कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोइनसक्नुका अस्पताल

मञ्जु भट्ट

काठमाडौँ — सानिमा ४५ वर्षकी हुनुहुन्थ्यो । तातो वा चिसो पानी मुखमा हाल्दा दाँत सिरिङ्ग गर्थ्याे । सहन नसकेर उहाँले सबै दाँत निकाल्नुभयो । नजिकको अस्पतालले दाँतमात्र निकाल्थ्यो । भर्ने वा अन्य उपचार गर्ने सुविधा थिएन । केही वर्षपछि उहाँको छोराले काठमाडौं ल्याएर दाँतको पुरै सेट लगाइदिए । धेरै पहिला दाँत निकालेकाले गिँजा सुकिसकेको थियो ।

दाँत गिँजामा नबसेर फुत्त निस्किहाल्छ । दाँत लगाएर चपाउन मिल्दैन । काठमाडौं धाइवरी पैसा खर्च गरेर लगाएको दाँत काम लागेन । सानिमा धेरै पकाएर गिलो बनाइएको खानामात्र खान सक्नुहुन्छ ।


भनिन्छ, हाम्रो स्वास्थ्य दाँतबाट सुुरु हुन्छ । दाँत स्वस्थ छन् भने हामी धेरै बिमारीबाट जोगिन्छौं । यति महत्त्वपूर्ण दाँतको उपचार भने छोइनसक्नु छ । एउटा दाँत भरेको कम्तीमा पाँच सय रुपैयाँ । जरादेखि भर्ने हो भने तीन हजारभन्दा माथि पर्छ । दुइटा दाँत भरेर एउटा दाँतमा क्याप लगाउँदा सात हजार रुपैयाँ नाघ्छ ।


काठमाडौंको समता अस्पतालमा जतिवटा दाँत भरे पनि सय रुपैयाँमात्र पर्दोरहेछ । यसबारे धेरैलाई जानकारी छैन, न अस्पताल सबैको पहुँचमा छ । सर्वसाधारणलाई लक्षित गरेर दाँतका लागिमात्र सरकारी अस्पताल खुले धेरैलाई फाइदा पुग्छ ।


डाक्टरले मेरा श्रीमानलाई फिजियोथेरापी गर्न सुझाए । घर नजिक पर्ने भएकाले उहाँलाई चावहिलको हेल्पिङ ह्यान्डस अस्पताल लग्यौं । ‘यहाँ राम्रा मेसिनहरू छैनन्, मैले काम गर्ने अर्को ठाउँमा आउनुस् है,’ त्यहाँका एक डाक्टरले भने । श्रीमानलाई ओम अस्पताल लग्यौं । डाक्टरले पुरै शरीरको एमआरआई गरेर आउन सल्लाह दिए । उनले एउटा चिटमा लेखिदिएर एमआरआई गर्न लाजिम्पाटको निजी क्लिनिकमा पठाए । उनले भनेकै ठाउँमा एमआरआई गरायौं । पछि थाहा पायौं, एकदमै थोरै पैसामा त्रिवि शिक्षण अस्पतालमा पनि एमआरआई हुँदोरहेछ ।


अधिकांश निजी अस्पतालहरूले आफ्नो स्वार्थका लागि सामान्य बिरामीलाई हप्तौंसम्म अस्पतालमै भर्ना गरेर उपचार गराउन खोज्छन् । हामी महंँगो शुल्क तिरेर निजी अस्पताल पुगेका हुन्छौं । डाक्टरलाई भने राम्रोसँग बोल्ने समय हुँदैन । हतार–हतार जाँच गरेर ‘यो औषधि खानु’ भनेर बाहिर पठाइहाल्छन् ।


बिमारको कारण के हो, यो रोग लाग्दा के खाने, के नखाने राम्ररी सोध्नै पाइँदैन । यसरी समय नदिनेहरू नाम चलेका र वरिष्ठ भनिएका डाक्टरहरू बढी देखिन्छन् । सामान्य आय भएका र पहुँच नभएका मानिसका लागि सुलभ र छरितो उपचार काबुभन्दा बाहिरको विषय हुने गरेको छ ।


केही वर्ष पहिला मेरो बुबाको पिसाब नली बन्द भयो । मान्छेले दुई दिन बोकेपछि एम्बुलेन्समा हालेर धनगढी पुर्‍याइयो । त्यसपछि जहाजबाट काठमाडौं ल्यायौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा देखायौं । पाइप लगाएर त्यो दिन अस्पतालमै राख्यौं । प्रोस्टेट ग्रन्थिको आकार बढेकाले तुरुन्तै अपरेसन गर्न डाक्टरले सुझाए ।


चिरेर अपरेसन त्यहीं पनि गर्न सकिन्थ्यो । वृद्धलाई मेसिनले खुर्किनु सजिलो हुने डाक्टरको भनाइ थियो । त्यस्तो मेसिन पाटन र शिक्षण अस्पतालमा मात्र रहेछ । तर दुवै ठाउँमा पालो आउन तीन महिना लाग्ने रहेछ । बुबाको अवस्था गम्भीर थियो । निजी अस्पताल जानुको विकल्प थिएन । निजीमा उपचार गराउँदा साधारण जागिरेको पनि महिनौंको तलब खर्च हुन्छ ।


केही वर्षअघि सुर्खेतको दुर्गम गाउँ गुटुकी एकजना बहिनीले पेट दुखेर नजिकैको स्वास्थ्य केन्द्रमा जाँच गराइन् । भिडियो एक्सरे गर्दा मृगौलामा पत्थरी देखियो । उनी गहना बेचेर काठमाडौं आइन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जचाउँदा मृगौला बिग्रेको पत्ता लाग्यो । बिग्रेको मृगौला राख्ने कि फाल्ने भनेर अर्को जाँच वीर अस्पतालमा गर्नुपर्‍यो । परीक्षणले मृगौला फाल्नुपर्ने देखायो । त्यसका लागि आठ महिना कुनुपर्ने भयो ।


सरकारले नीति तथा कार्यक्रम, बजेटमा स्वास्थ्यमा प्राथमिकता दिएको भन्ने समाचार सुनिन्छ । स्वास्थ्य उपचारसेवा भने झन् सहर र राजधानी केन्द्रित हुँदैछ । प्रत्येक प्रदेश राजधानीमा कम्तीमा एउटा सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध गराउनसके संघीय राजधानीका अस्पतालमा चाप घट्ने थियो, सर्वसाधारणले सामान्य उपचार गर्न काठमाडौं धाउनुपर्ने थिएन । यथोचित शुल्क तिरेर सरकारी अस्पतालमा सजिलै उपचार पाउने दिन कहिले आउला ?

प्रकाशित : माघ २२, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?