कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

असुरक्षित अर्ना 

कमल मादेन

काठमाडौँ — म डेढ दशकपछि गतमाघ ५ मा चरा हेर्न कोसीटप्पु वन्यजन्तु आरक्ष पुगेको थिएँ । आरक्षमा पुस–माघ महिनामा साइबेरियाका चरा आउँछन् । बर्ड वाचर गाइड अनिस तिम्सिनाले हिजोआज चरा एकैठाउँ हेर्न आरक्षभन्दा मोरङस्थित बर्जुतालमा उपयुक्त हुने बताए ।

असुरक्षित अर्ना 

चरा कम भए पनि अर्ना देखिन्छ भनेर कोसीटप्पु बर्ड वाचिङ गेष्ट हाउसमा बास बसेँ । कृत्रिम पोखरीको बीचमा बास र खरबाट गेष्ट हाउस बनाइएको छ । बिहान पोखरीमा थुप्रै चरा देखिए । गेष्ट हाउस कारिन्दाद्वय चक्र तिम्सिना र सुवास भुजेल बर्ड वाचिङ गाइड रहेछन् । उनीहरूसँग बिहान चरा हेरेर मध्यदिनमा अर्ना पाइने ठाउँ गएँ ।


अर्नालाई वाइल्ड वाटर बुफालो, एसियन बुफालो, एसियाटिक बुफालो, इन्डियन बुफालो, इन्डियन वाटर बुफालो, वाटर बुफालो, वाइल्ड वाटर बुफालो आदि नामबाट चिनिन्छ । यसको वैज्ञानिक नाम भने बुबालस अर्नी हो । यसको संख्या विश्वमा करिब ४ हजार रहेको अनुमान छ ।


दिउँसो कोसीटप्पु आरक्ष कार्यालय नजिक कोसी किनारमा २ वटा भाले अर्ना चर्दै थिए । डर मान्दै–मान्दै नजिकै गएँ । अर्नाको रूप, रंग भैंसीजस्तो भए पनि मानिसका निम्ति खतरनाक हुन्छ । यसले तुरुन्तै दौडेर आक्रमण गर्छ । भनिन्छ, अर्ना कुदेर हान्न आयो भने भाग्न सकिन्न । बच्न जमिनमा छपक्क सुत्नुपर्छ । सुतेको अवस्थामा हम्मेसी सिङले भेट्दैन । अन्तिममा अगाडिको खुट्टाले कुल्चेर फर्किन्छ । यसरी सुत्ने घाइते हुन्छ, टाउको जोगिए, ज्यान जोगिन्छ ।


मैले ३०० एमएमको लेन्सबाटै अर्नाको भनेसम्मका तस्बीर खिच्न सकेँ । नजिकबाट अर्नाको तस्बीर खिच्ने अवसर पाउनु शौभाग्य मान्नुपर्छ । अर्नाको सिङ प्राय: एकै आकृतिको हुन्छ । बीचमा फैलिएको र दुवै टुप्पो आपसतिर फर्किएको । घाँटीको तल्लोपट्टि मधुरो सेतो धर्सा देखिन्छ । चारैवटा खुट्टाको खुरनिरको भाग हल्का सेतो हुन्छ ।


शरीर प्राय: चिल्लो, बलियो हुन्छ । मैले तस्बीर लिएको अर्ना दुव्लो देखिन्थ्यो । पछिल्तिर करङको भाग उठेको थियो । यसबाट त्यहाँ अर्नाको आहारा अर्थात घाँस कम छ भन्ने बुझियो । हिजोआज अर्ना संरक्षणको मुख्य चुनौती तिनको बासस्थान खण्डित हुनु र त्यसभित्र पनि पर्याप्त आहारा नहुनु भनिन्छ । यसको आहारा वन्यजन्तुभन्दा घरपालुवाबाट कम भएको बताइन्छ ।


कोसीटप्पु वन्यजन्तु आरक्ष विशेषत: अर्ना संरक्षणकै निम्ति स्थापना भएको हो । सुवास भुजेलले बताए अनुसार कोसीटप्पुमा ४ सय ४१ वटा अर्ना गणना भएको छ । त्यहाँ ४ हजारदेखि ४२ सय वटासम्म गाईभैंसी हरदम बस्ने गरेको अनुमान छ । भैंसीलाई अर्नाबाट गर्भाधान गराएर निकालिएको सन्तान मासु तथा गाढा तनाउन उपयुक्त मानिन्छ ।


त्यस्ता ठिमाहा राँगाको माग विशेषत: कोसीटप्पु आरक्षको सीमावर्ती भारतीय भूभागमा उच्च रहेको बताइन्छ । घरपालुवा भैंसीलाई अर्नाबाट गर्भाधान गराउन आरक्षमा छाड्ने प्रचलन छ । बलिया अर्नाहरू भंैसीको बथानमा देखिन्छन् । दुब्ला तथा जुधाइमा हारेका अर्नाहरू आरक्षबाट बाहिर निस्कन्छन् ।


नाम मात्रको आरक्ष

कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्याप्त घाँस नपाएर अर्ना अक्सर निस्कन्छ । अर्नाको आक्रमणबाट वर्षेनि डेढ–दुई दर्जन मानिस अंगभंग हुन्छन् । स्थानीय बासिन्दाका अनुसार आरक्ष आसपास क्षेत्रमा अर्नासँग जम्काभेट होला भनेर जहिल्यै भयभित हुनुपर्छ । अर्नाले आरक्ष वरपर लगाइएको बालीनाली खाइदिन्छ । उखु काट्ने सिजनमा आरक्षको हात्ती लगाएर अर्ना लखेट्ने गरिन्छ ।


अर्नाले धान, गहुँ, खेसरी, आलसजस्ता बाली खान रुचाउँछ । अर्नाले खाएको बालीको क्षतिपूर्ति दिने व्यवस्था ‘वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९’ मा उल्लेख छ । तर सरकारी कामकारबाही यति ढिलो छ कि बालीनालीको क्षतिपूर्ति पाउन वर्षाैं लाग्छ ।


अर्नाले भित्र पर्याप्त मात्रामा घाँस नपाएकै कारण अर्ना बाहिर निस्कने गरेको आरक्षको दाबी छ । यसका निम्ति आरक्षबाट गाई–

भैंसी बाहिर निकाल्न जरुरी छ । आरक्षले कहिलेकाहीं गाईवस्तु समाएर कान्जिरोबा सेन्टरमा ल्याउने गर्छ । स्थानीय बासिन्दा दाबी गर्न आउँदैनन् । थुनेर राखेका गाई, भैंसीलाई कानुन अनुसार १५ दिनभन्दा बढी थुन्न पाइन्न । तिवारीले बताए अनुसार कसैले दाबी नगरे तिनलाई छाड्नैपर्छ ।


आरक्ष व्यवस्थित गर्न सरकारले अर्को व्यवस्था गर्नु जरुरी छ । कान्जिरोबा सेन्टरमा थुनिएको गाईवस्तुको विवरण स्थानीय बासिन्दालाई स्थानीय एफएम रेडियोबाट जानकारी गराउनुपर्छ । वडा कार्यालयलाई मोबाइल/एसएमएसबाट जानकारी गराउनुपर्छ । निश्चित अवधिपश्चात आरक्षले लिन नआएका गाई/भैंसी लिलामी गर्नसक्ने कानुनी प्रावधान सरकारले गर्नुपर्छ । यसले आरक्षमा गाईवस्तु प्रवेश नियन्त्रण हुनसक्छ ।


संकटको कारण

उहिले अर्ना युरोप र दक्षिण एसियामा प्रशस्त पाइन्थ्यो । जमिन सुख्खा हँुदै गएपछि हिजोआज अर्ना भारतीय उपमहाद्विपका केही देशमा मात्र बचेको छ । बासस्थान खण्डित तथा तिनको कुनै समय अत्यधिक सिकार गरिएकै कारण धेरै ठाउँबाट अर्ना लोप भएको हो ।


आईयुसीएनले प्रकाशन गरेको एस हेड्जेज, एचएस बराल, आरजे तिम्मिन्स र जेडब्लु डकवर्थ लिखित ‘बुबालस अर्नी, वाइल्ड वाटर बुफालो’ (सन् २००८, सुधारिएको २०१८) अनुसार जोखिममा परेको वन्यजन्तु हो । आईयुसीएनले बाघ, हात्ती र रेड पान्डालाई पनि यो समूहमा सूचीकृत गरेको छ ।


आईयुसीएनले अर्ना जोखिममा पर्नुको एक कारण घरपालुवा भैंसीसँग संसर्ग गराई ठिमाहा अर्ना उत्पादन गर्नु भनेको छ । यसबाट अर्नाको असली वंशाणुगत गुण क्षयीकरण भएर जान्छ । दोस्रो कारण अर्ना चरण क्षेत्रमा घरपालुवा गाई, भंैसीबाट विभिन्न किसिमका रोग अर्नामा सर्नु जनाइएको छ ।


तेस्रो कारण, अर्ना संरक्षण क्षेत्रमा गाई, भैंसीकै कारण अर्नाले भनेजति घाँस नपाउनु बताइएको छ । म्यान्मार लगायतका केही देशमा अर्ना जोगाउन गाई–भैंसीरहित अर्ना बासस्थान निर्माण गरिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या पछिल्लो दशकमा उल्लेखनीय वृद्धि भएको छ । संख्या वृद्धिकै कारण अर्नाले पर्याप्त मात्रामा आहारा पाउन छाडेको हो । अर्ना हाम्रो संरक्षित वन्यजन्तु समेत हो ।


अर्ना संरक्षणकै निम्ति कोसीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा सयौं परिवार त्यहाँबाट जबर्जस्त विस्थापित गरियो । आरक्ष स्थापना भए पनि व्यवस्थित व्यवस्थापन छैन । यसैकारण फिरन्ते चरा कम आउन थालेका छन् । आरक्षमा अर्नाले आहारा पाइरहेको छैन । आरक्ष व्यवस्थापनमा सम्बन्धित निकायले तत्काल ध्यान दिने कि !

प्रकाशित : माघ २८, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?