भोजले नेवार बिग्रेको छैन

वसन्त महर्जन

काठमाडौँ — सामान्यत: नेवार समुदाय संस्कार, संस्कृति तथा जात्रापर्वले सम्पन्न र उत्कृष्ट रहेको बिम्ब कुनै बेला बाह्य अनुसन्धानकर्मीहरूले निर्माण गरे । अहिलेसम्म त्यसरी नै चिन्ने वा चिनाउने भइरहेको छ ।

म त्यही समुदायको एक सदस्य मात्र नभएर अन्य समुदायसमेतको सांस्कृतिक जीवनको अध्ययन, अनुसन्धानमा संलग्न छु । मलाई उक्त बिम्बको निर्माणमा गल्ती लाग्छ । तीन सय पैंसट्ठी दिनमातीन सय छैंसट्ठी जात्रापर्व मनाउने अर्थात् चाडपर्वमा मात्रै भुलेर बस्ने भन्दै नेवार समुदायलाई अतिरञ्जित पाराले चित्रणगरिएका अधिकांश संस्कृतिविद्का भनाइ वा लेखरचना पाइन्छन् । वास्तविकता अर्कै छ । नेवार समुदायलाई नियालेर हेर्दा ती बिम्ब धराधर भत्किन्छन् ।

एउटा उखान बनेको छ, ‘राणा बिग्रियो मोजले, नेवार बिग्रियो भोजले’ । राणाकोप्रसङ्गलाई थाती राखौं, नेवार बिग्रेको भन्नु हचुवाको निष्कर्ष हो । खोइ बिग्रेको भनी प्रश्न गर्दा ठोस जवाफ पाइँदैन । कला, साहित्य, संस्कृति, व्यापार व्यवसायलगायत क्षेत्रमा नेवारको उपस्थिति, सक्रियता र सशक्तता पहिले जति थियो, अहिले पनि त्यति नै देख्न पाइन्छ । विगतमा उसको डबली सीमित भूगोल थियो र प्रतिशतको आँकडामा धेरै देखिन्थ्यो । अहिले भूगोलको वृद्धि मात्र नभएर अन्य समुदाय पनि सशक्त रूपमा आएकाले प्रतिशतमा कमी देखिनु स्वाभाविक हो । नेवार समुदायको प्रगति विगतमा अहिले बढी भएको पाइन्छ ।

नेवार समुदायको बाहुल्य भएको एक प्राचीन बस्ती कीर्तिपुर हो । कीर्तिपुरको छेवैमा दक्षिण–पश्चिमतिर सल्यानस्थान नामको एउटा गाउँ छ, जहाँ एक समय केही थरीका बाह्मण समुदायको शतप्रतिशत बसोबास थियो । थोरै दूरी र दैनिक जीवनमा रामै्रसँग अन्तरक्रिया हुनाले नजिकबाट बुझ्नु स्वाभाविक हो । शिक्षा क्षेत्रमा प्रतिष्ठा कमाएका एक सज्जनले मलाई भनेका थिए, ‘ब्राह्मणको एउटा दसैं बराबर नेवारको आधा वर्षको चाडपर्व हो ।’

नेपालका विभिन्न जातीय समुदायका चाडपर्वको व्ययभार त्यति धेरै देखिँदैन । सांस्कृतिक कुरामा भन्दा बढी व्ययभार विकृतिजन्य कुरामा हुने गरेको पाइन्छ । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो यस्ता विकृतिले कतै संस्कृतिमा विचलन त आउने होइन भन्ने डर छ । खासै व्ययभार नभएको तीज पर्व अहिले देखासिकी तथा उत्ताउलोपनाका कारण आर्थिक रूपमा टाउको दुखाइको विषय बन्न पुगेको छ । तीज मुख्यत: हिन्दु धर्मावलम्बी, त्यसमा पनि पहाडिया ब्राह्मण–क्षत्री समुदायको पर्व हो ।

यो पर्व आजभोलि ‘ग्लामोराइज्ड’ गर्ने क्रममा तडक–भडक र खर्चालु बनेको छ । तीजलाई समष्टीकरण गर्ने अभियानले सफलता पाएको भन्नुपर्‍यो र यसबाट बजारले पर्याप्त मात्रामा फाइदा लिँदैछ । आजभोलि नेवार लगायत अन्य समुदाय पनि तीजको तडक–भडकमा सामेल हुनपुगेका छन् । सामाजिक सद्भाव तथा सहिष्णुताले अन्य समुदाय तीज पर्वमा सरिक हुनु ठिकै हो । तर तडक–भडक र देखासिकीमा रत्तिनुलाई सांस्कृतिक विचलनका रूपमा लिन सकिन्छ ।

धेरैको जिज्ञासा छ, नेवारका चाडपर्व यति धेरै किन ? ऐतिहासिक पाटोबाट हेर्दामात्र यो प्रश्नको जवाफ पाउन सकिएला । यस प्रसङ्गमा नेवार सभ्यताबारे चर्चा गर्नैपर्छ । ‘नेपाल’ र ‘नेवार’ दुई बेग्लाबेग्लै शब्द नभएको विश्लेषण छ । लिच्छविकालीन अभिलेखहरूमा जनसमुदायलाई सम्बोधन गर्ने क्रममा ‘स्वस्ति नैपालेभ्य:’ शब्द प्रयोग भएको पाइन्छ ।

ती बस्तीमा त्यति बेलादेखि अहिलेसम्म नेवार समुदायकै बर्चस्व छ । पच्चीस सय वर्षअघि व्यापार–व्यवसायले सम्पन्न तथा सामाजिक रूपमा सशक्त राज्यका रूपमा नेपाल स्थापना भइसकेको संकेत बौद्ध ग्रन्थ ‘मूलसर्वास्तीवादविनयसूत्र’ बाट मिल्छ । यस उपत्यकाको सामाजिक विकासक्रम सयौं हजारौं वर्षमा विभिन्न समयमा बाहिरबाट आएका तर ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक रूपमा पृथक पृष्ठभूमि रहेकाहरूको स्थानीयकरण वा ‘एसिमिलेसन’बाट भएको देखिन्छ ।

यो प्रक्रियामा कुनै एउटा भूगोलमा रहेको सामाजिक तथा सांस्कृतिक जीवन चरित्रमा समय–समयमा आएका व्यक्ति तथा समुदायको घुलन हो र यस क्रममा उसको आफ्नो ज्ञानविज्ञान तथा सामाजिक, सांस्कृतिक तथा अन्य निधि नयाँ ठाउँमा ल्याएरयोगदान दिने तर आफू नयाँ ठाउँको सामाजिक–सांस्कृतिक जीवनमा घुलमिल भएर नयाँ पहिचान बनाउने हो ।

नेवार सभ्यताको विकास यसरी नै भएको छ र यसक्रममा धेरै चाडपर्व तथा संस्कार संस्कृति अस्तित्वमा आउनु स्वाभाविक हो । विभिन्न समयमा भित्रिएका चाड तथा जात्रापर्वले स्थानीयकरण हुँदै अहिलेसम्म निरन्तरता पाइरहेका छन् । संस्कृतिविद्हरूले आंँकलन गरेजस्तो तीन सय पैंस्सठी वटामात्र नभएर त्योभन्दा बढी चाडपर्व हुनसक्छन्, तर यसलाई साधारणीकरण गरेर हेर्नुहुन्न ।

नेवार समाजका चाडवाड तथा जात्रापर्व सबैले मनाउने नभएर भूगोल वा समुदाय विशेषसँग मात्र सम्बन्धित हुन्छन् । एक समुदायको चाडवाड अर्को समुदायलाई सरोकारको विषय नहुने वा जानकारी नहुने पनि हुनसक्छ । समुदायलाई अतिरञ्जित पाराले चित्रण गर्नु न प्राज्ञिक कर्म हो नत बौद्धिक अभ्यास ।

भोजले नेवार समाजलाई सक्रियबनाएको छ । यसले सम्पन्न व्यक्ति वा परिवारलाई प्रोत्साहन गर्छ र अरूलाई प्रगतिको आवश्यकता बोध गराउँछ । यही अवसरमा नयाँ काम वासामाजिक घटनाक्रम विकास हुने गर्छ ।

नेवार समाजमा प्राय: चाडपर्व तथा संस्कार संस्कृतिमा भोज आयोजना गरिन्छ । ‘नेवार बिग्रियो भोजले’ भने पनि त्यही भोजले नेवार समाजलाई सक्रिय बनाएको पक्ष भुल्नु हुँदैन । भोजन आयोजनाले सम्पन्न व्यक्ति वा परिवारलाई थप प्रोत्साहन गर्छ र अरूलाई प्रगति गर्न आवश्यकताबोध गराउँछ । भोजको बहानामा पारिवारिक तथा नाताकुटुम्बको मिलन पनि हुन्छ ।

यही अवसरमा नयाँ कामकुरा वा सामाजिक घटनाक्रम विकास हुने गर्छ । आजभोलि विभिन्न बहानामा साथीभाइलाई आमन्त्रण गरेर ‘पार्टी’ गर्ने तथा ‘कट्सी’ बनाउने जुन काइदा छ, त्यही कुरा नेवार समुदायमा प्रचलित भोज हो । विभिन्न जात्रापर्वमा हुने नाच लगायतका मनोरञ्जनलाई पनि यही रूपमा लिन सकिन्छ ।

नेवार समुदाय अहिले सांस्कृतिक विचलनबाट आक्रान्त छ । परिवार तथा नजिकका नातेदारको जमघटबाट सम्पन्न गरिने इही लगायतका संस्कारमा समेत अत्यधिक खर्च हुनु विकृति हो । नेवारभित्र विभिन्न उपसम्प्रदाय छन् र कतिपय चालचलनमा भिन्नता पनि पाइन्छ । ठाउँ विशेषले पनि केही फरक हुन्छन् । आफ्नो परम्पराका साथै अन्य परम्परा पनि अपनाउने र क्रियाकलाप बढाउने तथा तडक–भडकमा विश्वास गर्नाले थप बोझिलो भइरहेको छ ।

एउटा बिहेका दुई पक्षमा चालीसदेखि पचास लाखसम्म वा त्योभन्दा पनि बढी खर्च हुने गर्छ, जसको व्ययभार पुर्खौंदेखिको जायजमिनको बिक्रीबाट हुन्छ । विवाहपछि केही लाखको लगानी गरेर वैदेशिक रोजगारीमा पठाउनुभन्दा खर्च कटौती गरेर स्वदेशमै स्वरोजगारी सिर्जना गर्ने चेत आएको छैन । यसलाई नेवार संस्कृति नभएर यस संस्कृतिमा आएको विचलन वा विकृतिका रूपमा हेरिनुपर्छ ।

प्रकाशित : माघ १८, २०७५ ०८:२३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौंले बाह्य प्रभाव पनि पचाउँछ

काठमाडौँ उपत्यकाले बाह्य प्रभावलाई पचाउँदै स्थानीयकरण गर्न सक्छ । यो क्षमताका आधार मौलिक संस्कृति, संस्कार र परम्परा हुन् ।
वसन्त महर्जन

काठमाडौँ — काठमाडौं उपत्यका विश्व सम्पदा सूचीमा पर्नुको एउटै आधार सांस्कृतिक पक्ष हो । संयुक्त राष्ट्र संघ अन्तर्गतको युनेस्कोले तयार पार्ने यो सूचीमा पर्नुले बेग्लै अर्थ राख्छ । सूचीकृत भएकामा सर्वसाधारणदेखि उच्चपदस्थ व्यक्तिहरूले जतिसुकै नाक फुलाए पनि कतिपय सन्दर्भमा उपत्यकाको संस्कृति दोहनमा तिनकै हात देखिन्छ ।

इतिहास, संस्कृति, पुरातत्त्व जस्ता विषय–वस्तु हेर्ने राज्यका निकायहरू पनि संस्कृति दोहन सम्बन्धी क्रियाकलाप हुँदा मौन बसेको देखिन्छन् । कतिपयमा तिनीहरूको संलग्नता पाइएको छ ।

विश्व सम्पदा सूचीमा पुरै काठमाडौं उपत्यका परेको भन्ने भ्रम कतिपयमा पाइन्छ । उपत्यका भित्रका सातवटा सम्पदा क्षेत्र हनुमानढोका, भक्तपुर र पाटनका तीनवटा दरबार परिसर, स्वयम्भू महाचैत्य, बौद्ध (प्राचीन र मौलिक नाम खास्ती महाचैत्य), पशुपतिनाथ र चाँगुनारायण मन्दिरलाई समेटेर सूचीमा पारिएको हो ।

यी सातलाई मूर्त सम्पदाका रूपमा हेर्दा बेग्लाबेग्लै देखिन्छन्, अमूर्त सम्पदाका रूपमा हेर्दा एक–अर्कासँग सम्बन्धित रहेको बोध हुन्छ । अन्य सम्पदाहरू पनि छन्, जसले प्राचीन तर जीवन्त समाजलाई जोडेको पाइन्छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका सवालमा काठमाडौं उपत्यका अद्वितीय र संसारकै लागि दर्शनीय छ । तर यस उपत्यकाप्रति न्याय भइरहेको छैन ।

काठमाडौं उपत्यकाप्रति राज्यको दृष्टिकोण कस्तो हुनुपर्छ वा यस सम्बन्धमा राज्यले कस्तो नीति अवलम्बन गर्नुपर्छ भन्ने सवालमा सबै पक्ष सजग हुनुपर्छ । सम्बन्धित राज्यकै पहलमा विश्व सम्पदामा युनेस्कोले सूचीकृत गर्ने हो । उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पक्षमा राज्यले सधैं गौरव गर्दै आएको छ । बेला–बेला व्यक्त हुने मन्तव्य पनि सकारात्मक छन् । राज्यका निकायहरू त्यही अनुरूप किन अगाडि बढ्न सकेनन् ? प्रश्न सगरमाथाजस्तै उभिएको छ ।
देशको राजधानी काठमाडौं उपत्यकामा छ । ऐतिहासिक स्रोतकै आधारमा पनि यो उपत्यका साढे दुई हजार वर्षदेखि राज्यको केन्द्रका रूपमा रहँदै आएको छ । यसको एउटा विशेषता बाह्य प्रभावलाई पचाउँदै स्थानीयकरण गर्नसक्ने क्षमता हो । यो क्षमताको आधार यहीको मौलिक संस्कृति, संस्कार र परम्परा हुन् । त्यसमा यहाँको भौगोलिक अवस्थिति तथा संरचनाले पनि साथ दिएको हुन्छ । कुनै नीति–नियम बनाउँदा वा कार्यान्वयन गर्दा त्यस आधारलाई पनि हेर्न सक्नुपर्छ ।

राजधानी भएपछि सबैको चासो र आकर्षण हुनु स्वाभाविक हो । वृत्ति विकासका लागि चारैतिरबाट ओइरिनु उत्तिकै स्वाभाविक हो । काठमाडौं उपत्यकाको विकासक्रम यसरी नै हुँदै आएको छ । अनियन्त्रित र अव्यवस्थित बसोबासले हरेक क्षेत्रमा अव्यवस्था सिर्जना भइरहेको पनि सही हो । यसलाई नीति निर्माता तथा निर्णायक तहले काठमाडौं उपत्यकालाई बुझ्न नसकेको एउटा फेहरिस्तका रूपमा लिन सकिन्छ ।

सार्वजनिक जग्गामध्ये कतिपय बसोबासका लागि छुट्याउन सकिन्छ । कतिपय प्राकृतिक तथा सांस्कृतिक जीवन्तताका लागि सुरक्षित राख्नुपर्छ । उपत्यकामा बहने वागमति नदी प्राकृतिकमात्रै नभएर सांस्कृतिक निधि पनि हो । यहाँको सांस्कृतिक तथा सामाजिक जनजीवन यही नदीसँग सम्बन्धित छ । नदीको किनार मिचेर घर बनाउनेलाई राज्यले दण्ड–सजाय गर्नुपर्नेमा राज्यका कतिपय निकायले नै भवनहरू ठड्याएका छन् । अतिक्रमण गरी नदीको प्राकृतिक स्वरूपलाई प्रभावित पारेका छन् । वागमतीका सहायक नदीको स्थिति पनि यस्तै छ ।

नदी किनार अतिक्रमण गरेर घर बनाएर वर्षाका बेला घरमा पानी पस्यो भन्नु तर्कहीन कुरा हो । घरमा नदी पसेको नभएर नदीमा घर पसेको हो । यो पक्षलाई आत्मसात गर्नसकेको पाइँदैन । मन्दिर क्षेत्र तथा अन्य ठाउँहरूमा पनि अतिक्रमण गर्ने गरेको पाइन्छ ।
काठमाडौंको सांस्कृतिक परम्परा अनुसार मृत्यु संस्कारलाई विशेष रूपमा लिने गरिन्छ । यससँग सम्बन्धित हरेक पक्षलाई सम्वेदशील भएर हेरिन्छ । अन्तिम संस्कारका रूपमा दाह संस्कार गरिने मसानघाट बस्तीभन्दा पर एकान्तमा बनाइएका हुन्छन् ।

मसान वरिपरि विना काम मान्छे जाँदैनन्, नराम्रो हुन्छ भनेर । त्यहाँ केही निर्माण संरचना बन्यो भने पनि मसानसँग सम्बन्धित किरियापुत्री घर वा मन्दिर मात्रै हो । मसानघाट वरिपरिको जग्गा सार्वजनिक र खुला हुन्छन् । ती सार्वजनिक जग्गाजमिन मिच्नु वा त्यसलाई व्यक्तिगत सम्पत्ति बनाउनु गैरकानुनी हो । सामाजिक व्यवस्थामा पनि यसलाई असामाजिक र अधार्मिक र अनैतिक कार्यका रूपमा लिइन्छ । हैकम जमाउनेतिर सोचिन्न ।

तर आजभोलि त्यस्ता सार्वजनिक जमिन मिच्ने र घर बनाउने क्रममा मसानघाटहरू नै छोपिन पुगेका छन् । निश्चित समुदायको निश्चित मसानघाट हुन्छन् । त्यही ठाउँमा दाह संस्कार गर्नुपर्ने हुन्छ । मानव बस्तीको बीचमा दाह संस्कार गर्न दिँदैनौं भनेर सांस्कृतिक हस्तक्षेप हुनथालेको छ । मसान वरिपरिका सार्वजनिक ठाउँहरूमा त्यो बस्ती कहाँबाट आयो र आउनहुन्छ कि हुन्न भन्ने प्रश्न अब ठडिएको छ । राज्यका निकायहरू कमजोर हुँदा यसका भ्रष्ट कर्मचारीहरूलाई प्रभावमा पार्दै सार्वजनिक जग्गालाई व्यक्तिगत बनाई हडप्नु गैरकानुन हो नै, यसमा भूमाफियाको पनि संलग्नता हुनु राज्यकै लागि ठूलो चुनौती हो ।

मसानघाट वरिपरिको जग्गा मानव बसोबासयोग्य हुँदै होइन । त्यहाँ बनिसकेका घरहरूलाई किरियापुत्री घर बनाउनुपर्छ । मसानघाट वरिपरि घर बनाउनेहरूलाई सार्वजनिक जग्गा मिचेबापत दण्ड–जरिवानासहित खाली गर्नुपर्ने अवस्था छ । यस्तो नगर्ने हो भने सार्वजनिक जग्गा मिचेर कानुनको धज्जी उडाउनेहरूलाई प्रोत्साहन मिल्नेछ, जसले राज्यलाई सुव्यवस्थित रूपमा अगाडि बढ्न दिँदैन ।

काठमाडौं उपत्यकाको प्राचीन इतिहास, कला, संस्कृति तथा यसको गौरवको कुरा गर्नु, तर यसैको दोहनमा संलग्न हुनु दोहोरो चरित्र प्रदर्शन हो । विकास निर्माणका गतिविधि सांस्कृतिक पक्षलाई जोगाएर पनि गर्न सकिन्छ । यो कुनै समुदाय विशेषको मात्रै नभएर विश्वकै सम्पदा भइसकेको पनि हेक्का राख्नुपर्छ । सम्पदा संरक्षण गर्दै सबैले कसरी फाइदा लिने भन्ने सोच्नुपर्छ ।

प्रकाशित : पुस २६, २०७५ ०८:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT