सामाजिक सञ्जालको असामाजिक पाटो

बाहिरी दुनियाँसँग सम्बन्ध बढाउन कामयावी सामाजिक सञ्जाल पारिवारिक परिवेशभित्र सम्बन्ध खुम्च्याउने कडी बन्दैछ ।
उषा थपलिया

काठमाडौँ — सबै सदस्यको उपस्थिति हुँदाहुँदै पनि प्राय: घरपरिवारमा सन्नाटा छाएको देखिन्छ । हरेक व्यक्ति हरबखत आफ्नो साथमा रहेको उपकरणतर्फ ध्यानाकृष्ट हुँदा एकअर्कोसंँग संवाद, छलफल पातलिएको छ ।

सामाजिक सञ्जालको असामाजिक पाटो

कामको सिलसिलमा दिनभरि मान्छे बाहिरी दुनियाँमा हराउँछ । तर घरमै हुने साँझ–बिहान पनि पारिवारिक चलहपहल शून्यप्राय: देखिन्छ ।


घरभित्र छिर्नासाथ मान्छे आफ्नो उपकरणमा एकोहोरिन हतारिएको हुन्छ । एउटै परिवारका सदस्यहरू तला, कोठा तथा कुनाकानीतिर विभाजित हुन्छन् । एउटै थलोमा सबैको समग्र उपस्थिति देखिन छाडेको छ । अभिभावक खेमाकै व्यक्तिहरूमा सामाजिक सञ्जालप्रति बढ्दो लत सन्तानका लागि आधार भएको छ ।


हरेक मानिसलाई प्रविधितर्फ आकर्षित गर्ने मुख्य प्रेरित तत्त्व सामाजिक सञ्जाल बनेका छन् । फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक, मेसेन्जर, भाइबर, युट्युब लगायतका सामाजिक सञ्जाल आफन्त र साथीभाइसँंग सम्बन्ध कायम र विस्तार गर्ने उपयुक्त माध्यम बनिरहेकामा शंका छैन । तर बाहिरी दुनियाँसँंग सम्बन्ध बढाउन कामयावी यी सञ्जाल पारिवारिक परिवेशभित्र सम्बन्ध खुम्च्याउने कडी बन्दैछन् ।


पारिवारिक जिम्मेवारीबाट पन्छिन खोज्नेहरूलाई यस उपक्रमले सजिलो बनाएको छ । विशेषगरी पुरुषको समय मोबाइलले लिन थालेपछि पारिवारिक सरोकार र जिम्मेवारीमा उनीहरूको चासो कम हुने भयो । सामाजिक सञ्जालको दुष्प्रभावबाट महिला पनि आक्रान्त देखिन्छन् । तर पुरुषलाई यसले बढी गाँजेको छ । पहिला घरायसी काममा सघाउने पुरुषहरू अहिले सामाजिक सञ्जालकै कारण अल्छी बनेको गुनासो गर्ने महिला प्रत्येक घर–घरमा भेटिन्छ । यसले महिलालाई अतिरिक्त कार्यबोझ थपेको छ । पुरुषको व्यवहारले बढी तनावग्रस्त पनि बनाएको देखिन्छ ।


सामान्य रुघाखोकीले सताएकी साथीको पोष्टमा ‘गेट वेल सुन’, ‘टेक प्रोपर केयर’,

‘ह्याभ एनफ रेष्ट’ लगायतका कमेन्ट लेखेर भावनात्मक संवेदना देखाउने लोग्नेमान्छे बिरामी शरीर घिसारेर काम गरिरहेकी आफ्नी पत्नीलाई सहयोग गर्दैन । कृतज्ञ हुन आवश्यक ठान्दैन । एकछिन मोबाइल या नेटले साथ दिएन भने मान्छेको छटपटी र उकुस–मुकुस थेगिनसक्नुको हुन्छ ।

पहिला सबैजना बसेर टेलिभिजनका कार्यक्रम हेर्थे, मजा लिन्थे । अहिले त्यसलाई हातका उपकरणमा उपलब्ध आफ्नो रुचि अनुसारका युट्युब च्यानलले विस्थापन गरिसकेका छन् । जसका कारण मान्छे एकलकाँटे बन्दै गएका छन् । प्रविधिको अतिक्रमणले भान्साकोठा समेत बाँकी छैन । अरु बेला जति व्यस्त भए पनि परिवारका सदस्यबीच कुरा आदान–प्रदान हुने, पारिवारिक मामिलामा सल्लाह, छलफल हुने खानपानको समयमा हो ।


सामाजिक सञ्जालप्रतिको अनुरागले डाइनिङ टेबलमा समेत सन्नाटा आइसकेको छ । चिया, खानाको समयमा समेत मानिसको ध्यान फेसबुकका इभेन्टमाथि लाइक, कमेन्ट, उत्सवका पोष्टमा बधाई ज्ञापन, दु:खमा समवेदना, दर्शक संख्या बढाउने होडमा पोष्ट गरिने आवश्यक/अनावश्यक भिडियो, शीर्षकबाटै सनसनाहट फैलाउने कम सत्य र बढी अफवाहजन्य समाचार आदिमा केन्द्रित हुने गर्छन् ।


प्रविधिको मोहले बालबच्चालाई लठ्ठ बनाउने नै भयो । देख्ने, सुन्ने र अनुभूत गर्ने सामान्य चेत पलाएको शिशुदेखि नै प्राविधिक उपकरण कति अपरिहार्य छ, हरेक घरभित्र देख्न सकिन्छ । किशोरावस्थाका सन्तानको यसप्रति आकर्षण झन् उल्लेख गरिसक्नुकै छैन । सामाजिक सञ्जालको दुनियाँमा यसरी हराउन चाहन्छन् कि खाने कुरासमेत उनीहरूका लागि बोझ बनिदिन्छ । आफन्त/नातेदारसँंगको भेटघाट, कुराकानी निरर्थक लाग्छ । घरभित्र सिक्नुपर्ने, जान्नुपर्ने पक्षहरू झर्को सिवाय केही लाग्दैन । आफै हरबखत सामाजिक सञ्जालकै मोहमा बेरिएपछि सन्तानलाई त्यसबाट विमुख गर्ने नैतिक जिम्मेवारी अभिभावकमा बाँकी रहनु पनि कसरी ?


तैपनि अभिभावकको हुंकारस्वरुप जब सन्तानमा यसमाथि चर्को स्वर र बन्देजका कुरा निस्किन्छन्, परिवेश तनावग्रस्त बनिदिन्छ । ‘आफू भने जतिबेला पनि मोबाइल चलाएरै बस्ने, हाम्ले एकछिन छोयो कि रिस गर्ने †’ हरेक सन्तानको मनभित्र यो भावना उर्लिरहेको प्रस्टै थाहा हुन्छ । बोल्ने हिम्मत भएकाले प्रस्ट स्वरमै जवाफ फर्काएर अभिभावकलाई अवाक् बनाउँछन्, हिम्मत नजुटाउनेले मनले आक्रोश ओकल्छन् । जसका कारण साता दस दिनसम्म सन्तान र अभिभावकबीच बोलचाल हुँदैन ।


किशोर–किशोरीहरूलाई मोबाइल मोह नहोस् पनि कसरी ? इन्टरनेट भइसकेपछि हत्केलामै नपाइने कुरा केही हँुदैन । उनीहरूलाई लक्षित गरेर गाउने, नाच्ने, अभिनय गर्ने, पकाउने, फेसन गर्ने, शृङ्गार गर्ने लगायतका सबै विधाका कार्यक्रम नयाँ आइरहेका हुन्छन् । त्यसकै नक्कल गरेर आफ्ना प्रतिभा प्रस्फुटन गर्ने रहर जाग्नुलाई अस्वाभाविक पनि कसरी भन्ने ? यसै क्रममा तयार गरिएका नृत्य, अभिनय, गायन, क्यारिकेचर, मोडलिङ आदि आफ्ना प्रतिभा आफूले मात्रै हेर्नुको के अर्थ ? पोष्टको विकल्प रहेन । पोष्टपछि लाइक, कमेन्ट बारेको अपडेट थाहा पाउने लालसाले निम्त्याउने वेचैन झन् कति हो कति ?


साथी सर्कलभित्र हुने रोमाञ्चक र विन्दास च्याटबाट टाढा बस्न झनै गाह्रो । हातमा उपकरण भएपछि आफ्ना मनमा उब्जिने हरेक खुल्दुली मेट्न कसैको सहारा चाहिएन । अहिलेका सन्तानलाई अभिभावकको सामिप्यता आवश्यक हैन, बोझ सावित भएको प्रस्टै हुन्छ । अभिभावकहरू टाढै रहेको क्षण उनीहरूको प्रिय समय बनिदिन्छ र लामो समय एक्लै बिताउनुपर्दा पनि गुनासो हुँदैन । अभिभावकले बताएका कुरा विश्वास नगर्ने तर नेटमा खोजेर पत्ता लागेका सबै कुरा अकाट्य सत्य ठान्ने प्रवृत्तिले सन्तानलाई ग्रसित बनाइसकेको छ ।


बाहिरी दुनियाँमा पनि सामाजिक सञ्जालले मानिसलाई असामाजिक बनाउँदै लगेको प्रस्टै देखिन्छ । यातायातका साधनमा समेत मोबाइल बाहेक अन्य कुरामा मान्छेको ध्यान गएको देखिन्न । चेहरामा मास्क, आँखामा सनग्लास, कानमा इयरफोन र हातमा सामाजिक सञ्जालका पेज खुलेपछि व्यक्तिहरू आफैभित्र हराइरहेका हुन्छन् । बसभित्र वृद्ध, अशक्त, अपांगता भएका कस्ता अवस्थाका मान्छे उभिएर यात्रा गरेका छन्, तिनीहरूप्रति आफ्नो दायित्व के हुन्छ ? सामान्य नैतिकताका पक्षहरूसमेत यिनै हर्कतले टाढा धकेलिदिएको छ ।


पहिला यात्राका दौरान अपरिचितबीच बातचित हुन्थ्यो । आफ्नो परिचय, भोगाइ, अनुभव एकअर्कामा साटासाट हुन्थ्यो, नेपाली हुनुको साइनोबाटै सुरु भएका यात्रा अवधिका ती भेट र कुराकानी प्रगाढ सम्बन्धमा समेत बदलिन्थे । परिवेश अहिले त्यस्तो देखिँदैन ।


आफन्त/नातेदारकहाँ पुग्दा पनि मान्छेको असामाजिक चरित्र प्रस्टैसँंग छरिन्छ । चासो जहाँ गएको हो, त्यो परिवारको बारेमा हुनुपर्ने हो । जीवन भोगाइ, उन्नति, प्रगति, सुखदु:ख आदिमा केन्द्रित हुनुपर्ने हो । तर यी सबैलाई छाडेर सबैभन्दा पहिला मान्छे वाइफाइको पासवर्ड सोध्छ र तिनै गतिविधिमा लीन हुन्छ ।


प्रविधिमार्फत सामाजिक सम्बन्ध मजवुत बनाउने उपक्रम नराम्रो होइन । प्रविधिगत सामाजिक सम्बन्धलाई कसिलो बनाउने ध्याउन्नमा घर, परिवार र समाजको यथार्थ सम्बन्धका जुइना खुस्किन थाले भने प्रत्युत्पादक भैदिन्छ । सबैले प्राथमिकतासाथ सबल बनाउनुपर्ने भौतिक र यथार्थ सम्बन्धलाई हो । प्रविधिको संसारभित्र होनहार सामाजिक अभियन्ता ठहरिने कसरत गर्दैगर्दा वास्तविक जीवनमा उही व्यक्ति घोर असामाजिक, एकलकाँटे, कर्तव्यच्युत र कृतघ्न बन्न पुग्छ ।


आफू सामाजिक प्राणी बन्नुसंँगै आफूपछिको पुस्तालाई सोही मार्गमा हिँडाउने दायित्व हरेक व्यक्तिमा रहन्छ । आफैमा सुधार नगरी आफूपछिको पुस्तालाई सुधार्ने नैतिकबल मिल्दैन, न त्यो स्वाभाविक देखिन्छ । प्रविधि सदुपयोगबाट हासिल हुने सकारात्मक ज्ञानले मान्छेलाई अघि बढ्न सघाउँछ । तर प्रविधिकै दास बनेर अनुत्पादक काममा मूल्यवान समय खेर फालियो भने यसबाट पर्ने बहुआयामिक नोक्सानबाट तंग्रिन सजिलो हुँदैन ।

प्रकाशित : माघ २५, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?