जैविक घडीको भर

रामचन्द्र अधिकारी

काठमाडौँ — हिउँदमा बिहान उठ्न गाह्रो लाग्ने कारण जाडो मात्र होइन, अर्को कारण पनि छ –उज्यालो ढिलो हुनु । उज्यालो ढिलो हुनाले निद्रा नभाग्ने वा शरीरमा जाँगर नभरिने अर्को भित्री कारण छ । त्यो हो– मेलाटोनिन हर्मोन । यो हर्मोन उज्यालोको अनुपस्थितिमा जीउमा उत्पादन हुन्छ, जसले निद्रा लगाउँछ । 

उहिले घडी थिएन, मानिस घाम हेरेर वा आफ्नो शरीरले दिने छनकका आधारमा कामबाट घर फर्किने गर्थे । बिहान उठ्नेदेखि राति सुत्नेसम्मका गतिविधि प्राय: जीउले अनुभव गराउने संकेतअनुसार हुने गर्थे । अहिले घडीको भरमा जीउ चलाउन खोजिएला तर जीउले आफ्नै तालमा चल्न खोजिरहेको हुन्छ । अधिकांशको सुत्ने र उठ्ने तालिकालाई जीउले निर्धारण गर्छ । हाम्रो शरीरमा हुने गतिविधि जस्तै– भोक लाग्ने, अल्छी लाग्ने, जोश आउने, यौन उत्तेजना हुने, बानी–व्यहोरा आदि जैविक घडीले निर्धारण गर्छ ।

सजीवको शरीरका आन्तरिक जैविक प्रक्रियाको चक्र नियमितता वा वातावरणअनुसार जीवजन्तुले आफूलाई सञ्चालन गर्ने प्राकृतिक नियम जैविक घडी हो । जैविक घडी ठिक समयका साथ चल्छ । एउटा उदाहरण– अफगानिस्तानको ‘काफल पाक्यो’ चरा नेपाल घुम्न आइपुग्ने समय हरेक साल उही हुन्छ । साइबेरियाका चरा नेपाल आउने समय सालपिच्छे खास फरक पर्दैन । दिउँसो गतिविधि गर्ने जनावरहरू हुन् या राति सक्रिय हुनेहरू, उनीहरूलाई आफ्नै जीउले कति बेला के गर्ने भन्ने संकेत दिइरहेको हुन्छ । कुखुराको भाले बास्नु पनि जैविक घडीको उदाहरण हो ।

धेरै वैज्ञानिकले अलग–अलग गरेका अनुसन्धानको निचोड अनुसार मानिसको शरीरमा जैविक घडी यसरी चलेको हुन्छ– बिहान ४ बजेतिर शरीरको तापक्रम सबैभन्दा कम हुन्छ, ६ बजे कोर्टिसोलको मात्रा बढेको हुन्छ र ६ बजेदेखि ९ बजेसम्म रक्तचाप ह्वात्तै बढ्छ । साढे ७ बजेदेखि मेलाटोनिन हर्मोनको मात्रा घटिदिन्छ र पुरै निद्राको ह्याङओभर हट्छ । ९ बजेतिर पुरुषका अन्डकोषले धेरै परिमाणमा टेस्टेस्टेरोन हर्मोन उत्पादन गर्छन् र उनीहरूलाई उत्तेजना पनि बढी हुने हुन्छ । बिहान १० बजेको समय दिमाग एकदम जाँगरिलो र काम गर्न तम्तयार हुन्छ ।

१२ बजेको समयमा जीउका सबै प्रणाली अति संगठित र समन्वयको अवस्थामा हुन्छन्, यो बेला गरिएको निर्णय दर्बिलो हुन्छ । दिउँसो १ देखि ३ बजेतिर आन्तरिक जैविक रासायनिक प्रतिक्रियाको दर उच्च बन्छ । साँझ ६ बजे शरीरको तापक्रम सबैभन्दा उच्च हुन्छ । ८ बजे रक्तचाप उच्च हुन्छ । ९ बजे मेलाटोनिन हर्मोनको मात्रामा वृद्धि हुन गई निद्रा लाग्छ र राति १२ बजेदेखि २ बजेसम्म मानिस गहिरो निद्रामा परेको हुन्छ ।

जैविक घडीको गति कारणवश ढिलो–चाँडो भयो भने परिणाम राम्रो आउँदैन । युरोपमा भएका एक दशकका अध्ययनले देखाएका छन् कि सडक दुर्घटना गराउने चालक र कार्यस्थानमा भएका दुर्घटनाका घाइते आधा घण्टा मात्र निद्रा बिग्रिएकाहरू थिए । जैविक घडीमा कुनै किसिमको अवरोध वा अवचलन आए मुटुको विराम, मानसिक विराम, मधुमेह, क्यान्सरलगायत विविध रोगव्याध लाग्ने वैज्ञानिकहरूको ठम्याइ छ ।

जैविक घडीलाई सञ्चालन गर्न मस्तिष्कको हाइपोथालामस भनिने भागमा सुप्राचाइस्माटिक न्युक्लियस हुन्छ भन्ने कुरा स्नायु वैज्ञानिकहरूले पत्ता लगाएका छन् । यसलाई केन्द्रीय घडी पनि भनिन्छ । जीउमा थुप्रै अरू क्षेत्रीय र स्थानीय घडी छन् । जसरी भौतिक घडीलाई दम दिनुपर्छ या ब्याट्रीको ऊर्जा चाहिन्छ, यसलाई चलाउन या समय निर्धारण गर्न प्रकाश जरुरी पर्छ, जुन आँखाबाट छिरेको हुन्छ । सो न्युक्लयसभित्रको जिनले दिमागी, ग्रन्थि र मुटु सम्बन्धीका प्रक्रियालाई सञ्चालन गर्छ ।

सम्बन्धित क्षेत्रका विज्ञहरूका अनुसार जैविक घडीको प्रत्येक पल ख्याल गरिनुपर्छ । जस्तै– कुन भ्याक्सिन कति बजे, कुन अंग र भाग (मासु, नसा वा अन्य तन्तु) मा हान्दा बढी बलियो प्रतिरोधात्मक क्षमता दिने हो भन्ने परिभाषित छ । जैविक घडी अनुसार पिल्स लगायतका रक्तचाव बढाउने औषधी सुत्ने बेला वा राति ९ बजेपछि खान भनिएको हो । क्यान्सरको केमोथेरापी राति गर्दा अन्य तन्तुमा पर्ने अतिरिक्त असर कम हुनजान्छ । बेलुका गरिष्ठ भोजन गर्नुहुन्न । जैविक घडी अनुसार राति शरीरलाई चाहिने प्रोटिन आफंै बनिन्छ । हामीले बढ्ता खाए शरीरलाई हानि मात्र गर्छ ।

बेलायतको किङ्गस कलेजका पोषण विज्ञानका वैज्ञानिक गेर्डा पटले लन्डनका पाँच हजार मानिसका खानपिनसम्बन्धी बानी–व्यहोरा अध्ययन गरे । सन् १९४६ देखि लगातार दशकाैं अध्ययन गर्दा निष्कर्ष निस्कियो– जो जैविक घडीअनुसार चलेर नियमित समयमा खाना खाँदैन, ऊ मुटु र मधुमेहको विराम हुने खतरामा पुग्यो । राति काम गर्ने र दिउँसो सुत्नेहरू जैविक घडीविपरीतका भएकाले उनीहरूमा निको नहुने थकाइ रोग र भोक नलाग्ने समस्या आइपर्छ ।

सन् २०१७ को औषधि विज्ञानमा नोबेल पुरस्कार जैविक घडीकै अनुसन्धाताले पाएका थिए । जेफेरी सी हल, माइकल रोसबस र माइकल डब्लु योङले दिनको २४ घन्टामा जीवन कसरी अनुकूलित भएको हुन्छ भनेर अनुसन्धान गरेर लेख प्रकाशित गरेका थिए । उनीहरूले यसैसँग आधारित भएर जीउमा क्यान्सर कसरी विकास हुन्छ भन्ने पनि पत्ता लगाएका थिए ।

जैविक घडीको निर्धारक जीनलाई तन्दुरुस्त राखिनुपर्छ । यसलाई दुरुस्त राख्न उसले संकेत गरे अनुसार चल्नुपर्छ । यसको प्रक्रिया स्वस्थ जीवनशैली र परिणाम स्वस्थ जीवन र दीर्घ आयु हो । स्वस्थ जीवन जिउने हो भने मानिसले भौतिक घडी होइन, जैविक घडीको समय पछ्याउन जरुरी छ ।

लेखक स्नातकोत्तर क्याम्पस विराटनगर, प्राणीशास्त्र विभागका उपप्राध्यापक हुन् ।
ramchandra.adhikari@gmail.com

प्रकाशित : माघ २२, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

सहरिया बाँदर 

बाँदर निकै बाठा देखिन्छन् । तर यिनको दिमागी क्षमता तथा चतुर्‍याइँको गहन अनुसन्धान भएको छैन । 
रामचन्द्र अधिकारी

काठमाडौँ — बाँदर बसोबास गर्ने सहर प्रशस्तै छन् । काठमाडौं, पोखरा, धरान लगायतका अधिकांश सहरमा बाँदरको प्रकोप हुनथालेको छ । बाँदर जंगली जनावर हो । तर आजकाल यो सहरिया भएको आभाष भइरहेको छ । विराटनगर जंगलविहीन पक्की सहर हो ।

नजिकको जंगल चारकोशे झाडी ३५ किलोमिटर टाढा छ । बीचमा ठूला मानव बसोबास क्षेत्र छन् । तर विराटनगरमा बाँदरको बसोबास गतिलै छ । रघुपति जुटमिलको गोदाममा केही वर्षअघि एउटा बाँदर देखिएको थियो । यिनको संख्या बढेर ४० हाराहारी पुगेको छ । सीमावर्ती भारतीय जोगवनी बजारमा डुलिखाने गरेका छन् । क्रमश: विराटनगर बजारतिर उन्मुख भइरहेका छन् । यहाँका बाँदरले दस जनाभन्दा बढी मजदुर र कर्मचारीलाई टोकेर घाइते बनाइसकेका छन् ।

जंगल बिना पनि यिनीहरूको जीवन चल्नु जीव विज्ञानमा आश्चर्य मानिएको छ । मानव निर्मित संरचनामै लुकिछिपी बस्ने, मानिसबाट मागेर नभए चोरेर खाने, बजारमा पाइने चाउचाउजन्य र पेयपदार्थ पनि प्याक खोलेर खाने, बच्चालाई प्रयोग गरेर मानिसका घर भित्रका खाद्यवस्तु चोर्ने जस्ता गतिविधिले जीव वैज्ञानिकको ध्यान तानिएको छ । यिनीहरूको सहअस्तित्व तथा आपसी क्रमविकास मानव र यसको सभ्यताको विकासक्रमसँगै अघि बढिरहेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा बाँदरको गहिरो र बृहत अध्ययन मुकेश चालिसेले गर्नुभएको छ । बाँदर खाना र बासस्थानका लागि मानिसमा आश्रित भएर धेरै अल्छी र रोगी पनि भएको उहाँको तर्क छ । सहरिया खान्कीमा रमाएपछि यिनीहरूको आयु १५ बाट १० वर्षमा झरेको छ, पाँच वर्षमा मात्र यौन परिपक्वता हुनुपर्नेमा अढाई वर्षमै भएको पाइएको छ ।

प्रकृतिमा पाइनेको सट्टा मानव निर्मित खानेकुरा खाँदा जीउमा फस्के मासुमात्र जमेको छ । उमेर नपुगी गर्भिनी हुने गरेका छन् । बच्चा पनि कुपोषित छन् भनेर उनै बाँदरविज्ञ चालिसेले आफ्ना अनुसन्धानमूलक लेखहरूमा उल्लेख गर्नुभएको छ । सुरु–सुरुमा मान्छेले यिनलाई पल्काएका हुन् । पछि हातमा खानेकुरा बोकेर हिँड्दा आफूलाई नदिएकामा खोसी खान र आक्रमण गर्न साहसिक भएका हुन् ।

ग्रामीण क्षेत्रमा पनि जंगलमा आहार–विहार गर्नुको साटो गाउँ पसेर खानेकुरा चोरिखाने र अरु उपद्रो गरेका घटना समाचारमा आइरहेका छन् । गाउँघरमा प्रशस्त खान पाइने बुझेर अल्छी भएको बाँदर जंगल पसेर खोजी नखाने मनस्थितिमा पुग्ने गरेको अनुसन्धाताले उल्लेख गरेका छन् ।

कुनै कालखण्डमा शाकाहारी भएको यो जनावर अहिले सर्वाहारी बन्न पुगेको छ । धनकुटा नगरपालिका लगायत विभिन्न स्थानीय तहले बाँदर व्यवस्थापनमा बजेटैछुट्याएका छन् । नेपालका पूर्वदेखि पश्चिमसम्मै र मधेसदेखि तीन हजार मिटरको उचाइसम्म बाँदर पाइने गरेको छ ।

अमेरिकातिर पाइने नयाँ संसारिक र एसिया तथा अफ्रिकातिर पाइने पुराना संसारिक गरी दुई खालका बाँदर छन् । पुरानाचाहिँ मानिससँग नजिक मानिन्छन् । पृथ्वीमा अढाई सयभन्दा बढी प्रजाति पाइने भए पनि नेपालमा बाँदरका तीनवटा प्रजाति छन् । ती हुन्– मकाका मुलाटा (रातो बाँदर), मकाका आसामेन्सिस (पहरे बाँदर) र ढेँडु (सिम्नोपिथेकस इन्टेलस) । अध्ययनहरूबाट थाहा लागेको छ कि मुलाटा गाउँ–सहरतिर बढीजसो छिरेको छ । चालिसेका अनुसार आसामेन्सिसका पूर्वीया र पश्चिमा
दुई प्रजाति छन् ।

मानिसका खेतबारी हुँदै घर–भान्सामा आइपुगेका बाँदर र मानिसका पुर्खा एकै हुन् । क्रमविकासमा चार करोड वर्षअघि देखिएको मानिस हो कि बाँदर भन्नुजस्तो जनावर एन्थ्रोपोइड्सबाट बाँदरका पुर्खासँग मानिसको पुख्र्यौली हाँगो फाटेको हो ।

मानिससँग बनावट मिल्ने अति नजिकको जनावर हो– बाँदर । नेपालको सन्दर्भमा पहरे बाँदर संरक्षित २७ वटा स्तनधारीको सूचीमा कानुनद्वारा संरक्षणमा परेको छ । नेपालका बाँदरको अवस्था मजबुत भए पनि संसारमा कुनै बाँदर यति कम संख्यामा छन् कि कुनै पनि बेला ती अलप हुनेछन् । जस्तै– कालटाउके गिब्बन २० वटामात्र छन् भने टोनकिन घुमनाके बाँदर १५० वटा छन्, अनि रातो कोलोबसएक हजारमात्रै ।
बाँदरको दिमागी क्षमता तथा चतुर्‍याइँ कति बढेर आयो भनेर गहिराइमा अनुसन्धान भइसकेको छैन । यिनीहरू निकै बाठा भएका छन् । शब्द नफुटे पनि आवाजबाटै सञ्चार गर्छन्, औजार प्रयोग गर्छन्, अनुहारको प्रस्तुतिले पनि सन्देश संवाहन गर्छन्, हात मिलाउँछन्, मायाप्रेम र दया व्यक्त गर्छन्, अंकमाल गर्छन् । मानिससँग इगो लिन्छन् र मौका पर्दा धेरै अगाडिको रिस साँध्छन् ।

प्रशस्त खानेकुरा पाउने/नपाउने, सुरक्षित सुत्केरी हुन पाइन्छ/पाइन्न भन्ने अनुमान लगाई गर्भधारणका लागि तयार हुने कि नहुने भनेर निधो गर्छन् । राजनीतिका नियम बनाएका हुन्छन् र नेता चुन्छन्, समूह फुटाएर नयाँ समूह बनाउँछन् । कुनै समस्या दिमाग लगाएर समाधान गर्ने र आपसी सरसल्लाह गर्नेसम्मको चेतनशीलता छ । आफ्नो गृहक्षेत्र निर्धारण र सुरक्षा गर्छन्, जहाँ अरु आए सामुहिक बलले आक्रमण गर्छन् । यसको चेतना र बठ्याइँ वृद्धि हुँदै आएर मानिसबाट फाइदा लिँदै सहरमा रमाइरहेको एकथरी वैज्ञानिकको भनाइ छ ।

सुप्रसिद्ध विज्ञान पत्रिका प्राइमेटमा छापिएको एक लेख अनुसार नेपालका आसामिस बाँदरहरू एड्स रोगको अनुसन्धाननिम्ति अति उपयुक्त छन् । अरु देशका यस्तै बाँदरमा पोलियो, पितज्वरो, औलो, क्षयरोग, हेपाटाइटिस जस्ता रोगको भ्याक्सिनको सफल परीक्षण गरिसकिएको छ ।

नेपालका बाँदरहरूले प्रदूषणको मात्रा कस्तो छ भनेर पनि संकेत दिइरहेका छन् । युनिभर्सिटी अफ वासिङटनका लिशा जोन एन्जेल लगायतको टोलीले स्वयम्भूको बाँदरको बच्चाको जीउमा माउकोमा भन्दा बढी मात्रामा लिड पत्ता लगाएको छ ।

बच्चाले धेरै जीउ कन्याएको, उसको रौं झरेको भेटिएपछि अनुसन्धान गर्दा यस्तो पाइएको हो । यो गह्रौं धातुको कण प्रदूषित हावामा हुन्छ । तसर्थ जीवऔषधीय विज्ञानका अनुसन्धानमा बाँदर अति उपयुक्त जनावर हो । पश्चिमा जीव वैज्ञानिकले यस सन्दर्भमा अनुसन्धान गरेका छन् । उनीहरूको निष्कर्ष छ, बाँदरलाई अशक्त र वृद्धहरूको स्याहार–चाकर गर्नाका लागि सहयोगीको भूमिकामा मजाले प्रयोग गर्न सकिन्छ ।

भेँडा–बाख्रा, हाँस–कुखुराको गोठालो लगाउन, पसलमा स्टाफको रूपमा प्रयोग गर्न र घर रेखदेख गर्नसमेत बाँदरलाई सदाउन सकिने विज्ञहरूको ठम्याइ छ ।

लेखक स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : पुस १३, २०७५ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×