१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भोजले नेवार बिग्रेको छैन

वसन्त महर्जन

काठमाडौँ — सामान्यत: नेवार समुदाय संस्कार, संस्कृति तथा जात्रापर्वले सम्पन्न र उत्कृष्ट रहेको बिम्ब कुनै बेला बाह्य अनुसन्धानकर्मीहरूले निर्माण गरे । अहिलेसम्म त्यसरी नै चिन्ने वा चिनाउने भइरहेको छ ।

भोजले नेवार बिग्रेको छैन

म त्यही समुदायको एक सदस्य मात्र नभएर अन्य समुदायसमेतको सांस्कृतिक जीवनको अध्ययन, अनुसन्धानमा संलग्न छु । मलाई उक्त बिम्बको निर्माणमा गल्ती लाग्छ । तीन सय पैंसट्ठी दिनमा तीन सय छैंसट्ठी जात्रापर्व मनाउने अर्थात् चाडपर्वमा मात्रै भुलेर बस्ने भन्दै नेवार समुदायलाई अतिरञ्जित पाराले चित्रण गरिएका अधिकांश संस्कृतिविद्का भनाइ वा लेखरचना पाइन्छन् । वास्तविकता अर्कै छ । नेवार समुदायलाई नियालेर हेर्दा ती बिम्ब धराधर भत्किन्छन् ।


एउटा उखान बनेको छ, ‘राणा बिग्रियो मोजले, नेवार बिग्रियो भोजले’ । राणाको प्रसङ्गलाई थाती राखौं, नेवार बिग्रेको भन्नु हचुवाको निष्कर्ष हो । खोइ बिग्रेको भनी प्रश्न गर्दा ठोस जवाफ पाइँदैन । कला, साहित्य, संस्कृति, व्यापार व्यवसायलगायत क्षेत्रमा नेवारको उपस्थिति, सक्रियता र सशक्तता पहिले जति थियो, अहिले पनि त्यति नै देख्न पाइन्छ । विगतमा उसको डबली सीमित भूगोल थियो र प्रतिशतको आँकडामा धेरै देखिन्थ्यो । अहिले भूगोलको वृद्धि मात्र नभएर अन्य समुदाय पनि सशक्त रूपमा आएकाले प्रतिशतमा कमी देखिनु स्वाभाविक हो । नेवार समुदायको प्रगति विगतमा अहिले बढी भएको पाइन्छ ।


नेवार समुदायको बाहुल्य भएको एक प्राचीन बस्ती कीर्तिपुर हो । कीर्तिपुरको छेवैमा दक्षिण–पश्चिमतिर सल्यानस्थान नामको एउटा गाउँ छ, जहाँ एक समय केही थरीका बाह्मण समुदायको शतप्रतिशत बसोबास थियो । थोरै दूरी र दैनिक जीवनमा रामै्रसँग अन्तरक्रिया हुनाले नजिकबाट बुझ्नु स्वाभाविक हो । शिक्षा क्षेत्रमा प्रतिष्ठा कमाएका एक सज्जनले मलाई भनेका थिए, ‘ब्राह्मणको एउटा दसैं बराबर नेवारको आधा वर्षको चाडपर्व हो ।’


नेपालका विभिन्न जातीय समुदायका चाडपर्वको व्ययभार त्यति धेरै देखिँदैन । सांस्कृतिक कुरामा भन्दा बढी व्ययभार विकृतिजन्य कुरामा हुने गरेको पाइन्छ । कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो यस्ता विकृतिले कतै संस्कृतिमा विचलन त आउने होइन भन्ने डर छ । खासै व्ययभार नभएको तीज पर्व अहिले देखासिकी तथा उत्ताउलोपनाका कारण आर्थिक रूपमा टाउको दुखाइको विषय बन्न पुगेको छ । तीज मुख्यत: हिन्दु धर्मावलम्बी, त्यसमा पनि पहाडिया ब्राह्मण–क्षत्री समुदायको पर्व हो ।


यो पर्व आजभोलि ‘ग्लामोराइज्ड’ गर्ने क्रममा तडक–भडक र खर्चालु बनेको छ । तीजलाई समष्टीकरण गर्ने अभियानले सफलता पाएको भन्नुपर्‍यो र यसबाट बजारले पर्याप्त मात्रामा फाइदा लिँदैछ । आजभोलि नेवार लगायत अन्य समुदाय पनि तीजको तडक–भडकमा सामेल हुनपुगेका छन् । सामाजिक सद्भाव तथा सहिष्णुताले अन्य समुदाय तीज पर्वमा सरिक हुनु ठिकै हो । तर तडक–भडक र देखासिकीमा रत्तिनुलाई सांस्कृतिक विचलनका रूपमा लिन सकिन्छ ।


धेरैको जिज्ञासा छ, नेवारका चाडपर्व यति धेरै किन ? ऐतिहासिक पाटोबाट हेर्दामात्र यो प्रश्नको जवाफ पाउन सकिएला । यस प्रसङ्गमा नेवार सभ्यताबारे चर्चा गर्नैपर्छ । ‘नेपाल’ र ‘नेवार’ दुई बेग्लाबेग्लै शब्द नभएको विश्लेषण छ । लिच्छविकालीन अभिलेखहरूमा जनसमुदायलाई सम्बोधन गर्ने क्रममा ‘स्वस्ति नैपालेभ्य:’ शब्द प्रयोग भएको पाइन्छ ।


ती बस्तीमा त्यति बेलादेखि अहिलेसम्म नेवार समुदायकै बर्चस्व छ । पच्चीस सय वर्षअघि व्यापार–व्यवसायले सम्पन्न तथा सामाजिक रूपमा सशक्त राज्यका रूपमा नेपाल स्थापना भइसकेको संकेत बौद्ध ग्रन्थ ‘मूलसर्वास्तीवादविनयसूत्र’ बाट मिल्छ । यस उपत्यकाको सामाजिक विकासक्रम सयौं हजारौं वर्षमा विभिन्न समयमा बाहिरबाट आएका तर ऐतिहासिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक रूपमा पृथक पृष्ठभूमि रहेकाहरूको स्थानीयकरण वा ‘एसिमिलेसन’बाट भएको देखिन्छ ।


यो प्रक्रियामा कुनै एउटा भूगोलमा रहेको सामाजिक तथा सांस्कृतिक जीवन चरित्रमा समय–समयमा आएका व्यक्ति तथा समुदायको घुलन हो र यस क्रममा उसको आफ्नो ज्ञानविज्ञान तथा सामाजिक, सांस्कृतिक तथा अन्य निधि नयाँ ठाउँमा ल्याएर योगदान दिने तर आफू नयाँ ठाउँको सामाजिक–सांस्कृतिक जीवनमा घुलमिल भएर नयाँ पहिचान बनाउने हो ।


नेवार सभ्यताको विकास यसरी नै भएको छ र यसक्रममा धेरै चाडपर्व तथा संस्कार संस्कृति अस्तित्वमा आउनु स्वाभाविक हो । विभिन्न समयमा भित्रिएका चाड तथा जात्रापर्वले स्थानीयकरण हुँदै अहिलेसम्म निरन्तरता पाइरहेका छन् । संस्कृतिविद्हरूले आंँकलन गरेजस्तो तीन सय पैंस्सठी वटामात्र नभएर त्योभन्दा बढी चाडपर्व हुनसक्छन्, तर यसलाई साधारणीकरण गरेर हेर्नुहुन्न ।


नेवार समाजका चाडवाड तथा जात्रापर्व सबैले मनाउने नभएर भूगोल वा समुदाय विशेषसँग मात्र सम्बन्धित हुन्छन् । एक समुदायको चाडवाड अर्को समुदायलाई सरोकारको विषय नहुने वा जानकारी नहुने पनि हुनसक्छ । समुदायलाई अतिरञ्जित पाराले चित्रण गर्नु न प्राज्ञिक कर्म हो नत बौद्धिक अभ्यास ।


भोजले नेवार समाजलाई सक्रिय बनाएको छ । यसले सम्पन्न व्यक्ति वा परिवारलाई प्रोत्साहन गर्छ र अरूलाई प्रगतिको आवश्यकता बोध गराउँछ । यही अवसरमा नयाँ काम वा सामाजिक घटनाक्रम विकास हुने गर्छ ।


नेवार समाजमा प्राय: चाडपर्व तथा संस्कार संस्कृतिमा भोज आयोजना गरिन्छ । ‘नेवार बिग्रियो भोजले’ भने पनि त्यही भोजले नेवार समाजलाई सक्रिय बनाएको पक्ष भुल्नु हुँदैन । भोजन आयोजनाले सम्पन्न व्यक्ति वा परिवारलाई थप प्रोत्साहन गर्छ र अरूलाई प्रगति गर्न आवश्यकताबोध गराउँछ । भोजको बहानामा पारिवारिक तथा नाताकुटुम्बको मिलन पनि हुन्छ ।


यही अवसरमा नयाँ कामकुरा वा सामाजिक घटनाक्रम विकास हुने गर्छ । आजभोलि विभिन्न बहानामा साथीभाइलाई आमन्त्रण गरेर ‘पार्टी’ गर्ने तथा ‘कट्सी’ बनाउने जुन काइदा छ, त्यही कुरा नेवार समुदायमा प्रचलित भोज हो । विभिन्न जात्रापर्वमा हुने नाच लगायतका मनोरञ्जनलाई पनि यही रूपमा लिन सकिन्छ ।


नेवार समुदाय अहिले सांस्कृतिक विचलनबाट आक्रान्त छ । परिवार तथा नजिकका नातेदारको जमघटबाट सम्पन्न गरिने इही लगायतका संस्कारमा समेत अत्यधिक खर्च हुनु विकृति हो । नेवारभित्र विभिन्न उपसम्प्रदाय छन् र कतिपय चालचलनमा भिन्नता पनि पाइन्छ । ठाउँ विशेषले पनि केही फरक हुन्छन् । आफ्नो परम्पराका साथै अन्य परम्परा पनि अपनाउने र क्रियाकलाप बढाउने तथा तडक–भडकमा विश्वास गर्नाले थप बोझिलो भइरहेको छ ।


एउटा बिहेका दुई पक्षमा चालीसदेखि पचास लाखसम्म वा त्योभन्दा पनि बढी खर्च हुने गर्छ, जसको व्ययभार पुर्खौंदेखिको जायजमिनको बिक्रीबाट हुन्छ । विवाहपछि केही लाखको लगानी गरेर वैदेशिक रोजगारीमा पठाउनुभन्दा खर्च कटौती गरेर स्वदेशमै स्वरोजगारी सिर्जना गर्ने चेत आएको छैन । यसलाई नेवार संस्कृति नभएर यस संस्कृतिमा आएको विचलन वा विकृतिका रूपमा हेरिनुपर्छ ।

प्रकाशित : माघ १८, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?