कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काष्ठमण्डपको काहिंल्यु 

सम्पादकीय

काठमाडौँ — नेवारीमा ‘काहिंल्यु’ शब्द प्रचलित छ । यसको अर्थ कम्मर बिग्रेको छ भने कम्मर फेर्ने, अरू नचलाउने भन्ने हो । संरक्षणको सिद्धान्त यही हो । भावी पुस्ताका लागि जस्ताको तस्तै हस्तान्तरण गर्ने । त्यसका लागि जग जोगाइदिने । काष्ठमण्डपमा बल्ल त्यति जोगाड हुने भयो ।

काष्ठमण्डपको काहिंल्यु 

पुरातत्त्व विभागले कतिपय सम्पदामा जगै चलाइदिएको छ, कंक्रिट राख्न दिएको छ । काष्ठमण्डपमै पाँच दशकअघि जीर्णाेद्धार हुँदा खेलबाड भएको थियो । कतै सिमेन्ट प्रयोग गरिएको थियो, कतै चुना सुर्की । जगमा समेत सिमेन्ट हालिएको थियो । सम्पदा संरक्षणमा जगलाई विशेष रूपमा लिइन्छ । जग मासियो भने पुरातत्त्व बिग्रन्छ ।


२०७२ वैशाखको भूकम्पले काष्ठमण्डप ढाल्यो । त्यही वर्षको माघ २ गते भूकम्प दिवस पारेर काष्ठमण्डपबाटै सम्पदा पुनर्निर्माण महाअभियान सुरु गर्ने तयारी थियो । मौलिकता मासिने गरी भएको यसको नक्सांकनमा सम्पदाविद्ले असहमति जनाए । स्थानीयवासी विरोधमा उत्रिए । विवादको जड जगमा थियो । पुरातत्त्व विभागले जगमा कंक्रिट राख्ने, चुकुलको ठाउँमा फलामको लिस्टी ठोक्न सकिनेसम्मको तयारी गरेको थियो । त्यसले मौलिकता मास्थ्यो ।


बेलायतको दुराहम विश्वविद्यालय र पुरातत्त्व विभागले काष्ठमण्डपको अध्ययन गरे । जग चलाउनुपर्ने देखिएन । त्यसक्रममा केही नयाँ तथ्यसमेत पत्ता लाग्यो । बाह्रौँ शताब्दीको भनिँदै आएको काष्ठमण्डप सातौँ शताब्दीमै बनेको रहेछ । पुरातत्त्व क्षेत्रमा एउटा सफलता हात पर्‍यो । जगमा भेटिएका कोइला, माटो र बालुवालाई बेलायतको स्टरलिङ विश्वविद्यालयको प्रयोगशालामा नमुना परीक्षण गरियो । कोइलाको सी—१४ डेटिङ र जगको बालुवा, माटो, काठको ओएसएल डेटिङ टेस्ट गरिए । त्यसबाट थप तथ्य पत्ता लागे । काष्ठमण्डप बन्नु पहिला यो ठाउँमा मानवबस्ती रहेछ । अंगार २२ सय वर्ष पुरानो रहेछ । त्यतिबेला यहाँ खेती रहेछ ।


पहिलाको इतिहास कथा, जनश्रुतिको आधारमा थियो । यो उत्खननले वैज्ञानिक रूपमै काष्ठमण्डप प्राचीन भएको पुष्टि भयो । यस्तो प्राचीन मौलिकताको जग जोगाउँदै पहिलेझैं माटोकै जडानमा मण्डप बनाउन लाग्नु सन्तोषको विषय हो । यसमा धरहरा क्षेत्र र ताहाचलको माटो प्रयोग हुँदै छ । माटाकै गारो लगाइनेछ । माटो आफैँ सिमेन्टभन्दा बलियो हुने विश्वास गरिन्छ । सिमेन्टको आयु ८० वर्ष तोकिएको छ, माटोको आयु नै छैन । गर्नुपर्ने त खोजबिन हो, हाम्रा प्राचीन निर्माण सामग्री कति बलिया छन् अनुसन्धानै भएका छैनन् ।


सम्पदामा विवाद देखिएको ठेकेदारी प्रथाले पनि हो । ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरेका उदाहरण छन् । ठेक्कामा दिइएका सम्पदाको मौलिकतामा सम्झौता हुने डर हुन्छ । यो आवाज सरकारले सुनेको छैन । काष्ठमण्डप भने अमानतमा बन्दै छ, ज्यालामा । यो अर्काे नमुनायोग्य काम हुनेछ ।


काष्ठमण्डप भनेकै काठैकाठबाट बनेको सत्तल । यसैको नामबाट सहरकै नाम काठमाडौं रहन गएको मानिन्छ । एउटै रूखको काठबाट बनेको भनिन्छ । काठ ल्याउने जिम्मेवारी टिम्बर कर्पाेरेसनले लिएको छ । यही महिनाको अन्तिमसम्ममा काठको निदाल ठड्याउने गरी काम भइरहेको छ । संरक्षणविद्हरू भने काठ एक बर्खा ओस राखेर मात्र प्रयोग गर्नुपर्ने ठान्छन् । ओस राखिएन भने काठ पसाङ्गिन्छ । हतारमा सम्पदा पुनर्निर्माण गर्दा प्राचीनता मासिने खतरा हुन्छ । यसै पनि पुनर्निर्माण ढिला भएको छ । चाँडो सक्ने नाममा कुनै गल्ती गर्नु हुँदैन । यसको जोखिम पक्ष हेरिनुपर्छ ।


सम्पदा निर्माण सजिलो हुँदैन । निर्माण सामग्री सजिलै पाइँदैन । झन्झट हुन्छ भनेर सहज पहुँचका सामग्रीमा लोभिनु हुँदैन । काष्ठमण्डप पुनर्निर्माण सुरु स्वागतयोग्य हो, सम्पन्न हुँदासम्म केहीमा पनि सम्झौता नहोस् ।

प्रकाशित : माघ २१, २०७५ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?