२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ठगिनबाट कसरी जोगिने ?

रमा भट्टराई

काठमाडौँ — वैदेशिक रोजगार विभागले आयोजना गरेको ठगी नियन्त्रण कार्यक्रममा ३५–३६ वर्षका एक युवाले अमेरिका लैजाने भनेर एक जनाले आफ्नो ४७ लाख रुपैयाँ खाएर भागेको सुनाए ।

ठगिनबाट कसरी जोगिने ?

त्यो पैसा उठाउन नसके आत्महत्याको विकल्प नभएको भन्दै उनी डाँको छाडेर रोए । कार्यक्रममा उपस्थित सबैजना शब्दविहीन भयौँ ।


६०–६२ वर्षका व्यक्ति मलिन अनुहारमा ३–४ दिनदेखि वैदेशिक रोजगार विभागमा धाएको देखेर मैले केही समस्या भयो कि भनेर सोधेँ । अप्ठ्यारो मान्दै उनले आफ्ना दुई भाइ छोरालाई अमेरिका पठाउन २१ लाखका दरले दिएको ४२ लाख रुपैयाँ खाएर भागेको मान्छे समाउन सहयोग गरिदिन आग्रह गरे । उनी नेपाल सरकारको लेखा अधिकृतबाट केही अघि अवकाश भएका रहेछन् । अवकाशपछि प्राप्त सञ्चयकोष र जग्गा बेचेको पैसा छोराहरूलाई अमेरिका पठाउने सपनासँगै उडेको कथा उनले सुनाए ।


विदेशमा उच्चशिक्षा हासिल गरेकी काठमाडौंकी मेरी एउटी साथीले कुनै एनजीओले अमेरिका लैजाने भनेर ऊ र उसकी दिदीबाट सात लाखका दरले पैसा उठाएछ । भिसा आएको छैन भन्दै टार्न थालेपछि अब के गर्ने भन्दै उसले मलाई फोन गरी । मैले जानेको उपचारका उपाय बताइदिएँ । तर नेपाली युवाको विदेशमोहको कहालिलाग्दो चित्रले धेरै दिनसम्म मनभित्र छटपटी भइरह्यो ।


वैदेशिक रोजगार विभाग वा अन्य उजुरी सुन्ने निकायमा विदेश जान खोज्दा घरबार उजाडिएका दसौं घटना हरेक दिन सुन्न पाइन्छ । साह्रै सोझासिधा र अशिक्षित पनि नदेखिने, पढेलेखेकै, देश–विदेश डुलेका र राम्रै आर्थिक हैसियत भएका व्यक्ति नै ठूलो ठगीमा परेको पाइन्छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर ठगिनेहरूको प्रतिव्यक्ति रकम कन्सल्टेन्सी, दलालका पछि लागेर तथा सरकारले प्रतिबन्ध लगाएका मुलुकमा जानेको भन्दा कम हुन्छ । सामान्यता निमुखा मान्छे उद्धारको पर्खाइमा विदेशी भूमिमै अलपत्र परिरहेका हुन्छन् । लाखौं खर्च गरेर विदेश गएका टाठाबाठाले अप्ठ्यारो पर्ने बित्तिकै संघ–संस्था, मिडिया गुहार्न सक्छन्, तिनको उद्धार र राहतमा ठूलो मात्रामा राज्यको स्रोतसाधान पनि खर्च हुन्छ ।


‘ठगिएँ’ भन्दै उजुरी गर्न आउने व्यक्तिहरूलाई ‘त्यतिका पैसा खर्च गरेर किन जान लाग्नुभयो त विदेश ? त्यति पुँजी निकाल्न सक्नेले नेपालमै केही गर्न सकिन्थ्यो’ भन्दा अधिकाशंको एउटै तयारी जवाफ हुन्छ– नेपालमा कामै छैन, वातावरणै छैन । अमेरिका पुग्न पाए जिन्दगी बन्ला भनेर । साथीले राम्रो कमाइ हुन्छ भनेको थियो, आदि–आदि ।


पटक–पटक ठगिए पनि नेपालमा काम तपाईले दिनुहुन्थ्यो र भन्ने प्रतिप्रश्न पनि गर्छन् । लिँडेढिपी गरेर आफू ठगिए पनि आफ्नो कमजोरी रहेको स्वीकार्दैनन् । राज्यव्यवस्थाका कारण आफू विदेश जान बाध्य भएको तर्क गर्छन् । आफूले तिरेको भनिएको बिना प्रमाणको पैसा सरकारले जसरी पनि उठाइदिनुपर्ने भन्दै वकिल, अधिकारकर्मी तथा पत्रकार बोकेर विभागमा धर्ना दिन्छन् । उल्टै नागरिकको जीउधनको रक्षा गर्न नसक्ने सरकार र प्रशासन भन्दै कर्मचारीलाई गाली गर्छन् । यसले हाम्रा युवाको विदेशप्रति बेहद मोह झल्काउँछ ।


एकजना भारतीय नागरिकले नेपालगन्जमा दुई कट्ठा जमिन भाडामा लिई प्याजको बेर्ना बेचेर महिनाको पचास हजार कमाएको, पुनर्निर्माणको काममा दिनको एक हजार ज्यालामा विदेशी नागरिकले काम गरिरहेको, नेपालको आन्तरिक श्रम बजारमा सीपयुक्त जनशक्तिको खाँचो रहेको, काम गर्ने मान्छेको अभावले उर्वर भूमि बाँझै रहेको सम्झन्छु । अर्कोतिर ठगी भएको रकम उठाइदिए अर्को व्यक्तिले आधी खर्चमा गन्तव्यमा पुर्‍याइदिने ग्यारेन्टी गरेको भनी पैसा छिटो उठाइदिन आग्रह गरिरहेका हुन्छन् ।


नेपाली युवाको यो प्रवृत्तिले निम्त्याउने आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक चुनौती अनुमानमात्र गर्न सकिन्छ ।


पैसा कमाउन जे पनि गर्ने, चिन्दै नचिनेको मान्छेसँंग लाखौंको कारोबार गर्दा एउटा लिखतसम्म नराख्ने र भरपर्दो आधारबिनै विदेश पुर्‍याउँछु भनेका भरमा सर्वस्व सुम्पिने प्रवृत्ति छ । सरकारले रोक लगाएका ठाउँमा जसरी पनि जानैपर्ने अनि केही तलमाथि भयो भने राज्यले लाखौं खर्च गरेर उद्धार गर्नुपर्ने अवस्था छ । उद्धार गरेर ल्याइएका व्यक्तिलाई पीडित र सरकारलाई चाहिँ दोषीजस्तो गरी समाचार छापिनाले पनि गैरकानुनी रूपमा विदेशिन खोज्नेहरूलाई प्रोत्साहित गरेको हुनसक्छ । विदेश जाने नाममा नेपाली युवाको उत्पादनशील समय र पुँजी विदेशिएको हुन्छ, अर्कोतिर तिनलाई उद्धार गर्ने नाममा राज्यको धनराशि विदेशिन्छ । फर्काएर ल्याइएकालाई पनि उचित सूचना दिएर चेतना जगाउन सकिएन भने यो चक्कर अनन्त कालसम्म रहिरहन्छ ।


लाखौंको कारोबार गर्दा एउटा लिखतसम्म नराख्ने र भरपर्दो आधारबिनै विदेश पुर्‍याउँछु भनेका भरमा सर्वस्व सुम्पिने प्रवृत्ति छ ।


युवाको विदेशप्रति आशक्ति मानव तस्करहरूका लागि आकर्षण हो । जबसम्म हाम्रा युवा सीपको सट्टा सुटकेसभरि पैसा बोकेर कुनै अमूक मुलुक जान लैजाने मान्छेको खोजीमा भौंतारिरहन्छन्, तबसम्म वैदेशिक रोजगारीका नाममा हुने ठगी, तस्करी, मानव बेचबिखनलाई सरकारको एक्लो प्रयासले रोक्न सक्दैन । जाने र लैजाने मान्छे जसरी पनि गन्तव्यमा पुग्ने र पुर्‍याउने दाउमा हुन्छन्, अर्कातिर भारततिर खुकुलो नाका छ । मिडियामा पनि ठगिएका भनिएका व्यक्तिहरूको विषयमा एकपक्षीय समाचार आउँछन् । नेपालको आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर बेवास्ता गरेर जीवनको ऊर्जाशील समय विदेशमा बिताउँदा हुने सामाजिक, आर्थिक विचलन र नागरिक कानुनप्रति बेपर्वाह बन्दा राज्यमाथि थपिने दबाबका विषय उठ्न नसकेकैले जसरी पनि विदेश जाने प्रवृत्ति मलजल भइरहेको छ ।


सरकार आफ्ना नागरिकप्रति जिम्मेवार हुनैपर्छ । नागरिक पनि राज्यप्रति उत्तरदायी हुनुपर्छ, नहुनेलाई कानुनद्वारा बनाउनुपर्छ । जसरी विदेशिएका भए पनि समस्यामा परे उद्धार तथा राहतको काम सरकारले गर्नुपर्छ । राज्यको आँखा छलेर विदेशिन छोडे सबैलाई सजिलो । व्यक्तिलाई पनि राज्यलाई पनि ।


लेखक सामाजिक सुरक्षा कोषकी निर्देशक हुन् ।


प्रकाशित : माघ १८, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?