कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइकल किन ?

सडक, बाटा, समाज र सरकारमा केही यस्ता अभाव र अवगुण छन् कि साइकल चलाउनु दुष्कर अनुभूति हुन्छ ।
रत्नराम श्रेष्ठ

काठमाडौँ — साइकल साधारण यातायात साधन हो । यसका कैयांै गुण असाधारण छन् । यो धेरै हदसम्म मानवीय र सामाजिक छ । हाम्रा सडक, बाटा, समाज र सरकारमा केही यस्ता अभाव र अवगुण छन् कि साइकल चलाउनु दुष्कर अनुभूति हुन्छ । यहाँ यिनै कुरा प्रस्तुत गरिएको छ । 

साइकल किन ?

साइकल अन्य यातायात साधनभन्दा सस्तो, सुलभ, सहज र चलाउन सजिलो हुन्छ । साइकलले धूलो, धूवाँ उडाउँदैन । ढोकादेखि ढोकासम्म यात्राका लागि यो उपयुक्त छ । साइकलमा महँगो आयातीत इन्धन खपत गर्नु पर्दैन । साइकल मर्मत खर्च कम हुन्छ र आफैं सिकेर घरमा मर्मत गर्न सकिन्छ । साइकलमा दुर्घटना भइहाले पनि अन्यमा जस्तो घातक कमै हुन्छ ।


अन्य अटोमोटर सवारीसाधनमा जस्तो वार्षिक महँगो कर, बिमा, नवीकरण शुल्क, सडक करजस्ता दस्तुर तथा कर तिर्नु पर्दैन । सहरबजार, डाँडाकाँडा साइकलमा घुम्न रमाइलो हुन्छ । प्राकृतिक रूपले मनोरम, अग्ला हरियाली पहाड, सम्पदा क्षेत्र घुम्दाको अनुभूति चिरस्मरणीय हुन्छ । आजभोलि हरेक बिदामा सयौँ साइकलप्रेमी साथीसँग प्रकृति यात्रा (नेचर राइड) मा निस्कने गर्छन् ।


शनिबार एक दिन नेचर राइड निस्कँदा साताभरि मानसिक फुर्ती र शरीर हल्का हुन्छ । यसले काममा ध्यान केन्द्रित गर्न सहयोग गर्नाले कार्यक्षमता बढ्छ । नेचर ग्रुप राइडमा निस्कँदा सामाजिक रूपमा सक्रियता, नेतृत्व क्षमता र टिमस्पिरिट बढाई सामाजिक र व्यक्तित्व विकास गराउँछ ।


स्वास्थ्यमा फाइदा

शारीरिक व्यायाममा पौडीपछि साइकल दोस्रो पर्छ । नियमित साइकल चलाउँदा मांसपेशी बलियो र लचकदार हुन्छ । शारीरिक सहन शक्ति बढ्छ । यसले व्यक्तिको स्टामिना बढाउँछ ।


साइकल चलाउँदा मुटु, फोक्सो, मस्तिष्क, मिर्गाैलाजस्ता प्रमुख अंगमा प्रत्यक्ष फाइदा पुग्छ । साइकल चलाउँदा निस्कने पसिनासँगै विकार पदार्थ पनि निस्कन्छन् । साइकलले मोटोपना घटाउँछ । एक घण्टा साइक्लिङ गर्दा १ हजार क्यालोरी बर्न हुन्छ ।


नेदरल्यान्ड्सको फ्राई विश्वविद्यालयले गरेको अनुसन्धानमा दैनिक ३० मिनेट साइकल चलाए मुटुरोग, क्यान्सर, चिनीरोग लाग्ने सम्भावना ६०–७० प्रतिशत कम भएको पाइएको छ । नियमित साइकल चलाउँदा उच्च रक्तचाप कम हुन्छ । मुटुको धड्कन नियमित हुन्छ । साइकल चलाउँदा यात्रामा फोकस हुने हुँदा तनाव, डिप्रेसन, डिमेन्सिया, एन्जाइटीजस्ता मनोरोग कम गर्न या मुक्त हुन सहयोग पुग्छ । मनोरोग विशेषज्ञहरू साइकल चलाउन सल्लाह दिने गर्छन् ।


साइकल चलाए अनिद्राका रोगीलाई निद्रा लाग्न सहयोग पुग्छ । साइक्लिङले राम्रो मुडलाई बढावा (बुस्ट) दिन्छ । साइक्लिङ गर्दा मस्तिष्कमा इन्डोर्फिन हर्मोन उत्सर्जन हुन्छ । यसले शारीरिक र मानसिक रूपमा आनन्द महसुस गराउँछ ।


गर्भवती आमाले साइक्लिङ गरे राम्रो व्यायाम भई बच्चा पाउन सजिलो हुन्छ । दैनिक साइक्लिङ गरे महिलामा स्तन क्यान्सर हुने सम्भावना ३४ प्रतिशतले कम गराउँछ । नियमित साइक्लिङले व्यक्ति आफ्नो आयुभन्दा कम उमेरको देखिन्छ ।


‘अमेरिकन जर्नल अफ प्रेभेन्टेटिभ मेडिसिन’ मा हालै छापिएको रिपोर्टअनुसार साइकल नचलाउनुभन्दा कम्प्युटर साइक्लिङ तथा रमाइलोका लागि साइक्लिङ साताको १ देखि ६० मिनेटसम्म गर्दा पनि हरेक रूपले हुन सक्ने मृत्युदर स्पष्ट रूपमा कम हुन्छ ।


डेनमार्कमा ५ वर्षसम्म ५० देखि ६५ वर्ष उमेरका कम्प्युटर साइकलयात्री (दैनिक काममा निस्कँदा साइकल प्रयोग गर्ने) २८ हजार २ सय ४ र रमाइलोका लागि साइकल चलाउने १५ हजार २ सय ७२ जनालाई लिएर अध्ययन गरी सो निष्कर्ष निकालिएको हो । आजभोलि साइकल समुदायमा भनाइ चलेको छ, ‘साइकल मेडिसिन (औषधि) र मेडिटेसन (ध्यान) दुवै हो ।’


साइकल किन नचलाउने ?

हाम्रा सहर विशेष गरेर काठमाडाैं उपत्यकामा सडकमा खाल्डाखुल्डी धेरै छन् । सडक, बाटा सुरक्षित छैनन् । सुरक्षित साइकल लेन, पथ, ट्रयाक छैनन् । अत्यधिक ट्राफिक जाम, ट्राफिक नियमको उल्लंघन हुने गर्छ । ट्राफिक संस्कृति अभाव छ ।


साइकलयात्रीलाई अन्य सवारी चालकले असहिष्णु व्यवहार देखाउँछन्, अवहेलना गर्छन् । लेन काटेर जथाभावी तीव्र रूपमा गाडी, कार, बाइक चलाउनेले साइकल यात्रीलाई सडकमा चेप्ने, पेल्ने या सडकमा स्थान नदिने गर्छन् ।


सडकमा धूलो, धूवाँ अत्यधिक छ । साइकल चलाउँदा छिटोछिटो हुने श्वासप्रश्वाससँगै धूलो धूवाँ पनि लिइने हुनाले साइक्लिस्टमा दमको रोग लाग्न सक्छ । बस, कार, मोटरगाडी, बाइकले कालो धूवाँ छाड्दा पछाडिका साइकलयात्रीलाई सिधै असर गर्छ । साइकलयात्रीको बिमा नीति छैन । गर्मी याममा साइकल चलाउँदा निस्कने पसिनाले शरीर गन्हाउँछ । सरकारी नीतिनियम र कानुन साइकलमैत्री, पैदलमैत्री छैनन् ।


लेखक नेपाल साइकल सोसाइटीका अध्यक्ष हुन् ।

प्रकाशित : माघ २०, २०७५ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?