कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सीप सिके गुजारा चल्छ

हामी काम पाएनौं भनेर छटपटाउँछौं । सीप सिक्न छटपटाऔं । सीप सदुपयोग भएकामा रमाउने गरौं । त्यही दिगो हुन्छ ।
सुरेशराज शर्मा

काठमाडौँ — गरिबलाई परिवार पाल्न झन्–झन् कठिन हुँदै गएको छ । बन्द, हडताल, चक्काजाम र अनावश्यक बिदाले गर्दा दैनिक ज्यालादारी गरी जीविका गर्नुपर्नेहरू झनै कष्टमा छन् । चक्काजाम, बन्द र हडताल गर्नेहरू आफ्नै ढिपी र स्वार्थका लागि लड्दैछन्, गरिबका लागि होइन भन्ने कुरा सबैले देखेभोगेकै हो । 

सीप सिके गुजारा चल्छ

सीप जानेका व्यक्तिहरूको अभाव जताततै खट्किरहेको छ । खेती गर्ने बेला मान्छे पाइँदैन । बाटो सम्याउने, घर बनाउने, घरमा शौचालय बनाउने, त्यसको मर्मत गर्ने बेला प्लम्बर आदि जनशक्ति पाइँदैन । राम्रो वेल्डिङ गर्ने मान्छे चाहिएको बेला पाइँदैन । सानातिना मेसिन–औजार मर्मत गर्ने बेला सीप भएको मेकानिक्स पाइँदैन । भएकाहरू पनि ज्याला बढी खोज्छन् । कम सीप जानेकाले कसरी ज्याला बढी पाउलान् त ?


मात्र ६ महिनाको सघन सीप सिकेकाले, सीप जानेका प्रशिक्षकले सिकाएकाले, सीप जानेपछि मात्र सीपको प्रमाणपत्र दिन पाउने सिस्टमले मात्र रोजगारीको ढोका खुल्छ । नजान्नेले अथवा सीपको मर्यादा नबुझ्ने र पालना नगर्नेले खोलेको सीप तालिम केन्द्रले बेकाइदा गर्‍यो भने त्यो केन्द्रमात्र होइन, त्यो केन्द्रलाई स्वीकृति दिने पनि दण्डित हुनुपर्छ । बेकाइदा हुन नदिन पहरेदारी गर्नेहरू यसमा सधैं सजग रहन जरुरी छ ।


कुनै कालिगढले आफ्नो काम राम्ररी जानेको छ भने त्यो स्थापित हुन धेरै दिन लाग्दैन । नराम्रो सीप छ भने त्यो थाहा हुन केही घन्टा पनि लाग्दैन ।


आज पोख्त भान्सेको त्यत्तिकै खाँचो छ । पोख्त कम्प्युटर अपरेटरको खाँचो छ । टिकट बेच्ने पोख्त काउन्टर त्यत्तिकै आवश्यक छ । अर्थात् छोटो समयमा सिकेको कालिगढले राम्रो काम गर्छ भनेर जान्ने बित्तिकै उसैसित काम लिन खोज्छन् । उसलाई जहाँ पनि भ्याइ–नभ्याइ हुन्छ । जसले जति धेरै समय काममा बिताउँछ, उसले उति बढी कमाइ गर्छ । यो सबैले देखेकै छन् । तसर्थ आज धेरै तालिम केन्द्रभन्दा राम्रा तालिम केन्द्र चाहिएका छन् । राम्रा प्रशिक्षक चाहिएका छन् । यस कुरामा मात्र चनाखो भए पुग्छ ।


हिजोआज मानिसले तरकारी बढी खान थालेका छन् । तरकारी महँगो पनि हुँदैछ । बढी विषादीयुक्त औषधि छर्ने, बढी रासायनिक मल प्रयोग गर्ने चलन छ । अर्गानिक मल प्रयोग गरेको तरकारी उत्पादन गर्न सकियो भने चाँडै आम्दानी बढ्छ । ग्राहकलाई ठग्ने होइन, उसलाई खुसी पार्ने नियत चाहिन्छ । त्यो सम्भव छ र त्यही गर्नुपर्छ । अहिले खसी–बाख्रामात्र पाल्नेले सजिलै गुजारा गर्न सक्छ । त्यो काम धेरै गाह्रो पनि छैन । आफैले उत्पादन गरेको वस्तु चाँडै बिक्छ ।


हामी काम पाएनौँ भनेर छटपटाउँछौँ । अब सीप सिक्न छटपटाऔँ । सीप सदुपयोग भएकामा रमाउने गरौँ । त्यही दिगो हुन्छ । त्यो पनि समयमै दक्ष कालिगढले बुझ्छ । आफ्नो सीपको दायरा फराकिलो पार्ने प्रयत्न गर्न कोसिस भएपछि मात्र बढी मिहेनतानाको दाबी गर्नु उचित हुन्छ । सीप सिक्न चाहँदा एक वर्ष वा दुई वर्षको अप्रेन्टिसिप (काम गर्दागर्दै सिक्ने) अवसर ठम्याई त्यता लागेर पोख्त हुँदै गइन्छ ।


कोरियाको सफलताको शिखरमा पुगेका हुन्डाई पहिले घर–घरमा गएर सीपको काम गर्दै क्रमश: सिँढी चढेर कोरियाको शक्तिशाली बिजनेसम्यान हुनपुगेका हुन् । गुजरातका धीरुभाइ अम्बानी पनि त्यही बाटोबाट माथि पुगेका हुन् । माथि–माथिको डिग्री बटुल्नुमात्र माथि पुग्ने बाटो हुँदोरहेनछ भन्ने कुरा असल शिल्पकारले समयमै बुझ्नु जरुरी छ । माथिल्लो तहका मान्छेको पछि लाग्नुमात्रै सफलताको भर्‍याङ होइन ।


फूल रोप्नेहरू, च्याउ रोप्नेहरू र कपाल काट्नेहरूको जताततै माग बढ्दै गएको छ । ब्युटिसियनहरूको माग बढ्दा–बढ्दै निकै महँगा पनि भइसकेका छन् । हाउसकिपिङको पनि त्यत्तिकै माग छ । प्रत्येक गाउँपालिका वा नगरपालिकामा प्राविधिक स्कुल राख्नु जरुरी छ र सरकारले त्यो राख्ने योजना बनाएको पनि छ । त्यहाँ लामो समय लाग्ने सीप सिकाउने मात्र होइन, छोटो अवधिमा पनि राम्रैसँग सिक्न सक्ने थुप्रै तालिम केन्द्र चाहिएका छन् । प्रत्येक सीपको आदर पनि चाहिएको छ ।


लेखक काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् ।

प्रकाशित : माघ २५, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?