदैछ । हामी सिद्धान्त र सम्झौता पूर्णरूपमा लागु गर्ने मनस्थितिमा छैनौं । किनकि यसले शासकीय शक्ति विभाजन गर्छ, जुन हामी चाहँदैनौं । शासक, नोकरशाही र प्राज्ञ पनि श्रेणीक्रममा विश्वास गर्छाैं । श्रेणीक्रम लागु गर्न श्रेणीविहीन ठूलो वर्ग चाहिन्छ ।


पछिल्लो वर्ग जति बलियो हुन्छ, अघिल्लो वर्गको प्रभुत्व त्यतिकै खतरामा पर्छ । अर्को कुरा सत्तामा पुगेका व्यक्तिहरू (त्यो राजनीतिज्ञ होस् या कर्मचारी) अवकाश चाहँदैनन् र नमरुन्जेलसम्म विभिन्न किसिमका नियुक्ति कुर्दै बसेका देखिन्छन् । यी समस्या आनुवंशिक भएर आएका छन् ।


आज थोरै व्यक्ति ज्यादै सफल छन् र तिनले मेरो अनुमानमा मुलुकको जीडीपीको लगभग १५ प्रतिशत भाग ओगट्छन् । व्यक्तिगत स्वार्थका लागि सकेसम्म राज्यका संरचनालाई आफू सुहाउँदो तरिकाले निर्माण गर्ने र नीति पनि त्यस्तै बनाउने परम्परा स्थापित हुँदैछ । परिणामस्वरुप दोहोरो समानार्थी अर्थतन्त्र र शासकीय स्वरुप अगाडि आउँदैछ ।


बहुनागरिक असफल र राज्यभन्दा गैरराज्य बलियो भएर गएको छ । हामीले अगाडि सारेका नीतिहरूले धनी र गरिबका छोराछोरीको भेटघाट हुँदैन । सामान्य अवस्थामा गरिब किसान र मजदुरका छोराछोरीको डाक्टर, इन्जिनियर बन्ने सम्भावना न्युन भएको छ । जुन अवस्था तीन दशक अगाडि थिएन । फलस्वरूप एकले अर्कोलाई हेर्ने दृष्टिकोणमा भिन्नता आएको छ ।


यस्तो अवस्थामा (डिप राज्य) फगत राष्ट्रवादको नाराले मात्र नागरिक सार्वभौमता संरक्षण गर्दैन । राजनीतिज्ञको मूल्याङ्कन व्यक्तिगत सफलता र उपलब्धिका आधारमा हुँदैन । राज्य सामूहिक निकाय हो । राजनीतिज्ञको सफलता सामूहिक सफलतामा निर्भर गर्छ ।


व्यक्तिगत सफलता र उपलब्धिको कुनै सीमा छैन । हामीसँग त्यसको लागि न पर्याप्त समय छ, न क्षमता । रविन्द्रनाथ टैगोरले मृत्युशैय्यामा रुँदै भनेका थिए, यो संसारमा धेरै कुरा छन्, तर मनुष्यको टोकरी भगवानको भन्दा ज्यादै सानो छ । यो संसारको दुई हजार वर्षको इतिहासमात्र हेर्ने हो भने यो अवधिमा धेरै शासक, विद्वान र कलाकार आए होलान्, तर हामी मुस्किलले १०–१२ जनालाई मात्र सम्झिन सक्छौं ।


स्वार्थ र सुविधाका आधारमा राजनीतिक दलहरू फुट्ने र जुट्ने परम्पराले हाम्रो प्रजातन्त्र पटक–पटक सङ्कटमा पर्दैछ । दलभित्र र बाहिरको मल्लयुद्धले राजनीतिप्रति विश्वास घट्दै गएको छ । संसारका धेरैजसो राष्ट्रले बाह्य मुलुकसँग स्वतन्त्रताको लडाइँ लडे । हाम्रो लडाइँ आन्तरिक छ । कुनै बेला सामन्तवादको नाममा त कुनै बेला प्रजातन्त्रको । लडाइँ आफ्नै बन्धु–बान्धवसँग छ ।


बहुदलीय प्रतिस्पर्धी शासन व्यवस्थाको मर्म हामीले बुझ्न सकेनौं कि † प्रतिस्पर्धी मात्र भनेको हो, लडाइँ गर्ने भनेकै होइन । प्रतिस्पर्धी जनहितका लागि कसले बढी गर्न सक्ने भनेर हो । त्यसो त अहिलेको प्रजातान्त्रिक प्रणालीमा ओलम्पियस (ग्रिक) फिलोसोफीको ठूलो प्रभाव छ । जसको मुख्य उद्देश्य प्रथम हुने (अल्फा प्रवृत्ति) हो । यो प्रतिस्पर्धी परम्परा अनुसार सबै कुरा एउटै जीवनमा प्राप्त गर्नुपर्छ ।


जीवनको सफलता सबै उपलब्धिसँग (सम टोटल अफ दी एचिभमेन्ट) सँग जोडिनाले उपलब्धिका लागि जे पनि गर्ने प्रवृत्ति हावी भएको छ । त्यही भएर होला, जति विद्वान भए पनि प्रतिस्पर्धा लडाइँमा रूपान्तरण हुने र समाज पछाडि परिरहने । यस्तो अवस्था कायमै रहे राजनीतिले नागरिकको विश्वास जित्न अप्ठ्यारो हुनेछ । प्रकाशित : फाल्गुन २, २०७५ ०७:५४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

धर्मनिरपेक्षताको राजनीति

आवश्यकता धर्मको राजनीति होइन, राजनीतिको धर्म स्थापना गर्ने हो । यसले हाम्रा आन्तरिक समस्या सम्बोधन गर्न सहयोग पुर्‍याउनेछ । 
चन्द्रदेव भट्ट

काठमाडौँ — २०६२/६३ सालपछि राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ अवधारणाले प्रवेश पाएका छन् । जस्तै– नेपाल एकात्मकबाट संघात्मक, संवैधानिक राजतन्त्रबाट गणतन्त्रात्मक र राजतन्त्रात्मक हिन्दु राज्यबाट धर्म निरपेक्ष राज्य ।

यी विषय संविधानसभामा उपस्थित ९० प्रतिशतभन्दा बढी सभासदले अनुमोदन गरेका हुन् । तर केही विषय विवादको घेराबाट बाहिर आउन सकेका छैनन् । विवादित विषयमध्ये धर्म निरपेक्षता पेचिलो रूपमा देखापर्दैछ । यसको प्रत्यक्ष प्रमाण भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठक हो ।

महासमितिमा धर्मले राम्रै रूपमा प्रवेश पायो । केही साताअघि शान्ति, विकास र जलवायु परिवर्तनको आवरणमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनले पनि धर्मको विषयलाई राम्ररी उजागर गर्‍यो । सम्मेलनले नेपाल कम्युनिष्ट पार्टीभित्र हलचल ल्याएको छ । आम नागरिकको बुझाइ
भने धर्म निरपेक्षताको आडमा मुलुकमा धर्मान्तरणका (इभान्जलिकल) गतिविधि बढाउन सम्मेलनले मलजल गरेको भन्ने रह्यो ।

सबै धर्मका गुरु बोलाएर सम्मेलन गरेको भए पनि एउटा धर्मको मात्र कार्यविधि र प्रक्रियामा बढी केन्द्रित भएकाले आम नागरिकले शङ्काको दृष्टिले हेर्ने नै भए । ‘होली वाइन’ को ठाउँमा पञ्चामृत पनि प्रयोग गरेको भए सम्मेलन धेरै विवादित हुँदैन थियो कि ?

मुलुक धर्म निरपेक्षतामा गएपछि धार्मिक धु्रवीकरण बढ्दै गएको छ । १०/१५ वर्षमा मुलुकमा धार्मिक यज्ञको बाढी आएको छ । यसलाई हेर्दा धार्मिक जागरण सुरुवात भएको अनुभूति गर्न सकिन्छ । यही बीचमा धर्मान्तरणका कार्यक्रम पनि बढेका छन् । यसले के सन्देश दिन्छ भने प्राग्ऐतिहासिक समयदेखि अभ्यासमा आएको धर्मको सार्थकता सकिएको पो हो कि ?

यद्यपि संवैधानिक रूपमा धर्मान्तरण वर्जित छ । अहिलेको मूल प्रश्न मुलुक धर्म निरपेक्ष भएपछि किन धार्मिक रूपमा विभाजित हुँदैछ भन्ने हो । धर्म निरपेक्षताले धार्मिक सद्भाव बढाउनुपर्ने हो । एकाएक प्रतिशोधको भावना किन ? धर्मको राजनीतिले दक्षिण एसियामा राम्रै ठाउँ पाएको छ । यस क्षेत्रका धेरै राज्य धार्मिक द्वन्द्वमा फँसेका छन् र यसले फरक राजनीतिक र सामाजिक समस्या ल्याएको छ ।

नेपालमा अहिले जसरी धर्मले राजनीतिमा प्रवेश पाउँदैछ, यसले भोलि समाज कहाँ पुग्ला, त्यसै भन्न सकिने अवस्था छैन । यो आलेख धर्म निरपेक्षता के हो र यो किन विवादित हुँदैछ भन्नेमा बढी केन्द्रित रहनेछ ।

यसले धेरैजसो सैद्धान्तिक पक्षलाई मात्र व्याख्याको आधार बनाउनेछ । पश्चिमेली समाजमा प्रयोग गरिएको ‘सेक्युलारिजम’को समनार्थी शब्दको रूपमा धर्म निरपेक्षता शब्दलाई ल्याएको देखिन्छ ।

सेक्युलारिजमको विकासक्रम
रोमन साम्राज्यको पतनपछि युरोपमा चर्चको साम्राज्य सुरु भयो । चर्चले समाज र राज्य दुवैलाई प्रत्यक्ष नियन्त्रणमा लियो । क्रिस्चियन मान्यता अनुसार राज्य दैवी संस्थाका रूपमा लिइन्थ्यो र चर्चले पृथ्वीमा दैवीशक्तिको प्रतिनिधित्व गर्छ भन्ने अवधारणा थियो ।

राज्यका सम्पूर्ण क्रियाकलापमा चर्चको सल्लाह लिनु अनिवार्य मानिन्थ्यो । यसले राजनीतिज्ञ, कुलिन वर्ग, पादरी र व्यापारीबीच संघर्षको वातावरण सिर्जना हुनगयो । युरोपमा द्वन्द्व र झैझगडा सुरु भयो । चर्च र राज्यबीच देखिएको अन्तरद्वन्द्व आधुनिकता र वैज्ञानिक विकासमाथि अवरोधको रूपमा खडा हुनपुग्यो ।

चर्चका पादरीहरूको राज्यमाथिको प्रत्यक्ष नियन्त्रणले शासकहरूले सम्प्रभुताको अभ्यास गर्न सकिराखेका थिएनन् । पछि धर्म सुधारकहरू विशेष गरेर मार्टिन लुथर र जोन क्यालभिनको अथक प्रयासबाट राज्यलाई चर्चबाट सम्प्रभु बनाउनुपर्छ र राज्यले गर्ने काम तथा निर्णयमा रिलिजन (चर्च) लाई अलग राख्नुपर्छ भन्ने मान्यता स्थापना भयो ।

यसबाट पश्चिमेली राज्यहरूले केही हदसम्म चर्चको (धार्मिक) नियन्त्रणबाट छुटकारा पाए । यसैलाई उनीहरूले ‘सेक्युलरिजम’को संज्ञा दिए । ‘सेक्युलरिजम’को अर्थ राज्यको निर्णय प्रक्रियामा ‘रिलिजन’को हस्तक्षेप हुन हुँदैन भन्ने थियो । चर्च भनेकै ‘रिलिजन’ र ‘रिलिजन’ नै चर्च थियो । बाइबलको अन्तिम व्याख्या गर्ने अधिकार चर्चलाई मात्र थियो ।

धर्म निरपेक्षता र सेक्युलरिजम
सेक्युलरिजमको समानार्थी शब्दका रूपमा हामीले धर्म निरपेक्षतालाई प्रयोगमा ल्यायौं । हामीले न सेक्युलरिजमको नालीबेली बुझ्ने कोसिस गर्‍यौं न धर्म निरपेक्षताकै । धम निरपेक्ष शब्दलाई केलाएर हेर्ने हो भने यसको अर्थ अनर्थ हुन जान्छ ।

‘धर्म’ को साधारण अर्थ ‘कर्तव्य’ हो भने ‘निरपेक्ष’को पक्ष नलिनु होइन, कर्तव्यबाट विमुख हुनु हो । कसरी व्यक्ति होस् या राज्य आफ्नो कर्तव्यबाट अलग भएर बस्न सक्छ ? धर्म निरपेक्षता शब्दलाई खप्तड स्वामीले धर्मविज्ञान भाग–४ मा राम्रोसँग व्याख्या गर्नुभएको छ । उहाँका अनुसार धर्म निरपेक्ष शब्दले भाषा र भावमा संयोजन ल्याउँदैन ।

धर्म निरपेक्ष दुइटा शब्दबाट बनेको छ : धर्म र निरपेक्षता । निरपेक्ष संस्कृत शब्द ‘निरगत अपेक्षा यस्मात्’बाट आएको हो । यसको अर्थ आवश्यक नभएको हुन्छ । अर्थात् धर्म आवश्यक नभएको विषय भन्ने हुन आउँछ । सेक्युलरिजमको अर्थ राज्यको क्रियाकलापमा चर्चले प्रतिनिधित्व गर्ने रिलिजनको हस्तक्षेप हुनु हुँदैन तथा राज्यले विभिन्न रिलिजन (धर्म होइन) को बीचमा समदूरी कायम गर्नुपर्छ भन्ने हो ।

सेक्युलरिजमको नजिकको शब्द ‘पन्थ’ निरपेक्ष हुन जान्छ । भारतले आफ्नो संविधानको हिन्दी संस्करणमा सेक्युलरिजमलाई पन्थ निरपेक्ष भनी उल्था गरेको पाइन्छ यद्यपि बोलचालमा धर्म निरपेक्ष नै भन्ने गरिन्छ ।

धर्म र रिलिजन एउटै हुन् ?
धर्म हाम्रो मौलिक शब्द हो र यसको अर्थ व्यापक छ । धर्मलाई धर्मशास्त्र तथा धर्मज्ञहरूले विभिन्न तरिकाले व्याख्या गरेको पाइन्छ ।

उदाहरणका लागि पद्मपुराण, भगवद्गीता, श्रीमद्भागवत, याज्ञवल्क्य, नीतिज्ञ विदुरका वचनलाई लिन सकिन्छ । सबैको निचोड व्यक्ति र राज्यले धारण गर्ने विषय नै धर्म हो । धारण गर्ने वस्तु राम्रा मूल्य–मान्यता र संस्कार हुन्, जसबाट कुनै पनि व्यक्ति विमुख हुन सक्दैन ।

धर्मलाई धारण गर्ने विषयहरू मनुस्मृतिको खण्ड ६ भाग ९२ मा प्रस्टसँग व्याख्या गरिएका छन् :

‘धृति: क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रह: ।
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।’

अर्थात् धैर्य, क्षमा, हमेसा संयम रहनु, चोरी नगर्नु, भित्री र बाहिरी पवित्रता कायम राख्नु, इन्द्रियलाई वशमा राख्नु, सत्कर्म गर्नु, ज्ञान आर्जन गर्नु, सत्य आचरण पालना गर्नु, नरिसाउनु धर्मका दस लक्षण हुन् ।

रिलिजनमा इष्टदेवता हुन्छ । अन्तिम किताब (जसलाई धर्मग्रन्थ भनिन्छ) हुन्छ । निश्चित पूजा पद्धति हुन्छ । निश्चित पूजास्थल हुन्छ, जहाँ प्रत्येक व्यक्ति जान चाहन्छन् । उदाहरणका लागि क्रिस्चियानिटीमा एक इष्टदेव (जिसस क्राइष्ट), अन्तिम किताब (बाइबल), एउटा निश्चित पूजा पद्धति (आइतबार चर्च जाने) र अन्तिम ठाउँ चर्च या भ्याटिकन) ।

यी गुण एक ईश्वरवादी अब्राहमिक र अन्य रिलिजनमा पाइन्छन् । हिन्दु धर्ममा कुनै निश्चित देवता छैन, अन्तिम धर्मग्रन्थ छैन, अन्तिम पूजा पद्धति छैन, अन्तिम तीर्थस्थल छैन र अन्तिम अवतार पनि छैन । रिलिजनको नजिक हिन्दु धर्ममा विद्यमान विभिन्न पन्थ (जस्तै– शिवमार्गी, विष्णुमार्गी, कृष्णप्रणामी हुन) मात्र हुन आउँछन् ।

धर्म एउटा जीवन पद्धति हो भने रिलिजन पूजा पद्धति । धर्म र रिलिजनको यो व्यापकतालाई बिर्सेर धर्म निरपेक्ष शब्द प्रयोगमा ल्याउनु शास्त्रीय रूपमा अज्ञानताको उपज मात्र हो ।

किन विवादित धर्म निरपेक्षता ?
धर्म निरपेक्षता विवादित हुनुका धेरै कारणमध्ये यसको शास्त्रीय बहस नहुनु हो । पछिल्ला वर्षहरूमा बौद्धिक छलफल गर्ने परम्परामा क्षयीकरण भएको छ । हाम्रा लागि अरूले ज्ञान उत्पादन गरिदिन्छन् ।

यसमा आन्तरिक राजनीति र बाह्य कारण पनि छन्, जहाँ धर्मलाई सूक्ष्म तरिकाले रणनीतिक रूपमा प्रयोग गरेको देखिन्छ । आन्तरिक रूपमा हामीले केही हदसम्म यसको क्षणिक संवैधानिक समाधान गर्न सफल भए पनि बाहिरबाट सामाजिक इन्जिनियरिङ र भूराजनीतिक स्वार्थका लागि धर्मको रणनीतिक प्रयोग गर्ने परम्परा दिन–प्रतिदिन बढ्दैछ । यसले यो क्षेत्रमा अनिष्ट निम्त्याउने सम्भावना छ ।

संसारमा धेरैजसो क्षेत्रमा धर्मका नाममा ठूलठूला गृहयुद्ध भएको र त्यहाँको स्वरूप परिवर्तन भएको पाइन्छ । यो क्षेत्रमा त्यति ठूला द्वन्द्व भएको देखिँदैनन् र ५ हजार वर्षभन्दा पुरानो परम्परा कायम छ ।

अर्को कारण, पछिल्ला वर्षहरूमा विश्वभरि राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृतिमाथि आधार बनाएर मौलाएको पहिचानको राजनीति हो । यसले अल्पसंख्यक र बहुसंख्यक (भाषा, धर्म, क्षेत्र, लिङ्ग) को बीचमा ठूलो खाडल सिर्जना गर्दैछ । नेपालमा बिस्तारै यो रोग सर्दै छ ।

अर्को महत्त्वपूर्ण तत्त्व १०–१५ वर्षमा देखिएको धर्मान्तरणको वेग हो । यो वेग मुलुक धर्म निरपेक्ष भएपछि बढ्दै गएको छ । यसको असर जसले पहिचानको सुनिश्चितता खोज्दैछन्, तिनीहरूकै पहिचान नष्ट हुने पक्का छ ।

अन्त्यमा, पछिल्ला वर्षहरूमा बहसमा ल्याइएका राजनीतिक अवधारणा कुनै एउटा भूगोल (क्षेत्र) को विषम राजनीतिक र सामाजिक परिस्थितिका उपज हुन्, जुन हाम्रो समाजसँंग मेल खाँदैनन् । अधिकांश राष्ट्रले यी अवधारणामार्फत निम्त्याइएका राजनीतिक र सामाजिक असरको मूल्य चुकाउनुपरेको छ ।

यसको उदाहरण पश्चिमी राष्ट्रहरू हुन्, जहाँ दोस्रो विश्वयुद्धपछि राष्ट्रवादलाई संवैधानिक राष्ट्रवादले विस्थापित गरे । सन् १९४५ लाई विगतको पीडा बिर्सन शून्य वर्षको संज्ञा दिए । आज पश्चिमा राष्ट्रका नागरिक रिलिजनबाट धर्मतिर लाग्दैछन् । हामी भने रिलिजनतिर फर्कदैछौं ।

धर्म निरपेक्षता राजनीतिक र रणनीतिक स्वार्थका लागि प्रयोग हुनु हुँदैन । आजको आवश्यकता धर्मको राजनीति होइन, राजनीतिको धर्म स्थापना गर्ने हो । यसले हाम्रा आन्तरिक समस्या सम्बोधन गर्न सहयोग पुर्‍याउनेछ ।

प्रकाशित : पुस १७, २०७५ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×