सरकारको बिग्रँदो स्वास्थ्य

किशोर नेपाल

काठमाडौँ — २०३१ तिर नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राजनीतिक निर्वासनमा भारतको बनारस सहरमा हुनुहुन्थ्यो । उहाँ त्यहाँबाट नेपालमा चलेको राजाको सक्रिय शासन र निर्विकल्प भनिएको निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध आगो ओकल्दै हुनुहुन्थ्यो ।

त्यही समयमा नेपाली गायकहरूको समूह ‘राल्फा’ पूर्वी नेपालको भोजपुरमा रहेको एउटा स्कुलको आँगनबाट गाउँ गाउँ र बस्ती बस्तीका नेपालीलाई उठाउन खोज्दै थियो : गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ ।यो देशको मुहार फेर्नलाई उठ । गीत सुन्दर थियो । शब्दावली मौलिक । मानिसको अन्तस्करणलाई छुने संगीत ।

राजा वीरेन्द्र सत्ताको शीर्षमा थिए । उनको आदेशको उल्लंघन गर्ने साहस कसैमा थिएन । उनले चाहेको भए राजनीतिक परिवर्तन त्यही समय सुरु हुन्थ्यो । राजा वीरेन्द्रले त्यो साहस गरेनन् । राजा भएकाले उनी अलिकति अनुदारवादी थिए । देखाउनैका लागि अलिकति हलुका उदारवादी छवि ओढेका थिए । यो छविको महिमा गाउने मानिसको अहिलेसम्म कमी देखिएको छैन काठमाडौंमा । उनको पुण्यप्रतापमा हुर्किनेहरूको पनि कमी छैन । उनले सन् २००० सम्म नेपाललाई एसियाली मापदण्ड पूरा भएको देशका रूपमा प्रस्तुत गर्ने धोको राखेका थिए ।
बीपीले २०३३ सालमा हिंसात्मक आन्दोलन परित्याग गर्नुभयो । उहाँले नेपाली राष्ट्रियतामाथि संकट आउन नदिन राजा र प्रजातन्त्रवादी शक्तिबीच मेलमिलापको आवश्यकता देखाउनुभयो ।

त्यतिबेला परिस्थिति त्यस्तै थियो । अफगानिस्तानमा सोभियत संघले आधिपत्य जमाएको थियो । भारत बराबर खतरनाक अवस्थामा थियो । भारतीय सत्तामा इन्दिरा गान्धी थिइन् । उनी दह्रो नेता भए पनि सुरक्षाका बिम्बहरू धमिलिएका थिए । यही बेला बीपी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर देशभित्र आउनुभयो । सरकारले उहाँलाई गिरफ्तार गर्‍यो । उहाँ जेल जानुभयो । देशको शासनमा राजाका गोटी बनेका पञ्चहरूले बीपीलाई फाँसी दिनुपर्ने माग गरे तर परिस्थिति बदलिँदै आयो ।

त्यो बेलासम्म राल्फाली समूह उत्तिकै जागरुक थियो । पछिल्लो समयमा जागरुकताको यो अवस्था रहेन । प्रगतिशील विचारतिर लहसिएको राल्फालाई प्रगतिशीलहरूले नै मान्यता दिएनन् । राल्फाहरू चकित परे । प्रभावशाली सांस्कृतिक समूहका रूपमा सर्वत्र मान्यता कमाउँदै गएको यो समूह बिस्तारै सेलाउँदै गयो । अहिले राल्फाको गीतबाहेक अरू सबै कुरा छिन्नभिन्न भइसकेको छ । राल्फाको गीतचाहिं अमर छ । यसले आगामी समयमा पनि नेपालीलाई जगाउने काम गर्नेछ । यसमा शंका छैन ।

बीपीको राष्ट्रिय एकता र मेलमिलाप नीतिको प्रमुख आशय देशको विकास थियो । राल्फाको आशय पनि फरक थिएन । तर देश अहिलेसम्म जहाँको तहीं छ । जनता गाउँ र बस्तीबाट उठ्न सकेका छैनन् । न त बीपीको प्रजातान्त्रिक सिद्धान्तअनुसार समाजवादका बाटामै लागेका छन् । बीपीको निधनको दस वर्षपछि देशमा संवैधानिक राजतन्त्र र बहुदलीय संसदीय व्यवस्था प्रारम्भ भएको हो । पहिलो जनआन्दोलनका क्रममा नेपाली कांग्रेसका महामन्त्री गिरिजाप्रसाद कोइराला राजाले दिएको मापदण्डको नारालाई चुनौती दिँदै आफ्नो हातमा शासन आए ‘सन् २००० सम्म नेपाललाई युरोपेली मापदण्डमा पुर्‍याउने’ आश्वासन दिनुहुन्थ्यो जनतालाई । उहाँले झन्डै दस वर्ष शासन गर्नुभयो तर देश कहीं पुगेन । उहाँले कतै पुर्‍याउन सक्नुभएन ।

हामी नेपाली सबै क्षेत्रमा पछाडि परेका छौं । केटाकेटीलाई सामान्य शिक्षा दिन असहज बनेको छ । कन्या शिक्षाको त्यही हालत छ । खास गरेर गाउँ र सहर दुवैतिरका छात्राहरू विचित्र त्रासमा डुबेका छन् । गाउँमा छाउपडी नबारे जातभात काटिने खतरा छ । सहरमा बलात्कार र हत्याका घटना सामान्य बनेका छन् । जनताका छोराछोरीलाई सामान्य प्राविधिक शिक्षाको समेत प्रबन्ध छैन । मेडिकल शिक्षा टाढाकै कुरा भयो । यी पंक्ति लेखिँदै गर्दा सबै नेपालीका छोराछोरीको मेडिकल पढ्न पाउने हक स्थापित गर्न एकजना डाक्टर अनशन बसेका छन् ।

अनशन जारी रहेकै अवस्थामा सरकारले चिकित्सा स्वास्थ्य विधेयक पारित गराएको छ संसद्बाट । लामो समयपछि सत्तामा आएको कम्युनिस्ट पार्टीको सरकार पहिले अनशनमा बसेका डाक्टरको माग पूरा गर्न राजी थियो । प्रधानमन्त्री आफैंले त्यसको जिम्मा लिएका थिए । अहिले सरकार डाक्टरका मागविरुद्ध उभिएको छ । यसैलाई राजनीति भन्नुपर्ने हो कि ? कसैले केही बुझेको छ जस्तो लाग्दैन ।

नेपालीजनतालाई जागरुक नबनाई शिक्षा, स्वास्थ्य र सामाजिकक्षेत्रका विकृतिको निदान खोज्न सकिँदैन ।

यस्तो अवस्थामा देश अघि बढेका बेला हामी नेपाली समृद्धिको बाटो तय गर्दै छौं भनेर कसरी भन्नु ? हो, सरकारले भन्दै आएको छ समुन्नत नेपाली, समृद्ध नेपाल । भनेर के हुन्छ ? हल्ला गरेकै भरमा नेपाली समृद्ध हुने होइन । मानिस दलदलमा भासिएका छन् । भुईंचालोमा घर भासिएका, लडेका जनतामध्ये अझै दस प्रतिशतले घर बनाउने सरकारी सुविधा लिन सकेका छैनन् । सामान्य भौतिक सुरक्षा र दालभातको समेत पत्तो छैन । यस्तो अवस्थामा कसले भन्न सक्छ देशको विकास हुन्छ ? हो, विकासको परिकल्पना के हो ? केलाई विकास भन्ने र केलाई नभन्ने ? यसमा धेरै विषय पर्न सक्छन् । मूलभूत कुरा त फेरि पनि रोजगारी, शिक्षा र स्वास्थ्य नै हो । यसबाट को रहन सक्छ अलग ?

प्रधानमन्त्री केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेका दिनदेखि अहिलेसम्म हल्ला खुब भएको छ । लोकतन्त्रमा हल्ला भएन भने समाज सुनसान हुन्छ । समाज सुनसान हुनुु राम्रो होइन । समाज सजग नभएको भए हामीलाई मेलम्चीको कुरा थाहा हुने थिएन । विगतको कुनै पनि सरकारका पालामा मेलम्ची यति माथिसम्म उक्लिएको थिएन विकास आयोजनाका रूपमा । सरकार औपचारिक हिसाबले मेलम्चीबाट पानी आउने दिन अनुमान गथ्र्यो । न लाग थियो न लपेट । काठमाडौंका जनताले आफ्नै जीवनको मुख्य आवश्यक तत्त्वबारे कहिल्यै सवाल–जवाफ गर्ने आवश्यकता देखेनन् । तर अहिले सरकार उत्तरदायी हुने बाध्यता खडा भएको छ ।

विकासका धेरै आयोजनाबारे हल्ला चर्किन थालेका छन् । कर्णालीमा जल–विद्युत् विकासको लाइसेन्स थामेर बसेको जीएमआरका विषयमा प्रश्न उठन थालेका छन् । जीएमआरले पैसा ल्याउने कि नल्याउने ? आयोजना बनाउने कि नबनाउने ? त्यस्तै प्रश्न तामाकोसी जल विद्युत्बारे छ । कसरी रातारात आयोजनाको मूल्य अकासियो ? कसरी यसको निर्माणको लक्ष्य पछि धकेलियो ? हो, शिक्षा, स्वास्थ्य र अरू सामाजिक क्षेत्रका विकराल विकृतिहरूले आवाज पाएका छैनन् ।

नेपाली जनतालाई जागरुक अवस्थामा नल्याई यी समस्याको निदान खोज्न सकिँदैन । नाराको एउटा कालखण्ड सकिएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस दुवैले यो बबन्डरलाई बुझेका छन् । राजनीतिलाई लिँडे गोरुको हैसियतबाट माथि उचाल्ने हो भने यसका उपलब्धिलाई समेट्नैपर्छ ।

अहिले त्यस्तो केही भएको छैन जसको उल्लेख मात्रैले जनता गौरवान्वित होऊन् । प्रधानमन्त्री ओली स्विट्जरल्यान्डको डावोसबाट भर्खरै फर्किएका छन् । अब उनले डा. केसीको बिग्रँदो स्वास्थ्यसँगै सरकारको बिग्रँदो स्वास्थ्यको कति हेक्का राख्नेछन् ? धेरै कुरा त्यसैमा निहित रहनेछ । प्रधानमन्त्री ओलीको बहिर्गमनमा समस्या समाधान निहित छैन, न त अर्को नेताको प्रवेशले समस्या समाधान हुनेछ । समाधानका लागि नीतिको प्रशोधन हुनुपर्छ । राज्य सञ्चालनको आधार दलको नीति हुनुपर्छ, मानिसको अवतार होइन ।

प्रकाशित : माघ १३, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्

अपरिभाषित समृद्धिको परिभाषित दु:ख– १

पञ्चायती
आहुति

काठमाडौँ — नेपालको सत्ताधारी धारले नाभिदेखिको बल लगाएर प्रचार गरेको विषय हो समृद्धि । दर्जनौं वर्षदेखि भोक र अभावबीच बाँचेको नेपाली समाजको ठूलो जनसंख्यालाई यसले जादुमयी आकर्षण र आशा जगाएको देखिन्छ । पार्टीबाट अलग रहेर आलोचनात्मक चेतसहित बौद्धिक कर्म गरिरहेका कतिपय बौद्धिकलाई यस नाराले लुरुक्क पार्टी सदशयता नवीकरण गर्ने स्थितिमा पुर्‍याएको छ ।

पुँजीवादको विकल्पबारे तीखो बहस गर्ने बौद्धिकहरूको एउटा जमातलाई यसले मलिन स्वरमा आगापिछा ख्याल गरेर बोल्ने तुल्याइदिएको छ । दुई तिहाइको आकारसहित समृद्धिको नारा आउँदैनथ्यो भने सायद यसले बहुआयामिक प्रहार गर्दैनथ्यो । यहाँ समृद्धि बराबर दुई तिहाइ अनि दुई तिहाइ बराबर समृद्धिका रूपमा प्रकट हुनाले बडा बडा आलोचनात्मक चेत भूकम्पमा भवनहरूजस्तै डोलायमान देखिएका छन् ।

पञ्चायत व्यवस्थाले विकासको मूल फुटाउने घोषणा गर्‍यो । धारा, कुलोमा विकास ल्याउने हैन, मूल नै फुटाइदिने ! आजको शासकीय धारका नेताहरूले जिउलाई अररो बनाएर समृद्धिको भाषण गरेको देख्दा विकासको मूल फुटाउने पञ्चहरूको दमनकारी दम्भयुक्त अनुहारको याद आउन थालेको छ । समृद्धि सबैलाई चाहिएको छ । तर कस्तो समृद्धि ? समृद्धिको विचारधारा हुन्छ कि हुन्न ? समृद्धिको राजनीति हुन्छ कि हुन्न ? समृद्धिको वर्ग पक्षधारता हुन्छ कि हुन्न ? समृद्धिसँग सम्बन्धित आधारभूत प्रश्नहरू अनुत्तरित छन् । नेपाल विश्वमा अविकसित र गरिब भयो किन र कहिलेबाट ? गरिबी थप्दै लिएर आउने कारणहरू के हुन्, ती कारण अब गायब भइसके ? यथावत् छन् भने ती कारणमाथि विजय पाउने रणनीति के ? यी यस्ता प्रश्न हुन् जसको ऐतिहासिक उत्तर दिने साहस नगरी समृद्धिको यात्रा सुरु हुँदैन ।

जुद्धशमशेर राणाले जुवाको खालमा आफूविरुद्ध पल्टेको चौका दाउलाई हुकुमले पञ्जा बनाएका थिए रे, सोही चालमा ‘हामीसँग दुई तिहाइ छ, त्यसैले समृद्धि हुन्छ भनेसी हुन्छ, हामीले भनेको मान’ भनी चिच्याएर त भविष्यको नजरमा फाल्तु जोकर ठहरिने सम्भावना बढी हुन्छ । संसारमा समृद्धिको ढाँचा र दिशाबारे गम्भीर बहस भइरहेछ, नेपालको सत्ताधारी धारले अलापे
जस्तो अपरिभाषित समृद्धिको कुरा प्राज्ञिकस्तरमा अहिले छिर्नै सक्दैन ।

केही सय वर्षदेखि संसार हाँक्ने मुख्य मौका पुँजीवादी व्यवस्थाले पायो । केही दशक केही देशमा साम्यवादीले पाए । साम्यवादीहरू मानव इतिहासकै प्रतिपक्षी सिकारु थिए । वितरण र सामाजिक न्यायको क्षेत्रमा केही गुणात्मक पृथक् काम गरे पनि पूर्ण रूपको समृद्धिको पृथक मोडल स्थापित गर्न नसकी ढल्न पुगे । पुँजीवादी युग सुरु भएदेखि समृद्धिको नेतृत्वमा हालीमुहाली पुँजीवादी व्यवस्थाले गर्दै आएको यथार्थ मान्नैपर्ने हुन्छ । अपवादका प्रयत्न पनि होलान् तर आज साम्यवादीका नाममा केही देशहरूको पनि समृद्धिको दिशा र मोडलको सार पुँजीवादी नै देख्न धेरै गम्नु पर्दैन ।

पुँजीवादी व्यवस्थाले ल्याएको समृद्धिले विज्ञान प्रविधिलाई तीव्र विकास हुने अवसर दियो । सडक, सुरुङ, हवाई, अन्तरिक्ष, अग्ला भवन, कारको व्यापक उत्पादन, सेवा क्षेत्रको अकल्पनीय विस्तार यसले गर्‍यो । सामन्तवादी युगमा भन्दा जीवनलाई सहज र सेवायुक्त बनायो जुन हरेक पछिल्लो युगमा अघिल्लो युगको तुलनामा हुने गर्छ । सारमा भन्दा पुँजीवादी समृद्धिले भौतिक वस्तुहरूको निर्माणमा असाधारण प्रगति ल्यायो ।

वागमतीउपत्यकामापानीका मुहान सबै सुकाइदिने गरी विकास गरे । यहाँ सकियो पानी अनि मेलम्ची लुट्न गए । वागमतीउपत्यका आफैंलाईपानीबाट हराभरा बनाउने सोच छैन ।

पुँजीवादी समृद्धिले दुइटा गम्भीर विषयलाई बेवास्ता गर्‍यो । एक, यसले प्रकृतिको दोहन र त्यसमाथिको प्रदूषण विनाशकारी ढंगले गर्‍यो । वैज्ञानिक हकिङको चिन्तामा भन्दा करोडौं वर्षको पृथ्वीमा अब छ सय वर्षभन्दा बढी मानिस बस्न नसक्ने गरी विनाश गर्‍यो । पुँजीवादी व्यवस्थाको नाभि पुँजीपतिको निजी नाफा कमाउने लालसामा आधारित हुने भएकाले प्रकृति भाडमा जाओस् तर जसरी पनि नाफा कमाउन तल्लीन रह्यो । लाखौं पानीका मुहान सुके, करोडौं हेक्टर जंगल सकिए, सिंगो पृथ्वीवासीको सम्पत्ति खनिज निजी प्रयोगका निम्ति रित्तिँदै गए ।

पुँजीवादी शासकको सनकका भरमा सिंगै पृथ्वी ध्वस्त पार्ने परमाणु बम बनाइए । पृथ्वी र मानव जातिलाई मृत्युको डिलमा ल्याइपुर्‍याउने पुँजीवादी समृद्धि विनाशकारी समृद्धिको दिशा र मोडेल बनेको यथार्थ अब खण्डन गर्न सकिने गरी उपस्थित छैन । दुई, पुँजीवादी समृद्धि व्यक्तिगत स्वार्थ र नाफामा आधारित हुन्छ । यसले धनी हुन एक मान्छेले अर्को मान्छेविरुद्ध जे गरे नि हुन्छ भन्ने मान्यता स्थापित गर्‍यो । श्रमजीवी वर्ग र उत्पीडित राष्ट्रहरूको अथाह शोषण गर्दै अघि बढ्यो र आज केही दर्जन परिवारको ढुकुटीमा संसारकै पचासी प्रतिशत धन थुप्रिन पुग्यो । पुँजीवादी समृद्धिकै लागि युरोपले एसिया, ल्याटिन अमेरिका र अफ्रिकालाई केही सय वर्ष लुट्यो ।

लुट्नका निम्ति युद्ध, षड्यन्त्र, घुसपैठ, हत्या सबैमा मानव जातिलाई पुँजीवादी समृद्धिको लालसाले धकेल्यो । आज व्यक्तिगत सम्पत्तिप्रति दासत्वका कारण प्रत्येक व्यक्ति अर्को व्यक्तिसँग पलपल सतर्क भर हिँड्नुपर्ने असुरक्षित मानव समाज निर्मित हुन पुग्यो । आधा जनसंख्या महिलालाई निर्लज्ज ढंगले पुँजीवादले बेच्ने क्रम जारी छ । मानव अधिकार र सुशासन पढाउने पुँजीवादले अपराधीको अवैध पैसा सुरक्षित गर्ने स्विट्जरल्यान्डहरू निर्लज्ज जन्माइरहेछ ।

पुँजीवादी समृद्धिले मानिसका बीच भाइचारा होइन, मानिसमाथि शोषण, उत्पीडन, युद्ध थोपर्‍यो र मानवता ध्वस्त बनायो । पुँजीवादी व्यवस्थाले निर्माण गरेको समृद्धि मानवताविरोधी हो । किनभने यसले उत्पादित वस्तुहरूको वितरण असमान रूपमा गर्‍यो । असमान वितरित सम्पत्ति समुदायमा हैन, व्यक्तिमा केन्द्रीकरण पुँजीवादी समृद्धिको गुदी हो, जसबाट मान्छे अमानवीय बन्दै जान बाध्य हुन्छन् ।

संसारभर पुँजीवादी व्यवस्थाले ल्याएको यसप्रकारको मानवताविरोधी र विनाशकारी समृद्धिको विकल्पबारे न्यायप्रेमीले बहस चलाइरहेका छन् । अबको मानव समाजको समृद्धिको यात्रा भौतिक विकास मात्र एजेन्डा भएको हुनु कदापि हुँदैन । त्यो मानवताका पक्षमा र प्रकृति तथा सांस्कृतिक धरोहरको रक्षा गर्ने एजेन्डा प्राथमिक हुनुपर्छ । मानवताको प्रवद्र्धन तब सम्भव छ, जब समृद्धिको लाभ सबै मानिसले समान रूपमा उपयोग गर्न पाउँछन् ।

जब जंगबहादुर राणाले बेलायती साम्राज्यवादको गुलामी सुरु गरे र चन्द्रशमशेरले त्यसलाई नयाँ उचाइमा उठाएर उनीहरूको स्वार्थअनुरूपदेशमा नीति तय गर्न थाले, त्यहीँबाट नेपालको समृद्धिको यात्रा ओरालो लाग्न सुरु भएको होइन ?

प्रकृति र सांस्कृतिक धरोहरको रक्षा तब सम्भव हुनेछ जब विज्ञान प्रविधिको प्रयोग नाफाका निम्ति व्यक्तिको सनकमा आधारित भएर प्रयोग नहोस् बरु समुदायको हितमा समुदायको निर्णयमा मात्र प्रयोग होस् । काठमाडौंमा काठमान्डु मल बनाउने तर सांस्कृतिक धरोहरका रूपमा रहेको सुनधारा त्यही कारणले सुक्ने भएपछि के काम भयो ? भोटाहिटीमा सब वे बनाउने तर भोटाहिटी नामको ऐतिहासिक ढुंगेधारा पुरिदिने कस्तो कम हो ? वागमती उपत्यकामा विकास गर्दा सबै पानीको मुहान सुकाइदिने कस्तो विकास हो ? वागमती उपत्यकाका नेवार बस्तीमा रातभरि पनि छोरी मान्छे हिँड्न सक्थे तर विकसित वागमती उपत्यकामा दिउँसै महिला सतर्क हुनुपर्ने कस्तो विकास भयो ?

नेपालको सत्ताधारी धारको कुरा सुन्दा यस्तो भान हुन्छ कि समृद्धिको उपनिवेशवादी अवधारणा दिमागमा हावी छ । मेलम्चीका सन्दर्भमा त्यही लाग्छ । वागमती उपत्यकाका पानीका मुहान सबै सुकाइदिने गरी विगतका शासकले शासन गरे, अब यहाँ सकियो पानी अनि मेलम्ची लुट्न जाने भनेजस्तो भयो । काठमाडौंको तत्कालको समस्या हल गर्न मेलम्ची ल्याउने तर मेलम्ची सुक्यो भने के गर्ने ? मेलम्चीमा जनसंख्या बढेपछि के पिउने ?

यो त उपनिवेशवादी ढर्रा भयो । मेलम्ची ल्याउने योजनासँगै वागमती उपत्यका आफैँलाई पानीबाट हराभरा बनाउने योजनाबारे कुनै सोच छैन । घातक विकासको मोडेल र राजनीतिले वागमती उपत्यकाका मुहानहरू सुकेका छन् । पुन: धर्ती सिञ्चन प्रविधिबाट फेरि नदीहरू बगाउन सम्भव छ भनी विज्ञानले विभिन्न देशमा प्रमाणित गरिसक्यो, त्यस्तो दूरगामी प्रकृतिको रक्षाको दिशामा सोच्न मानौं जरुरी छैन ।

यी थोरै दृष्टान्तबाट पनि प्रस्ट हुन्छ कि समृद्धिको वैकल्पिक मोडेलबारे गम्भीर हुनैपर्छ । नेपाललाई लैजान खोजेको कुन समृद्धितिर ? यसको उत्तर दिनैपर्छ, अन्यथा अपरिभाषित समृद्धिको दिशाहीन दु:खको यात्रामा धकेल्ने अधिकार दुई तिहाइ त के, सर्वसम्मतिलाई पनि नैतिक रूपमा हुँदैन । पुँजीवादी व्यवस्थाको मानवताविरोधी विनाशकारी समृद्धिका यात्रीहरूलाई भेडाको बथानसँग तुलना गर्ने हो भने नेपाल सबैभन्दा पुछारतिरको अशक्त भेडा हो ।

शक्तिशाली भेडाहरू पृथ्वी र मानव जाति सिध्याउने भीरतिर सबैभन्दा अगाडि अगाडि छन्, नेपाल भीरबाट सबैभन्दा टाढा रहेकाले समृद्धिको पुरानो बाटो परिवर्तन गरेर नयाँ दिशातिर दौडिने अवसर पनि बचेको छ । विकसित भनिएका देशले घाउ पुर्नुपर्नेछ, हामीसँग समृद्धिले ल्याएको धेरै घाउ छैन । कतिपयले तर्क गरेको सुनिन्छ– समृद्धिको वैकल्पिक कोर्समा जान हामी मात्र सक्दैनौं । गरिब भएर बसिरहन पनि सक्दैनौं, पुरानै मोडेलमा आफ्नो बुताले भ्याएजति मानवीय र प्रकृतिप्रेमी बन्दै समृद्धितिर जानुपर्छ ।

यो तर्कको दाबी यही हो कि मानवताविरोधी र विनाशकारी भए पनि समृद्धिमा जान सम्भव छ । साँच्चै सम्भव छ त ? समृद्धि, प्रगति, विकास, मुक्तिजस्ता अवधारणा समयसापेक्ष विषय हुन् भन्ने प्रस्टै छ । यस कोणबाट हेर्दा आजको नेपाली भूखण्ड झन्डै सय वर्षअगाडि छिमेकी मुलुकहरूको तुलनामा धेरै पछाडि थिएन । हामीसँग आफ्नै फलाम, तामा, कपास, ऊन, सिस्नो, अल्लो र त्यसबाट हतियार, ज्वावल, भाँडाकँुडा र कपडा बनाउने प्रविधि थियो । हामीसँग तेल पेल्ने कोल, सक्खर बनाउने प्रविधि, पानी घट्ट, ढिकीजाँतो, नाङ्लो, चाल्नो छँदै थिए ।

आफ्नै बयलगाडा, गोरु नार्ने विधि, खेतीपाती प्रविधि, आफ्नै बीउ, आफ्नै खाद्य शास्त्र, आफ्नै उपचार विधि एवं औषधि थिए । ललितकलाका सबै आयाम हाम्रो आफ्नो सभ्यतालाई मनग्यै अगाडि बढाउन सक्ने स्तरमै थिए । राजा महाराजाका लागि विलासिताका र नुनलगायत केही वस्तुबाहेक आधारभूत आवश्यकताका अधिकांश सामग्री नेपालभित्र समुदायमै उत्पादन हुन्थ्यो । त्यही नेपालभित्रै उत्पादन हुने स्थिति त्यतिबेलाको आत्मनिर्भर अर्थतन्त्रको समृद्धितिर फर्किएको हाम्रो मुख्य गुदी थियो ।

जंगबहादुर राणाले बेलायती साम्राज्यवादको गुलामी जब सुरु गरे र चन्द्रशमशेरले त्यसलाई नयाँ उचाइमा उठाएर उनीहरूको स्वार्थानुरूप देशमा नीति तय गर्न थाले, त्यहीँबाट नेपालको स्वाभाविक समृद्धिको यात्रा ओरालो लाग्न सुरु भएको होइन ? बेलायती साम्राज्यवादी स्वार्थपूर्तिका लागि राणाकालमा फलाम तथा तामाको खानी र कपास खेती बन्द गरेपछि नेपालको आधुनिक गरिबीको यात्रा वेगवान् भएको हो । सामन्तवादी समाजको मुख्य फलाम, कपास र तामा ब्रिटिस शासित भारतसँग किन्नु परेपछि सम्पत्तिजति पानीजस्तै भारत पस्न सुरु भएको हो ।

त्यो क्रम झन् झन् बढ्दै गयो र गइरहेछ । विसं २००७ पछि पनि यही क्रम अगाडि बढ्यो । शीतयुद्धताका भारत रूसतिर ढल्केको अवसर छोपेर पञ्चायतले रूस र चीनबाट भीख मागेर पूर्वपश्चिम राजमार्ग, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, बाँसबारी छाला उद्योग इत्यादि भित्र्याएको हो ।

पञ्चायतले विकास गर्न खोजेको समृद्धिमा बीउ थिएन । बीउका लागि फेरि खन्न थाल्नुपर्थो बन्द भएको फलाम खानी, सुरु गर्नुपथ्र्याे कपास खेती आदि । पञ्चायती शासकहरूले भारतको दलाली छाडेका थिएनन् र सामन्तवादी रजाइँको प्रवृत्ति पनि छाड्न सकेका थिएनन् । त्यसैले परनिर्भरताको नेपाली वेगलाई उनीहरू रोक्न सक्ने थिएनन् ।

विसं १९८० को दशकबाट विश्व पुँजीवादले विश्व बैंक, विश्व व्यापार संगठन र आईएमएफमार्फत निजीकरण र उदारीकरणको नीति लिएर आयो । नेपाली शासकहरूले आँखा चिम्लेर कथित दाताका साङ्लामा सहीछाप गर्दै कमिसनको मुठ्ठा समाउँदै पञ्चायतले मागेको भीखका उद्योगहरू पनि कौडीको भाउमा बेच्न तल्लीन भए । यस कदमले नेपालमै बच्ने थोरबहुत पैसा पनि बिदेसिन बाध्य भयो, भइरहेछ । राणाकालबाट सुरु भएको यो दरिद्रताको यात्रा आजसम्म पुग्दा विकराल भएको मात्र न हो । गन्यमान्य अर्थशास्त्री नै चाहिँदैन, सरल ढंगले सोच्दा पनि बुझिन्छ । जुन घरले गर्ने आम्दानी आधारभूत आवश्यकताका सामान खरिद गर्दा सबै सकिन्छ भने त्यो घरमा बचत कहिल्यै पनि हुँदैन, त्यो परिवार समृद्ध हुन सक्दैन । आज नेपालको हालत ठीक त्यही हो ।

जीवनका आधारभूत सात आवश्यकता छन्– खाना, नाना, आवास, उपचार, शिक्षा, मनोरञ्जन र विविध । यी आधारभूत आवश्यकतालाई चाहिने अधिकांश सामान हामी आफैं उत्पादन गर्दैनौं, बरु त्यसका निम्ति बेलायतदेखि कतारसम्म पुगेर ल्याएको पैसा विदेश नै पठाउन बाध्य छौं । यही होइन हाम्रो गरिबी र असमृद्धिको मूल जरो ? कतिपयले भट्टीगफ दिन्छन् कि नेपाली अल्छी भएर गरिब भएको । के अल्छी मान्छे जान्छ नचिनेको देशमा मर्न तयार भएर कमाउन ? जान्छ कोही अल्छी साउदीको धूपमा पोलिन ? माटो खन्दाखन्दै जीवन सक्ने नेपाली मुसहर अल्छी हो ? अल्छी हो त्यो भारतमा बस्ने नेपाली चौकीदार जसले पूर्ण बैंस दाम्पत्य सुख भोग्न सक्दैन ?

बिल्कुल गलत कुरा हुन् । श्रमप्रति अवहेलनाको वर्णवादी संस्कृतिको प्रभावले केहीमा त्यो समस्या भए पनि आम नेपालीको गरिबीसँग त्यसको साइनो छैन । विषय प्रस्ट छ, नेपाल चलिआएको विनाशको समृद्धितिर समेत अगाडि बढ्न नसक्नुको मुख्य कारण साम्राज्यवादी हस्तक्षेप हो ।

साम्राज्यवादी–प्रभुत्ववादी हस्तक्षेप तब सम्भव भयो जब देशका शासक डफ्फा साम्राज्यवाद अर्थात विदेशी शासकका मूलत: दलाल बन्न तयार भए । नेपालका विगतका असल नियतका देशभक्त शासक पनि देशको हितमा किन असफल भए त ? सबै शासक पूर्ण रूपमा दलाल थिएनन् । यसकारण कि उनीहरूले देशभित्रका जनता अर्थात सबै राष्ट्रियताका जनता र उत्पीडित हरूलाई एकताबद्ध गर्न चाहेनन् । मानवशास्त्री डोरबहादुर विष्टको भाषामा भन्दा ‘बाहुनवादीले अरूलाई शासनमा समावेश हुनै दिएनन् ।’

अखिल जनता शासनमा समावेश नभएपछि एकाध देशभक्त शासक पनि असफल हुनु अनिवार्य थियो । यसरी वैदेशिक हस्तक्षेप, शासकहरूको भ्रष्ट तथा दलाल प्रवृत्ति र नेपालभित्रको असमावेशिता नै नेपालको असमृद्धिको इतिहासको कथाका मुख्यपाना हुन् । असमृद्धिको इतिहासलाई अलप बनाएर समृद्धिको यात्रा सुरु हुँदैन । यो इतिहाससँग समृद्धिको ठेक्का लिएका शासकीय धारको संवाद जनताले कहाँ देख्न पाउँछन् ?

(लेखको अर्को खण्ड यसै स्तम्भमा भोलि प्रकाशन हुनेछ ।)

प्रकाशित : माघ १३, २०७५ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्